७ वैशाख २०८१ शुक्रबार
कला

अभिनेता पल शाह र निर्देशक अरुण प्रधानबीच भयो सहमति (अपडेट)

अभिनेता पल शाह र पीडित भनिएका चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच सहमति भएको छ। ईलाका प्रहरी कार्यालय धरानमा शुक्रबार साँझ ढिला उपस्थित भएका शाह र उनका मेनेजर कृष्णप्रसाद जोशी र प्रधानबीच सहमति भएको हो । घटनाबारे शाहका मेनेजर भनिएका जोशीले हात जोडेर माफी मागे भने नायक शाहले पनि आफुले प्रधानलाई नचिनेको कारण असमझदारी भएको भन्दै मिल्ने कुरा गरेपछि दुवै पक्षबीच सहमति भएको हो । दिउँसो ४ बजे छलफल गर्ने भनिए पनि शाह शुरुमा प्रहरी कार्यालय आउन आनाकानी गरेका थिए । उनको मेनेजर जोशी मात्र आएपछि निवेदक प्रधानले छलफलमा बस्न मानेनन् । प्रहरीले पनि छलफलमा आउनुपर्ने भन्दै ताकेता गरेपछि पल शाह साँझ पौने ७ बजेतिर मात्र उपस्थित भएका थिए ।  

मेनेजर जोशीले घटना सम्बन्धमा माफी मागे भने शाहले पनि आफुले नसोचेको घटना भएको भन्दै मिलेर जाने कुरा गरेपछि सहमति गरेको प्रधानले जानकारी दिए । उनले भने,‘मेरो चाहना पनि कलाकारहरुलाई नराम्रो होस् भन्ने होइन, तर जुन किसिमको घटना भयो, त्यसले मलाई चुप लागेर बस्न दिएन,’उनले भने ,‘कृष्णले माफी माग्यो, पल भाईले पनि तपाईले यतिका वर्ष काम गर्नुभएको रहेछ, चिनिन, अब मिलेर जाउ दाई भन्नु भयो, र सहमति गर्यौं ।’

पल शाहका मेनेजर जोशीले बुधबार राती प्रधानलाई आक्रमण गरेका थिए । घटनाको भोलीपल्ट प्रधानले प्रहरीमा निवेदन दिएका थिए । कुर्सीमा बसिरहेका प्रधान भएको ठाउँमा आएर जोशीले आक्रमण गरेको सिसिटिभमी फुटेज प्रहरीले अनुसन्धानको लागि लगेपछि शाह र जोशीले माफी मागेर मिलापत्रमार्फत घटनालाई सहमतिमा टुंग्याउन बाध्य भएका हुन् । जोशीले पनि प्रधान विरुद्ध शुक्रबार प्रहरीमा उजुरी दिएका थिए । दिउँसो ४ बजे नै छलफलमा बोलाए पनि पल आउन मानेका थिएनन् । नायक शाह म्युजिक भिडियोको सुटिङ गर्न बुधबार धरान आएका थिए ।

प्रकाशित: १४ फाल्गुन २०७७ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App