४ वैशाख २०८१ मंगलबार
कला

पहिरनको रङ

लघुकथा

 रामकुमार पण्डित क्षेत्री      

      १ ) पहिरनको रङ

पचास वर्ष नाघेकी हिन्दू महिला औषधि पसलतिर लम्किरहेकी थिइन्। निधारका रेखाहरू तथा मुखको आकृतिले उनी अशिक्षित हुन् भन्ने प्रष्ट छुट्टिन्थ्यो । घरमा श्रीमान् बिरामी भएकाले अघिपछिभन्दा छिटोछिटो उनका पाइलाहरू अघि बढिरहेका थिए । अलिपर पुगेपछि हिन्दू बनौटकी एउटी जवान महिला सेतो पहिरनमा आइरहेको देखिन् । उनको मनले बोल्यो — विचरी, यस्तो कलिलो उमेरमै विधुवी बन्नु परेछ । त्यसका लागि भगवान् पनि कति निष्ठूरी बन्न सकेको ?

फेरि अलिपर पुगेपछि दुईवटी मस्त जवानीका युवतीहरू रातो पहिरनमा आइरहेका थिए । उनको मनले फेरि बोल्यो —आज तीज त होइन, तैपनि किन यस्तो रातै लुगा ला’ होला ?  

 फेरि केही पर पुगेपछि हिन्दू नै जस्ता तीन जना महिला सेतै पहिरनमा आइरहेका देखेर उनको मनले बोल्यो — ला ! यी तीनैजना बैंसालु केटीहरूको पनि बूढो मरेछन् ! चु ! चु ! चु ! विचरी ! हे ईश्वर ! यस्तो निर्दयी तिमी कसैलाई नि नबन !  

 घरमा लोग्ने बिरामी भएकाले होला सेतो पहिरनमा कोही देख्नासाथ उनीमा यस्तै धारणा आउँदथ्यो।

अलिपर पुगेपछि फेरि नौवटी अधबैंसे महिलाहरू सेतै पहिरनमा आइरहेका थिए । यसपछि उनको धदकन जोडले चल्न थाल्यो । उनीहरूलाई एकतमाशले हेर्दै सोचिन् — होइन, आज यी विधुवीहरू कहाँ हिनेका होलान् ? आज यिनीहरुको आन्दोलन छ कि क्या हो ?

आफूलाई हेरेको देखेर नौ जनामध्ये एकले उनीसँग बोलिन —दिदी, तपाईं पनि हामीजस्तै हुनुहोस् न अब !

  तिनको कुरा सुनेर उनी अत्तालिँदै बोलिन् — हँ, के मेरो बिरामी बुढा मरे र ? अब म पनि तपाईंहरूजस्तै विधुवी हुनुपर्ने भो ?उनको आवाजमा रुन्चेपन झल्कन्थ्यो।

– ला दिदी पनि ! न हामीलाई तपाईंको बुढाको हालखबर था छ, न त हामी विधुवा नै हौ । के कुरा गर्नु भा ?

– अनि किन हामीजस्तै बन्नोस् भनेको त ?

 ‘‘हाम्रो सेतो पहिरन देखेर त्यस्तो सोच्नु भा’को ? त्यस्तो होइन । हाम्रो विहे नै भाको छैन । जन्मेदेखि मान्दै आएको धर्मले हामीलाई सुख दिएन । अहिले मानेको धर्मले सुख दिन्छ रे । अनि हाम्रो धर्ममा पहिरनको रङ यस्तै छ । हिँड्नोस् तपाईं पनि !’’

ती महिलाबाट सकारात्मक उत्तर पाउने आशा नभएकोले उनीहरू खुरुखुरु आफ्नो बाटो लागे ।    ‘‘बिचरी बहिनीहरू ! अर्को धर्म लिएपछि झन् विहे नै नगरी, बेलैमा विधुवाजस्तै भएछन् । कस्तो सुख भेटेछन्, विधुवाको जस्तो !’’ उनले बोलिन् ।

         २) जाँच

– म पास भएँ । म पास भएँ।

नतिजा निस्केपछि उनले नर्सरीदेखि यो वाक्य भन्न थालेको स्नातकोत्तरको नतिजा आउँदासम्म पनि भने । जिन्दगीका अनेकाँै घुम्तीको जाँच दिएर उत्तीर्ण भएपछि पनि भने —म पास भएँ।

उनले साठी वर्ष पूरा गरे । यो उमेर पार गरेका मान्छेले विकसित देशमा आफ्नो चरित्रको परीक्षण गराउन पाइने व्यवस्था थियो; आर्थिक वर्षको समाप्तिपछि लेखापरीक्षण गराएजस्तै । उनले पनि आफ्नो देशको सरकारलाई यो परीक्षा लिन आग्रह गरयो । कानुनमा व्यवस्था नभएकाले सरकारले आनाकानी ग¥यो । तर, उनको लगातारको जिद्दीपछि विशेष व्यवस्था भयो । सरकारी अडिटरहरू जाँच गर्न आए । उनको जिन्दगीभरिका फाइलहरू खोतलखातल पारे । त्यसै क्रममा एउटा अडिटरले भन्यो —यो मान्छे सानैदेखि पास भएको हो । यसले आफ्नो कर्तव्य पनि राम्रैसँग निर्वाह गरेको रहेछ । यसलाई सतचरित्र अर्थात् अनक्वालिफाइड रिपोर्ट दिऊँ न ।

त्यो सुनेर अर्कोले भन्यो —अहँ, हुँदैन । यो हाम्रो पार्टीको मान्छे होइन । खोतलखातल गरयो भने यो कहीँ न कहीँ चुकेको भेट्न सकिन्छ । यसलाई त दुष्चरित्र अर्थात् एडभर्स रिपोर्ट दिनुपर्छ । ताकि भविष्यमा अरू मान्छेले यस्तो कुरा नउठाउन् । सतचरित्र पाउन त पैसा ख्वाउनुपर यो नि !

यस विषयमा धेरै विवाद भयो । धेरै दिन बितेपछि बल्लबल्ल सबैजना सहमतिमा आए । उनलाई तेस्रो दर्जाको रिपोर्ट दिनै आँटेका थिए । उनी केही बेथै नलागी त्यहीबेला परलोक गए । अडिटरहरूले रातारात मन बदलेर उनलाई सतचरित्र रिपोर्ट दिए ।  

 विचरा  सधैंझैं यसपटक उनले “म पास भएँ” भन्नै पाएनन्। 

      ३) कपाल  

मेरो कपाल कालो रङमा सलक्क परेको थियो । उमेर बढ्दै जाँदा, बिस्तारै एकदुई वटा फुल्न थाल्यो । उपचारस्वरूप कलप हालेँ । यसले एक–दुई हप्ता जलपको काम गरयो । तर, स्थायी समाधान भएन । त्यसपछि दैनिक तोरीको तेल हालेँ । अनि प्रोटिनयुक्त खाना पनि धेरै खान थालेँ । चिन्ता गर्न पनि बिर्सिदिएँ । तर, पनि समस्या ज्यूँको त्यूँ । अन्तिम उपाय स्वरूप बैधनाथको औषधि लगाउन थालेको थिएँ।

मैले देखेँ कि; त्यो विदेशीको कपाल त एउटा पनि फुलेकै थिएन । न त काला नै थिए । अचम्म मान्नुपर्ने कुरै थिएन, किनकि उ तक्लु थियो । उसलाई कपाल फुल्ने चिन्ता पनि थिएन । अब आफ्नो भने भएको कपाल उखेलेर तक्लु बन्नु ठीक पनि थिएन।

मलाई तक्लु र यहाँ आउने शरणार्थी उस्तै लाग्यो । ती शरणार्थीहरूलाई कपाल जगल्ट्याई उखेलेर फालेझैँ गरी यहाँ ल्याइपुरयाइन्छन् । त्यति गरेपछि तक्लुलाई जस्तै ती शरणार्थीको देशलाई आनन्द भएको हुन्छ।

हिजोआज ती शरणार्थीहरूलाई छानी–छानी लैजाने गरेका छन् पश्चिमेलीहरूले । यताका केही स्थानीयहरू पनि आफूलाई घुमाउरो पारामा शरणार्थी बनाएर उनीहरूसँगै जान थालेका छन् । यस्तो गर्दा मलाई लाग्यो; मेरा चिल्ला–काला कपाल जति उखेलिँदै छन् । यसो ऐना हेरँ, नभन्दै त्यहाँ सेतो कपालको बाहुल्य देखियो।

         ४)   नौ निर्दोष  

‘दस जनामा एक दोषी छुटोस् तर नौ निर्दोष नपरोस् भन्ने सिद्घान्तलाई नेपालले अङ्गीकार गरेको छ । त्यसैलाई अनुसरण गर्दैै नेपालले मृत्युदण्डको कानुन २०४७ को संविधानबाटै खारेज गरेको हो।’ 

लोकसेवाको तयारी गर्दै गरेकी रामेश्वरीले यी वाक्य घोकेर कण्ठ पार्दै थिई ।  अचानक टेलिभिजनले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएर गाउँ नै बगाएको खबर देखायो । आफ्नो माइती गाउँको त्यो बेहाल देखेर आँखामा आएको आँसु पुछ्दै माइतीमा फोन लगाई । फोन लागेन । त्यसपछि पल्लो गाउँकी काकीलाई फोन लगाई । काकीकै मुखबाट सुनी — उसका माइतीघरका एघार जना सपरिवारकै एउटै चिहान भयो रे।

यो खबर सुनेर दिउँसै उसलाई अन्धकार भयो । मुटुको धड्कन तेज गतिमा दौडियो । दुई जिउकी रामेश्वरी अचानक भुइँमा ढलेर बेहोस भई।

साहूको काम गरेर उसको लोग्ने साँझमा कोठा आयो । बाटोमा सवारी साधन नचलेकाले हिँडेर खुट्टा फतक्कै गलेका थिए । कोठाभित्र पसेपछि स्वास्नीलाई बेहोस देखेर आत्तियो । यसो हेरयो;  रामेश्वरीको सुरुवाल रगतले भिजेको रहेछ । अस्पताल लग्नुपर्ने विचार गरयो । कोठामा सहयोगी कोही थिएनन् । भित्री गल्लीको कोठाबाट ऊ ट्याक्सी खोज्न गएन । न त एम्बुलेन्स नै बोलायो । उसलाई थाहा थियो; त्यस दिन छिमेकी देशको प्रधानमन्त्री नेपाल आउने भनेर तीन घण्टा अघिदेखि बाटो बन्द थियो । सार्वजनिक गाडीको के कुरा, निजी स्कुलका गाडी समेत गुडेका थिएनन् । त्यही कारण कतिपय निजी स्कुलहरूमा पढाइ भएको थिएन।

कोठामा फटाफट गएर हिम्मत गरी उसले स्वास्नीलाई पिठ्यूँमा जुरुक्क पा¥यो । सकीनसकी बोकेर चाबेलमा रहेको नजिकैको हस्पिटलमा पुर यायो । उसको आँङको लुगामा स्वास्नीको रगत लतपतिएको थियो । इमरजेन्सीमा डाक्टरले नाडी छामेर भने —तपाईँको श्रीमती अत्याधिक रक्तश्रावले गइसकिन् । पाँचै मिनेट ढिलो भो।

उसले सहन सकेन । त्यहीँ थुचुक्क बस्यो । यो घटनाको विवरण एउटा पत्रकारले थाहा पाएछ । उसले भोलिपल्टको अखबारमा यही खबर छपायो — एक अपराधीको डरको कारण, विदेशी प्रधानमन्त्रीको सुरक्षालाई ध्यान दिई कडा सुरक्षा अपनाउँदा गाडी चल्न पाएन । त्यही कारण समयमै अस्पताल पुग्न नसकेर रामेश्वरी र अन्य आठ जनाको गरी कुल नौ जना निर्दोषको राजधानीमा हिजो मृत्यु भयो।

    ५) घर हड्ताल

“हाम्रो पुरानो घरलाई नयाँ बनाउनुपरयो । घरका सबैको पारदर्शी व्यवहार हुनुपरयो । कसैेले पनि आम्दानीमा हिनामिना गर्नु भएन ।”

पच्चीस जनाको संयुक्त परिवारमध्ये काँइलो छोराले प्रस्ताव राख्यो । उसको प्रस्तावलाई सबैले समर्थन गरे । तर त्यो प्रस्तावलाई कसैले पनि महत्व दिएनन् । त्यसैले घरमै अन्नपानी केही नखाई उसले अनसन बस्यो । उसको अनसनलाई घरका सबै स–साना नानीहरूले एकबद्घता जनाए।

उसको अनसन तोड्न उसैका दाजुभाइ लगायत बाउले पनि ठूलै कसरत गर्नुपरयो । स–सर्त उसले अनसन तोड्यो । तर सर्तबमोजिम दश दिनभित्र पनि केही अन्तर भएन । त्यसैले उसले घर हड्ताल गरयो । घर कम्पाउण्ड नाघेर कसैलाई पनि बाहिर जान दिएन । कसैले उसको आज्ञा बेगर घरबाट बाहिर जाने कोसिस गरे भने तीनलाई कुटपिट गरिहाल्थ्यो । कुटपिट गर्नमा उसकै छोराछोरी लगायत अरू दाजुभाइका सन्तानले पनि साथ दिन्थे । कोही पनि घर बाहिर जान नपाएपछि जागिरदारलाई समस्या परयो । ऊ त बेरोजगार थियो । हड्ताल सफल भएकोमा दङ्ग थियो ।

काम गरी खाने दाजुभाइले वार्ता गरेर समस्या सुल्झाउन अनुरोध गरे । उसले मानेन । त्यसपछि उसको बाउले ऊसँग कुरा गरे । ‘अख्तियार दुरुपयोग गर्नेलाई तँ आफैँ कारवाही गर्’ भने । अहँ उसले सुन्दै सुनेन । हार खाएर बाउले उसलाई जग्गाजमिन बेचेर भए पनि राम्रो व्यबस्था गर्न पुग्ने पैसाको बन्दोबस्त गरिदिने बताए । पैला पैसा पाएपछि मात्रै विचार गर्ने कुरा उसले गरयो । बाउले भएको जग्गा–जमिनमध्ये आदि बचेर उसलाई दिए । हड्ताल खुल्यो। 

त्यसपछि आफ्नै नाममा उसले भव्य महल बनायो । महल भाडामा लगाएर आउने पैसा पनि आफूमात्रै फुर्मासी गर्न थाल्यो । ऊ र उसका सन्तान सानले बस्न थाले । कसैले कानुनी औँला उठाउने ठाउँ थिएन।

त्यो देखेर अरू दाजुभाइका सन्तानहरूले भन्न थाले —नयाँ घर बनाउँछु भनेर जति आन्दोलन गरे पनि घर त हाम्रो नभएर हड्ताल गर्नेको पो बन्दो रहेछ ।  

प्रकाशित: २६ चैत्र २०७७ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App