३ जेष्ठ २०७८ सोमबार
कला

लिच्छविकालीन कला

नेपालको कला इतिहासमा लिच्छवि वंश निकै महत्वका साथ देखापर्छ, यसका अनेक कारण छन्। यसैबेला प्राप्त भएका शिलालेखबाट नेपालको इतिहास लेखियो। कर्क प्याट्रिकले राजा मानदेव प्रथमले स्थापना गरेको वि.सं. ५२१ को चाँगुनारायणको स्तम्भ शिलालेखलाई आधार बनाएर नेपालको राजनीतिक इतिहास लेखे। शिला स्तम्भ आफैँ पनि कलाको अनुपम नमुना हो। पश्चिमको मल्लपुरीमाथि आक्रमण सफल भएको खुसियालीमा मानदेवले गरुडको मूर्ति स्थापना गर्न एक स्तम्भ बनाउन लगाएका थिए, जसलाई चाँगुनारायणको स्तम्भ लेख भनिन्छ।  

स्तम्भ बनाउने प्रचलन यसअघि इसापूर्व तेस्रो शताब्दीका मगधका राजा अशोकको कालमा देखिन्छ। तर वंशावलीका आधारमा लेखिएका लिच्छविकालअघिको किरातकाल वा यसअघिको कालमा पनि स्तम्भको प्रसंग कहीँ आएको देखिँदैन। त्यसैले वास्तुकलाको सन्दर्भमा मानदेवको शिला स्तम्भ एउटा महत्वपूर्ण उपलब्धिका रूपमा देखापरेको छ। 

प्राचीनकालमा देखिएका मूर्तिभन्दा लिच्छविकालका प्रस्तर मूर्ति विशेषतागत रूपमा भिन्न छन्। परिष्कृत रूपमा देखापरेका लिच्छविकालीन प्रस्तर मूर्तिभन्दा बेग्लै देखिएपछि अलि भद्दा प्रकारका मूर्तिलाई किरातकालका मूर्ति भन्ने प्रचलन बलियो भएको हो। सादा, चिल्लो र छरितो रूपमा बनेका प्रस्तर मूर्ति लिच्छविकालका खास विशेषता हुन्।

पछि मल्लकालमा आएर यस्ता स्तम्भ कलाको विकास भएको देखिन्छ। यही स्तम्भ शिलालेखको आधारमा कर्क प्याट्रिकले सन् १८११ मा अंग्रेजी भाषामा ‘एन अकाउन्ट अफ् द किङडम अफ् नेपाल’ लेखे। नेपाली भाषामा लेखिएको पहिलो नेपालको इतिहास अम्बिकाप्रसाद उपाध्यायले सन् १९२९ मा प्रकाशनमा ल्याए।  

लिपि र भाषासँगै कला  

लिच्छविकाल अघिका कुनै शिलालेख पाइएका छैनन्। लिच्छविकालभरि र यसपछिका कालमा प्रशस्तै शिलालेख पाइएका छन्। गहिरो रूपमा खोजी नभएको हो वा वास्तवमा किराती, महिषपाल वा गोपालवंशीले यस्ता शिलालेख बनाउँदैनथे ? भारतबाट आर्यको आगमनपछि उतै बनाउने गरेका शिलालेख नेपालमा पनि लेखाउन थालिएका हुन् भनी धेरै विद्वान आकलन गर्छन्। तथापि यी जम्मै कुरा खोजीकै विषय हुन् भनिदिँदा अन्यथा हुनेछैन।  

मानदेव पछिका राजाले कुनै न कुनै रूपमा शिलालेख बनाउन लगाएको देखिन्छ। ती शिलालेखमा लिच्छविकालका राजाहरूको वर्णन न्यून छ। लिच्छवि राजाका बारेमा धेरैपछि लेखिएको गोपाल वंशावलीले अभिलेखन गरेको हो।  

लिच्छविकालमा राजकीय र सामाजिक दुई किसिमका शिलालेख स्थापना गरिएका छन्, जसका अनेक भेद छन्। यिनमा मुख्यतया प्रशासनिक र धार्मिक प्रशस्ति छन्। शिलालेखको सिरानमा र बीच भागमा फूलपाती, माछा, धर्मचक्र, शंख, मृगहरू, बसाहा र अनेक फूलबुट्टाले भरिएको (खोपिएको अर्थात् लो–रिलिफ) हुन्थ्यो। मूलतः यी सबै अमुक धर्मको प्रतीक र विम्बको रूपमा हुने गर्दथ्यो। हरेक चित्रले शिला सजाउने मात्र होइन, एक–एकवटा गहिरो अर्थ बोक्ने गर्थे। यसैलाई धर्म अझ सामाजिक संस्कारसँग जोडिदिँदा यो आम समुदायको एक अभिन्न अंग हुन जान्थ्यो। अहिले पनि यो संस्कार प्रचलनमै छ। यसले केको संकेत गर्दछ भने त्यसबखत चित्रकला बनाउने प्रचलन रहेको हुनुपर्छ। किनकि एक प्रकारले यी शिलामा लेखिएका कला पनि चित्रजस्तै हुन्। मूलतः लो–रिलिफको रूपमा गरिएकाले यसलाई मूर्तिकलाको विधामा राख्ने चलन छ।  

यस्ता शिलालेख पूर्वलिच्छवि लिपि वा उत्तर लिच्छवि लिपिमा लेखिएको छ। गुप्तलिपि वा कुटिलाक्षर आदि पनि यसबखत प्रयोग भएका छन्। यस बखत छिमेकी मुलुकसँग भएको सम्बन्ध र कलामा एक–अर्कामा परेको प्रभावबारे व्याख्या विश्लेषण ती शिलालेख सहायक सिद्ध भएको देखिन्छ। यस बखत दक्षिणका मगध, तक्षशिला, नालन्दा, कलिङ, वैशाली, मल्लपुरी, काशी, कपिलवस्तु, कुशीनगर, रामग्राम, वैशाली लगायत धेरै गण राज्यका राजासँग नेपालको सम्बन्ध रहेको देखिन्छ। मौर्य, कुषाण, गुप्त, सेन र पालवंशको विशेष चर्चा भएको हामी पाउँछौँ। त्यसबेला तत्कालीन भारतमा ब्राह्मी लिपि प्रचुर मात्रामा प्रयोग भएका छन्। यसपछि गुप्त लिपि पनि गुप्तकालमा प्रयोग भए। नेपालमा प्रयोग भएको त्यतिबेलाको भाषा, लिपि र कला शैलीमा यस बेलाको भारतको स्पष्ट प्रभाव देखिन्छ। नेपालका कलामा कुषाणकालका मथुरा शैलीदेखि गुप्त र यसपछिका पालशैलीको प्रभावका कुरा उठाउने गरिन्छ। त्यतिबेला भारत अलग्ग राष्ट्र थिएन। साना–ठूला यस्ता गणराज्य नै अलग अलग अस्तित्वमा थिए।  

नेपालमा यसपछिका शिलालेखमा रञ्जना लिपिको प्रयोग भएको पाइएको छ। जेठो लिपि ब्राह्मीलिपि काठमाडौंको हाँडीगाउँमा जयवर्माको मूर्तिको पादपीठमा आधिकारिक तिथिमिथिसहित लेखिएको पाइएको छ। लिपिको विकासको सन्दर्भमा पनि लिच्छविकाल महत्वका साथ देखापरेको छ। किनकि ब्राह्मीलिपि यसअघि लुम्बिनीको अशोक स्तम्भबाहेक कहीँ पाइएको छैन। 

यही ब्राह्मी लिपिमा पाइएको मूर्तिमा इसाको दोस्रो शताब्दी किटान भएपछि यस समयलाई लिच्छविकाल, किरातकाल वा यसअघिको कालमा राख्ने भन्ने स्पष्ट भएर आएको देखिँदैन। कति विद्वान्ले वर्मा वंशको तर्क पनि निकालेका छन्। तथापि लिच्छविकालको स्पष्ट पहिचान भएपछि (पाँचौँ शताब्दीपछि) यो ब्राह्मीलिपिलाई प्रयोग गरेको देखिँदैन। तत्कालीन भारतका गुप्तहरूसँग व्यावहारिक, राजनीतिक र व्यापारिक सम्बन्ध भएका कारण गुप्तलिपि प्रयोग भएको देखिएको छ। तत्कालीन भारतका गुप्तहरूको सन्दर्भमा अनेक कुरा भन्ने गरिन्छ। कसैले गुप्तहरू भारतबाट नेपाल पसेको त कसैले गोपालवंशको सन्तानका रूपमा कल्पना गर्ने गर्छन्। पछि सातौँ शताब्दीका शक्तिशाली राजा अंशुवर्माको उदय भएपछि यी गुप्तको प्रभाव कम भएको मानिन्छ। तथापि यी गुप्त पछिसम्म अस्तित्वमा रहेको देखिन्छ।  

ब्राह्मीलिपिको विकसित रूपमा लिच्छविलिपि देखापरे पनि यसबेला लिपि विकासमा विज्ञ सक्रिय भएर लागेको स्पष्ट बोध हुन्छ। आफ्नै लिपिको विकास गरेर त्यसैलाई विभिन्न कामकाजमा प्रयोग र अभ्यास गर्दै आएको देखिन्छ। यसरी लिपिको सिलसिलेवार विकास हुँदै आयो। अहिले आएर आयातीत देवनागरी लिपि प्रयोग हुनु खड्किने विषय हो।  

संस्कृत र नेवारी भाषामा प्रयोग भएका यस्ता शिलालेख पाइएका छन्। तत्कालीन भारतसँगको सम्बन्धले त्यहाँ प्रचलनमा रहेको संस्कृत भाषा यहाँ प्रयोग हुनु अचम्मलाग्दो भएन। तर, यसबेला प्रयोग भएको नेवारी भाषा र रञ्जनालिपि उत्तरतिरको मंगोल वा तिब्बतबाट प्रभावित मान्दा पनि यसको ऐतिहासिक तथ्यको अभाव खड्किन्छ। किनकि आठौँ शताब्दीका राजा राघवदेवसँग नेवा भाषा जोडिन्छ। राघवदेवलाई कसैले ठकुरीवंश, कसैले लिच्छविको निरन्तरता, कसैले मल्ल र ठकुरी वंशको निरन्तरता भएको बताउँछन्।  

यसरी नेपालको इतिहास पनि स्पष्ट भएको देखिँदैन। कसैकसैले लिच्छविवंश र मल्ल वंशबीचको कालखण्डलाई अँध्यारो कालखण्डका रूपमा पनि व्याख्या गरेका छन्। मल्लकालमा नेवारी भाषाको प्रशस्तै मात्रामा प्रयोग भएको पाइन्छ। मल्लवंश १२ औं शताब्दीबाट मात्र सुरु भएको थियो। तथापि केही विद्वान्ले लिच्छवि शिलालेखमा पाइएका ग्राम र द्रंगको सन्दर्भ उठाएर त्यसबखत काठमाडौं उपत्यकामा गाउँ मात्र रहेको कल्पना गरेका छन्। दक्षिणबाट आर्यको प्रवेशले ब्राह्मण धर्ममूर्ति बन्न लागेको सन्दर्भ उठाएका छन्। यसबेलाको मूलवासीका रूपमा रहेको नेवार जाति पछि ब्राह्मण धर्मसँग परिचित हुँदै गयो। अनि, नेवारी लोकधर्म सम्भवतः लोककला, संस्कृति आदि पनि विकसित भयो। तर, यसबेलाको लोककलामाथि कुनै कलाविद्को आँखा परेको देखिँदैन। यसले गर्दा लिच्छविअगाडि किरातीले पनि यही मूलवासी नेवारलाई नै हराएर आफ्नो सत्ता चलाएका हुन् कि भन्ने अनेक तर्क निस्कन्छ। तथापि यी विद्वान्को अड्कलबाजी मात्र रहेको हुँदा जबसम्म आधिकारिक सबुत समेतको अभिलेख पाइँदैन, यसलाई ऐतिहासिक रूपरेखाका रूपमा बढाउन गाह्रो हुन्छ।  

अहिले पनि विकासको सन्दर्भमा भाषा र लिपिलाई महत्वका साथ लिने प्रचलन छ। यी दुवै लिच्छविकालमा स्पष्ट रूपमा पाइएकाले यो काल अझ महत्वका साथ देखिन आएको हो। नेपालको इतिहास लेखनमा मानदेवको स्तम्भ शिलालेख र जयदेव द्वितीयको पशुपति शिलालेखलाई विशेष आधारका रूपमा लिइन्छ। वंशावलीको रूपमा गोपाल वंशावलीलाई बढी मात्रामा विद्वान्ले स्रोतका रूपमा लिने गर्छन्।  

मानदेवको मानांक  

अर्कोतिर पहिलो आधिकारिक मानदेवको मुद्रा मानांक पाइएको छ, जसमा एकातिर श्रीमानंक र अर्कोतिर श्री भोगिनी लेखिएको छ। भोगिनी लेखिएको ठाउँमा कमलको फूलमाथि बसेको देवीको चित्र अंकित छ।  

मानदेवका तीन रानीमध्ये भोगिनी जेठी हुन्। यस्ता मुद्रा यसअघि काठमाडौं उपत्यकाभित्र पाइएका छैनन्। प्रतीकात्मक रूपमा कमलको फूल र रानीहरूलाई देवकिो रूपमा कल्पना गर्ने सोच त्यतिबेला विकास भएको देखिन्छ। त्यसबेला सामान्य व्यक्ति विशेषको मृत्युपश्चात् सम्झने क्रममा मूर्ति बनाउँदा पनि मृतक व्यक्तिको नबनाएर कुनै आराध्यदेवीका नाममा र उनैको काल्पनिक मुखाकृतिका रूपमा मूर्ति बनाउने प्रचलन थियो। यसपछि भने यस्ता मुद्रा विशेष रूपमा राजा अंशुवर्माको पालामा पाइएका छन्। कलाविद् लैनसिह वाङ्देलले मानदेवभन्दा अगाडि नेपालमा कुषाण टक चलेको सन्दर्भ उठाएका छन्। काठमाडौं उपत्यकाको सन्दर्भ मात्रै नहेरेर अहिलेको सम्पूर्ण तराई भूभागको कुरा उठाउँदा र लुम्बिनीको धेरै ऐतिहासिक र प्राचीन पुरातत्व सामग्री पाएको सन्दर्भमा यहाँ पाइएका कुषाणकालका टक कम महत्वको देखिन्न। सम्भवतः यही मुद्रा काठमाडौं उपत्यकाभित्र पनि प्रचलनमा आइपुगेको हुन सक्छ। मुद्रा आफैँ कला लेखनका लागि गहकिलो स्रोत हो।  

यसैबेला पाइएका विशेष गरेर शिलामूर्तिबाट नेपालको मूर्ति कलाको व्याख्या विश्लेषण गर्ने गरिन्छ। यसअघि पाइएका अन्य शिलामूर्ति किंवदन्ती र वंशावलीका आधारमा किरात वंशको हुन सक्ने आकलन गरिएको छ। यसैबेलाका मूर्तिका लक्षण, प्रस्तरका प्रकार, लालित्य, साधारण वा क्लिष्ट, भद्दा वा मिहीन आदि विशेषतालाई केलाई काल विभाजन गर्ने कलाविद्ले यही मूर्तिलाई केन्द्रमा राखेको देखिन्छ। यसबेला पाइएका कालो चिल्लो शिलामा बनाइने मूर्तिले पनि कला इतिहासमा विशेष अर्थ राख्छ। किनकि यसअघि यस्ता शिलामा मूर्ति कुँदेको पाइन्न। यसबेला यस्ता शिला कहाँबाट ल्याइन्थ्यो वा मूर्ति कुँदिसकेपछि कस्तो पालिस लगाइन्थ्यो, यो खोजकै विषय छ। विशेष खालका पालिस भारतमा पाइने मूर्ति वा दरबारहरूमा लगाइने प्रचलन थियो। विशेष गरेर मौर्यकालमा यस प्रकारको प्रस्तरमा पालिस लगाउने चलन थियो। त्यहाँ पनि यसअघि र पछिका कलामा यस्ता पालिस लगाउने प्रचलन देखिँदैन।  

शिलालेख र वंशावली  

शिलालेख र वंशावलीमा पाइने राजा–महाराजाको स्तुति, कालक्रम, राजाका नामहरू, राजाको स्वभाव, दण्डनीति, कर्मकाण्ड, बाह्य शक्तिशाली राजाहरूलाई कर तिरेको सन्दर्भका साथै वर्ण व्यवस्थामा आधारित अनेकौँ सामाजिक प्रचलनलाई केलाएर इतिहासको व्याख्या विश्लेषण गरिन्छ। नेपालको इतिहास लेखनमा शिलालेखले आधार दिने हुँदा लिच्छविकालका शिलालेखको महत्व अझ बढेको छ। लिच्छविकालका आधिकारिक चित्र भने पाइएका छैनन्, तर सातोैँ शताब्दीमा राजा नरेन्द्रदेवले आफ्ना छोरीहरूलाई हस्तान्तरण गरेको ग्रन्थचित्रको उल्लेख कलाविद्ले धेरै ठाँउमा गरेका छन्। यसबेला ग्रन्थ लेख्ने प्रचलन देखिइसकेकाले ग्रन्थचित्र भेटिने सम्भावना भने प्रबल देखिन्छ। यसैले नेपाली कला इतिहासमा लिच्छविकाललाई स्वर्ण युग पनि भन्ने गरिन्छ। 

यसैबेला भारतमा नालन्दा र तक्षशिला बौद्धपीठहरू सक्रिय भएर आउँदा तिब्बततिरबाट बौद्ध भिक्षुहरू (बौद्ध पण्डितहरू) र नेपालकै बौद्ध पण्डितहरू पनि ज्ञान हासिल गर्न तक्षशिला वा नालन्दा गएका पाइन्छ। यस बखत त्यहाँ बौद्धग्रन्थ लेख्ने प्रचलन थियो, अझ कसैकसैले त यसमा चित्र भर्ने कला पनि सिकाउने प्रचलन थियो भन्ने गर्छन्। यसबखत बाह्य संसारसँग सम्बन्ध विस्तार हुँदै गर्दा नेपालमा प्रशस्त मात्रामा ग्रन्थ लेखिनु नयाँ कुरा भएन। तर, लिच्छविकालमा ग्रन्थचित्र (ग्रन्थको कभर र भित्री पन्नाहरूमा गरिने चित्र) सबुतसहित नपाइँदा यो कुरालाई आधिकारिक रूपमा उठाउन सकिन्न।  

वास्तुकला  

लिच्छविकालसँग जोडिएको अर्को महत्वपूर्ण सन्दर्भ हो, वास्तुकला। अहिलेसम्म प्राचीन अझ मध्यकालसम्म आइपुग्दा पनि वास्तुकलाको अनुपम उदाहरण दिनुपर्दा मानदेवले स्थापना गरेको मानगृह, अंशुवर्माले स्थापना गरेको कैलाककुट भवन अनि नरेन्द्रदेवले बनाएको भद्राधिवास देखिन आउँछ। यी तीनै अहिले अस्तित्वमा छैनन्। नेपाल भएर तक्षशिला वा नालन्दा गएका चिनियाँ तीर्थयात्रीले मानगृह र अझ कैलाशकुट भवनबारे अद्भुत पाराले बयान गरेका छन्। हुन त अझै पनि यी भवन कहाँ थिए भनी यकिन हुन सकेको छैन। 

तर, यी धार्मिक यात्री (भिक्षु) गरेको बयानले विशाल कलात्मक भवन भएको कुरा अहिले पनि कलाविद्ले धेरै ठाउँमा उल्लेख गरेका छन्। यसबेला देखिएका पशुपतिनाथको मन्दिरदेखि अन्य कैयौँ मठ–मन्दिर स्तुपा यसै बखत बनेको वा जीर्णोद्वार गरेका प्रसंग नेपालको कला इतिहासमा धेरै ठाउँमा उल्लेख भएको पाइन्छ। त्यति बेला कलाको धर्मसँग ज्यादै नजिकको सम्बन्ध रहकाले राजा जुन धर्ममा आस्था राख्थे, त्यही धर्मसम्बन्धी वास्तुकला र मूर्तिकलाको विकास भएको छ। मानदेव वैष्णव धर्म मान्थे, यसकारण उनले अन्य देवीदेवता बनाउन लगाए पनि उनले बनाउन लगाएको चाँगुनारायण र विष्णु विक्रान्तका मूर्ति अनुपम मानिन्छन्।

धार्मिक दृष्टिकोणले मात्र होइन, कलात्मक दृष्टिकोणले पनि यी मूर्ति अति स्तरीय रहेको कलाविद्को ठम्याइ छ। अंशुवर्मा शैवधर्म मान्थे, वृषदेव बौद्ध कर्मको अनुयायी थिए। हरिदत्त वैष्णव धर्म मान्थे, यसकारण उनले बनाएको चार नारायणको चर्चा आज गरिन्छ। यसैबखत चावहिलको चारुमति विहारदेखि चैत्य बनेको पनि आकलन गरिन्छ। यस बखतका मठ–मन्दिर मात्र होइन, चैत्य, विहार, स्तूप, बोधिसत्व, बुद्धदेखि विष्णु शिवलिंग, हिन्दु र बौद्धधर्मका धेरै देवीदेवता बनाइएको भेटिन्छ।  

लिच्छविकालमा कलाको विकास उच्च स्तरमा भएको थियो। चित्रकलाको आधिकारिक प्रमाण भेट्न नसकिए पनि वास्तुकला र मूर्तिकलाका धेरै प्रमाण अहिले पनि यथेष्ट रूपमा पाइएका छन्।  

गोपाल वंशावलीमा जयदेव प्रथम (लिच्छविकालका सुरु कालका)ले पशुपतिनाथको मन्दिर बनाउन लगाएका थिए भन्ने उल्लेख गरिएको छ। जयदेव प्रथमलाई कसैले सुरुका राजा पनि मान्छन्, कसैले लिच्छवि वंशका १३औँ राजाका रूपमा मान्छन्। कलाविद् धनवज्र बज्राचार्यले यी जयदेव प्रथमलाई मानदेवभन्दा ४०० वर्षअगाडिका मानेका छन्। अर्का लिच्छवि राजा वृषदेवले स्वयम्भू चैत्य बनाउन लगाएको वंशावलीमा उल्लेख छ। जयदेवपछि उनलाई १३औँ राजाका रूपमा उल्लेख गरिएको छ।  

लिच्छविको नेपाल आगमन  

मानदेवले स्थापना गरेको चाँगुनारायणको स्तम्भ शिलालेखमा उनी अघिका तीनपुस्ते राजाको उल्लेख छ। शिलालेखबाहेक इतिहास लेखनका लागि अर्को भरपर्दो स्रोत वंशावली हो, जुन १२औँ शताब्दीपछि मात्र लेखिएको पाइएको छ। गोपाल वंशावली सबैभन्दा जेठो हो। यही वंशावलीलाई आधार मानेर विदेशी विज्ञले नेपालको इतिहासलाई लिच्छविअघि किरातवंश, यसअघि महिषपाल वंश र यसअघि गोपालवंश रहेको उल्लेख गरेका छन्। तर, लिच्छविवंश कहाँबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख हामीसँग छैन। किरात वंशावलीमा किरात वंशका अन्तिम राजा योकोहोङलाई हराएर भूमि वर्माले लिच्छविवंशको स्थापना गरेको उल्लेख छ। त्यस्तै, गोपाल वंशावलीमा निमिषले किरात राजालाई हराएर लिच्छविवंशको स्थापना गरेको उल्लेख छ।  

लिच्छविहरू नेपालमा कसरी आए भन्ने सन्दर्भमा विद्वान्हरू एक मत हुन सकेको देखिँदैन। कसैले तिब्बततिरबाट, कसैले इरानबाट आएको भन्ने गर्छन्। अधिकांश विद्वान्, इतिहासकार भने लिच्छविहरू वैशालीबाट नेपाल पसेको भन्नेमा सहमत छन्। मगधका कुषाण वंशका राजा अजात शत्रुले वैशालीमा आक्रमण गरी यहाँबाट लिच्छविलाई लखेटेपछि यी लिच्छवि तराई क्षेत्रबाट उत्तरतिर भाग्दै नेपालतिर आएको आकलन गरिन्छ। यसबखत नेपालमा राज गरिरहेका किराती कमजोर भएका कारण किरातीलाई पाखा लगाई यी लिच्छविले नेपालमा राज गरे भन्ने भनाइ छ। यति नै बेला किराती चाहिँ आफैँ पहिला आएको पूर्वको किरात प्रदेशमा फर्के भन्नेमा अधिकांश विद्वान् विश्वस्त छन्। यस हिसाबले लिच्छवि इसाको दोस्रो, तेस्रो शताब्दीतिर नेपाल आएको आकलन गरिन्छ। तथापि पाँचौँ शताब्दीमा आधिकारिक रूपमा देखापरेको मानदेव प्रथमसँग यसलाई अहिलेसम्म राम्ररी जोड्न सकेको देखिँदैन।  

मूर्तिका विशेषता  

प्राचीनकालमा देखिएका मूर्तिभन्दा लिच्छविकालका प्रस्तर मूर्ति विशेषतागत रूपमा भिन्न छन्। परिष्कृत रूपमा देखापरेका लिच्छविकालीन प्रस्तर मूर्तिभन्दा बेग्लै देखिएपछि अलि भद्दा प्रकारका मूर्तिलाई किरातकालका मूर्ति भन्ने प्रचलन बलियो भएको हो। सादा, चिल्लो र छरितो रूपमा बनेका प्रस्तर मूर्ति लिच्छविकालका खास विशेषता हुन्। यस्ता मूर्ति बढी सुसंस्कृत र भावभंगिमाले युक्त देखिन्छन्। यसअघिका मूर्तिमा कुषाणकालका मथुरा शैलीले प्रभाव पारेको देखिन्छ भने लिच्छविकालका प्रस्तर मूर्तिमा गुप्तकालको कलाको प्रभाव देखिन्छ। 

लिच्छविकालअघि धार्मिक कला भए पनि लौकिककला प्रचलनमा थियो। यता लिच्छविकालमा आएर नितान्त धार्मिक कलामा आधारित अनुशासनबद्ध, हिन्दु र बौद्धधर्मका दर्शन र आदर्शमा बनेका मूर्तिको विकास भएको देखिन्छ, लौकिककला कम देखिन्छ। आंगिक अनुपातमा उत्कृष्ट रहेका यसबेलाका मूर्तिमा कम लुगा–गहनाको प्रयोग भएको पाइन्छ। यसबाहेक अभिव्यक्तिमा स्वाभाविकता, गोलो मुखाकृति, लचकता र सामान्य प्रभामण्डल आदि नै यस बखतका प्रस्तर मूर्तिका विशेषता हुन्।  

(लेखक कलाकार तथा कला समीक्षक हुन्।)

प्रकाशित: ४ वैशाख २०७८ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?