coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कुकुर ‘क’

लघुकथा

    कृष्ण बजगाईं                         

                       १)  कुकुर ‘क’

प्राथमिक तहको वर्णमालाका अक्षरहरू आफूखुसी  अर्थ्याएर  पढाउन थालेपछि गन्जोगोलको स्थिति सिर्जना भयो । त्यसपछि पठनपाठनमा एकरूपता ल्याउन सरकारले सबै राजनीतिक पार्टीका शिक्षक र भाषाविद्हरूको बृहत् भेला आयोजना गरयो ।

   ‘कपुरी ‘क’ मा पुरानो सत्ताको धङधङी छ ।’ भेलाका सहभागी एक क्रान्तिकारी भाषाविद्ले कुरा उठाए ।  

   ‘अबदेखि ‘क’बाट कम्युनिस्ट भनेर पढाउनुपर्दछ ।’ लेनिनकट दाह्री राखेका शिक्षकले भने ।

   ‘कम्युनिस्टभन्दा कांग्रेस पार्टी पहिला स्थापना भएको हो । ‘क’बाट कांग्रेस भनेर पढाउनुपर्दछ ।’ विपी कोइरालाको जस्तो चस्मा लगाएका अर्का भाषविद्ले तर्क राखे ।

एक जना कुर्ताधारीले ‘क’बाट कलम भनेर सिकाउनुपर्दछ भने ।

‘मिल्दैन, बिलकुलै मिल्दैन । कलम त्यो ....पार्टीको झन्डामा छ । कछुवा त्यो.... पार्टीको चुनाव चिन्ह हो । कमल त्यो... नेताको नाम हो । कापी चुनाव चिन्ह लिएका ती.... नेताले चुनाव जितेका छन्... ।’ विभिन्न तर्क र विरोधले मर्यादा नाघेर होहल्लाको रूप लियो।

लामो समयसम्म छलफल गर्दा पनि कुनै शब्दमा सहमति हुन सकिरहेको थिएन । अधिकांश प्रतिनिधिहरू विचरा ‘क’को नाममा उत्तेजित हुँदै थिए । केही प्रतिनिधिहरू मैले भनेकै हुनुपर्दछ भन्दै कुकुरजस्तै भुक्दै थिए ।

होहल्लाकै बिच माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाऔँ हजुर भनेर प्रस्ताव राखे । वास्तवमा कुकुर कसैको नाता पर्दैन थियो । कुकुर शब्दमा सबैले सहमति जनाए। 

                       २) गँवार 

   गाउँपालिकाबाट नगरपालिकाको बासिन्दा भएका जनताका खुसी धेरै समय टिक्न सकेन । बाटो, बिजुली, ढल, स्वस्थ खानेपानी नपुगेको गाउँलेहरूलाई नगरपालिकाले ढाड सेक्ने गरी नयाँ कर लागु गरयो । त्यसो गर्नु उनीहरूको बाध्यता थियो । नगरपालिकाका पदाधिकारीहरूलाई महँगा गाडी, मोटरसाइकल, मोबाइल फोन, तलब, भत्तालगायतका अन्य सुविधाहरू ती गाउँलेहरूले तिर्ने करबाट मात्रै पूरा हुन्थ्यो।

करको विरोध गर्दै गाउँलेहरू नगरपालिका कार्यालय घेराउ गर्न पुगे । नगरपालिकाको आवास गृहबाट आउँदै गरेका नगरप्रमुख र गाउँलेको जम्काभेट कार्यालय बाहिरै भयो । नगरपालिकाले भर्खरै किनेको महँगो गाडीबाट उत्रँदै ती चतुर मेयरले दुवै हात जोड्दै भने– ‘करका बारेमा तपाईंहरूले कुरा नबुझेजस्तो लाग्यो । गाउँपालिकाबाट नगरपालिका हुनेबित्तिकै तपाईंहरूको जग्गाको दाम एकाएक बढेको छ । गाउँपालिकाका बासिन्दा हुँदा हामी गँवार थियौँ । अब हामी नगरपालिकाको सभ्य नागरिक भएका छौँ ।’ उनले गर्वका साथ भनेँ ।

     ‘हामीलाई गँवार भन्ने अधिकार तपाईंलाई कसले दियो ।’ विपक्षी पार्टीका एक कार्यकर्ताले आक्रोशित हुँदै भने।

गाडीबाट उनले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित बडेमानको नेपाली बृहत् शब्दकोश निकालेर गँवारको अर्थ पढ्न थाले– ‘सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा; गाउँले । शिष्टता नजानेको, असभ्य र मूर्ख ।’  

    ‘नगरपालिकालाई कर तिर्दा सभ्य र बुद्धिमान् भइन्छ भने किन गँवार भैरहने ?’ मेयरले भने । 

मेयरको कुरा सबैलाई मनासिव लाग्यो । त्यसो हो भने ठिकै छ नि त भन्दै उनीहरू कुटो –कोदालो चलाउन खेततिर लागे ।

                                   ३.पात्रहरू

मष्तिस्कमा गर्भाधान भएको कथा कम्प्युटरको ‘वर्ड फायल’मा सफलताका साथ डेलिभरी गरेपछि लेखकले लामो सास फेरयो । र, कुर्सीमै बसेर एकछिन आँखा बन्द गरयो । लेखकले टाइप गर्न छाडेर आँखा बन्द गरेलगत्तै कथाका पात्रहरू एकआपसमा संवाद गर्न थाले । 

‘आआफ्नै भाग्य त होला नि, कोही असल पात्र त कोही खराब पात्र भएर जन्मिनुपर्ने ! हामीमध्ये कसैको क्या राजसी जीवन, कसैको दुःख र पीडाको भारी !’ कथाको एउटा पात्रले पीडा ओकल्यो ।

 ‘मेरो त यति खराब चरित्रको बनाइएको छ कि पाठकका अगाडि मुख देखाउनै नमिल्ने । ममाथि त ठूलो अन्याय भएको छ ।’ कथाको खलपात्रले गुनासो गरयो ।

 ‘मेरो चरित्रअनुसार लेखकले न्याय गर्न सकेनन् । मलाई कमजोर रूपमा प्रस्तुत गरे ।’ कथाको मुख्य पात्रले असन्तुष्टि जनायो ।

‘लेखनमा होस् वा मानिसका समाजमा, हामीलाई कमजोर र चरित्रहीन नारीका रूपमा प्रस्तुत गरिन्छ । न त समाजमा लोग्ने मानिसहरूले इज्जतसाथ बाँच्न दिएका छन् न लेखकले आफ्ना सिर्जनाहरूमा । नारी भनेर के सारो हेपेको हँ ?’ कथाकी नारी पात्र बोली।

कथाको बुद्धिमान् पात्र गम्भीर भएर बोल्न थाल्यो– ‘कथाका पात्रहरूले आफ्नो चरित्रका बारेमा किन यति गम्भीर भएर सोचेको होला ? हामी त यस कथाका फगत पात्र मात्र त हौँ नि । हाम्रो चरित्रका बारेमा के कुरा गर्नु र ? लेखकको विचार मात्र होइन चरित्र पनि छिनमै बदलिन्छ । अर्को कुरा, हाम्रो चरित्र चित्रण गर्ने लेखकै आयुको टुङ्गो छैन । हामी नै पनि कति पो बाँच्छौँ र पाठकका मनमा ....।’  

अचानक लेखकका आँखा खुल्यो । अरू पात्रहरूले आफ्ना कुरा भन्नै पाएनन् लेखकले सम्पूर्ण कथा डिलिट गरयो ।

                                    ४) सन्नाटा –   

‘तपाईं त सारै सोझो हुनुहुन्छ । अरूका लोग्नेले त स्वास्नीलाई घरजग्गा किनिदिएर खुसी बनाएका छन् ।’ श्रीमतीले धेरै पटक गनगन गरेपछि अंशमा पाएको घर उनकै नाममा सारिदिएँ ।

 ‘अरूका ज्वाइँ त ससुरालीलाई कस्तो माया गर्दछन् । हाम्रा त साह्रै सोझा ।’ सासूससुराले भनेको कुरा श्रीमतीले धेरै पहिलेदेखि सुनाइरहेकी थिइन् । डिभी परेपछि स्वास्नी र दुई छोरी लिएर अमेरिका जानुअघि तराईबाट ल्याएर ससुरालीका बथानलाई अंशमा पाएको राजधानीको घरमा हुलेँ ।  

                 ‘कस्तो सोझो ? केही तलमाथि परयो भने यो परदेशमा टाउको लुकाउन कसकोमा जानूँ ? यी साना छोरीहरूको अवस्था के होला ?’ श्रीमतीले दिनहुँ किचकिच गरिरहेपछि अमेरिकाको अपार्टमेन्ट उनकै नाममा किनिदिएँ ।

                ‘अरूकाले त तानेर विदेशमै पुरयाइसके । केही गर्न नसक्ने हाम्रा भिनाजु त अच्चकाली सोझा ।’ सालासालीले भन्ने गरेको कुरा श्रीमतीले पनि दिनैपिच्छे सुनाउन थालिन् । दुई वर्षको अन्तरालमा मेरै पैसामा सालालाई क्यानडा र सालीलाई अस्टे«लिया स्टुडेन्ट भिसामा पठाएँ।

उनले सोझो भनेपछि म आफूलाई बाठो भएको देखाउन खोज्दथेँ । आफूलाई रित्याएर सबै दिएँ । मेरा ससुराली खलक मधेसको आफ्नो घर भाडामा लगाएर पैसा जम्मा पार्दथे । तर, मैले पैतृक अंशमा पाएको घरमा उनीहरू वर्षौंदेखि सित्तैमा बसिरहेका थिए । अन्ततः ससुराली र श्रीमतीको योजनाअनुसार सडकमा पुगेँ, स्वामीजी।

ध्यानपूर्वक उसको कुरा सुनिरहेका गेरुवस्त्रधारी साधुले गम्भीर आवाजमा सोधे– ‘अमेरिका छाडेर एक्लै किन नेपाल फर्कियौ त वत्स ?’

  ‘आफ्नै आमाको काख प्यारो हुँदो रहेछ स्वामीजी ।’ उसले जवाफ दियो ।

  ‘मेरो पनि नपुग्दो केही थिएन । म पनि तिमीजस्तै सोझो थिएँ । श्रीमतीकै कारण जोगी बन्न पुगेँ । चिन्ता नलिनु, एक्लो जीवन जसरी नि चल्छ । भोलेनाथले तिम्रो रक्षा गर्नुहुने छ । अलख निरन्जन !’ उसलाई खरानीको टीका लगाइदिँदै साधुले भने। 

त्यसपछि वातावरणमा सन्नाटा छायो ।

                          ५) सन्नाटा– २

 मेरो मुटु दिएर उनलाई घरमा भित्र्याएको थिएँ । उनलाई म अच्चकाली माया गर्दथेँ ।  सोही कारण उनका इच्छाहरू क्रमशः पूरा गर्दै जान थालेँ।

सबैभन्दा पहिले बहिनीलाई अमेरिका पढ्न पठाउने कुरा गरिन् । उनकी बहिनी मेरी साली । दिनरात खुन र पसिना बगाएर मेहनतसाथ कमाएको पैसाले उनकी बहिनीलाई अमेरिका पठाएँ ।

 उनकी आमा बारम्बार बिरामी भइरहन्थिन् । उनकी आमा मेरी पनि आमा । आफ्नै आमा सम्झेर पटकपटक आफ्नो रगत दिएर उनलाई बचाएँ। 

उनले मसँग एकदिन मृगौला मागिन् । मेरो मृगौलाले मात्र उनको बाबुको ज्यान बच्ने कुरा सुनाइन् । मलाई थाहा थियो एउटा मृगौलाले मानिस मजाले बाँच्छन् । बाबुआमा नभएको टुहुरो म । उनका बाबु मेरा पनि बाबु । आफ्नै बाबु सम्झेर मृगौला दिएँ ।

   अचानक एकदिन उनले मलाई भनिन्, ‘हजुरले यो बसिरहेको घरजग्गा मेरो नाममा पास गरिदिनुभयो भने मात्र मलाई माया गर्नुहुन्छ भन्ने थाहा पाउँछु ।’

    भोलिपल्टै घरजग्गा उनको नाममा पास गरिदिएँ ।

    ‘त्यसपछि के भयो ?’ न्यायाधीशले सोधे ।

    ‘मलाई रोगले गाँज्दै लगेको रहेछ । त्यो कुरा अलिकपछि मात्र थाहा पाएँ । शारीरिक रूपमा कमजोर हुन थालेँ । त्यसले मानसिक चिन्ता थप्यो । मेरो जोस र जाँगर क्रमशः हराएर गयो । पहिलेजस्तो श्रीमतीको शारीरिक र भौतिक आवश्यकता पूरा गर्न नसक्ने भएँ । रस चुसेर फालेको उखुको खोस्टोजस्तै एकदिन उनले मलाई घरबाट निकालेर सडकमा पुरयाइन् श्रीमान् ।’ उसले रुँदै भन्यो ।

‘अनि....?’ न्यायाधीशले फेरि सोधे ।

‘कति उनलाई मात्र दिनूँ भनेर मैले पनि लिएँ ।’ उसले भन्यो ।

‘के लियौ ?’ न्यायाधीशले फेरि सोधे ।

‘उनको ज्यान !’ उसले नडराई भन्यो ।

त्यसपछि इजलासमा सन्नाटा छायो ।

      (‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रह (२०७७) बाट)

प्रकाशित: १६ फाल्गुन २०७७ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App