४ जेष्ठ २०७८ मंगलबार
कला

हत्केलाले नछेकिएको घाम

कविता

जितेन्द्र बस्नेत

 

कस्तो निर्दयी घाम

मर्यादा नाघेर देखिँदै थियो,

आफ्ना पाइला र खुट्टाहरू

झन्–झन् चम्किलो पार्दै बढ्दै थियो,

यत्रो संसार बन्दाबन्दीमा पर्‍यो

तर, घाम नछेकिएर रह्यो

कस्तो निर्दयी घाम।

 

च्यातिएको मजेत्रो तानीतानी

निकै अप्ठ्यारो मानीमानी

उनी छोप्नखोज्दै थिइन् त्यो घाम

पिठ्यूँमा छटपटाई

रुँदै थियो एउटा भविष्य

सुनसान दोबाटाहरूमा

लुकीलुकी हिँड्दा पनि

झन्–झन् प्रष्ट हुँदै थियो घाम

सँगै चिच्याइरहेको भविष्यवाणी

कसैले सुनेनन् ।

 

सबै ढाक्न असफल हुँदै थियो मजेत्रो

लाज, आश र सास  

एक जोडी नयनहरू

छुट्टाछुट्टै विलौनामा थिए

छुट्टाछुट्टै वेदनामा थिए

विलौनामै हाँस्दै थियो घाम

वेदनामै खस्दै थियो घाम

उफ् कस्तो निर्दयी घाम ।

 

उनी घामबाट छलिन खोज्दै थिइन्

पिठ्यूँ छटपटाएको भविष्यले धरै दिएन,

एउटा ठूलो घरको गेटनजिकै पुग्दा

उनको धैर्य विस्फोट भयो

हजुर, यो बच्चाका लागि

केही खानेकुरा दिनूस्,

दुई दिनदेखि भोकै छ ।

यतिबेला

घाम अझै तेजिलो देखियो

उनले हत्केलाले छेक्न खोजिन्

तर, छेकिएन

कसैले माथिबाट दस रुपिँया झारिदियो

हतारहतार टिप्न खोज्दा

अलिकति छेकियो घाम

कथा अधूरै लाग्दै थियो मेरो

कलमको मसी सकिएछ ।

हुन त, लेख्न पनि के नै बाँकी थियो र।

प्रकाशित: ५ वैशाख २०७८ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?