४ चैत्र २०७७ बुधबार
कला

आमाको सन्दुस र लाम्पाते सुर्ती

कथा

आज मन एकतमासको भएको छ । घरको कौसीमा बसेर परपर हेरिरहेको छु । छिमेकी साइँल्दाइका बारीमा लहलह लामपाते सुर्ती हराम्य छन् । मलाई त्यो लामपाते देखेर एक खाले रिस उठेर आउँछ । म ती लामपातेलाई हेरिरहन सक्दिनँ । घरभित्र पस्छु ।

आमाको कोठामा एउटा सन्दुस थियो काठको । त्यसमाथि ओछ्यान लगाइएको थियो । भोटे ताल्चा लागिरहन्थ्यो । आमाको सुद्दी छउन्जेल राखनधरन त्यही सन्दुसबाट हुन्थ्यो । झरझरे खोलाको बेँसीको खाँटी अग्राखबाट बनेको त्यो सन्दुसमा सायद बनाउँदा इनामेल लगाइएको थियो कि, नत्र त्यसपछि कहिल्यै रङ्ग लगाइएको थिएन । तर, त्यो धुँवाको सेकाइले कालो थियो । कोट्यायो भने साना सानाकाला पाप्राहरू निस्कन्थे । आमा भन्नुहुन्थ्यो यो सन्दुक उहाँलाई पनि सासूको उपहार हो रे । पहाडबाट बसाइँ सर्दा नै त्यो सन्दुस बडो कष्टले मधेस झारिएको थियो । त्यो कहिले बन्यो थाहा थिएन । तर भारी थियो । हामीले कहिल्यै  त्यो सन्दुस खोलेका थिएनौँ । कामै थिएन त्यसको । आलमारी र दराज घरभरि थिए । सन्दुसले खाटको काम गरेको थियो । फेरि आमाको सुद्दी हराएपछि त झन् खोल्ने सम्भावना नै थिएन । खोल्ने कुरा गर्यो भने उहाँ जोडजोडले चिच्याउनु हुन्थ्यो– “त्यो असत्ती काले बैदारलाई पनि यही सन्दुस चाहिएको छ । मेरा मालिक कलकत्ताबाट आउनुहुन्छ ।   सप्पै पोल लाइदिन्छु । तिमी पातकीहरू, मेरो सम्पत्ति खान खोज्छौ ?, दिन्न । एक दिन्न, दुई दिन्न, तीन दिन्न”

काले बैदार कान्छा हजुर्बाको प्रचलित नाम रहेछ । र उहाँले त्यो जमानामा त्यही सन्दुकमाथि आँखा लाउनुभएको रहेछ । अहिले उहाँ बितेको पनि धेरै वर्ष भइसकेको थियो ।

आमाको लासलाई दागबत्ती दिएँ । आगो ह्वारह्वारी बल्न थाल्यो । कपुरको गन्धमा लास पोलिएको गन्ध मिसिएर आर्यघाट धुँवाम्य भएको थियो । म यसो छेउ लागेँ । साथीभाइ इष्टमित्र मलाई सान्त्वना दिन मनजिकै थिए ।  

मलामीको पल्लो समुहमा बोलेको म टड्कारो सुन्दै थिएँ । मान्छेहरू भन्दै थिए–“बुढियाको बिजोग थियो । बिचरीले दुःखै लुकाइन् ।”

“छोराबुहारीले कम्ता हिफाजत गरेको त होइन नि । तर अब उनीहरू पनि फुकाफाल भए । कम्ता हो र दस वर्षसम्म !”

“बाबै, आफ्नो सुद्दी छउन्जेल कडा हुन् आमै । कहिल्यै कसैसँग डगिनन् । तर कालको अगाडि कसैको केही लाग्दैन । दैवको लीला । लेखान्त !”

आमालाई भने आफूसँगै मनभित्र लुकाएर ल्याएको थिएँ । सबै कुरा बिर्सिएर थला  परे पनि आमा पुराना कुरा बिर्सनु हुन्नथ्यो । आमा भन्नुहुन्थ्यो–“त्यो झरझरे खोलाको पानी कुलोमा ल्याएर बेँसीको खेत पटाउन जानु छ। ”

“काली भैँसी ब्याउने बेला भएको छ, त्यो पाखाको अम्लिसो साँच है । पीठो ढुटो सक्लाऊ?”  

जब कि त्यो खेत बेचेर मधेस झरेको १५ वर्ष भएको थियो । उहाँले नै बेच्नुभएको थियो । यस्तै थियो उहाँको अन्तिम १० वर्ष ।  

तर मलाई भने आफैँलाई लागिरहेको थियो । उफ, मान्छेको जीवन । हिजोसम्म त आमा हुनुहुन्थ्यो । घरभित्र बाहिर गर्नु हुन्थ्यो । भेट्न आउने मान्छेसँग बेतुकका कुरा गर्नुहुन्थ्यो । तर हुनुहुन्थ्यो । बेतुककै भए पनि कुरा गर्नुहुन्थ्यो । अहिले यो घर सुनसान भएको छ । अब आमालाई खुवाउनु पर्दैन । लुगा लगाइदिनु पर्दैन । आमा गुमाएर फुकाफाल भएका छौँ । फुकाफाल भएर टुहुरा भएका छौँ । 

मान्छेको भित्रबाहिर गर्ने श्वास बाहिर गएको गयै भयो भने मान्छे सिद्धिने कस्तो परिपाटी हो कुन्नि । म आफैँ मसाने वैराग्यमा थिएँ । मसाने वैराग्य याने मसानघाटमा पुग्दा उफ मान्छेको जीवन भन्यो अनि अलि वरतिर आयो र हामीसँग बाँचेका सुुसेधन्दाहरूले बेस्सरी गाँजछन् र अभिशप्त भुलिन्छौँ । 

क्रियाकामका सेतो लुगा चलन थियो । संस्कार थियो । मान्नै पथ्र्यो । नमानेर क्रान्तिकारी भइने पनि थिएन । नक्कली क्रान्तिकारी हुनुभन्दा त यो संस्कार नै ठिक थियो । म सेता लुगामा थिएँ । आमा मेरो मनभित्र वा कतै सुरक्षित हुनुहुन्थ्यो ।  तेह्रौं दिनमा लुगा फेर्नुपथ्र्यो । मैले कर्मकान्डी विधिअनुसार नै सबै कुरो फुकाएँ । छिर्केमिर्के लगाएँ । बाउ बित्दा वर्षीको थिएँ रे । थाहा पाइनँ । कस्तो लगाएँ होला ? कस्तो खाएँ होला ? तर अहिले मैले लगाएको छिर्केमिर्के लुगामा टिकाटिप्पणी सुरु भएको छः  

“कस्तो त हौ ?, एक्ले छोरो भएर पनि, तेह्रौँ दिनमै रंगीन लुगा लगाउनुपर्ने ?”

मैले खानेकुरा फुकाएकोमा पनि मान्छेहरु असन्तुष्ट थिए–

“कस्तो छोरो होला, सके वर्ष दिन नभए पनि ४५ सम्म त बार्नुपर्ने । दसधारा दूध ख्वाएकी आमा पो त !”

मैले मनमनै सोचेँ । गमेँ । त्यसो भन्ने समुहमा त्यस्ता आफन्त पनि थिए जो मलाई ‘त्यस्ती छुच्ची आमासँग न बस्’ भन्थे । आमालाई एकलै छोडेर शहर जान सल्लाह दिने पनि थिए । सासू बुहारीको झगडा लाउन लागिपरेका मान्छे पनि थिए । सम्पत्ति केही हत्याउँला भन्ने आफन्त पनि थिए । र म फिस्स हासेँ । कस्तो हुन्छ हगि मान्छेको जात ।  

आमाकै कडा अनुशासनभित्र हुर्किनु बाध्यता थियो मेरो । बाउ भएको भए सायद अलि खुकुलो हुन्थ्यो कि । किनकि मेरा बाउले देश देखेका थिए । देश भोगेका थिए । उच्छवास हुँदो हो । सायद सोच्नु हुन्थ्यो होला । यो छोरालाई यस्तो बनाउँला । उस्तो बनाउँला । तर उहाँ थलिनुभएछ । मान्छे भन्थे – उहाँलाई कयान्सर निमित्त भएछ । सुर्ती खाने बानी काल भएर आएछ । सायद दैव आमालाई विधवा बनाउन चाहन्थ्यो । मलाई टुहुरो बनाउन चाहन्थ्यो । 

मेरो जीवन आमा निर्मित थियो । राम्रो भए पनि आमा निर्मित थियो । नराम्रो भए पनि आमा निर्मित थियो । मेरो बिहे स्वाभाविक रूपले आमाकै निर्णय थियो । बुहारीलाई बेलाबेलामा टिप्पा खेलाउने पनि उहाँकै स्वभाव थियो । सायद आफू बुहारी हुँदाको पीडाको कुन्ठा थियो । तर मेरी श्रीमती रमा साँच्चिकै रमा थिइन् । रमाइरहने रमा । जस्तै पीडामा पनि रमाउने । आफ्नो केही दोष नभए पनि गाली खान तयार हुने रमा । रमा मात्र मान्छेको उलामालामा लागेको भए हाम्रो जीवन के हुन्थ्यो कुन्नि ?

तर आमा चेत छँदै भन्नुहुन्थ्यो । कहिले रिसाएको बेला भन्नुहुन्थ्यो । कहिले खुसाएको बेला भन्नुहुन्थ्यो–“गर्छौ भने, मेरो जीवन छँदै गर । मैले सबैसँग निहुरिएर बसेकी भए, तेरा ठुलाबा, काकाले उहिल्यै बिल्लीबाठ पार्ने थिए । काले बैदारले पनि खाइदिन्थे । बाँचुन्जेल आमाबाउलाई दुःख दिने, अनि मरेपछि सेता कपडा लगाएर चिप्लित्त पारेको मलाई मन पर्दैन । पाल्छौ भने अहिले पाल । गर्छौ भने अहिले गर । खुवाउँछौ भने अहिले खुवाऊ । मरेपछि पिन्ड लडाउनुको केही काम छैन !”

काजक्रिया सकिएको थियो । सबै पाहुनापासा, आफन्त बिदा भएका थिए । छिमेकी आफ्नै सुसे धन्दामा होमिएका थिए । स्कुलको मास्टरी छ आफ्नो । स्कुलबाट घरमा आएँ । थाकेको थिएँ । रमाले दिएको कालो चिया खाँदै शिथिल भएर रमाको काखमा पल्टेको थिएँ । उनका पातला औँलाहरूले मेरो झर्दै गरेको केशराशि खेलाउँदै थिए । म त झकाएछु ।मलाई सुताउनु पर्यो भने रमाले यही तरीका अपनाउँछिन् । तन्द्रामै म रमालाई सम्झिरहेको छु । कस्ती समुद्र होलिन् यी रमा । कस्ता असल हुन्छन् यी स्वास्नीमान्छेहरू । जान्नेले ठिकै भनेका हुन् । असल स्वास्नीका तीन रूप हुन्छन् रे । एकैपल्ट आमाको जस्तो माया गर्न सक्ने । श्रीमती भएर सन्तान जन्माउन कर्मशील हुन सक्ने । र सुखदुःखकी आत्मीय साथी बन्न सक्ने ।  अहा, स्वास्नी मानिसहरू । कस्तो मिठास होला स्वास्नी मान्छेमा ? कस्तो सहनशील होला स्वास्नीमान्छे ? कस्तो कर्मशील होला स्वास्नीमान्छे ? कस्तो जिम्मेवार होला स्वास्नीमान्छे ?

धेरै दिनदेखि आमाको कोठा उस्तै थियो । भित्तामा हावडा पुल ब्याकग्राउन्डमा बाआमाको फोटो झुन्डिरहेको थियो । त्यो फोटो हाँसिरहेको थियो । बा कलकत्तामा रेलमा काम गर्दा लगाएको खाकी हाफप्यान्ट र सर्टमा आमासँग खिचेको त्यो फोटो दमदार थियो । बाका जुँघा उचालिएका थिए । आमाले कलकत्ताको गर्मीमा पनि चौबन्दी चोलो र छिटको फरिया लाउनुभएको थियो । बाबाले खाकी सर्टमाथि कोठे गम्छा काँधमा झुन्ड्याउनुभएको थियो । लाग्दथ्यो बा खाँटी चौकीदार हुनुहुन्थ्यो ।  

लाम्पाते सुर्तीलाई काटेर चुनमा मल्दामल्दा देब्रे हत्केला नै अररिएको थियो  भन्नुहुन्थ्यो आमाले । बाका बारेमा धेरै कुरा गर्नुहुन्थ्यो आमाले । तर मलाई भने अचम्म लाग्दथ्यो । अनौठो लाग्थ्यो । कल्पना त हो नि । आइहाल्थ्यो । र म सोच्थेँ – बा बाँचेको भए ?

आमा बाको नक्कल गर्दै भन्नुहुन्थ्यो । बाले यसरी भन्नु हुन्थ्यो रे, ‘कौनै फिकर न ले कान्छी, चैने के रे, तुम्को मेमसाप बनाउँछु !”

अनि आमा रुनुहुन्थ्यो र भन्नुहुन्थ्यो– “त्यो लाम्पाते नखानु न भनेर भुखुन्ड गरेँ, माने पो । आधा बाटोमै छोड्नु रहेछ र पो त । माया थोरै गर्ने हो र ?, त्यो लामपाते नै तेरा बाको काल भएर आयो बाबु !”

अनि म आमालाई र सँगसँगै नदेखेका बाउलाई सम्झिन्थेँ । भावविह्वल हुन्थेँ ।  

 

म त्यसै झोक्राएको देखेर रमाले भनिन्–

“आमाको कोठालाई व्यवस्थित गरौँन ?, छरपस्ट छ । धेरै दिन भइसक्यो । खोई वास्ता नै गर्नु हुन्न । जति झोक्य्राएर बसे पनि आमा फेरि आउनु हुन्न क्यारे !”

“हुन्छ, जाऔँ । भोलि छुट्टी पनि छ” मैले सहमति दिएथेँ ।  

आमाको कोठा खाली गर्यौँ । खाट बाहिर झिक्यौँ । सबै सकिएपछि रमाले भनिन्– “यो सन्दुक पनि सफा गरौँ ।”

सन्दुकमा यत्रो भोटे ताल्चा लागेको थियो । तर साँचो थिएन । कहिले हरायो सायद आमालाई पनि थाहा थिएन होला । साँचो फोड्ने सम्भावना थिएन । बरु अन्तराप नै भत्काउन सिकन्दर मिस्त्रीलाई बोलाइयो । सन्दुसभित्रबाट साङ्लाहरू भुर्र उडे । रमा र म मिलेर सन्दुकभित्रका सामानहरू निकाल्न थाल्यौँ । एउटा दारको सानो ठेकी, आमा कलकत्ता जाँदा बाबाले किनिदिनुभएको चाँदीको हँसुली पनि थियो । पहाडका बेचिसकेको जग्गाका कागजपत्रहरू थिए । एउटा पुरानो फाइल थियो ।त्यसभित्र जतनले उनिएका पानाहरू थिए । ती रहेछन् बाबाले आमालाई कलकत्ताबाट लेखेका चिठीपत्रहरू । र त्यस्का चेपमा कतैकतै बाआमाका पुराना खुइलिइसकेका ब्ल्याक एन्ड ह्वाइट फोटाहरू । सन्दुसको एउटा कुनामा सुकेका लामपाते सुर्तीको मक्किएका पातहरू थिए ।  

मैले ती माउले खाइसकेका चिठीपत्रहरू फुकाएर हेर्न थालेँ । पहिलो चिठी पढ्दा नै थाहा भयो त्यो मेरा बाबाले आमालाई कलकत्ताबाट लेख्नुभएको थियो । बाबाले आमालाई कलकत्तामा लगेर साउँअक्षर चिन्ने बनाउनुभएको थियो । नाउ, गाउँ लेख्न सक्ने, अलिअलि जोरिएमोरिएका पनि फुकाउन सक्ने हुनुहुन्थ्यो आमा । बेलाबेलामा बाबाले चिठी पठाउनुहुन्थ्यो भन्ने कुरा आमाले सुनाउनुहुन्थ्यो ।  

एउटा चिठी यस्तो थियो–

“हावडा, कलकत्ता

सेप्टेम्बर ५, १९५७

प्यारी कान्छी,  

म सन्चै छु । तहाँ आराम कुशल छ होला के रे । तम्ले पठाएको चिठी पाएँ । बहुत फिकर गरेकी छस् । कौनै फिकर नले न हौ कान्छी । म यो मुग्लानमा मरिगए पनि यौटो छोरो त पाएकी छेस् के रे नि, त्यसले पाल्छ नि कान्छी । त्यसलाई म लाडसाबसँग भनेर बेलायती बनाउछु के रे नि । मैले पो दुःख पाएँ त । अरे यार पढ्न जो पाइएन । तर कान्छी, कौनै फिकर नले । त्यो छोरालाई लाडसापको जस्तो खर्र अङ्ग्रेज न बनाएता मार्दिनू कान्छी । धेरै सन्तानको पनि कौनै काम छैन के रे नि कान्छी । मेमसाबजस्ती गोरी एउटी छोरी पाइदेन हौ कान्छी । यसपालिको समरमा छे महिने छुट्टी मागेको छु । दिन्छ होला । यसपल्ट चैने केरे छोरी है कान्छी । के गर्ने? तैँ नमान्ने यता कलकत्तामा बस्न । के गर्नु देश भनेको देशै हो नि हुन ता । यता भा मेरा छोराछोरी पनि लाडसाप हुन्थे । देसीजस्तै टाठाबाठा हुन्थे । त्यही झर्झरे खोलामा मर्छु भन्छ्यौ भने ता म के अर्नु चैने केरे । त्यताका जान्ने सुन्ने यतै देशतिर झरेर बसेकै छन् के रे । तँ देश झर्न न मानेपछि कसको के लाग्छ ? मैले मात्रै सोचेर के पो होला र ? तर पनि कौनै धन्दा नमान कान्छी । यो कलकत्ताको गर्मीले खाएन भने राम्रो थातबासको व्यवस्था गर्छु के रे नि । पठाएको सम्पत्ति स्वाहा पारिदेलान् । अलि दह्रो भएर बस्नु के रे कान्छी । दुष्ट खोज्न टाढा जानु पर्दैन । छोरालाई चैँ हिफाजत गरे नि कान्छी ।

अब पिन्सिन पाउन पनि १० वर्ष त हो नि । हुन ता हो कान्छी, तैँले भनेको पनि हो । यो कलकत्ताका गर्मीमा मर्नुभन्दा त्यही झरझरे खोलाकै चिसो पानी मिठो । आफ्नो भनेको आफ्नै हो के रे नि कान्छी । माया त जोडै लाइस् नि कान्छी । यो तेरो मायाले के सारो पार्यो पार्यो नि हौ कान्छी ।”

तम्रो खसम

यो चिठी पढेपछि मैले अरू पढ्न सकिनँ । आमाको सन्दुकभित्रबाट साङ्लाहरू भुर्र उडी नै रहेका थिए ।  

प्रकाशित: २९ फाल्गुन २०७७ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App