coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जर्किन कुच्याउँछु

कविता

मलाई झोक चल्छ र  

खान्छु रक्सी ।

के गर्नु त सुन्तली,

मैले रक्सी छोड्न सकिनं  

तिमीले कचकच गर्न छोडेनौ ।

बुझ्न त बुझ्छु नि,

तिमी नमात्ने लोग्ने चाहन्छौ ।

तर, झोक चल्छ सुन्तली मलाई झोक चल्छ !

छोरो विदेश गयो  

उतै रोपियो ।

घरखेत लेखिदिएको साहुले हामीलाई छोडेन ।

छोरी अलि के बढेकी थिइन्  

साइँदुवाको च्यान पार्न सकेनौं ।

चाडपर्व आउँदा

एक बोडी मासु दिन आनाकानी गर्छन्  जमानीहरू ।

न तिमीले लगाउन पायौ गतिलो लुगा  

न मेरो छ ,

सुन्तली  

हाम्रो सङ्घारभित्र उस्तै अभाव छ  

सङ्घारबाहिर उस्तै दुख छ  

र त झोक चल्छ सुन्तली मलाई  

हामीलाई  यो कस्तो हैरान हो !  

र पिउँछु झोकमा  

र डुल्छु  

कसैलाई नभेटेपछि  

घरको जरकिन थेचारेको हुं झोकमा !  

मलाई थाहा छ  

तिम्रो मन कटक्क भाको छ  

मेरो त  झन्

जरकिन कुचिएको भन्दा बेसी कुच्चिएको छ।

मलाई खान देऊ सुन्तली,  

म खाएर मर्दिन  

बरु जाग्छु कस्सेर  

र भन्न सक्ने हुन्छु जोडजोडले  

यो कानो र अन्धो राज्य सत्ता कहिले पग्लन्छ हं !  

मैले अरू केके कुच्याउनुपर्छ अझै  

 सुन्तु, म तिमीलाई खुब माया गर्छु ल ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App