७ वैशाख २०७८ मंगलबार
कला

दिदी

अक्षर

अन्तर्राष्ट्रिय महिला दिवस आँगनको डिलमै आइसकेको छ। हरेक सङ्घ/संस्था यो दिवसलाई कसरी सार्थक बनाउने भनेर लागिपरेका छन्। हिमाल, पहाड अनि तराईमा बसेर आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याएका महिलाको पहिचान गरी पुरस्कृत गर्ने, महिलाका समस्याबारे स्थानीय स्तरका महिलासँग छलफल गरेर समाधान खोज्ने जस्ता आवाज यतिखेर सर्वत्र उठिरहेका छन्। समाजमा बसेर समाजकै लागि योगदान पुर्‍याइरहेका महिला पहिचान गर्ने, उनीहरूलाई सम्मान दिएर त्यो मार्ग सबैलाई अनुशरण गर्न सुझाउने अनि सबैले सत्मार्ग समाते भने आखिर यस्ता दिवस मनाउनुको सार्थकता पुष्टि हुन्छ भन्ने मैले राम्रैसँग बुझेकी छु। र त, मेरो आजको दिनचर्या यही बाटोमा केन्द्रित छ।  

म पनि बिहानदेखि साँझसम्म यस्तै कार्यक्रम सोच्न र बनाउनव्यस्त छु। मार्च ४ देखि १२ तारिखसम्म मेरो तालिका पूरै व्यस्त छ। यहीबीचमा म कफीको चुस्की लिँदै कार्यक्रमका विभिन्न मोडल सोचिरहेकी छु। भर्खरै जाडो डाँडो काट्दैछ। वसन्त ऋतुले आफ्नो आगमनसँगै ल्याएको न्यानो घाम चाख्न लायक छ। फूलबारीलाई आकर्षक बनाउन सफल भ्यागुते फूल होस् या सिनेरिया चेरी, फक्रिएका थुप्रै फूलले सुखद भविष्यको सङ्केत दिइरहेका छन्। तिनमाथि रमाइरमाई झुम्मिएका भमराको फूर्ति त झनै हेर्न लायक छ। कहिलेकाहीँ आफ्नो व्यस्तताबाट केही समय चोरेर बगैँचामा बस्दा आउने आनन्दको वर्णन नै कठीन छ।  

हुन पनिविवाह भएको१०–१५ वर्ष घर–परिवार, छोराछोरी र नाता कुटुम्बभन्दैमा बित्यो। यसबीचमा कहिले जीवनप्रति निराशा पनि आए, कहिले आशाका अनगिन्ती सम्भावना पनि उजागर भए। छोराछोरीको स्कुल, भातभान्सा, सरसफाइ– आखिर यस्तै त हो एउटी गृहिणीको जीवन। बिहान ५ बजे उठेदेखि थालेको काम रातको १२ बजे पनि नसकिने। कहिले श्रीमान्को प्रतीक्षामा त कहिले भोलिको कार्यबोझ घटाउन रातिसम्म काम गर्नुपर्ने बाध्यताले लामै समय छाडेन।  

विडम्बना, यति धेरै खट्दा पनि घरका कोही खुसी नहुने अवस्थाले भने पिरोल्थ्यो। तर पनि कर्म गर्न छाडिएन। घर–परिवार, समाज सबैसँग जुध्दै अघि बढ्दा आइलाग्ने चुनौती सामना गरेरै अघि बढियो। जसले धेरै परिपक्व बनाएको महसुस भएको छ। साथै समयले समाजमा भइरहेका गतिविधि नियाल्ने अवसर पनि दिलाएको छ। यति सुन्दर समाज आखिर किन दूषित बनाइएको छ ? किन एउटै समाजमा बस्ने आफ्नै आमा, दिदी, बहिनी, छोरी तथा चेलीबेटीमाथि गिद्दे दृष्टि राखिन्छ ? समाजका विभिन्न घटनाले मेरो मनभित्र पनि द्वन्द्व सिर्जना हुन्छ। जसले भित्रभित्रै छटपटीसमेत गराउँथ्यो मलाई।  

समय रोकिने कुरै भएन। अघि बढ्दै गइरहेको थियो। घरका सबै आआफ्नो कार्यमा व्यस्त हुने नै भए। छोराछोरी हुर्के–बढेकाले म पनि तुलनात्मकरूपमा फुर्सदिलो हुन थालेँ। यो फुर्सदको अवसर सदुपयोग गर्ने सोचेँ। त्यही क्रममा एउटा कम्पनीमा वस्तु बजारीकरणको काम गर्न थालेँ। एकातिर फुर्सदको सदुपयोग हुने, अर्कोतर्फ केही आर्थिक आम्दानी पनि हुने, दुवै दृष्टिकोणबाट उपयुक्त लागेपछि यो काममा लागेँ। काम त सुरु गरेँ तर ग्राहकलाई सामान बेच्न सजिलो थिएन। घर–घरमा गएर आफ्नो सामानको महत्व बुझाउनुपर्ने काम पक्कै सहज होइन। तर, झिजो मानिनँ। आखिर काम भनेको काम नै हो, कामलाई तल्लो र माथिल्लो स्तरको भनी वर्गीकरण गर्न हुन्न भन्ने मान्यतालाई दरो बनाएर अघि बढेँ। घर–घरमा गएर आफ्नो सामान प्रचार गर्ने र ग्राहकलाई सेवा प्रदान गर्ने कार्य जारी राखेँ।  

यसरी सामान बेच्ने क्रममा मलाई समाजका मानिसको मनोवृत्ति बुझ्न सहज भयो। प्रत्येक घरका कहानी थाहा पाउन थालेँ। त्यतिमात्र होइन, एउटी महिलाले आफैँ काम गरेर खान्छु भन्दा समाजका गन्यमान्यसमेतले काट्ने कुरा आफ्नै कानले सुनेँ। उनीहरूका तीता वचन र गिद्धे हेराइपनि सामना गरेँ। एक प्रकारले हाम्रो समाजको चेतना थाहा पाएर आफैँलाई ग्लानि पनि हुँदै गयो। यस अर्थमा सामान बिक्री गर्ने क्रममा पुगेका प्रत्येक घर, प्रत्येक समाज मेरा लागि थुप्रै ज्ञान र वास्तविकता हासिल गराउने विश्वविद्यालय सावित भए।  

आफैँले देखेका, भोगेका, सुनेका तथा सामना गरेका घटना कसलाई भनौँ, कसलाई सुनाउँ जस्तो लागिरहन्थ्यो। विडम्वना, कसैलाई भन्ने आँट गर्न सक्दिनथेँ। कारण, यी कुरा सुनाएँ भने भोलिदेखि काममा जान दिन्नन् भन्नेडर लाग्थ्यो। उसै त कमाउन थालेपछि घरमा तथा वरपर अलिकति नै किन नहोस्,इज्जत बढेको महसुस हुँदै थियो। त्यसैले यस्ता कुरा घरमा भनेर आफ्नो बढ्दै गरेको इज्जतमाथि ब्रेक लगाउन चाहन्नथेँ म।  

घरमा मात्र नभई वरपर पनि मलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै थियो। आफैँभित्रको पीडा भने नजानिँदोतवरले फस्टाइरहेको थियो। म करिबकरिब मेसिन भइसकेकी थिएँ, एक प्रकारले। त्यसपछि रेस्टुरेन्ट,बैङ्क जस्ता धेरै ठाउँका फ्रन्टडेस्कमा पनि काम गर्दै गएँ। ती ठाउँले मलाई जीवन बुझ्न सघाए। पुरुषले नारीलाई हेर्ने दृष्टिकोण छर्लङ्ग्याए। अनि किन सधैँ नारीहरू उत्पीडितकै सूचीबाट माथि उक्लन सक्दारहेनछन् भन्ने दिव्य ज्ञान बोध गराए।  

मप्रति हुने व्यवहारलाई मैले आफूमा मात्र सीमित बुझिनँ, यो सबै महिलामाथिको व्यवहार सम्झेँ। जति बुझ्दै गयो, जति नयाँ ठाउँमा काम गर्दै जान थालियो, उति उति विभेद र दुर्वयवहारको चाङ थपिँदै जान थाल्यो। फलस्वरूप, मन उकुसमुकुस हुने क्रम बढ्यो। कसलाई भनुँ ? कोसँग पोखुँ ? पीडाहरूले निकास खोजे पनि फेला परिरहेको थिएन। एउटा उपाय सुझ्यो– आफ्नो मनभित्र उकुसमुकुस पीडा र छटपटाहटलाई कतै उतार्ने। अनि खोजेँ कापी र कलम। मेरा पीडाका निकास यिनै भए। कतै सुनेकी थिएँ–‘मन गाह्रो भयो भने रूखको टोड्कामा गएर बोल्नू, शान्ति मिल्छ। ’ नभन्दै पीडा बिसाउने चौतारी बन्दै गयो मेरो लेखन।  

यसरी समाजमा देखिएका, भोगिएका, सुनिएका, सामना गरिएका दुःख–दर्दका कथा लेख्दालेख्दै सबैको दिदी भइएछ, थाहै नपाई। भाइको दिदी, बैनीको दिदी, साना जतिको दिदी त हुने भइहालेँ। हुँदाहुँदा दाइ र दिदीको पनि दिदी भइसकिएछ, भाउजू र आमाहरूको पनि दिदी।  

दिदी पदवीलाई मैले आफ्नो जीवनमा समयले उपलब्ध गराएको एकदमै महत्वपूर्ण जिम्मेवारीका रूपमा ग्रहण गरेकी छु। त्यसैले त म यतिखेर दुःख–पीडाको ट्युमर बोक्न बाध्य बनाइएका तिनै पीडित महिलाको उपचारका लागि तल्लीन छु– दिदी–बहिनी नामक संस्थामार्फत। जहाँ दुःखीहरू आउँछन्, आफ्नो दुःख बिसाउँछन्। अनि न्यायको याचना गर्छन्। दुःख त्यहीँ छाडेर सुख लिएर जान्छन्। निराशा र कमजोरपन छाड्छन्। सट्टामा आत्मबल लिएर फर्कन्छन्। फुर्सद छाड्छन्, त्यसबापत सीप लिएर जान्छन्। ४–५ जनाको परिवारबाट हजारौँमा पुगेको छ, यतिबेला यो संस्था। ती सबै धन्यवादका हकदार छन्, जसले यो प्रयासमा होस्टेमा हैँसे गरे। जसले महिलामाथि भइरहेका अन्यायविरुद्धको आवाज बुलन्द गर्न इँटा थपे।  

सङ्घर्ष सजिलो हुँदैन। समाजमा बढिरहेका बलात्कारका घटनाले सिङ्गो समाजलाई दूषित तुल्याएको छ। त्यसबारे लेख्दा अनि बोल्दा पनिभक्कानो फुट्छ। आँसु थामिँदैन। लेख्दा पनि पानामा मसीभन्दा आँसुको मात्रा बढी हुन्छ। सायद यस्तै यस्तै आक्रोश र त्यसलाई समाधान गर्नुपर्ने जिम्मेवारी बोधले मलाई दिदी बनायो।  

आज साँझ मलाई समाजबाट तिरस्कृत चेलीबेटीसामु गएर केही बोल्नु छ। जहाँ मैले ती दिदी–बहिनीलाई आत्मसम्मानका साथ बाँच्नका लागि आधार सुझाउनु छ। नयाँ सपना देखाउनु छ। आफूले नगरेको गल्तीमा आफैँलाई सजाय दिनु हुँदैन भन्ने बुझाउनु छ। ‘दिदीबहिनीहरू ! अन्याय नसहनू। न्यायका लागि बोल्नू। अधिकारको उज्यालोतिर अघि बढ्नू’ भनीउत्प्रेरित गर्नु छ। आखिर एक–एकको साथलेनै हो सुखी संसार बन्ने। सिक्काको सबै पाटो अन्धकारमय छैन। राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने मानिस पनि छन्, यही समाजमा। त्यसो नहुँदो होत म यतिबेला किनसबैकी दिदी बन्थेँ ? किन जीवनदेखि निराश भएकाहरू आशाको त्यान्द्रो खोज्दै मतिर आउँथे ? किन भन्थे– तपाईं भन्नुस् मात्र हामी जेसुकै गर्न तयार छौँ भनेर? त्यसैले मैले जीवनमा आजसम्म सिकेको सबैभन्दा महत्वपूर्ण पाठ भनेकै जीवनदेखि निराश हुने होइन, चुनौती सामना गर्दै अघि बढ्ने, आशा र सपनाको मार्ग पछ्याउने हो। यो मार्गले कतै तपाईंलाई पनि सबैको अभिभावक, भरोसाको केन्द्र दिदी त बनाउँदैन, मलाईजस्तै !

प्रकाशित: २२ फाल्गुन २०७७ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?