के को धाक लगाउँछौ भन तिमी सत्ता समायौं भनी
के को लाज पचाउँछौ भन तिमी भत्ता कमायौं भनी
पुर्खाको इतिहास भन्दछु, हुतीहाराहरू हो सुन–
बोक्थे बाइस फाम भोट र कुती चालेर ढिक्का नुन ।
कत्रा युद्ध भए झसङ्ग सय रे औंला पिटिक् पट्कँदा
झट्टीले सय ढाल्दथे सय अझै चट्टी फिटिक् फट्कँदा
मुट्कीले सय मार्दथे निमिषमा गोडा उचाल्दा पनि
हाहाकार जताततै समरमा चर्चा थियो सन्सनी ।
पुर्खा अद्भुत शक्तिका र दरिला आँखा घुमाए पनि
ज्वाला झल्झल बल्दथ्यो कति डढे ऐय्या र आत्था भनी
औँलाकै बलमा ढले कति मरे बोली उसै चट्किने
तान्दामा लहरो थरक्क पहरो भन्थे, थियो थर्किने ।
बाफ्रे बाघ समाउँथे र फननै फन्को घुमाएपछि
ग्वाँग्वाँ बाघ डराउँदै कति ढले रन्को छुटाएपछि
च्याप्पै कान समाउँदै फनफनी फन्काउँदै भालु ती
ढुङ्गामाथि पछारिँदा कति मरे प्याट्टै फुटी तालु ती ।
पुर्खाको कति गर्नु अद्भुत कुरा बोकेर हिँड्थे रुख
एक्लैले खनजोत फाँट नि गरे के दुःख के हो सुख
फोर्थे पर्वत हातले गजबले बाटो बनाए कति
हातै डोजर दर्बिला पनि थिए मुट्की बजार्दा अति ।
ती त्यस्ता इतिहास आज नभनूँ पत्त्याउने के कुरा
हावा हुन् पनि भन्दछन् नव ठिटा उफ्री हिँडेका भुरा
मेरा बा बलिया त भन्न नहुने बेकार भन्छन् किन
के थाहा भन ओ भुरा कति बुझ्यौ यो रात हो वा दिन ।
के को पो फुइँ लाउँछौ नि अहिले खायौं लुटेरै भनी
पुर्खाको रति छैन धाक फुइँ खै सारा दिएरै पनि
गर्थे दान अनेक थ्यो पुगिसरी पुग्दैन ऐले किन
झन्झन् भ्रष्ट बनेर हाय बिचरा के धाक रातोदिन ।
प्रकाशित: १५ फाल्गुन २०७७ ०८:३४ शनिबार