७ वैशाख २०७८ मंगलबार
कला

स्यालको भोज

कविता

लाग्छ,

स्यालहरू,

अन्तिम भोज खाइरहेछन्।

हेर न,

चोक्टाहरू

कसरी लुछिरहेछन् ।  

नरमकरम छामिरहेछन्,

धार्नी,बिसौली नापिरहेछन्।

भागवण्डा लगाइरहेछन्।

चोक्टाचोक्टा  बाँडिरहेछन्।

जसले भाग पायो,

तिनीहरू नाचिरहेछन्,

जसले केही पाएन,

हुइयाँहुइयाँ रोइरहेछन् ।

खोई यिनीहरूको घ्याम्पे भुँडी,

कहिले भरिन्छन्।  

माकुरीको पन्जामा,  

अल्झिएको झिँगाजस्तो,

चील, ब्वाँसाहरूको पञ्जामा

च्यापिएको चल्लाजस्तो

विवश , असहाय, कराइरहेछ।

उधारिएका अस्मिता,

लाचार, विनित, विवशताहरू,

इतिहासका अस्तित्वहरू,

अन्तिम लडाइँ लडिरहेछ ।

कल्पवृक्ष भनेर रोपेका बिरुवाहरूमा,

लेन्डुपेका दानाहरू, झुप्पाझुप्पा फलिरहेछ।

तर ऊ हाँसिरहेछ,

हर्षले झुमिरहेछ

लुछिरहेछ,

चोक्टाहरू चबाइरहेछ।

खोई यिनीहरूको घ्याम्पे भुँडी

कहिले भरिन्छ ?  

एउटाले सय वर्ष  चुस्यो

अर्काले चालीस वर्ष  चबायो।

बस, सबै सकायो,

उसले सबै पचायो,

अरू दशकौँले, चिथोरे,निचोरे,

भ्याएसम्म बलात्कार गरे

कतिले त,

विश्वबजारमै  लीलाम गरायो ।

आफ्नै अस्थित्वको बोली लगायो।

अनि भन्छन्

मैले त,

तेल  मालिस गरिदिन पो नङ्ग्याएको।  

लाज पचा निको,आँखामा पट्टी बाँधेर,

घमण्ड र जडसूत्रको बोरा बेरेर

हठी र जिद्दी प्रवृत्तिलाई

दृढताको संज्ञा दिएर,

सर्वाङ्ग स्वाभिमान र अभिमानलाई,  

सतरञ्जको गोटीमा साटे

भन्ने गर्छ,

मैले विश्व रङ्गमञ्च जितेको छु।

मैले संघर्षको आवाज बोलेको छु।

प्रतिकारको हतियार उठाएको छु।

इतिहासको साक्षी बनेको छु।  

कति गजब छ–

घुम्ने कुर्सीमा बसेको एउटा अन्धो मान्छेले,

अर्जुनदृष्टिको उदाहरण सुझाउँछ।

अन्धो मान्छेलाई के पत्ता  

घुम्ने कुर्सीमा घुम्दाघुम्दै,

उत्तर, दक्षिण ,पश्चिम

कुर्सी कता रोकिन्छ।

कता अल्झिन्छ,

कहिले भाँचिन्छ,

घुम्दाघुम्दै कुइनेटाहरु कता ठोक्किन्छ।

कता चोइटिन्छ?

अरूको बाजामा नाच्दानाच्दै,

कतिखेर चिप्लिन्छ।

कतातिर लुड्किन्छ।

अझै केके देखिन्छ?

खोई ..?  

त्यो घ्याम्पे भुँडीहरू कहिले भरिन्छ?

स्यालहरू यस्तै हुन्,  

जहिल्यै लडिरहन्छन्।

लुछाचुँडी गरिरहन्छन्।  

यसलाई पनि त्यही हड्डी चाहिएको छ,

त्यसलाई पनि त्यही हड्डी चाहिएको छ

स्यालहरूको लुछाचुँडीमा ,

हड्डी तानातानको लडाइँमा,

म भुस्याहा कुकुर  

तमासाको पर्यवेक्षक,

आफ्नै लुतोलाई, सुम्सुम्याउनुमा

भ्याईनभ्याई छ।  

नचिलाएको टाउको,

कस्ले पो कनाउँछ,

लुतो नै कनाउनमा मजा आउँछ।  

हिजो सिनोले  नपुगेको स्यालहरूलाई,

आज इम्पोर्टेड होली वाइन चाहिन्छ,

शिवजीको ताण्डव देखेर,

जता पनि बज्ने डम्बरु बनेर,

आफू त,

ताल न सुर,

पटरपटर बजाइन्छ,  

अन्तत्व,

आफू पनि ,

भुस्याहा कुकुर न परियो।

स्याल कराउँदा किन पो भुकिन्छ?

बरु लुतो कनाउँदै,

अँगेठीको डिलमा

न्यानो मानेर सुतिन्छ।

यस्तै हो यहाँ,

मति कहिले पो सुध्रिन्छ

खोई यिनीहरूको घ्याम्पे भुँडी,

कहिले पो भरिन्छ।

होसियार

धेरै खायो भने भुँडी पनि पड्किन्छ।

प्रकाशित: २५ चैत्र २०७७ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?