coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

इलाम वाङ्मय सङ्गोष्ठी सुरु

इलाम वाङ्मय सङ्गोष्ठीमा साहित्यकार विष्णु नवीनको कृति विमोचन गरिँदै ।तस्बिर :भीम/नागरिक

नेपालीसहित स्थानीय भाषा र साहित्यबारे विमर्श गर्न सदरमुकाममा दुई  दिने ‘इलाम वाङ्मय सङ्गोष्ठी’ सुरु भएको छ । कार्यक्रममा देशकै लोपोन्मुख लेप्चा समुदायको संस्कृति, भाषा र लोकसाहित्य तथा लिम्बू जाति र मुन्धुम दर्शनबारे चर्चा गरिएको छ ।  

मुन्धुम दर्शन र लिम्बू जातिबारे इतिहासकार मोहनसिंह थेबेले छलफलपत्र प्रस्तुत गरे । उनले मुन्धुमको अर्थ, महत्व र आवश्यकतामाथि जोड दिए । ‘लिम्बू जातिको अस्तित्व जीवित राख्ने शास्त्र नै मुन्धुम हो,’ उनले भने, ‘लिम्बू जातिको विगत, वर्तमान र भविष्यको मार्गदर्शन हो यो ।’ थेबेले मुन्धुमबिना लिम्बू जातिको अस्तित्व जीवित नहरने बताए ।

कार्यक्रममा इलाममा बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायमा पनि ३ वर्गका भाषाभाषी पाइएको जानकारी दिइयो । कार्यपत्र प्रस्तुत गर्दै अध्ययनकर्ता मुकुन्दप्रसाद गुरागाईंले लेप्चा समुदायका ज्येष्ठ नागरिक सबै र युवा पुस्ताको आधाजति संख्याले लेप्चा भाषा बुझ्नेगरेको जनाए । र, बालबालिकाले चाहिँ लेप्चा भाषा बोल्न र बुझ्न नै नजान्नेगरेको पनि उनले बताए । उनले लेप्चा जातिको उत्पत्ति, विकासक्रम र वर्तमानको अवस्थाबारे आफूले अध्ययनक्रममा पाएका तथ्य प्रस्तुत गरेका थिए ।    

साहित्यकार पारिजातको २८औं स्मृति दिवस सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठानले सङ्गोष्ठी आयोजना गरेका हुन् । कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याउने साहित्यकारद्वय इन्द्रनारायण सुवेदी र नन्दु उप्रेतीलाई सम्मान गरियो । त्यसै अवसरमा इलामका स्रष्टा विष्णु नवीनका ‘केही सोधी केही खोजी’, ‘सोझा नवीनका बांगा निबन्ध’ र ‘सबै कुरा एकै ठाउँमा’ तथा झापाका साहित्यकार डा.खगेन्द्रप्रसाद दाहालको ‘हिमस्पर्श’ कृति विमोचन गरिएको छ । विष्णु नवीनको निधन भएको दशकौंपछि उनका अप्रकाशित रचना संकलन गरी कृतिका रूपमा प्रकाशन गरिएको इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले बताए ।  

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्याय, प्राज्ञहरू हेमनाथ पौडेल, देवी नेपाललगायतको सहभागिता थियो । आइतबारसम्म चल्ने सङ्गोष्ठीमा नेपाली साहित्यमा इलामका कविताको योगदानलगायत विविध विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।  

प्रकाशित: ४ वैशाख २०७८ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App