८ वैशाख २०७८ बुधबार
कला

सक्कली मलामी

लघुकथा

क्याप्शन

   १) सक्कली मलामी

तिनताक कलेजको मेरो जागिर अस्थायी थियो । म कलेजकै पिउन हर्कबहादुरको घरमा भाडा बस्न पुगेको थिएँ । ऊ त्यो शहरको रैथाने हो । फिनिसिङ नसकिएको पक्का घर भाडामा लगाएर सानो खरको झोपडीमा बस्थ्यो एउटै कम्पाउन्डमा । म सधैँ अस्थायी जागिरको असन्तुष्टि व्यक्त गर्थेँ । भनूँ एकप्रकारले कोकोहोलो गर्थेँ । तर ऊ मलाई भन्थ्यो – आ सर भो छोडिदिनोस् । सरलाई थाहै छ नि, जागिर स्थायी, जीवन अस्थायी ।

बाटाको घर थियो । माग्ने खुबै लाग्ने । मेरोमा माग्न आउनेलाई म भन्थेँ–

‘यत्रा पाखुरा छन्, तीन तिघ्रे छस्, काम गरेर खानु पर्दैन ?

त्यसपछि माग्नेहरू उसको झोपडीमा पुग्थे । ऊ सधैँ माग्नेलाई केही न केही दिन्थ्यो । भलाकुसारी पनि गथ्र्यो ।  

र कहिलेकाहीँ मलाई भन्थ्यो– बाँडेर खाएको मिठो नि सर । यो सबै भगवानको लिला हो । उसकै चक्र हो, नत्र त म पनि सरजस्तै सुटबुट लगाउने प्रोफेसर भइहाल्थेँ होला नि । किन पो पिउन हुन्थेँ र सर?

नभन्दै ऊ खाँदाखाँदैको भात माग्नेलाई दिन्थ्यो । लगाइरहेको लुगा दिन्थ्यो । रुपियाँ पैसा दिन्थ्यो । घरका जहान उसलाई यो ताल देखेर बेसरी कराउँथे । कलेजमा ऊ हाँसोको पात्र थियो । तर, ऊ फिस्स हाँस्थ्यो ।  

आज ऊ मर्यो । हामी उसको घर गयौँ । लास आँगनमा लडाइएको थियो । रामनामीले छोपिएको थियो । लास उठाउन अलि ढिलो हुनेवाला थियो ।  

मैले आँगनमा उभिएका मान्छेहरूलार्ई आँखा डुलाएर हेरेँ । आँगनको एकाछेउमा ती माग्नेहरू मलाम जान पर्खिरहेका थिए । साँच्चै स्तब्ध भएर रोइरहेका थिए  र उनीहरूलार्ई कुनै हतार थिएन । किनकि उनीहरू सक्कली मलामी थिए ।  

यत्तिकैमा प्रविण सरले मलाई खुसुक्क भन्नुभो– म मलाम जान नभ्याउने भएँ । ट्युसन छ ।’

          २) आशाको ज्योति

म मनोचिकित्सक हुँ । एउटा बिरामीको मनोपचार गर्न उसको घर जाँदै छु । ऊ २५ वर्षे लाठे केटा हो । उसको पढाइ थियो । जागिर थियो । श्रीमती थिइन् । बाबु थिए ।  

दुर्भाग्य उसले हाँकेको कार दुर्घटना भयो । बाबु मरे । श्रीमती मरिन् । ऊ मर्दामर्दै बाँच्यो । पढाइ गयो । जागिर गयो । उसको दुइटै हात काटिए । दुइटै खुट्टा काटिए । लामो समयपछि उसको होस फिरेको थियो । उसलाई कृत्रिम हात खुट्टा लगाइएको थियो । जिन्दगीदेखि यति निराश थियो कि ऊ मर्ने दाउ खोजिरहन्थ्यो ।  

ऊ भन्थ्यो– डाक्टर, यी गोडा मेरा होइनन् । यी हात मेरा होइनन्।

अनि म भन्थेँ–मेरा पनि यी हातगोडा मेरा होइनन् । यो सबै यहीँ छोडिन्छ, कामचलाउ मात्र हो । मेरो खुट्टा हाडको छ, तपाईँको प्लास्टिकको, फरक यति मात्र हो ।’

ऊ फिस्स हाँस्थ्यो । सायद पत्याउँदैनथ्यो ।  

उसको घरमा उसकी रोगी आमा हुनुहुन्छ । ३ वर्षे छोरी पनि छे ।  

गाडीमै सेतो एप्रोन लगाएँ । उसको घरभित्र पसेँ ।  

ऊ आमालाई भन्दै थियो– आमा, केके न गरुँला भन्ने थियो । अब म केही कामको भइनँ । यस्तो जीवन बाँच्नुभन्दा त मर्नु बेस होइन र ?

आमा स्तब्ध थिइन् । आँखाका डिलले आहाल बगाएका थिए।

र पनि आमा भन्दै थिइन्–बाबु, तिमीलाई थाहा छ, सक्कली हातगोडा हुनेहरू पनि धर्तीका बोझ भएका छन् । कृत्रिम हातगोडा भएकाहरू पनि समाजको उद्धारमा लागेका छन् ।

ऊ भनिरहेको थियो–आमा, म के गरूँ त अब ?

आमाले जवाफ दिइन्– केही गर्नु पर्दैन बाबु् तिमीले ।  जीवनसँग आशा नमार । यो बलिरहेको मैनबत्तीलाई हेर । तिम्रो बुवा बितेपछि यो आशाको ज्योति बालेर बसेकी छु । त्यो ज्योतिमा तिमीलाई देख्छु र बाँचेकी छु । तिमी पनि यो ज्योतिमा तिम्री छोरीलाई हेर त । संसार कति रमाइलो छ ।

        ३) जन्मदिन 

हिजो थियो मेरो पैंसट्ठीऔं जन्म दिन । रातको १२ बजे एकाएक परिवारले मलाई निद्राबाट उठाए । आँखा मिच्दै उठेँ ।

टेबुलमा गजधम्मे केक थियो । बेलुनले कोठा सजिएको थियो । छोराछोरी पनि भेला भएका थिए । नाति र नातिनी पनि ताउरमाउर गर्दै थिए । बूढीको पनि फूर्तिफार्ती थियो । मलाई सोफामा बसाए र चुच्चे टोपी लगाइदिए  र सबै एकसाथ चिच्याए– ह्याप्पी बर्थडे बुवा।

परिवारका सबैले केही न केही उपहार दिन थाले।

म छक्क परेर हेर्न थालेँ । सम्झन थालेँ कि कहिले पनि कुनै उपलब्धिमूलक क्षण मनाएको छैन । ६४ वटा जन्मदिन सुलुत्त चिप्लेछन् जीवनबाट । तर आपूmले भने आफ्नो ब्रतमन्न भोज र बिहे भोज अनि बुवा आमाको श्राद्ध र घरमा कहिलेकाहीँ लाग्ने रूद्रीपूजाबाहेक त्यस्तो केही मनाएको थाहा छैन । मलाई अलिकति लाज पनि लागेको थियो । अलिकति त किन यो फजुल खर्च गरे छोराछोरीले भन्ने पनि लागेको थियो । किनकि खर्चको जोहो किन्दै सकिएको थियो आफ्नो जीवन ।  

र पनि मैले भनेँ–जिन्दगीमा पहिलोपल्ट यस्तो तामझाम गर्नुपर्यो । नत्र त कहिले आयो कहिले गयो जन्मदिन पत्तै भएन । यो फजुल खर्च नगरेको भए हुन्थ्यो तिमी केटाकेटीहरूले।

जेठी नातिनीले भनी–जीवनमा सबै कुरा एकपल्ट मात्र हुन्छ बाबा । पहिलोपल्ट जन्मिएपछि फेरि जन्मनु पर्दैन । एकपल्ट मरेपछि फेरि मर्नु पर्दैन ।  कुरो रह्यो, त्यो क्षण रोएर मान्ने कि हाँसेर मान्ने भन्ने कुरा । सुख दुःख नियति हो बाबा । त्यो आफ्ना बसमा छैन । पैसा कमाउँदैमा सुख कमाइन्छ भन्ने पनि होइन । बसमा भएको तपाईँ हाम्रो आफ्नो जीवनका महत्वपूर्ण क्षणहरूलार्ई किन मेमोरेबल नबनाउने बाबा ?

अनि मैले मुख नबाई मनमनै भनेँ– जीवनमा एकपल्ट मात्र जन्मेर र एकपल्ट मात्र मरेर हामीले कहाँ धर पायौँ र नातिनी ?

 

       ४) किचकिचे

१५ वर्ष पहिले बुहारीलाई डिभी परेको थियो । छोराबुहारी अमेरिका भासिएका थिए । नातिनातिनी भएका थिएनन् ।  

मेरी बुढी छोराबुहारीलाई साइबरमा गएर कानमा गुजुल्टो लगाएर भन्दै हुन्थी–नातिनातिनी पाओ न भन्या । बुढा भइसक्यौ । सन्तान सुख चाहियो नि हामीलाई पनि । साउँकोभन्दा ब्याजको माया भन्छन्।

उताबाट जवाफ आउँदै हुन्थ्यो– खोई सेटल्ड भएकै छैन।  हजुरहरू आउनु अनि पाउने।

आफ्नो दैवले नचुँडेको सन्तानमा त्यत्ति एउटा थियो । हामी जोईपोइ ग्रिनकार्ड पाएर अमेरिका गयौँ । अहाहा अग्ला बिल्डिङ, चाक्ला सडक, कमिलाका ताँतसरी गाडीहरू । टाँडे सडक । झिलिमिली बत्ती । सफासुग्घर । खानेकुरा त कति हो कति, भनेरै साध्य नहुने । नेपालीहरूले पनि आफ्नै समाज बनाएर बसेका । रमाइलो थियो । लाग्दथ्यो, पूरै नेपाल खर्लप्प पल्टेको छ ।  

अब नातिनी जन्मी । हामी नातिनीसँग दिन बहलाउन थाल्यौँ । रमाउन थाल्यौँ । नेपाली समाजले नेपाली संस्कृति, भाषा, भेषको रक्षा गर्न धेरै मेहनत गरेको छ । शनिबार र आइतबार बिदामा स्कुल चलाएको छ । त्यसैले हाम्री नातिनीले नेपाली भाषा लेख्न बोल्न सिकेकी छे । 

मेरो र मेरी बुढीको जहिले पनि ठाकठुक परिरहन्छ । फेरि मिलिहाल्छौँ । त्यसैगरी छोराबुहारी पनि ठट्याङठुटुङ गरिरहन्छन् र फेरि मिलिहाल्छन् । एकदिन म बूढीसँग ठूल्ठूलो स्वरले कराइरहेको थिएँ । छिमेकी आइपुगे र मेरी १२ वर्षे नातिनीलाई जिस्क्याए–यी नानीलाई त अब एउटा नेपाली खोजेर बिहे गरिदिनुपर्छ।

यो कुरा सुन्नेबित्तिकै नातिनीले भनिन्– नेपालीहरू किचकिचे हुन्छन् । हाम्रो बाबा र आमाको हेर्नु न । जहिले पनि किचकिच किचकिच । आमाले त केही गर्नै नहुने । केही भन्नै नहुने । खलक्कै खाने । भो बाबा, म त बिहे गोरासँग नै गर्ने हो, आफ्नो जिन्दगी बाँच्न त पाइन्छ।

        ५)कायाकैरन

धामी बक्दै थियो । कायाकैरन ल्याउँदै थियो–हेरहेर, हेर डाङ्ग्रे ग्रहले छोपे छ । कहिले पूर्व दुख्छ, कहिले पश्चिम दुख्छ । कहिले उत्तर दुख्छ, कहिले दक्षिण दुख्छ । हो कि होइन भन्।

धुपौरेहरू कोइलामा धुप हाल्दै सही थाप्दै थिए–हो प्रभु हो, सतोसत हो।

ढ्याङ्ग्रो बजाउने बेसरी बजाइरहेका थिए ।

धामी फेरि कैरन ल्याउन थाल्यो–उतिबेला संघीयता नभई हुन्न भन्यौ। हो कि होइन मनुवा भन् । छिटो भन् मनुवा।

–हो प्रभु, हाम्रो गल्ती भो । अहिले बोकाको मुखमा कुभिन्डो भो प्रभु । धान्न नसकिने भो प्रभु।

–हेर्–हेर् डाङ्ग्रे, आफ्नै खोरमा बाख्रा पाल् मनुवा ?

त्यहाँ उपस्थित जनता दर्शक यो पल्ट बोले– घरमा बाख्रा पाल्न पनि रोक लगाइएको छ प्रभु । करको बोझ थेग्न नसकिने भो प्रभु । हावामा रेल पनि नकुद्दो रहेछ प्रभु।

धामी झन् जोडले डुक्य्रो– के गर्छौ त मुनुवा, संघीयता झिकिदिऊँ ? हेरहेर मनुवा, भन् छिटो भन् ।

धुपौरेहरू चिच्याए–हुन्नहुन्न प्रभु, यी जनता जे पनि भन्छन् । जे पनि माग्छन् । त्यसै गणेशमानले भाते जनता भनेका होइनन् नि प्रभु । हाम्रो त उठीवास हुन्छ प्रभु ?

धामी झन् जोडले बक्यो– निक्खर कालो रङ्गको भाले भोग दे मनुवा, ग्रहदशा भाग्छ, हेरहेर, हेर मनुवा।

धुपौरेहरूले सक्कली सतिसालको धूप फेरि कोइलामा हाले र भने–हस् प्रभु, यो संघीयता पनि हजुरकै कृपा हो । संघीयता थेग्ने निक्खर कालो भाले पनि उतैबाट पठाइदेऊ प्रभु । प्रभुको जय होस्।

प्रकाशित: २३ चैत्र २०७७ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?