coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खोलको करामत

लघुकथा

 

    १) खोलको करामत

 

सिरकको पल्ला नै फाटेर रूवा निस्किए छ । श्रीमतीले अमलतुनुको सहायताले तुनिन् । फुर्के खोल हालिदिइन् । नयाँ देखियो ।  

एउटा ब्रान्डेड प्रतिष्ठित व्यापारीे सक्कली व्यापार गर्ने तरीकाको बारेमा अन्तर्राष्ट्रिय एक्सपर्ट भयो र आफ्ना कुहेको सामानमा आकर्षक ब्रान्डेड नयाँ खोल हालिदियो । बिक्री मालामाल ।  

योग गुरुले योगको खोल ओढेर अरुलाई योग गर भने ।  र आफूले व्यापार गरे । भए मालामाल ।  धर्म गुरुले धर्मदर्शनको खोल ओढेर भौतिक सम्पत्ति नाशवान भने । र दक्षिणा कुम्ल्याए र छोरो बेलायत पठाए ।  

खाली खुट्टा हुर्किएका राजनीतिज्ञले शून्य सहनशीलताको खोल ओढे र महल ठड्याए ।  

गमन गरेर लेखक आयो र पत्नीव्रतको खोल ओढेर काव्य लेख्यो ।  

अनि आफैँलाई मैले नयाँनयाँ खोलमा देखेँ । कहिले बाउको खोलमा । अनेकौँ सामाजिक सम्बन्धका खोलमा । रागका खोलमा । अभिमानका खोलमा । अभावका खोलमा । खोल च्यातिन्थ्यो र म फेरि अर्को खोल नै ओढथेँ । खासमा मैले खोल र मान्छे छुट्टयाउनै सकेको थिइनँ ।

दिक्दारीभावमा सडकको पेटीमा उभिएको थिएँ । सडकको एकापट्टिबाट ठूलो जुलुस आउँदै थियो । अर्कोपट्टि प्रति जुलुस पनि आइरहेको थियो । जुध्लान्झैँ लागिरहेथ्यो ।  

मैले सडक पेटीमा उभिएको अर्को मान्छेलाई सोधेँ – ‘आमामा, कतिका मान्छे ?, कहाँबाट ल्याए होलान् यी मान्छे ?’

मेरो कुरो सुनेर ऊ हाँस्यो र बोल्यो – ‘खोई कहाँ छन् मान्छे ? त्यो दुवैतिरको त जुलुस हो । एकातिरकाले एउटा रङ्गको खोल ओढेका छन् भने अर्काले अर्को रङ्गको । ती कहिले मिसिन्छन् र एकै रङ्गका खोल बन्छन् । कहिले छुट्टिन्छन् र अलग रङ्गका खोल बन्छन् । ‘मान्छे’ पाउने दिन त गए हजुर । 

            २)  बेडा पार

ज्ञानका, विज्ञानका, कर्मका, धर्मका, भाग्यका पोथीहरू पाठ गरिँदै थिए एकनाससँग । डाक्टरले हातैमा आला (स्टेस्थेस्कोप) लिएको थियो । तर पनि विडम्वना आज मेरै काखमा जेठो छोरो मर्यो ।  

सम्झँदै छु, उसले जन्मँदा नरोएर विद्रोह गरेको थियो । सँुडेनीले उसलाई झुन्ड्याएर झाङ्ल्याङझुङ्लुङ पारेपछि मात्र ऊ रोएको थियो – ‘च्याँहारच्याँहार’ । उसको रुवाइमा हामी खुब हाँसेका थियौँ ।  

ऊ बाल्यकालमा पनि रोइरहन्थ्यो । उसलाई स्कुल हालिदिएपछि पनि उसको हँसिलो अनुहार कहिल्यै देखिनँ मैले । एमानको झोला बोकेर स्कुल जान्थ्यो । थाकेर आउँथ्यो ।  

माया लागेर आयो । अनि मैले भनेँथेँ – ‘आइज बस ।’

उसले भनेथ्यो –‘नाइँ, होमवर्क छ ।’

नत्र स्कुलमा तिलक सरको छडीको डाम लिएर आउँथ्यो । बाँकी समय पनि घरमा ट्युसन सर आउँथे । किनकि हामी छोरालाई ‘केही कुछ’ बनाउन चाहन्थ्यौँ ।  

बिहेपछि त ऊ झन् कहिल्यै हाँसेको देखिनँ मैले ।  

एकदिन मैले भनेँथेँ – ‘ए बाबु, खाँदा ता बसेर खा ।’

उसले जवाफ दिएथ्यो – ‘काम धेरै छ नि बाबा । हतार छ ।’

एउटा जागिर पनि खान्थ्यो ।  

एकदिन मैले भनेथेँँ – ‘कस्तो अफिस हौ तेरो, एकदिन फुर्सद नपाइने ।’

उसले भनेथ्यो – ‘अस्थायीमा यस्तै हुन्छ बाबा ।’

मैले सोधेँथेँ – ‘स्थायी कहिले हुन्छ त ?’

उसले निराश भएर भनेथ्यो – ‘खोई कहिले हो कहिले ? आफ्ना मान्छे भए त हो नि ।’

ऊ सन्तानको जिम्मेवारी नामको सुसेधन्दामा घस्रिन्थ्यो ।  

एकदिन मैले  भनेथें    – ‘किन यस्तो व्यस्त भइस् हौ केटा तँ ?’

उसले भनेथ्यो – ‘सन्तानको बेडा पार लाउनु छ बाबा ।’

अहिले उसको लासलाई एकतमासले हेरेर हामी सबै आफन्त जोडजोडले रुँदै  छौँ । तर ‘बेडा पार लगाएँ’ भनेर होला, ऊ दाँतै खोलेर अचम्मसँग हाँसिरहेको छ । 

 

             ३) एम्बुलेन्सको साइरन

यसपल्ट भने अनेकौँ दवाईपानीका कारणले भ्रूण अडिएको थियो । महिना लागेको थियो । एकाएक श्रीमतीको पेट दुख्न थाल्यो । गाउँकै कम्पोन्डरलाई देखाएँ । उसले ‘तुरुन्त शहरको अस्पताल लगिहाल्नु, स्थिति गम्भीर छ’ भनेथ्यो ।

तुरुन्त एम्बुलेन्स मगाएँ र शहरतिर हानिएँ । एम्बुलेन्स साइरन बजाउँदै थियो ।

बाटोमा लाठाभाटा लिएको भिडले नारा लाउँदै थियो –

‘इन्क्लाब – जिन्दावाद ।’

‘हाम्रो अधिकार – लिन्छौँ–लिन्छौँ ।’

हाम्रो एम्बुलेन्स रोकियो । म गिडगिडाएँ  तर बेकार भयो । उफ ।  

बन्द अवज्ञा गरेको भनेर आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाए ।  

अहिले मेरी श्रीमती बाटोमै छट्पटाइरहेकी छिन् ।  

म रिसाएको छुइन । किनकि म सम्झिरहेको छु त्यो दिन, त्यो वयस्क मान्छेका रुवाइहरु।  

त्यो दिन एम्बुलेन्स साइरन बजाउँदै आउँदै थियो ।  

मैले आदेशात्मक शैलीमा भनेको थिएँ – ‘साथीहरु मोर्चा सम्हाल्नुस् । एम्बुलेन्स आउँदै छ । हाम्रो बन्द अवज्ञा गर्ने त्यो एम्बुलेन्सलाई आज पाठ सिकाउनु छ ।’

सबै साथीह– हातमा लाठी लिएर तयार पोजिसनमा बसेका थिए । एम्बुलेन्स रोकिएको थियो । अनि मैले एम्बुलेन्स चालकलाई भनेँथेँ –‘तपाईँलाई थाहा छैन आज हाम्रो बन्द छ भनेर ? हाम्रो क्रान्तिकारी अभियानमा अवरोध गर्ने ?’

एम्बुलेन्सभित्रबाट लुम्रेझुम्रे वयस्क निस्किएको थियो । ऊ रुँदै बोलेको थियो ः

‘मेरी श्रीमतीलाई बेलैमा अस्पताल पुर्याउन पाइनँ भने उसको मृत्यु हुन्छ । हजुर कृपा गरेर एम्बुलेन्स छोडिदिनुहोस् ।’

ऊ यस्तैयस्तै हात जोडेर गिडगिडाउँदै थियो । मैले साथीहरूलार्ई आदेश दिएको थिएँ – ‘साथीहरू, हाम्रो उर्दी नमान्ने प्रतिक्रान्तिकारी हुन् । यो एम्बुलेन्समा आगो झोसिदिनुस् ।’

आदेश तामेली भएको थियो । बिरामीलाई एम्बुलेन्सबाट झिकेर आगो झोसिएको थियो । एम्बुलेन्स हुर्हुर् बल्दै थियो । बिरामी छटपटाउँदै –छटपाउँदै बेहोस भएकी थिइन् । बेहोस हुँदाहुँदै खुट्टा तनक्क तानेकी थिइन् ।  

त्यो बेला त्यो वयस्क मान्छे यति रोएको थियो कि मैले जीवनमा लोग्नेमान्छे यसरी रोएको देखेकै थिएन । उसले रुँदारुँदै भनेको थियो –

‘ए क्रान्तिकारी महाशय, बुझिराख्नुस्, सुत्केरी मारेर क्रान्ति हुँदैन ।’

 

              ४) आमाको माया

राम्रो पढ्न सकिनँ । काम पाइनँ । चिया दोकानमा बसेर गफ चुट्ने, तास खेल्ने, रक्सी खाने र रल्लिने बानी पर्न थालेको थियो । नेताले चुनावमा खुब जोतायो । तर चुनाव जितेपछि अब मुख हेर्दैन ।  

सँगै पढेका साथीभाइले भने – ‘दीर्घे लफङ्गा भयो ।’  

श्रीमतीले त झन् तमास गरेर नै भनिन् װ‘कस्तो बिल्टुवा भएको तपाईँ त ? मेरो कर्म फुटेको । कस्ता बिल्टुवा जँड्याहालाई दिए, बाउआमाको आँखामा फुलो परेको ।’

जोरीपारी कोखिला बजाउँथे । दिदीबहिनी खिसीट्युरी गर्थे ।  

छिमेकी मेरो दाइलाई ‘दिवाकर बाबु’ भनेर सम्बोधन गर्थे । उही खलकको मलाई ‘तिघ्रे दीर्घे’ भन्थे ।  

साह्रै दिक्दार लाग्यो । जिन्दगीमा केही गर्न सकिएला जस्तो लागेन । हराऊँ वा भागूँझै लाग्यो । मरूँमरूँ पनि लाग्यो । लखतरान परेर घर पुगेको थिएँ । आमा ओसारीमा सुकुल ओछ्याएर घाम तापिरहनु भएको थियो । म उदाश अनुहार लिएर आमाको काखलाई सिराने बनाएर पल्टिएँ ।  

बुवा परबाट आउनुभयो र सधैँझैँ मलाई कराउन थाल्नुभयो –

‘हेरहेर लबस्तरो हुतीहारा आएछ । आवारा भइस् तँ । अरू दाजुभाइको हली हुने भो कुपुत्र । यस्तो कुपुत्र त नजन्मेको भए नि हुने, कोखको भार ।’

सितिमिति आमा बुवालाई कहिले पनि केही भन्नु हुन्थेन । अहिले आमा त बुवालाई कराउन पो थाल्नु भयो – ‘के भएको छ र छोरालाई ? हातखुट्टा सगल्तो छ । पाखुरी बजाएर खान्छ । भगवानको सृष्टिमा कोही भोकै भएको छ र ? कसैलाई पाल्नु परेको छ र तपाईँले ? जे पायो त्यही नभन्नु छोरालाई । तपाईँले पनि त्यही एक मानु खाएको एक धरो लाएको न हो । संसार त केही जित्नुभएको छैन नि ?’

 

      ५) आमाको चिनो

उसकी आमालाई बाउले धेरै पिट्थे । आमाले अत्याचार सहन सकिनन् । ऊ दुई वर्षको थियो । आमा एकाएक हराइन् । कसैले खुटखवर पहिल्याउन सकेनन् । सबैले उसकी आमाले कोसीमा फाल हानेको हुनसक्ने अड्कल गरे ।  

बाउले अर्को बिहे गरे । यसपछि उसका पनि दुर्दिन सुरु भए । ऊ एकप्रकारले टुहुरो भयो । अनाथ भयो ।  

ऊमाथि पनि यति धेरै यातना हुन थाल्यो कि उसलाई अनाथालयमा लगेर राखिदिए ।  

आआफ्नो भाग्य, उसको भाग्य चम्क्यो । उसले राम्रो पढ्यो । काम सुरू गर्यो । हेर्दाहेर्दै उसले दिन दुई गुना, रात चार गुना प्रगति गर्यो । समयक्रममा गाडी, घर, नाम, इज्जत, सान, सौकत बेपर्वाह कमायो । ऊ नवधनाढ्य भयो ।  

ऊ आफूलाई मितव्ययी ठान्थ्यो । मान्छे उसलाई झिँगाको बोसो निकाल्ने मक्खीचुस् भन्थे । जेसुकै भनून्, ऊ मेरो बाल्यकालदेखिकै साथी थियो ।

उसले मेरो सपरिवारलाई एकदिन खान बोलायो ।  आमा र म बोलाएकै समयमा गयौँ । उसले आमालाई धेरै खातिरदारी गर्यो ।  

ऊ मेरी आमासँग कुरा गर्दै थियो रुँदै भन्दैै थियो – ‘कास, मेरी आमा आज बाँचेकी भए म कति भाग्यमानी हुन्थेँ ।’

मेरी आमाले भन्नुभएको थियो –‘यो सबै अल्लाहको मर्जी हो । कहिले, कसले, र कसरी जानुपर्छ कसलाई थाहा छ र ? तर पनि जिन्दगीले त अगाडि नै बढ्नुपर्छ । जे भए पनि समय रोकिन्न ।’  

ऊ भन्न थाल्यो –‘कास आज मसँग आमाको कुनै चिनो भएदेखि बहुत जतन गरेर प्रेमपूर्वक राख्ने थिएँ ।’  

मेरी आमा पनि उदाश हुनुभयो ।  

फेरि पनि आमाले भन्नुभयो – ‘नरोऊ छोरा, तिम्री आमा मेरी साथी थिइन् । तिम्रो अनुहार एकदम तिम्रो आमाको जस्तो छ । मान्छेले भन्छन् कि आमाको अनुहार हुनेहरू भाग्यमानी हुन्छन् । र तिम्रो नाक त काटीकुटीे आमासँग मिल्छ । त्यसलाई सम्हालेर राख्नु । तर तिमीलाई थाहा छ कि छैन, तिम्री आमा धेरै धर्मात्मा, दयालु र दानी थिइन् । अर्काको दुःख त उनी हेर्न नै सक्तिन थिइन् ।’ 

  (‘ईश्वरको मृत्यु’ लघुकथा संग्रहबाट !)

प्रकाशित: २० फाल्गुन २०७७ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App