१६ चैत्र २०८० शुक्रबार
कला

आशा

लघुकथा

पढेलेखेका युवाहरू रोजगार नपाएर छटपटिएको अवस्थामा एउटै मात्रै विकल्प थियो, वैदेशिक रोजगार । सरकारले केही मुलुकमा कामदारहरू पठाउने अनुमति पायो। थोरै लगानी गर्नसक्ने  युवाहरू धमाधम खाडी मुलुकका लागि उड्न थाले भने लगानी गर्न सक्नेहरू कोरिया, जर्मनी , जापान आदि देशमा पुग्न थाले। 

यसै सिलसिलामा मेरा निकटका काका पनि जर्मनी पुग्नुभयो। त्यहाँ  पुगेर राम्रो आय हुन थालेपछि उहाँको आर्थिक अवस्था सुध्रिंदै  गयो।

केही वर्षको जर्मनी बसाइँलाई  बिट मारेर स्वदेश फर्किनुभएका उहाँको बसोबास शहरमै हुन थाल्यो।

म वैदेशिक रोजगारीमा आएपछि मेरो उहाँसँग  लामो समयसम्म भेट हुन सकेको थिएन। काकालाई भेट्न शहर पुगेँ । केटाकेटीको पढाइ खर्च अनि रोगी काकीको अस्पतालको खर्चले काकाको आर्थिक हालत अति नै नाजुक देखिन्थ्यो। गाउँमा  पुर्ख्यौली जमिन  भए पनि तत्कालै बेच्न तयार थिएनन् दम्पती। जसोतसो गुजारा चलाइरहेका काकाले भने – तँ काम गर्ने देशमा त मोबाइल अलि सस्तोमा पाइन्छ अरे । अर्को पटक आउँदा मेरा लागि एउटा ल्याइदे न है।

मैले भने – कहाँ सस्तो हुनु काका?  झन् महँगो पर्छ उता त। बरु यतै चाइनिज मोबाइल सस्तोमा पाइन्छ ,  किन्नुस्  न।

उनले भने– किन्ने पैसा भएको भए तँलाई ल्याइदे भन्थेँ  र ।

– हुन्छ काका, पैसा भएछ भने ल्याइदिउँला भन्दै बिदावारी भएँ ।

सोचेँ , जर्मनीबाट आउँदा  भतिजाको आङमा लगाएको फाटेको कपडा  देखेर नयाँ त के , लिलाम बिक्रीको एउटा  टिसर्ट  ‘ला  बाबू’ भनेर दिएको भए मात्रै पनि आज उत्तिखेरै खल्तीको मोबाइल झिकेर हातमा थमाइदिएको हुने थिएँ।

प्रकाशित: २५ चैत्र २०७७ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App