१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

पिताको ब्रह्म–निर्वाण यात्राको साक्षी पुत्री

अक्षर

गहिरो चोटले घाइते हृदय, रातभरको अनिद्राले सुस्त शरीर, मानसिक थकानले शून्य दिमाग, आँखा वरिपरि घना अन्धकार छाएको त्यो क्षण। कोलाहल र भीडभाडमा समेत सुनसान र एक्लै लागेको २०७७ भाद्र ३ गतेको त्यो बिहानी। त्यो बिहान हाम्रो घरमा को आयो, को गयो, कसले कसलाई के भन्यो मलाई केही स्मरण छैन। तर, यो राम्रै स्मरण छ— गए रातदेखि भावनात्मक रूपमा शून्य मेरी आमा अझै त्यसैै अवस्थमा हुनुहुन्थ्यो। अश्रुशून्य, भावशून्य आँखा कहिले चिम्लिने त कहिले एकोहोरो हेरिरहने। त्यो अवस्थाबाट आमालाई कसले कसरी फकाउने ? कसैले साहसै गरेनन्। सबै साक्षी भइरहे। पिताजीका सन्तान हामी सबै शोकाकूल थियौँ।  

भागवद गीतामा भनिएको छ, केवल भौतिक शरीर नष्ट हुन्छ, मूर्त आत्मा अविनाशी, अथाह र अन्नत छ। ज्ञानीहरू नश्वर शरीरका लागि शोक गर्दैनन्। यदि नश्वर शरीरका लागि शोक गर्नु अज्ञानता हो भने म अज्ञानी नै हुँ। नश्वर शरीरका लागि अश्रु बगाउनु कमजोरी हो भने म कमजोरै हुँ। मूर्त–अमूर्त, भौतिक–अध्यात्म नछुट्ट्याउने अविवेकी हो भने म अविवेकी नै हुँ। त्यही नश्वर शरीर नष्ट भएर मैले मेरो पिताजीलाई आँखाले देख्न नपाउँदा, हातले स्पर्श गर्न नपाउँदा शोक गरेँ भने मेरो शोक अन्यथा होइन। मेरा लागि त्यो शोक अपरिहार्य हो।  

मानिसले आफ्नो प्रियजन, प्रिय प्राणी, वा प्रिय वस्तु नै किन नहोस्, सधैँ आफ्नो आँखाले देख्न चाहन्छ। हातले स्र्पश गर्न चाहन्छ। मनले महसुस गरेर मात्र चित्त बुझाउन सक्दैन। पिताजीको शरीर अग्नि देवताले अँगालेसँगै केही समय अघि मात्रै मैले देखिरहेको पिताजीलाई अब कहिल्यै देख्न पाउँदिनँ। अब कहिल्यै स्पर्श गर्न पाउँदिनँ। पिताजीको आत्माले त्यो नयाँ भौतिक निकास कहाँ कुन शरीरमा पायो, यो कसरी थाह पाउने ? मैले कसलाई हेर्ने ? मैले कसलाई छुने ? अथवा, पिताजीको आत्मा परमात्मा मिल्यो। यसै भएको हुनुपर्छ। किनकि साधकको अन्त्य यस्तै हुन्छ। त्यसो भए मैले कसरी परमात्मालाई छुने ? अनि मैले कसरी चित्त बुझाउँ ? यदि यस्तो सोचाइ स्वार्थी हो भने, म स्वार्थी नै हुँ। यो मेरो हृदयको अन्धकार हो भने, म अन्धकारै हुँ। यो मेरो दिमागको भ्रम हो भने, म भ्रमै हुँ।  

समयले घाउ पुर्छ भनेको त समय अवस्थाले घाउँ बल्झाउँदो पो रहेछ। हृदयको एक टुक्रा टुक्रिएको त्यो घाउ अझै आलै रहेछ। पिताजीको ब्रह्म–निर्वाण यात्राको आज अर्ध–वार्षिकी। दिनले सात र तिथिले ६ महिना बितेछ। तर, अहिल्यै जस्तो लाग्छ। त्यो बिहान सबेरैदेखि पानी पर्लापर्ला जस्तो हुँदै गर्दा घाम झुल्कने तर्खरमा भए जस्तो। अश्रुपूर्ण आँखाको नानीमा करुणाको विम्ब नाचेजस्तो। एउटा दियो निभेर पृथ्वीमा अन्धकार छाइरहँदा त्यही दियोे पुनः प्रज्ज्वलित भई त्यसैको ज्योतिले स्वर्गलोक उज्यालो भइरहेजस्तो। सत्यको अनन्त प्रकाशले भ्रमको घना अन्धकार हटाएजस्तो। अन्धकारबाट प्रकाशतिर जाँदै गरेजस्तो।

बिहानको १० बज्दानबज्दै झलमल्ल घाम लाग्यो। पिताजीको आँगनमा उर्लियो जनसागर। उर्लेको जनसागरमा उर्लियो शोक लहर। यिनै लहरलाई चिर्दै नमिठो आवाज साथ रोकियो सैनिकको हरियो भीमकाय वाहन। त्यही आवाजले विघटन गर्‍यो आमाको भावनात्मक शून्यता। अचानक वरिपरिको वातावरणमा कम्पन आयो। आमाको त्यो आवाज अझै कानमा गुञ्जिरहेछ। अवसाद, अपमान र अभिमानले थर्थराएको आवाज, निराशा र उदासीमा अल्झिएको आवाज, पीडा र अविश्वासमा जकडिएको त्यो आवाज। वाहनको निधारमा ठुल्ठूला अक्षरले लेखिएको ‘शव वाहन’लाई देखाउँदै भन्दै हुनुहुन्थ्यो, ‘म कुनै पनि हालतमा त्यसमा पठाउँदिनँ। उहाँको शरीर स्थुल शव होइन। सय वर्षभन्दा बढी एउटा अमर आत्माले विराजमान गरेको उहाँको शरीर एक पवित्र मन्दिर हो।’ आमाको आँखामा निश्चितता थियो। आमाको अनुहारमा कठोरता थियो। आमाको सम्पूर्ण शरीर अस्वीकृतिले थर्थराएको थियो।

आमाको इच्छा अनुसारको वाहन आइपुग्यो। फूलमाला र धुपको सुगन्धले सम्पूर्ण वातावरण पवित्र बन्यो। हेर्दाहेर्दै त्यो वाहन स्वर्गको पुष्पक विमानमा परिवर्तित भए जस्तो लाग्यो। कताकता पिताजीलाई लिन भगवान् इन्द्रले पठाएको ऐरावत हात्तीजस्तो पनि लाग्यो। ऐरावत आउने भएरै होला सधँै सभासमारोहमा जाँदा वाहन आएपछि मात्र तयार हुने पिताजी, आज बिहान जाने ब्रह्म–निर्वाण यात्राका लागि हिजै साँझ आफ्नो कोठा छाडी तल आँगनमा सुतिदिनुभयो। सधैँ आमाले स्त्री लगाएको दौरा–सुरुवाल लगाउने पिताजी आज दौरा–सुरुवालको खोजी नै नगरी दुई मिटरको सेतो च्यादर ओढेर निस्किदिनुभयो। सधैँ नरिवलको तेलले कपाल तह लगाउने पिताजी आज कपालमा हातै नलगाई निस्किदिनुभयो। सधैँ ऐना हेरेर कपाल र आँखीभौँ मिलाएर मात्र निस्कने पिताजी, आज ऐनातिर जाँदै नगई निस्किदिनुभयो। सधैँ आमालाई कोटको खल्तीमा सानो सेतो रुमाल राख्न लगाउने पिताजी, आज कोटको खोजी नै नगरी निस्किदिनुभयो। सधैँ आमासँग पाकेटमा अलिकति पैसा राखिदेऊ न भन्ने पिताजी, आज पैसै नमागी रित्तै निस्किदिनुभयो। सधैँ भाइहरूलाई जुत्ता टल्काउन लगाउने पिताजी, आज जुत्तै नखोजी खाली खुट्टै निस्किदिनुभयो। सधैँ ‘मेरो कागज पत्र यताउती नगर है म छिटै फर्कन्छु’ भन्ने पिताजी, आज केही नभनी सुरुक्कै निस्किदिनुभयो।  

सधैँ पिताजीलाई ‘कति समय लगाएको गाडीले कुरेको धेरै समय भइसक्यो छिटो निस्कनु’ भन्ने आमाको आँखामा आज अहिले जाने बेला भएकै छैन किन तयार भएको होला जस्तो आसय थियो। सधैँ पिताजीलाई सभा–समारोहमा एक्लै पठाउने हामीहरू आज के सोचेर हो थाहै नभई स्वतः पिताजीको साथ लाग्यौँ। सधैँ हामीलाई देख्नासाथ ‘अहा ! तिमीहरू आयौ, कस्तो रमाइलो ! यसैले त तिमीहरूलाई नजिकै राखेको। ठिक्क समय भयो। म पनि एक पंंक्ति नमिलेको, लडाइँ गर्दागर्दै भर्खर मिलाएँ। थाकेको छु’ भन्दाभन्दै जुरुक्कै उठेर दुई–चार हात ‘म्यारिज’ खेल्ने पिताजी, आज हामीलाई नजिकै देख्दा समेत शान्त र स्थिर हुनुहुन्छ। रातको निद्रामा समेत सपनाको राज्यमा उडान भर्ने पिताजी, आज बिहान निकै घर्किंदासम्म शान्त र स्थिर हुनुहुन्छ। आफ्नो रचनाको वाचनले मात्रै पनि प्रफुल्ल हुने पिताजी, आज त्यही रचनाको आकाश हल्लाउने धुनको गुञ्जनमा समेत शान्त र स्थिर हुनुहुन्छ। अखण्ड उत्साह र ऊर्जाका धनी पिताजी, आज शान्त र स्थिर हुनुहुन्छ।  

सात महिना बितिसकेछ, त्यो क्षण अहिल्यै जस्तो लाग्छ। आफ्नो आँगनमा मस्त निदाइरहेका पिताजीलाई सुस्तरी उचालेर पुष्पक वहानमा विराजमान गराइयो। धुप बत्ती, फूलमाला, ब्राह्मण र पिताजीका आत्माले सुगन्धित, सुन्दर, पवित्र र प्रेमिल त्यो पुष्पक वहान बिस्तारै अनन्त यात्रातिर लाग्यो। पिताजीको वासस्थानदेखि पशुपतिसम्मको यात्रामा जति बटुवा भेटिए सबै व्याकुल र नतमस्तक देखिन्थे।  

त्यो पुष्पक वहानमा कुनै भूमि वा समुद्र थिएन, पृथ्वी वा आकाश थिएन, थियो त केवल आन्तरिक अन्तरिक्षको परिभ्रमणको हरेक कणमा जागृत, महान् योगी पिताको आत्मासँग एकताको अनभूति। मनमा रित्तो तर, भक्तिपूर्ण थियो। भक्ति वैदिक मन्त्रोच्चारणमा अभिव्यक्त भयो। गायत्री र महामृत्युञ्जय मन्त्रोच्चारण हाम्रो कण्ठको मधुर आवाज थिएन, यो त अस्तित्वको शक्तिशाली आयाम खोल्ने हृदयको करुण ध्वनि थियो। यही ध्वनिमा आन्तरिक अन्तरिक्ष जागृत भयो। जागृत आन्तरिक अन्तरिक्षमा पिताजीको वैदिक अग्निको ज्योति, अमरत्वको ज्योति प्रज्ज्वलित भयो। पिताजी प्रकाशको मूर्त रूप हुनुभयो। पिताजी सर्वोच्च प्रकाश हुनुभयो।  

सात महिना बितिसकेछ, त्यो सर्वोच्च प्रकाशलाई हामी आत्मज र ब्राह्मणहरूले कन्धा दिएर ब्रह्मनालमा विराजमान गराएको। त्यहाँबाट पिताजी एक्लै अर्को यात्रामा निस्कनुभएथ्यो। त्यो यात्रा पिताजीको आत्मा अमरत्वको महायात्रा थियो। त्यो यात्रा अस्तित्वभन्दा परको यात्रा थियो। त्यो यात्रा मृत्युदेखि सत्ता अस्तित्वसम्मको यात्रा थियो। त्यो यात्रा निरपेक्ष, सत्यको यात्रा थियो। त्यो यात्रा बौद्धहरूको ‘चिरस्थायी दिमाग, इच्छाको बन्धन र शून्यता’को निर्वाण यात्रा थिएन। त्यो यात्रा भागवद गीताको ‘शान्ति, मुक्ति, सत्यको अनन्त प्रकाश र ब्राह्मणसँगको एकता’ को ब्रह्म–निर्वाण यात्रा थियो। त्यो यात्रा तय गरेर पिताजीको ब्राह्मणसँग एकता भइसकेछ। त्यो अद्वितीय मिलनको सु–अवसरमा स्वर्गमा उत्सव मनाइसकेछन्।  

म अझै त्यो यात्राबाट फर्किएकी रहिनछु। मैले अब त्यो यात्राबाट फर्किएर अध्यात्म प्राप्तिको अन्तर्मनको यात्रामा लाग्नुपर्छ। म भाग्यमानी रहेछु। मलाई अज्ञानताबाट सत्य, अँध्यारोबाट उज्यालो, मृत्युदेखि अमरत्वसम्मको बाटो देखाउने सर्वोच्च प्रकाश साल २०७७ भाद्र २ गते साँझदेखि अखण्ड रूपमा प्रज्ज्वलित भइरहेको छ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App