कविता
ठीक यो समय
ठीक छैन
बेठीक पनि होइन
ठीक बीचमा छ यो समय
ठीक र बेठीकको।
फुटपाथमा जुत्ता सिलाउने राजेन्द्र रामसँग
मोलमोलाइ गर्दै छन् रामबहादुर
आफ्ना फाटेका दुवै जुत्ता हातमा लिएर–
यत्ति सिलाएको पनि ‘७६’ !
‘५०’ मा हुँदैन ?
कतिमा सिलाउने
निर्णय राजेन्द्र रामको हातमा छ
उनले निर्णय लिनु ठीकअघि
एक हुल मानिसले केहीबेर सडकलाई कब्जामा लिए
मानौँ, आफूहरूको खोसिएको समयलाई कब्जामा लिए
– प्रतिनिधिसभा पुनस्र्थापना गर् !
– प्रतिगमन मुर्दावाद !!
ठीक यही समय
प्रहरीले पानीको फोहरा बर्सायो
लाठी बर्सायो
रामबहादुर जुत्ता छाडेर भागे
र, जिउ जोगाए
कोरोनापछि काम दिन्छु भनेर
ठेकेदारले रामबहादुरलाई सहर बोलाएको थियो
अस्तिसम्म सम्पर्कमा रहेको ठेकेदार
५ पुसदेखि गायब छ
ठेकेदारसँग पुरानो हिसाब पनि बाँकी छ
ठेकेदारलाई खोज्दाखोज्दै उनको जुत्ता फाटेथ्यो
ठीक यो समय
उनको १७ नम्बरको फाटेको जुत्ता पनि गायब छ।
सडकभरि आन्दोलनकारीका जुत्ता छन्
राजेन्द्र राम एक जोर जुत्ता खोज्दै छन्–
रामबहादुरको जुत्ता।
‘यत्तिका जुत्तामा तपाईंले मेरो जुत्ता कसरी चिन्नु’भो ?’
तपाईंको जुत्ता मेरो जिम्मामा थियो
मैले आफ्नो जिम्मेवारी भुलेँ भने
म बेइमान हुन्छु, मेरो गाँस काटिन्छ।
केहीबेरको मौनतापछि
राजेन्द्र रामले लामो श्वास तान्दै भने–
साला ! फेरि खराब समय आए छ।
खराब समय आउनुमा
कसैले आफ्नो जिम्मेवारी बिस्र्यो कि !
कसैलाई जिम्मेवारी सम्झाउने
र, सबैले जिम्मेवारी बोध गर्नुपर्ने
हो, यो समय ठीक बीचमा छ
ठीक र बेठीकको।
यो रामबहादुरले जुत्ता खोलेको समय हो !
प्रकाशित: २४ माघ २०७७ ०४:४७ शनिबार