coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

संगीत चर्चाः आशिषको अविरल यात्रा

संगीतकार, गायक, संगीत संयोजक, वाद्यवादक–आशिष अविरलको परिचय फराकिलो छ। अविरलले अहिलेसम्म दुई सय हाराहारी गीतमा संगीत दिएका छन् भने चार–पाँच हजारको हाराहारीमा संगीत संयोजन गरेका छन्। आफूले संगीत तथा संगीत संयोजन गरेका कतिपय गीतमा उनले सहनाईलगायत पञ्चेबाजा बजाउने गर्छन्। यहाँ अविरल स्वयंले मनपराएका उनका पाँच गीतको चर्चा गरिएको छ।  

‘बास्ना’ले श्रोताको माया बटुल्यो  

२०६३ सालमा आशिष अविरलले आफ्नो संगीत र संगीत संयोजनमा बास्ना एल्बम बजारमा ल्याए, जसमा नरेन्द्र प्यासीको स्वर र आनन्द अधिकारीको शब्द थिए। यो एल्बमले अविरललाई चर्चाको शिखरमै पुर्‍यायो।  

बिस्तारै क्यासेट कम र सिआरबिटी बढी जाने समयमा बास्ना एल्बम आएको आशिष बताउँछन्। यो एल्बमका लागि अविरलले पहिले नै आठवटा संगीतका धुन तयार गरेका थिए। संगीत तयार गरेर उनले गायक नरेन्द्र प्यासीलाई भेटे। प्यासीलाई उनको संगीत मनपर्‍यो। गायक प्यासीले गीतकार आनन्द अधिकारीलाई शब्द लेखाउने कुरा गरे। ‘म्युजिकको ट्र्याक तयार भएपछि हामीले आनन्ददाइलाई भेट्यौँ, उहाँले संगीत मन पराउनुभयो,’ आशिष भन्छन्, ‘त्यसपछि उहाँले चार महिना लगाएर शब्द लेख्नुभयो। बजारमा आएपछि बास्नालाई धेरैले मन पराए।’  

विशेषतः यस एल्बमका दुई गीत ‘तिमीबिनाको जीवन सोच्न पनि म सक्दिनँ’ र ‘तिमीले दिने माया अजम्बरी छ भने’ श्रोताले अत्यधिक मनपराएको उनी बताउँछन्। उनी भन्छन्, ‘बास्ना क्यासेट नै लाखको हाराहारी बिक्री भयो। यी दुई गीत सिआरबिटीमा पनि निकै डाउनलोड भएका थिए।’  

गीत रेकर्ड गरेपछि आशिष म्युजिक भिडियोका लागि निर्देशक आलोक नेम्वाङलाई भेट्न गए। अविरल भन्छन्, ‘मलाई अझै स्मरण छ, उहाँले मलाई आफूले यो संगीत ७–८ घन्टा सुनेको कुरा सुनाउनुभयो।’ नेम्वाङले ‘तिमीले दिने माया’को म्युजिक भिडियो निर्देशन गरे। यही भिडियोलाई प्रोमोका रूपमा टिभीमा बजाएर प्रमोसन गरिएको थियो।

नाइँ मलाई थाहा छैन र माया लुकी लुकी

गायिका टीका प्रसाईंले डान्सिङ गीत बनाउन भनिन्। अविरललाई एकनारायण भण्डारीको शब्दमा संगीत भरे। गीतको बोल थियो– नाइँ मलाई थाह छैन। यस गीतमा सञ्जीव पराजुली र टीका प्रसाईंको स्वर छ। ०७३ सालमा बजारमा आएको यस गीतलाई दर्शक श्रोताले खुबै मन पराएको अविरल बताउँछन्।  

यसको अफिसियल भिडियो लोकप्रिय त भयो तर पछि यो गीत अरूले पनि आफ्नो शैलीमा बनाए। अविरल भन्छन्, ‘विशेषतः कार्टुन क्रुजले आफ्नो शैलीमा ढालेर भिडियो ल्याएपछि यो गीत एक महिनासम्म ट्रेन्डिङमा गयो।’ आशिषले आफूले संगीत गरेका गीतको चर्चा गर्नुपर्दा टीका प्रसाईंले गाएको अर्को गीत ‘माया लुकी लुकी’लाई सम्झन्छन्। आनन्द अधिकारीको शब्द रहेको यो गीत अविरलले आफ्नै नयाँ स्टुडियो ‘रागा रेकर्डस्’मा रेकर्ड गरेका हुन्। उनी भन्छन्, ‘यो गीतले त मेरो नयाँ स्डुडियोलाई नै पिकअप दियो।’ यसलाई पनि कार्टुन क्रुजले भिडियो बनायो। अहिलेसम्म यस गीतको भिडियोलाई १० करोडपटक भन्दा बढी हेरिएको छ।  

‘परान परानले गायकमै दर्ज गर्‍यो’

आशिषले अर्कैका लागि भनेर ‘परान परान’ बोलको गीत बनाएका थिए। आनन्द अधिकारीको शब्द रहेको यो गीत चल्छ भन्नेमा आशिष ढुक्क थिए, गाउने गायक पनि निर्णय भइसकेको थियो। पछि चलचित्र ‘ए मेरो हजुर– ३’ को टिम उनलाई भेट्न गयो। कुराकानीका क्रममा आशिषले यो गीत सुनाए। चलचित्र निर्माता सुनीलकुमार थापाले गीत मनपराए, त्यो पनि आशिषकै स्वमा। उनले आशिषसँग गीत मागे। 

अविरल भन्छन्, ‘निर्माता सुनीलकुमारदाइले तपाईंको आवाज फरक छ र मलाई फाेल्क गीतमा त्यस्तै आवाज चाहिएको छ भन्नुभयो। मैले यो गीत गाउने निर्णय गरेँ। गीत रिलिजको एक दिन अघिसम्म म दोधारमै थिएँ। संगीत गर्ने मान्छेले गाएको गीत कस्तो होला भन्ने प्रश्नले मलाई सताइरह्यो। तर जुन दिन गीत युट्युबमा रिलिज भयो, गीतले एक दिनमै एक मिलिएन भ्युज पायो।’ अविरललाई यो गीतले ठूलै ‘सप्राइज’ दिएको थियो।

अविरल अहिले संगीत र संगीत संयोजनमै व्यस्त छन्। संगीतका क्षेत्रमा आफू अझै विद्यार्थी रहेको बताउने आशिष भन्छन्, ‘संगीतबारे हामीकहाँ रिसर्च कम भएको छ। अब म रिसर्चमा लाग्ने सोचमा छु, विशेषतः लोकबाजा र लोक भाकाको।’

प्रकाशित: ४ वैशाख २०७८ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App