५ वैशाख २०८१ बुधबार
कला

संस्थापक अध्यक्ष सिग्देललाई चलचित्र पत्रकारिता पुरस्कार

जितप्रसाद द्वा पत्रकारिता पुरस्कारबाट श्रीराम सिग्देललाई पुरस्कृत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ । तस्बिर नागरिक

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । चलचित्र पत्रकार संघ कास्कीले शनिबार चौथो वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष सिग्देललाई नगद २५ हजार रुपैयाँ राशी सहितको पुरस्कार प्रदान गरिएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिग्देललाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मान गरेका थिए ।

संघले साधारण सभामै पोखराका वरिष्ठ रंगकर्मी प्रकाश घिमिरेलाई समेत सम्मान गरिएको थियो । पोखराको रंग क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रंगकर्मी घिमिरेलाई मन्त्री गुरुङ तथा संघका अध्यक्ष अरुण गिरी सहितले सम्मान गरेका हुन् । पोखरामा चलचित्रको विकास र विस्तार एवं चलचित्र हेर्ने संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्याएका जितप्रसाद द्वालाई समेत चलचित्र पत्रकार संघ कास्कीले सम्मान गरेको हो ।  

संघले कोरोनाको कहरसँगै चलचित्रसँग सम्बन्धित रहेर कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति लिएको छ । सम्मान गर्ने कार्यलाई संघले आगामी वर्षदेखि गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सिनेमा संवाद कार्यक्रम गर्दै चलचित्र हब बनाई पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने संघले अठोट गरेको छ । चलचित्र र चलचित्र पत्रकारिता सम्बन्धि बृहत कार्यशाला आयोजना गर्ने संघको प्रतिवेदनमा उल्लेख छ । संघले कोरोना कहरकै बीचमा पर्यटकीय गाँउ घान्द्रुकमा सिनेमा संवाद कार्यक्रम आयोजना गरेको थियो । ‘चलचत्रि र पर्यटन प्रवद्र्धनको विकासमा सहकार्य र समन्वयको खाँचो छ,’ संघका अध्यक्ष गिरीले भने, ‘पर्यटन र चलचित्र क्षेत्रलाई समन्वय र साझेदार गर्दै अगाडि बढाउन सकिए नयाँ आयाम हुने छ ।’  

सम्मानपछि संस्थापक अध्यक्ष सिग्देलले हिजोको अवस्थामा चलचत्रि पत्रकार संघ गठन गर्न निकै चुनौतिपूर्ण अवस्थामा रहेपनि अहिले सहज भएको बताए । सम्मानित व्यक्तित्व प्रकाश घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले चलचित्रको हिजो र बर्तमानको अवस्थाको बारेमा पत्रकारले खेलेको भूमिको विषयमा चर्चा गरेका थिए । संघको साधारण सभालाई प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले उदघाटन गरेका थिए । साधारण सभामा संघका अध्यक्ष गिरी र सचिव प्रभु अधिकारीको प्रतिवेदनलाई अनुमोदन गरिएको थियो । 

प्रकाशित: २९ फाल्गुन २०७७ ०८:४१ शनिबार

चलचित्र पत्रकार संघ