१६ चैत्र २०८० शुक्रबार
कला

सफल प्रेम

कथा

   – ममता मृदुल

 

महेन्द्र माविमा कक्षा आठमा भर्ना हुन आएकी शान्ता गोरी, अग्ली, कालो लामो कपाल भएकी पातलो मोहडाकी छिन् । पहिलो नजरमा परिहाल्ने उसको रूपको पछाडि धेरै दौडिरहेका छन् । कक्षा दशमा पढ्ने धेरै केटा उनको रूपमा लठ्ठिएर प्रेम प्रस्ताव राख्ने दाउ खोजिरहेका छन् । तर, राम्री भए पनि बुद्धिमान शान्ताले कसैको प्रेम प्रस्तावलाई स्वीकार गरिनन् । अहिले प्रेम नगर्ने, आइए पास गरेपछि माग्न आउ बिहे गरौँला भनेर सबैलाई पन्छाइन् । शान्ता आठमा पढ्दा कुलमणि दशमा पढ्थे । धेरै केटाको प्रस्ताव अस्वीकार गरेको हल्ला फैलिएको थियो । कसैको जालमा माछो परेन । तैपनि मनमा झिनो आशा लिएर इसाराको तिर चलाउन उरन्ठ्याउला ठिटा पछि पर्दैनथे।

दिन बितिरहँदा कुलमणि प्रवेशिका परीक्षा पास भएर कलेज पढ्न काठमाडौं गए । कानुन विषय पढ्न थाले । हरेक वर्ष दशैं तिहारमा घर आउँदा शान्तासँग भेट हुन्थ्यो । पछि प्रेम प्रस्ताव राख्नु भन्दाभन्दै एलएलवी गर्न लागे। 

यसपालिको दशैंमा घर जाँदा घरमा वा आमाले बिहे गर भन्दा हुन्छ भन्न मन लागेको थियो । शान्ताको दुई महिना अगाडि बुटबल बस्ने राजकुमारसँग मागी विवाह भएछ। 

सानै उमेरदेखि आफूले मनपराएकी केटीको बिहे भएको खबरले खल्लो अनुभूति भए पनि मनलाई सम्हाल्नु परेकै थियो । बिहे भए पनि दश वर्षसम्म शान्ताको सन्तान जन्मिएनन् । धेरै औषधि उपचार गरेपछि एउटी छोरी जन्मी । छोरी जन्मेपछि राजकुमार साउदी अरब गएका थिए । सन्तानको उज्ज्वल भविष्यको चाहना मनभरि थियो । मेहनती शान्ताले घर राम्ररी सम्हालेकी छिन् ।  

शान्ताले बिहे गरेको दुई वर्षपछि कुलमणिले पनि बिहे गरे । उनकी छोरी पढ्न थालिसकेकी छिन् । वकालत गर्दागर्दै सरकारी वकिल भैसकेका छन् । देशको विभिन्न स्थानमा सरुवा भई जाने क्रममा हाल बुटबलमा आएका छन् ।  

फोनको घण्टी बजिरहेको छ । शान्ताले सुनिन् । बारीमा फर्सीको मुन्टा टिप्दै छिन् । कस्को सन्देश आयो शान्ताले थाहा पाएकी छैनन् । बारीमा आवाज पुगेको थिएन । केही समयपछि बज्न छाड्यो । दुई आमा छोरीलाई पुग्ने फर्सीको मुन्टा टिपेपछि भान्छाकोठामा आएर केलाउन थालिन् । सन्देश लिएर आएको फोनको घण्टी पुनः बज्न थाल्यो । उठेर गई हलो भनिन् । 

धेरैपल्छ फोन गरिसके उठाउँदिनौ त ! कता गएकी थियौ, फोन राजकुमारको थियो । बारीमा फर्सीको मुन्टा टिप्न गएको थिएँ, सुनिनँ । तरकारी केही छैन एकछिनपछि सोमबारे हाट जानुपर्ला, छोरीलाई आलु मात्र चाहिन्छ । आलु सकिएको छ, शान्ताले भनिन्।

छोरी खोई त कुरा गराउ त राजकुमारले भनेपछि शान्ताले फोनमा छोरीसँग कुरा गराइन् । घर खर्च पठाई दिएको खबर भनेर राजकुमारले फोन राखे ।  

०००

शरीरभरि रगतका छिटा छन् । हातमा धारिलो खुकुरी रगतका टाटा छन् । जिल्ला प्रहरी कार्यालयको मूल ढोकामा रातको एघार एउटी महिला आइन् । डिउटी बसेको सिपाही तर्सियो । उनीलाई देख्नेबित्तिकै भित्र बसेको हवल्दारलाई चिच्याएर बोलायो – हल्दार साब यता छिट्टो आउनुस् । घटना घटे जस्तो छ । खुकुरी बोकेकी महिला टक्क अडिइन् । मैले मान्छे काटेर आएकी मलाई जेल हाल्नुस् ।

हवल्दार मूल ढोका बाहिर आए। साँच्चै हातमा खुकुरी लिएकी महिला थिइन् । रगतको छिटा शरीरभरि थियो । हवल्दारले ती महिलालाई आफूसँगै डिउटी अफिसरकोमा लिएर गए। 

डिउटीमा असई साब थिए । तुरुन्त महिला प्रहरीलाई बोलाए । महिला प्रहरीको साथमा उनलाई राखेर सोधें–तपाईंको नाम ठेगाना भनिदिनुस् ?

मेरो नाम शान्ता हो । मैले आफ्नै देवरलाई काटेर आएकी हुँ । मेरो लोग्ने राजकुमार साउदी अरबमा छन् । मैले देवरलाई मारेँ। मलाई जेल हाल्नुस् । डिउटी अफिसरले माथिल्लो तहमा सबैतिर खबर गरे । घटनास्थल जाने टोली तयार भयो । शान्ता समेत भएर प्रहरी भेनमा टोली घटनास्थल पुग्यो। 

घटना घरको कोठा भित्र घटेको रहेछ । भुइँमा पुरुषको रगताम्य शरीर ढलेको छ । प्रहरीले आफ्नो काम थाल्यो । यसबेलासम्म घटनास्थलमा कोही आएका थिएनन् । हल्ला सुनेर छिमेकी आए । घटना भएको कसैले थाहा पाएकै रहेनछन् ।  ०००

रातभरि नसुती प्रहरीले आफ्नो काम गरे । लास पोस्टमार्टमका लागि अस्पताल पठाए । बिहान बाह्र बजे सबै काम सकेर शान्तालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्नु अगाडि सरकारी वकिल कार्यालय लगियो । सरकारी वकिल कुलमणिले शान्तालाई प्रहरीले पक्रेर म्याद थप गर्न ल्याएको देखेर छक्क परे । अदालत लैजानु अगाडि शान्तासँग केही कुरा सोध्ने इच्छा लाग्यो । अनुसन्धान अधिकृतसँग अनुमति मागे । शान्तालाई सरकारी वकिल कुलमणिको कोठामा ल्याइयो । शान्ता मौन थिइन् । कुर्सीमा बस, मलाई चिन्यौ कुलमणिले प्रश्न गरेपछि शान्ताले कुलमणिको अनुहारमा हेरिन् । केही बोलिनन् । शान्ता म कुलमणि चिनिनौ । मुखबाट शब्द निस्केन बर्बरी आँसु झरिरह्यो । छाती जलिरहेको भान भयो । रिङ्गटा लागेर आयो । भुइँमा थचक्क बसिन् । निःशब्द थिइन् ।  

सरकारी वकिलले एस.पी. साबलाई फोन गरे । शान्तासँग केही समय कुरा गरेपछि म्याद थप्ने अनुमति मागे । एस.पी. साब पनि म पनि आउँदैछु भनेर फोन राखिदिए। 

कुलमणिले अनुसन्धानको दायरा एस.पी. आएपछि खोल्ने विचार गरे । पन्ध्र मिनेटपछि एस.पी. आए । दुई जना बसेर शान्तासँग सोधपुछ गर्न थाले। 

शान्ता तिमीले राजकुमारको भाइमाथि किन हतियार उठायौ ? कुलमणिले सोधे ।

म केही भन्दिन । मैले मिनकुमारलाई मारेँ, मलाई जेल हाल्नुस् । मैले अपराध गरे सजाय दिनुस् ।  

तिमीले मिनकुमारलाई मारेकै होइन । झुठो बोल्ने हो । मिनकुमारलाई तिमीले मारेको हुँदै होइन । किन मार्ने तिमीले मिनकुमार उसले तिम्रो के बिगारेको छ र तिमी झुठो बोल्छौ – एस.पी. ले कड्केर भने ।

शान्ता केही बोल्न खोजिन्, बिस्तारै बोलिन्, सर यो मिनकुमारले मेरी छोरीलाई मा¥यो। म साँझमा सोमबारे हाट गएको थिएँ । मेरो सात वर्षकी छोरी घरको छेउमा थिई । पल्लो घरमा खेल्दै थिई । म सोमबारे हातबाट आउँदा छोरी थिइनन् । धेरै खोजे कतै भेटिन । काकाको घरतिर गई कि भनेर खोज्न गएकी शान्ता पुनः चुप लागिन् ।  

शान्ता सबै कुरा भन तिमीलाई प्रहरीले साथ दिन्छ । निर्धक्कसँग आफ्ना कुरा राख । कुलमणिले भनेपछि शान्ताले आँखाबाट आँसु खसालिन् । बर्बरी आँसु झरिरह्यो । मन कठोर बनाउँदै भनिन्– मेरो सात वर्षकी छोरीलाई बलात्कार गरेर मारेछ । म छट्पटाइरहे । राति दश बजेसम्म छोरी भेटिन । के गरूँ कसो गरूँ मन सम्हाल्न सकेकी थिइन । रक्सीले मातेर मिनकुमार मेरो घरमा आयो । मैले छोरीको पिरले उसलाई मातेको पनि देखिन । मिनकुमारलाई छोरी खोज्न जाउ भन्दा तेरी छोरी अघि मरिसकी भर्खर गाडेर आएको भन्यो । मैले त्यसो नभन मसँग छोरी खोज्न हिँड् भने ।  

कस्तो पत्याउँदिनस् अब तेरी छोरीले माटो खाइसकी । आइज मसँग पिर नगर । म तेरो राम्रो ख्याल राख्छु भनेर तान्न थाल्यो । रक्सीले मातेकोले मलाई तान्न सकेन । मैले हुत्याइदिएँ । यो जड्ँयाले जँडको सुरमा भनेको होला भन्ने ठानेँ । मैले नपत्याएको ठानेर फेरि भन्न थाल्यो– मलाई थाम्न सकिन । मेरी मैले भर्खर गोठमा गाडेर आएको भन्दा मैले खप्न सकिन । केही नबोली खुकुरी झिकेर पछाडिबाट हाने । भुइँमा ढल्यो अनि पुलिसकोमा आएँ।

शान्ताको कुरा सुनेर एस.पी. साब छक्क परे । हिजो छोरीको कुरा किन नभनेको ? मलाई कसैले छोरी ख्वै भनेनन् । मैले पनि के भन्ने थाहा पाइन ।  

शान्ताले भनेको स्थानमा तुरुन्त प्रहरी टोली खटेर गए । गोठबाट सात वर्षकी बालिकाको सब अस्पताल लगे ।  

शान्ताको म्याद पथ गर्न भ्याइएन । घटनामा घटना थपिएको छ । कुलमणिसँग बिदा लिएर एस.पी. ले जाने बेलामा सोधे –सर नरिसाउने भए एउटा प्रश्न सोधूँ। कुलमणिले गम्भीर हुँदै भने कुनै बेला म शान्तालाई धेरै मन पराउँथे । तर अब समय बदलिसकेको छ । शान्ताको म्याद थप भयो अदालतले तीन दिनको म्याद थप गरिदिएको छ ।  

प्रहरीको अनुसन्धानबाट घटना प्रकृति हेरी शान्ता सादा तारेखमा छुटिन् । उनको श्रीमान् राजकुमार साउदी अरबबाट आइसकेका छन् । जीवन रङ्गहीन बनेको छ । राजकुमारले सन्तानका लागि अर्को बिहे गरेर भिन्दै बस्न थालेका छन् । अर्को विहे गरे पनि राजकुमारका सन्तान भएनन् । राजकुमारले सम्बन्धविच्छेद गरेपछि शान्ता एक्लै बस्छिन् । आज तारिखमा अदालत जानुपर्ने भएकाले शान्ता पौने दश बजे अदालत पुगिन् । अदालतमा भर्खर कर्मचारी आउँदै थिए । कुलमणिले अदालत अगाडिबाट सरकारी वकिल कार्यालय जाँदा शान्तालाई देखे । उनको नजिक आएर सुस्तरी बोलाए – शान्ता । शान्ताले पछाडि फर्केर हेरिन् । कुलमणिलाई देखेर नमस्कार भन्दै दुई हात जोडिन् ।  

कुलमणिले शान्ताको अनुहारमा हेरे । आज पनि शान्ता उत्तिकै सुन्दरी छिन् । उनको सुन्दर शरीर र मन उनलाई अझै मन परेको छ । मुसुक्क मुस्कुराएर भने शान्ता छिटो आइछौं । हिँड मेरो अफिसमा एकछिनपछि आउनु । कुलमणि अगाडि बढे शान्तापछि लागिन्।

कार्यालयको कोठामा आएपछि शान्तालाई सोफामा बस्न भनेर बाहिर निस्के । दुई कप चिया मगाएर आए । कुर्सीमा बसे । शान्ताको अनुहारमा हेर्दै भने – शान्ता, मैले सुनेको कुरा साँचो हो ? राजकुमारले तिमीसँग सम्बन्धविच्छेद गरेर अर्को बिहे गरेछ ।  

शान्तको अनुहारमा पीडा सल्बलाए । हो भनेर टाउको हल्लाइन् । केहीबेर चुप लागेपछि बोलिन्, सर म अभागीको कर्ममा कहाँ सुख छ र ! धेरै भाकल गरेर एउटी छोरी जन्माएकी थिएँ । त्यसलाई पनि मारिदियो । 

तर तिमी अभागी होइन, त्यो राजकुमार अभागी हो । म तिमीलाई सानैदेखि मन पराउथेँ तर तिम्रो राम्रो स्वभावले गर्दा प्रेम प्रस्ताव राख्न सकिन । पढाइ सकेर भन्छु भन्दा तिम्रो बिहे भैसकेको थियो । पछि मैले पनि बिहे गरेँ । ईश्वरको इच्छाको अगाडि कसैको केही लाग्दैन । मेरो एउटी छोरी छे काठमाडौंमा इन्जीनियरिङ पढ्दै छे । तीन महिना अगाडि उसले आफ्नी आमा गुमाएकी छे । एक्कासि उनको मृत्युको खबर सुनेर म काठमाडौं गएँ । कुनै रोग थिएन हार्ट अटैक भयो भने डाक्टरले हामीले मान्नै पर्यो ।  

शान्ता छक्क परिन् । उनलाई कुलमणिको श्रीमतीको मृत्युको खबरले दुःखी बनायो।

कुलमणिले पुनः भने – शान्ता तिमी मसँग बिहे गर्छौ ?

उनको प्रश्नको उत्तर के दिने शान्तालाई थाहा भएन छक्क परिन् । तपाईंसँग म जस्ती अभागीको बिहे कसरी हुन्छ ।  

शान्ता नाई नभन । कुलमणि शान्ता नजिक सोफामा आएर बसे।  

शान्ताले मुस्कुराउँदै भनिन्– ल नाई भनिन।  

कुलमणि खुशी भए । पिरतीको आगो बलेको थियो । धेरै वर्षदेखि बन्द भएको पिरतीको ढोका खुलेको छ ।  

दुई दिनपछि दुई जनाले साधारण तरीकाले बिहे गरे । साँझमा बिहेभोज दिइयो । सबै कार्यालयका हाकिमको उपस्थिति थियो । एस.पी. साब पनि आएका थिए। 

एस.पी. साबले कुणमणिलाई जिस्काउँदै भने, बाल्यकालको प्रेम सफल भयो।  

कुलमणि मुस्कुराए र मनमनै सोचे– साँच्चै आज प्रेम सफल भएको छ।

अनायास उनले शान्ताको अनुहारमा हेरे । शान्ता झन् राम्री देखिएकी थिइन् ।

प्रकाशित: ६ वैशाख २०७८ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App