coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सङ्गत

कविता

छ्याङ्ग  

उघ्रेको आकाशमा

नीलो रङ्गसँगै

मुछिएका उषाका

रक्तिम किरण

अस्वीकार गर्न सक्छ क्वै

 

वासन्ती वयमा

फूलका कुचाले हम्कदै

छरिएका  

एक भूगोल

वास्नाहरू

नाक छोपेर  

पर हटाउन चाहन्छ क्वै  

 

नागबेली परेर

सम्म फाँट फन्का मार्दै

बहेको हिमनदीबाट

तर्सेर भाग्ने इच्छा गर्छ क्वै  

 

इन्द्रधनुषी

पटुकी बाँधेर कम्मरमा

सुनगाभासँग  

चुम्बा साट्दै गरेका

सौन्दर्यशील पाखाबाट

पाइताला हटाएर

कन्टेनर यात्रा गर्न खोज्छ क्वै  

 

निर्मल

निराधार

क्षितिजको अग्लो उचाइबाट

झर्झर

कञ्चन शरीर

फेदीमा

बिनाछानो

टलपल– टलपल

सहस्र तरङ्ग निकालेर

आफूसँग आफै

एकतमास तरङ्गी रहेको

तरङ्गको मन्द मुस्कानबाट

अर्को मुस्कान  

खोज्न दौडन्छ क्वै  

 

हरिया पातहरूका साम्राज्य

प्रेमका पिङ्गल प्रणयधारमा

अन्तहीन अनन्तको

मन्द पवन

आत्मस्थ गरेर

सृष्टिको

सभ्य

सुन्दर

सौजन्यराग भर्दै गरेको

निस्पट्ट तर उजेलो

सुनसान  

तर गुञ्जनमय कोलाहल

चिर्बिर चरीको

ध्वननशील अन्तर्नाद

ब्रह्मरन्ध्रको

भित्री उघ्रेको कानन गुफाबाट

एक एक निस्केर

उन्माद उफ्रन चाहने

हुन सक्छ क्वै  

 

ढलपल– ढलपल

शीतका थोपामा

अमृत भरेर

विशाल धरा आफू बन्दै

अलिकति

लाल किरण मुछेर

बच्चासँग खेल्दै गरेको

गरेको कर्कला पातबाट

तर्सेर

अनायास धुलोको

पाउडर पोत्न चाहन्छ क्वै  

 

लतावेष्ठित

कुञ्जको खोपीमा

मुक्तिका रङ  मुछेर

मौलिक गीत कुहुका

सङ्गीतमा

पखेटा फट्फटाइरहेका

क्वैलीका आवाजबाट झस्केर

मनमुटु नै हल्लिने

मन्दिरको शङ्खघण्ट

र चर्चको गीतार  

सुन्न खोज्छ क्वै  

 

उघ्रेको  

आकाश तन हो

नीलो रङ् मुछिएको किरण

मन हो

वासन्ती वन

तन हो

परागभित्रको रहस्य

मन हो

पहराको सुनगाभा

सङ्घर्ष हो

वासना

यश

कीर्ति

भर्दै र छर्दै

स्वतन्त्र यात्रा

निरपेक्ष यात्रा

निर्विकार यात्रा

निर्वैयक्तिक यात्रा

निरन्तर

अनन्त हिँड्न सरेका

पाइतालाका डोबहरू हुन्

सङ्गत

आफैमा छ्याङ्ग उघ्रेको

आकाश हो

र किरणहरू

सुकिला मान्छेका  

शरीर हुन्

शीतको थोपो

पवित्र मान्छेको मन हो

सङ्गतदार यिनै

सप्तरङ्गी इन्द्रेणी मनका

लहरहरू हुन्

जमातहरू हुन्

उन्नत यस्ताका शिविर हुन्

र शीतल छहारीका

मान्छेका मनहरू हुन्

तनहरू हुन् ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App