७ वैशाख २०८१ शुक्रबार
कला

कथा

 ‘ऊ.............!’

पश्चात ..............!.................!!..............!!!

मन फत्किरहेछ मनकै तातो भुब्रोमा । धस्कन्छ घरी चस्कन्छ, टटाउँछ । ताछेर, चिथोरेर, खुर्केर फ्याँक्न मिल्ने भए मनलाई, मुक्त हुन्थी होली त्यो रोगबाट, व्यथाबाट ।

‘थुइया, पिरोल्ने मन’ –कहिले थुक्छे अर्को मनले ।

बसाइ सकेको छ घरबार ऊसँग, पेसुवा वायुलेझैँ आएर परायी मन । एकलिन्छे जब ऊभित्र ऊ सुरिन्छ लुछ्छ गिध्द भई । घिच्छ चोक्टाचोक्टा चिथोरेर रातभरि ब्वाँसो भई । घरी लामकीरोले झैँ बेरेर कस्छ तन हुँदै मनसम्मै । घरीघरी ह्वास्सै गन्हाउँछ, ऊबाट सङ्क्रमिक पफ्र्युमको दुर्गन्ध । परिणाम छाद आउँलाझैँ लाग्छ डुलुवाले भेटेजस्तो । र त पफ्र्युमको पीडाबाट बँच्न र सुग्घरी  क्षण भित्र्याउन बिहेको अत्तर छर्छे जीउभरि श्रृंगारी पेटीबाट झिकेर ।

पश्चात ..............!.................!!..............!!!

‘फोन उठाऊ चंचली, आतुर छु बोली सुन्नलाई’ –मोबाइलको रिङ्ग टोनको झस्कँदै हेरी, त्यही सधैँ जिस्काइरहने नकच्चरोको नम्बर । ‘यस कुकुरले कता’र पाएछ कुन्नि नम्बर ?’ –भन्दै काटी फोन । लगतै दोहोरियो त्यही नम्बरको फोन । फोन उठाएर कराई– ‘तेरो घरमा चेलीबेटी छैनन् ?’

‘........................’ के भन्यो उतार थाहा भएन ।

‘थुइया ! फुँडो !! नजीक भए बर्ताउँथेँ, कानुनको चेपुवामा ।’

‘........................’ फेरि फोन गर्नेले छाडा बोल्यो क्यार मुखमा आइन्जेल सरापी –‘मुर्कुटा, गाडे, चिहाने, मसाने, राँडा, बजिया, चिम्पाञ्जी, बन्कर, कुकुर’ –केके भन्दै । अनि फोन काटेर सिमला झिकेर फ्याँकी किच्याएर –त्यस्ता बैराङ्ग मज्नुहरूबाट बँच्न । भोलिपल्ट अर्काे नयाँ सिमकार्ड हालेर फोन गरी लोग्नेलाई –‘हेलो ! सन्चै छौ होइन विवश ?’

‘अँ सन्चै छु र अलिक चटारो छ पार्टीको कामले’ –उताबाट लोग्नेले भन्यो होटलको गोप्य कक्षभित्र तरुनीसँग अल्कोहल तान्दै –‘राम्रो ख्याल राख्नु नि बुबाआमालाई ।’

‘लल तिम्रा बुबाआमालाई राम्ररी राखेकी छु । साँच्चि खानेपानीको योजना के हुँदै छ ? यहाँ गाउँलेहरूले सोधिरहन्छन् ।’

‘धेरै बाठी नहुनु नि । केराघरेलाई सम्झा’छु । भन्नेबित्तिकै कहाँ हुन्छ । आफू भने धाकोधाकै छु सांसदका घर हुँदै मन्त्रालयसम्म’ –झर्केर फोन काट्यो लोग्नेले ।

‘लोग्ने मान्छेको जात मलाई भित्र्याएर हिँडेको चार वर्ष तीन दिन हुन्छ भोलि । कति निष्ठुरी .....। सँगै बिहे भा’की समीराकी छोरी भइसकी ठुमरठुमर हिँड्ने आफ्नो त कर्मै रुखो’ –यस्तै शब्द हरफ लेखियो उसको मनको गुबोमा ।

लोग्नेचाहिँ राजनैतिक पार्टीको स्थानीय झोले नेता । गाउँका बबुरालाई ठूल्ठूला योजना पारिदिने दिवासपना बोकाएर थैल्याउँदै छ पैसा, खर्चको नाममा फूल, पलार, नैवेद्य र दक्षिणाको बहानामा । छानक्छुनुक् सुनिन्छ –ऊ एक जना नेताको छत्रछायाँको दोचा टेकेर

 

चढ्दै छ’रे अपराधको चुचुरो । मोजमस्तिका जिन्दगी जिउन जे पनि गर्न तयार हुन्छ ऊ ।

टुक्सुक्क बसेर मनसँग गफिन्छे यसरी –‘यी मान्छेले ठान्या होलान् पोइलो जाली भन्ने । अर्की राम्री र भर्खरकी बिहे गर्ने मनसायमा होलान् । तर, मलाई चिनेकै छैनन् , हड्डी घोटेर चन्दन लाउँछु । कसरी भन्न सकेका –पर्खे क्या बाद, छोडे धन्यवाद पो’रे मलाई ।’ यस्तै अन्तरमनको गन्थन चटक्क छिन्छ सासूको खुइ गराइले ।

सासूको गोडामा तेल मल्दै भनी –‘कति भनेँ घरमै बस्नु, आमा मान्नु हुन्न, सकसक गरी हिँड्नुहुन्छ ।’

‘मन मान्दैन, बसिरहे पनि जीउमा खियो लाग्ने डर । बुढेसकालको शरीर लुला भए हातगोडा, मट्याङ्ग्रोजत्रो कुरिन ढुङ्गो टेकेथेँ ख्यस्ल्याक्कै भइगो, मक्र्याे क्यार, तलाई दुःख दिने भएँ ।’

‘के भन्नु भा’ आमाले, यो त मेरो कर्तव्यभित्र कुरा हो ।’

‘लौ साइँली दुःख पाइस् । तेरो लोग्ने हिँडेपछि फर्कन जानेन । तर, नसुर्ता सबै जायजेथा तेरै नाउँमा नामसारी गरिदिउँला ।’

‘म, राँडी सरहकीलाई के अर्थ जायजेथोे’–खुट्टा मर्दन गर्दै फ्याँकी सुस्केरा ।

‘हरेस नखा, देख्या छौँ विल्टुवा लोग्नेलाई तह लाएर पनि घरव्यवहार सोझ्याका छन् कति आइमाईहरूले’ –सान्त्त्वना पोक्याइदिइन् सासूले बुहारीको च्याङ्लो मनको पछेउरीमा ।

‘त्यस्तै आशा छ सुध्रेलान् कि भन्ने’ –ऊ भित्रको स्वर्णमय कल्पनालाई दर्शाई ।

‘कि जान्छेस् त पोइ भाँठ ?’

‘के भन्नु भा’ स्वास्नीले लोग्ने खोजी हिँडी भने गिज्याउँछन् मान्छेले ।’

‘तेरो हृदयको समुद्रमा छल्किरहने ज्वारभाटालाई बुझेकी छु । आमा बन्ने रहर हतारिरहेको हुन्छ एउटी विवाहित आइमाईको मनमा । हाम्रो धोको तेरो आत्माभन्दा दोब्बर व्याकुल छ उत्तराधिकारी खेलाउन ।’

अनि बिस्तारै ढप्कियो ऊसँग सैर गर्ने क्षण प्रतिक्षणहरू ।

पश्चात ..............!.................!!..............!!!

दुई पहर रात फेरि उसको हुन सकेन । मन एकोहोरिनेबित्तिकै ऊ भित्र ‘ऊ’ आएर रमाउँछ । निचोर्न थाल्यो सुस्तरी । छटपटिई ओछ्यानमै । क्रमसँगै बहुअश्वहरूलाई दगुराउँछन् ‘ऊ’ ले हृदयमा टङ्कण गरेका अक्षरहरू उक्काउँदै । थिलथिलियो वक्ष त्यही आलो घाउहरूमा मसार्छ ऊ । त्यो क्रिया मायाको हो या तिरस्कारको अझै निक्र्यौलहीन छे ऊ । अझै ‘ऊ’लाई बिर्सन चाहन्छे या सम्झन ? ऊसँग छैनन् उसका गणितीय हल । यसरी ‘ऊ’ले उसलाई खेलाउँदाखेलाउँदै तीखा दाह्रा गाडेर चुस्छ जुका भई । ऊ मुर्दा झै चिसिँदै छे ‘ऊ’को तृषित कात्रोभित्र । अनि बाँच्नुको परिभाषामा हैटु छे । आफ्नै लोग्नेलाई बैंसको द्वारपाले राखे पनि थाहै नपाई कमजोर मनको फपलेटो उघारेर सुटुक्क पस्छ –ऊ ।

‘विमोचन हुन नसक्ने समस्या होइन, मोक्ष हुन सक्छु यो पेसुवा अन्तर मुर्कुटाबाट । यथार्थ शिर–पुच्छार सुनाई’–हिम्मत गठ्यायो मूल मनले । अर्की लुम्री मनलाई सटीक नलाग्दा पोख्छे मनसाय –‘विश्वास नगर लोग्ने मान्छे जति नै सोझो र बुझकी भए पनि सुन्न चाहादैनन् त्यस्ता कुराहरू ।’

‘गर्ने के त ?’ चेपिई अनिर्णयको धरापमा ।

निकैबेर बाँसको भाटालाई टुक्य्राएर छापेको टारलाई हेरिरही । अनि मनलाई लगार्छे अतीतको सुन्द्रोभित्र । र मन अँध्यारामा भिमलिन्छ –‘मेरो शिक्षालाई गर्भ अवस्थामै फ्याँकिदिए अप्रेशन गरेर, भाइ जन्मेपछि । भाइलाई हुर्काउने अभिारा म फुच्चीमाथि आयो ।

आज सम्झन्छु मेरो शिक्षाको भ्रूण नफ्याँकिएकी भए साहित्यकार, वैज्ञानिक, इन्जिनियर, डाक्टर, नुत्यगणा, अभिनेत्री या नेत्री हुन सक्थी । तर ............. । अनि मभन्दा नजान्ने श्रुतिले प्रवेशिका पास गरेकी खुशीमा चकलेट बाँडी हिँड्दा रोएर फ्याँकेकी थिएँ अन्तर दुःखलाई । त्योताकाकी गोज्याङ्ग्री समर्या ‘नेपाली लेखनको एकरूपता’ भन्ने विषय लिएर विद्यावारिधि गर्दै छे । यो बेलासम्म आफू भने देब्रे छु न दाहिनो ।’ यस्तै आगत र विगतका ज्वालामुखी कोठारमा फुट्दा पातुलो लावा बग्यो आँखा भिजाउँदै ।

पश्चात ..............!.................!!..............!!!

सफल भो उसको प्रतिक्षा । पाँच वर्षको ऊषर जियाइले मोड लिने भो ऊर्मी बोकेर । कारण आइपुगेको छ उसको लोग्ने । खुट्टो भुईंमा छैनन् हर्षले । सिमलको भुवाझैँ उड्दै छे वास्तविक दिनचर्याभन्दा अलिकमाथि । अनि खतोखात पोक्याएकी छे निर्णय, सबै सुनाउने ‘ऊ’ले उसलाई दलेका कुराहरू । ऊसँगको उठान र अन्तलाई फुकाउन एकएक ।

मन्द सुसेल्दै या गुन्गुनाउँदै पकाएको खानामा नसोचेको स्वाद पाइन्छ भन्छन् । आज ऊसँग पनि त्यो शूत्र प्रयोग भो, अथाह नै । साँच्चिकै स्वादमा परिमार्जन आएछ, हेप्ने लोग्नेले समेत प्रशंसा दोहो¥याइरह्यो । र त ऊ भित्र–भित्रै रमाउँदै, लजाउँद,ै बिलिँदै थिई, केटाकेटीले आँगनबाट बटुकोमा टिपेर राख्या असिनाका दानाजस्तै ।

शयन कक्षको प्रकृति –धेरै माया अलिअलि दुखेसो केही गुनासो त्यसपछिको स्वतः मिनाहा र सुखद भविष्यको शुभारम्भ ।

भावी तानावाना मिलाउने कुरा । लोग्ने निदाउँछ उसको कुरालाई सही थाप्दाथाप्दै । लामो यात्राले गलेको जीउ ‘सुतुन्’ भन्दै टिसाउँछे लोग्नेलाई । सुत्ने प्रयास लोग्नेको मीठो समीप्तासँग । अनुभूति आनन्दको, पाँच वर्षे बालकले छेवर पछि हलुङ्गो अनुभव गरेजस्तै ।

तर आज पनि ‘ऊ’ आएर चाट्न थाल्छ –बाख्राले गोठालालाई चाटेजस्तै । टोक्छ, लुच्छ, मसार्छ, लछार्छ, त्यो हरिपले, लोग्नेको उपस्थितिमै । धेरै छटपटाई, लम्की, उर्ली, अन्ततः असह्य भएपछि छटपटाउँदै लोग्नेलाई बिउँझाउँछे ।

‘के भो ?’ भन्दै अल्छ्याउँछ लोग्नेचाहिँ ।

जम्लेहात पारी अनुनय गर्छे –‘विवश ! आज तिमी जाग्नपर्छ, धेरै भो सुतेको अनि म जागै बसेकी ।’

‘ऊँ ! के भन्न आटेकी ?’

‘पुर्पुरोमा हात नराख विवश सुन्नै पर्छ तिमीले । दह हुँ म तिमी झर्ना । श्रीमान् श्रीमतीको बीच अथाह र अदृश्यको साँध हुनु हुँदैन । साँध नगाडेको मायाको मेलोमा चापाचाप गर्न कति मजा आउँछ हगि ?’

‘भूमिका नबाटी भन’ –हाई काढ्यो लोग्नेले, सायद निन्द्राले फकाउँदैछ ।

‘बाच्चा छ –मेरो अतीतलाई सुनेर आवेशमा नआउनु । मेरो शरीरबाट मेरो विगत फुकिरहँदा मौन रहनु तिमी । साक्षीमा छन् तिमीले सामाजिक रोहबरमा दिएको सिंदुरपोते । अनि मेरो अतीतको अध्याय सिद्धे पछि जे पनि गर्न सक्छौ, स्वीकार्छु जस्तै परिणाम पनि । सान ल’गा खुकुरी, चुप्पी, सुइरो, तलवार र मुङ्ग्रो पलङ्गमुनि राखिदिएकी छु । जुनै हतियार पनि प्रयोग गर्न सक्छौ ममाथि । मेरो लासलाई तहलाउन टेवलनिरै छन् –प्लास्टिक, बोरा, फरुवा र डोरी । मान्छौ भने मलाई कोठेबारीमै गाडेर बाह्रमासे फूल रोपिदिनु ।’

बीचमै कुरा काट्यो लोग्नेले –‘मगज त खुस्केन’ भन्दै ।

ऊ निर्निमेष हेरिरही लोग्नेलाई । ‘के हेरेकी बौलहीझैँ’ –छक्क प¥यो लोग्ने ।

‘मलाई धितमरुञ्जेल हेर्न देऊ, के थाहा यी आँखाहरू केहीबेरमै निभ्लान् संसारबाट ।’ यस्तो कुराले लोग्नेचाहिँ झनै टोलिन्छ ।

‘अब मेरो कुरो सुुन’ –‘ऊ’ ले उसलाई दे’का कुरा खोसेल्न थाल्छे –‘ २०६४ साल माघ महिनाको २२ गतेको रात्रियात्रा, जेठाजूकोमा देवाली मान्न, कुलायनको भाकल बोकेर हिँडेकी । बसमा झ्यालतिर सीट पाएकी छु । २×२ को अर्काे सीट खाली छ । हुस्सु लाग्या अँध्यारो निशी । केहीबेरको यात्रापछि म छेउको खाली सीटमा बोर्काे ओढेको पुरुष आएर बस्यो । झ्यालतिर ढल्केर निदाउने प्रयासमा छु । बसमा दोहोरी गीत बजिरहेछ –प्रेमरसको । अनि निदाएछु मस्त । निकैबेरपछि तरङ्ग तर्सेर बिउँझँदा छेउको पुरुषले मलाई अँगालेको रहेछ । मेरो टाउको उसको काँधमाथि थियो । सायद निन्द्रामा ऊतिर ढल्केर उसको काँधमा सिरानी पार्न पुगेछु । र त म एउटी अचिनारु महिलामाथि हात हाल्ने आँट ग¥यो । अनि त्यसलाई हुत्याई, झ्यालतिरै ढेस्सिएर फेरि निदाउने प्रयास गरेँ । मलाई गाडीमा चढ्नेबित्तिकै निन्द्राले गाँज्छ ।

पुनः ऊतिरै ढल्के छु निन्द्रामा । त्यही निकृष्ट कार्यलाई दोहो¥यायो त्यसले । सम्हालिएर झ्यालतिरै टासिएँ । तर, त्यसका घिन लाग्दा औँलाहरू चक्चक गर्न छाडेन । हात समातेर झटारेँ त्यो मानेन । त्यसको कान समातेर बेस्मारी बटार्दै रिसाएर सुस्तरी भनेँ –‘सभ्य बन् नत्र हल्ला गर्छु ।’

‘हल्ला गर, इज्जत तिम्रै जान्छ । म बारको घोचो । लोग्ने मान्छेका इज्जत छिटै फर्कँछ समाजमा । फेरि पहल त तिमीलेनै गरेकी हौ । इन्जोय गर बाटो पनि कट्ने जाडो पनि भाग्ने’ –त्यसले निडरतापूर्वक मेरो काननिरै फुस्फुसायो ।

‘थुक्क नकच्चरो !’ –गाली गर्दै तिरस्कार गरेँ । फरक परेन गाली गर्दा पनि त्यो डुब्दै थियो अशोभनीय चरित्रमा । गीत बजिरहेछ, मस्त निदाका छन् यात्रुहरू । झनै निस्पट्ट अँध्यारो । फेरि त्यसको फोहरी हात मतिर आयो । विरोध गरेँ चुपचाप, के मान्थ्यो बजिया । यस्तो लाग्यो मान्छे होइन त्यो, मलाई हराउन शैतान बन्दैछ । वास्तवमा म चाहँदिन थेँ चर्चाको विषय बन्नँ । त्यसको सिनु कार्यलाई सहनबाहेक अन्य विकल्प लागेन । अनि मेरो कमजोरीलाई बुझ्यो त्यसले र झनै फैलिए त्यसका घिनलाग्दा कुकर्महरू ।

गीत बजिरहेकै छ । विविध आवाजमा घुर्दै छन् अन्य यात्री ।

त्यसको नराम्रो व्यवहारसँग झ्यामिँदै छु म पनि नचाहँदा– नचाहँदै । मेरा होसका हातगोडा भाँचिन थाल्छन् । सकारात्मक अनुभूतिमा प्रतिलिपि हुँदैछ फोहरी कार्य । कज्याइरह्यो त्यसले म भुनी सँुगुर भएछु । बेस्सरी नङ्ग्रायो मलाई, सुके लुतोले गाँजेछ, आनन्द पाएँ । हस्तबंधनमा कस्यो, गिर्खाे परेन मेरो सास नलीमा । खेलिरह्यो, म खेलौना भएछु । अति लजुई त्यो बेला कता मरेछन् मेरा लाजहरू । आँखाले समेत दैलो थुनेर एक्ली पारेछन् मलाई । निःशब्द शिथिल जीउ, मुर्दा हुँदैछु । सुन्छु कर्णद्वार निरै युगल स्वास–प्रस्वास मात्र । गीत सुन्न छोड्यो न घुराइ सुनिन्छ अन्य यात्रीका । कसैले देखेजस्तो लाग्दैन आफैँले नदेखेपछि । ढुक्क छु डुबेको छु ऊसँग । अनि ‘त्यो’ सम्बोधनमा ‘ऊ’लाई स्थापित गर्न प्रेरित भएँ । रातभरि छामिरह्यो, खेलाईरह्यो, मलाई र मेरो कोमल मनलाई ।

बस रोकियो ऊ रोकियो म रोकिएँ । कति छिटै टुङ्गियो यात्रा । अन्य दिन पटाई लाग्ने यात्रा यसपालि भने मीठो र छोटो लाग्यो । बसबाट ओर्लनेमा सबैभन्दा पछि ऊ,  ऊपछि म थिएँ । मैले उसलाई हेर्ने आँट गर्न सकेकी छुइनँ । ऊ अग्लो छ या होचो, गोरो छ कि कालो, आदिवासी हुन् या ताकाधारी, तराईबासी हुन् कि पहाडबासी म चिन्दिनँ । मात्रै थाहा छ उसको मधुरो स्वर, स्पर्श अनि पफ्र्युमको गन्ध । बसबाट ओर्लेपछि हात समाएर भन्यो –‘जाऊँ मेरो डेरा ।’

अनि बेसुरमै पछ्याएँ ‘ऊ’लाई मोहनी लायो क्यार । डेरामा पुगेपछि महिला रोबोट भएँछु ‘ऊ’को वाक्य रिमोटमा चल्ने । ‘उज्याले भा’ छैन’ भन्यो, हो भने । ‘दैवले जुराको हाम्रो मिलनलाई, यसमा हाम्रो गल्ती छैन’ – भन्यो । उसको चतुराइपूर्ण कथनलाई मानेँ । जसो भन्यो त्यसै मानेँ ।

पश्चात ..............!.................!!..............!!!

‘ऊ’ आइलाग्यो म जाइलागिनँ । लुछ्यो भोको कुकुरले झैँ मेरो अंगप्रत्यंगलाई । ठुँग्यो गिद्ध भएर, चुस्छ जुकाले झैँ । म सहिरहेँ मेरी पत्नीत्व छटपटिरहँदा पनि । पतिव्रताको हत्या ग¥यो ‘ऊ’ले, अलिकति सहयोग गरेँ मैले । मेरो अस्मिता रोयो गुनाासो गरिनँ । लामो घमसान पछि छिः ‘ऊ’ फुँडो नैतिकताको फुर्काेबाट धरातलमा पछारियो सँगै खसेछु म पनि । जब पतीतको झुवाँलोले पोल्यो अनि झस्किएँ ‘पाप गरेँ आज ।’ थुकेँ आफैँलाई । र बाहिरिन्छु घाम लागेको रहेछ, मेरो दुःचरित्रलाई देखाउन । फेरि आवश्यक परे यस ठेगानामा सम्पर्क गर्नु’ –भन्दै परिचय कार्ड दिन्छ ‘ऊ’ले । अलिक ओर आइपुग्दा सुनेँ एउटी आइमाईले सोद्धै छे – ‘ऊ’सँग –‘बुहारी ल्यायौ क्या हो ?’

‘ऊ’ ले दिएको कार्डलाई च्यातेर नालीमा फ्याकेँ र कस अड्डा आइपुगी लाग्छु गन्तव्यतिर । त्यो घटनालाई सपनामा दुर्घटना पारेर बिर्सने प्रयास गरेँ तर ‘ऊ’ सत्यनाशको शरीरबाट सल्केको पफ्र्युमको दुर्गन्धले भने स्मृति गराइरह्यो –सत्यसत्य । त्यसपछि ‘ऊ’को रण्डो प्रवृत्ति, स्वर र पफ्र्युमले आजसम्म लछारिरहेछ पछारिरहेछ । झुन्डिरहेँ कुकर्मको सुलीमा मर्न न बाँच्न भई । यस कुघटनालाई तिमीसामु राखेँ –त्यो मेरो दाम्पत्य धर्म ठानेँ र । त्यसैले आजसम्म पर्खेकी नत्र त्यतिबेलै मर्थे हुँला कुनै मुण्डाघरको कौसीबाट हाम्फालेर ।’

अनि हतारिँदै लोग्नेको गोडा समाातेर भन्छे –‘चपरीमुनि हालेँ तिमीलाई ।’ बाँच्न चाहन्नँ । निःसन्देह मुक्ति दिनुपर्छ मलाई त्यो रोगबाट । भुईंचालो लिएर आयो, कहिल्यै भुल्न नसक्ने व्यथा दिएर गयो पापीले ।’

स्वास्नीले पर ओछ्यान भाकी नडराई भनिरहँदा लोग्नेचाहिँ चुपचाप पछुतोको पृष्ठमा लेख्तै थियो –ढुङ्गा ................ढुङ्गा ............... ढुङ्गा................!

पश्चात ..............!.................!!..............!!

प्रकाशित: १७ फाल्गुन २०७७ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App