coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

समकालीन र परम्परागत कला प्रवर्धन गर्दै ‘मोना’

नेपालमा उच्च पहुँच भएका वर्गले मात्र संग्रहालय र ग्यालरी भ्रमण गरेर कला प्रदर्शनी अवलोकन गर्छन् भन्ने मान्यता स्थापित छ । संग्रहालय र ग्यालरी पुगेर विभिन्न कला प्रदर्शनी अवलोकन गरेर मनोरञ्जन लिने प्रवृत्ति नेपालमा स्थापित हुन नसक्दा यसप्रति सर्वसाधारणको रुचि कम देखिनु स्वभाविक हो ।

राजधानी वरपर रहेका अधिकांश संग्रहालय र ग्यालरी व्यवस्थित हुन सकेका छैन । यस अवस्थामा न्युयोर्कदेखि भेनिससम्म स्थापित भएको अन्तर्राष्ट्रिय कला संग्रहालयको अवधारणामा राजधानीको काठमाडौं गेस्ट हाउसमा म्युजियम अफ आर्ट (मोना) सञ्चालनमा आएको छ । काठमाडौं गेस्ट हाउस (केजिएच) समूहका प्रमुख कार्यकरी अधिकृत (सिइओ) राजन शाक्यले नेपाली कला संग्रहालय (मोना)को स्थापना गरेका हुन् । काठमाडौं गेस्ट हाउसको तल्लो भागमा रहेको संग्रहालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको दाबी काठमाडौं गेस्ट हाउसका सिइओ राजन शाक्यले गरेका छन् । संग्रहालयलाई आगन्तुकमैत्री बनाउँदै कलाको संरक्षणको लागि प्रकाश र तापक्रम नियन्त्रणमा विशेष ध्यान दिएको छ । शाक्यले विभिन्न कलाकारहरूले तयार गरेका कला संकलन गरेर संग्रहालयमा राखेका हुन् ।  

अन्तर्राष्ट्रिय मापदण्डअनुसार संग्रहालयमैत्री प्रकाशले त्यहाँ राखिएका कलालाई आकर्षित देखिन सहयोग पु¥याएको छ । नेपालमा स्थानीय र विदेशी पर्यटकहरूलाई लक्षित गरेर विविध संग्रहालय परिदृश्यको शैली विकसित भइरहेको अवस्थामा यस संग्रहालयले नेपाली कला बुझ्न चाहने आगन्तुकहरूलाई महत्व दिएको छ । यस संग्रहालयले नेपाली समुदाय र विदेशी आगन्तुकहरू एकसाथ संलग्न गराउनेमा सिइओ शाक्य आशावादी देखिन्छन् । संग्रहालय प्रवेश गरेसँगै चित्रकार राजप्रकाश तुलाधरको पाँच योगिनीको कलाले आगन्तुकहरूको स्वागत गरेको छ । भगवान् गणेश र हात्तीको चित्रहरूको संकलनले काठमाडौंका बौद्ध संरक्षक देवताहरूको चित्रण गरेको छ । संग्रहालयमा नेपाली कलाकारहरूले तयार गरेर समकालीन र परम्परागत कला राखिएका छन् । तीमध्ये ८५ प्रतिशत शाक्यको निजी संग्रहबाट हो ।

संग्रहालयका भित्ताहरू समकालीन कलाको लागि समर्पित गरिएको छ । जहाँ काठमाडौं वरपर रहेका मठमन्दिरको सुन्दर प्रिन्टलाई फरक शैली र विधिमार्फत प्रस्तुत गरिएको छ । त्यस्तै कलाकार रशना बज्राचार्यले मोना लिसालाई क्यान्सरबाट बचेकी महिलाको रूपमा पुनर्मिलन गराउने प्रयास गरेकी छन् । उनले कपालबिना मुस्कुराइरहेकी मोनालिसाको आकृति क्यानभासमा उतारेकी छन् । त्यस्तै शशीविक्रम शाहले चित्रकला सेतो घोडामा त्यसलाई शक्तिको प्रतीक मानेका छन् । हिन्दु शास्त्रअनुसार शक्तिशाली जनावर घोडा कहिल्यै नथाक्ने पक्षलाई कलाकार शाहले क्यानभासमा उतारेका छन् । लैनसिंह बांग्देलको काठमाडौंको झुपडी चित्रकलामा उपत्यका वरपर रहेका बहुरंगीन छतलाई प्राथमिकता दिइएको छ । कलाकार गोविन्दलाल सिंह डंगोलले रानी ऐश्वर्याको कलमबाट कोरिएको आकृतिले समेत संग्रहालयमा महत्वपूर्ण स्थान पाएको छ । सो कलाको राजपरिवार र तत्कालीन अवस्था स्मरण गर्न आगन्तुकहरूलाई प्रेरित गरेको छ ।

राजनीतिक अस्थिरताले देशभर अशान्त सिर्जना भइरहेको अवस्थामा संग्रहालयमा रहेको ‘टिचिङ अफ बुद्ध’ शीर्षकको कलाले आगन्तुकहरूको ध्यान केन्द्रित गरेको छ । चित्रकार समुन्द्रमान सिंहले तयार गरेका यस कलाले बुद्धको कथा सुन्दै हुर्किएका सर्वसाधारणलाई नेपालमा भइरहेको कलाका अभ्यासहरूलाई बुझ्न सहज बनाइदिएको छ । त्यस्तै किरण मानन्धर, विधाता केसी, एरिना ताम्रकार, उमाशंकर शाह, एरिना ताम्रकार, लोक चित्रकार, मुक्ति सिंह थापा र पुरण शाक्यलगायत कलाकारहरूले तयार गरेको परम्परागत र समकालीन कलाहरू संग्रहालयमा राखिएका छन् । संग्रहालयमा राखिएका पौभा कलाले नेपालका विभिन्न समुदायको धर्म र संस्कृतिलाई स्थापित गरेको छ । समयको अन्तरालमा जीवनशैली परिवर्तन भएपनि कलाप्रतिको सम्मान र विश्वासले निरन्तरता पाएको महसुस गर्न सकिन्छ । नेवारी वास्तुकलाले सजिएको संग्रहालय पाँच भागमा विभाजित गरिएको छ ।

संग्रहालयमा राखिएका कलाहरूलाई आधुनिक शैलीमा संरक्षण गर्ने अभिप्रायले अन्तर्राष्ट्रिय मापदण्डको उचित प्रकाश समायोजन गरिएसँगै तापक्रमको प्रबन्धन बाहेक संग्रहालयले मूल्यवान कलाहरूको सुरक्षामा समेत ध्यान दिइएको छ । ‘नेपाली कलाबारे नेपालीहरूले सर्वप्रथम बुझ्नु जरुरी छ,’ सीईओ शाक्यले भने, ‘संसारभर सिक्न सकिने थुप्रै कुराहरू भए पनि हामीले अन्य देशको संग्रहालयबाट अन्तर्राष्ट्रिय मापदण्डबारे थाहा पाउने अवस्थाको अन्त्य भएको छ । नेपालका संग्रहालयहरूमा अझै ठूलो संग्रह छैन् । त्यसैले यस कला संग्रहालयमा चोरी रोकथामका लागि व्यवस्थापन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार सूचीकरण गरिएको छ ।’

उनी समकालीन नेपाली कलाको तुलना विश्वको सबैभन्दा उत्तम कलासँग गर्न सकिनेमा दृढ विश्वास राख्छन् । ‘धर्म र कलासँग नेपाली समाजको गहिरो सम्बन्ध छ,’ उनले भने, ‘अधिकांश मानिसले कलाबारे खासै बुझ्दैनन् । तर उनीहरू मूर्ति र मन्दिरको पूजा गर्छन् ।’ विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली कलाले प्रतिनिधित्व गरिरहँदा खरिदकर्ताहरू नेपाली कलाकारहरूको काम किन्न प्रतिक्षा गरिरहेको स्थितिलाई उनले लामो समयदेखि अध्ययन गरेका छन् । जसले उनलाई संग्रहालय निर्माण गर्न प्रोत्साहित गरेको थियो । ‘नेपालीहरूलाई नेपाली कलाको लागि नेपालमा एक स्थान छ भन्नेबारे जानकारी दिन र हाम्रा कलाकारहरूले बनाएका कलाप्रति गर्व महसुस गराउन संग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।

गत वर्षको फेब्रुअरीमा सञ्चालनमा आएको संग्रहालयले कोरोना भाइरस महामारीका कारण आगन्तुकहरूलाई स्वागत गर्न सकेको थिएन । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा जेठ महिनामा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरूलाई समेत सचेत गराउन ‘टेन्जेन्सियल स्ट्रेस’ अनलाइन कला प्रदर्शनीको आयोजना गरेको थियो । अनलाइनबाट कला प्रदर्शनी अवलोकन गराउन संग्रहालयले काठमाडौं गेस्ट हाउसको बगैंचादेखि तीन सय ६० डिग्रीको भर्चुअल टूर समावेश गरिएको थियो ।

अन्तर्राष्ट्रिय रूपमा संग्रहालयहरूसँग सहकार्य गर्दै पाटन र पोखरीमासमेत कन्टेम्प्रोरी र परम्परागत कलालाई प्राथमिकतामा राखेर संग्रहालयहरू स्थापना गर्नेमा उनी आशावादी छन् । ‘कलाले हाम्रो संस्कृति र सम्पदाको संरक्षणमा गरेको छ,’ उनले भने, ‘नेपालमा संग्रहालय जाने टेन्ड विकसित हुन सकेको छैन । मनोरन्जनको लागि संग्रहालय जाने टेन्ड नेपालीहरूमा बसाल्नु आवश्यकता छ ।’

काठमाडौं गेस्ट हाउस र संग्रहालयले कतार ऐयरवेससँग सहकार्य गरेर कोरोना भाइरस महामारीपछि थलिएको नेपाली कला र कलाकारहरूबारे स्थानीय समुदायलाई जानकारी गराउन जुटेको छ । संग्रहालयमा प्रवेश गर्न पाँच सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

प्रकाशित: २३ माघ २०७७ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App