५ वैशाख २०८१ बुधबार
कला

गोपीको ‘काँचो कागज’माथि विमर्श

गैंडाकोटका गोपी सापकोटालाई पहिले नाटककारका रूपमा चिनिन्थ्यो । पछि उनले कविता लेख्न थाले । उनले एकपछि अर्को गरी धमाधम कवितासङ्ग्रह र नाटकसङ्ग्रह निकाल्न थाले । ८ वटा पुगेछ । यसपालि उनले आफ्नो परिचय फेरेका छन्, उपन्यासकारका रुपमा।

उनले लेखेको पहिलो उपन्यास ‘काँचो कागज’ शनिबार गैंडाकोटमा सार्वजनिक गरिएको छ । केहीअघि नै हो बजारमा आएको । तर, आफ्नै गाउँमा विमोचन गर्ने उपयुक्त अवसर खोज्दै थिए लेखक सापकोटा ।

हुन त उनी कार्यक्रममा सशरीर उपस्थित थिएनन् । तर, सहमति सभाहल गैंडाकोटमा उपस्थित ५० जनाभन्दा बढी साहित्यप्रेमीमाझ उनी पनि उपस्थित भएजस्तै महसुस भयो । यसलाई सम्भव पारेको थियो प्रविधिले । हाल बेलायतको लण्डनमा रहेका सापकोटा ‘भर्चुअल’ रूपमा कार्यक्रममा उपस्थित भए भिडियो कलमार्फत।

‘प्रविधिले मलाई सहमतिमै भएको जस्तो बनाइदियो’, सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको गृह विमोचन एवं विमर्श कार्यक्रममा प्रमुख अतिथि गोविन्दराज विनोदी र लेखकका मातापिताको हातबाट किताब सार्वजनिक गरिएपछि गद्गद् भएका सापकोटाले भिडियो कलमा भने, ‘सबैका प्रशंसा र शुभेच्छाले उत्साहित छु ।’

प्रमुख अतिथि वरिष्ठ साहित्यकार विनोदीले सानैदेखि चिनेको गोपीमा आफूले त्यतिबेलै सम्भावना देखेको बताए । ‘सानैदेखि जिज्ञासु स्वभावका, मृत्यु चिन्तन गर्ने खालका थिए गोपी’, उनले भने, ‘केही गर्छन् भन्ने त्यहीबेला नै लागेको हो ।’ उनले गोपीका सिर्जनामा नौलो चिन्तन, प्रेम र दर्शन पाइने बताए।

सम्पूर्ण किताब नारायणगढले किताबमाथि टिप्पणी गर्न ३ जनालाई उभ्याएको थियो । तीनै जना लेखक सापकोटासँग कुनै न कुनै रूपले संगत गरेकाहरू नै थिए ।

‘कविता र नाटक लेखनमा उम्दा गोपीले गजबको उपन्यास लेखेका छन् ।’, कवि कृष्ण कँडेलले भने, ‘पाठकलाई बाँधी राख्न लेखक सफल भएका छन् ।’ उनले काँचो कागजमा ‘पाकेको कथा’ भएको टिप्पणी गरे।

अर्का वक्ता ईश्वर कँडेलले सापकोटालाई सपनासँग खेलेको भने । ‘उनी सपनासँग पटकपटक खेल्छन्’, उनले भने, ‘किताब पढ्दा लाग्छ उनी आफू अध्यात्ममा हराउन चाहन्थे, सकेनन् । र, त्यही चाहना आफ्नो लेखनमा पोखेका छन् ।’ उनलेलेखकको भाषामा कविताको छनक भएको टिप्पणी गरे ।

त्यस्तै टिप्पणीकर्ता उदय अधिकारीले अध्यात्म र भौतिक प्रेमको द्वन्द्व काँचो कागजमा पाइने बताए । उनले पात्रहरू हाम्रै वरपरका पाइने भएकाले पनि काँचो कागज राम्रो लाग्ने बताए । ‘भाषा सरल छ, सरलतामा जटिल विषय बुझाउन खोजिएको छ’, उनले आफ्नो चाहना सुनाए, ‘काँचो कागजको अंग्रेजी अनुवाद आओस् ।’

पाठकका तर्फबाट मन्तव्य व्यक्त गर्दै सिर्जन अविरलले अत्यन्तै सरल भाषाशैलीले आफूलाई आकर्षित गरेको बताए। स्वागत मन्तव्य व्यक्त गर्दै आख्यानकार धर्म सापकोटा राजुले लेखक गोपी सापकोटालाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए।

लेखक सापकोटाले अध्यात्म, आशक्ति र सामान्य जीवन किताबमा प्रस्तुत गरेको बताए । काँचो कागजलाई अब छिट्टै अंग्रेजीमा पनि ल्याउने उनले घोषणा गरे । कार्यक्रम सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कलम प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य ५ सय ९५ रुपैयाँ छ।

प्रकाशित: ५ वैशाख २०७८ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App