८ कार्तिक २०७८ सोमबार
कला

समय

लघुकथा

अरूको कुरा सुनेर नौमतिले आफ्नी सासू नखतेम्माको दुखमा रमिता हेर्न थालिन् । सासू नखतेम्मा सत्तरी वर्षतिर पाइला टेक्दै थिइन् । धेरैले भन्थे– नखतेम्मा भोग्न जन्मेकी छोरी रैछिन् । कहिल्यै सासै फेर्न पाउँदिनन् । खेपेकी खेप्यै छिन् पीडाहरू ।

नखतेम्माले सकुञ्जेल आफ्नो गाउँ बनाइन् । गाउँले बनाइन् । गर्दागर्दा भोगाइले पाकेकी नखतेम्मा बुहारीहरूको पेट फुल्दै गर्दादेखि नै खूब ख्याल गर्थिन् । न्वारान गर्थिन् र फुलोस् – फलोस् भन्दै आसिक दिन्थिन् ।

अरूलाई तमासा देखाउनु हुँदैन । अर्काले चाटेको आफ्नाले काटेको भन्दै घरपरिवारमा सल्लाहले काम गर्न सुझाव दिन्थिन् । कमाउने छोराहरूबाट बल्लैले पाएको पैसाले घरगाउँका नातिनातिनीहरूलाई फलफूल किनेर दिन्थिन् ।यसरी उनी धन नहुनेको मन हुन्छ भनेझैं माया बाँडिरहन्थिन् सधैँ ।

जन्मघर हुँदा इज्जतमै बसेर तरुनी भइन् । एक मुठी सुठुनीको बेलोमा नबिक्ने घरमा सह भित्र्याइन् । गर्दागर्दै बिहे भयो  । जञ्जाले परिवारमा सासूससुरा र अरू सबैको तापमा बुहार्तन खेपिन् र लालाबाला हुर्काइन्।

यतिखेर दमले ओछयानमा छिन् नखतेम्मा । आमाको मर्म बुझ्ने छोरीहरू जुवाइँको घर लागे । बुढेसकालमा सुख दिनुपर्ने छोराहरू आकाशबाट झरेको बर्स्यौलाझैँ गर्न थाले ।

बुढाबुढी रुँगारुँग गर्दै तातो पानीको आसमा बस्न थाले । नौमतिको पेटभित्र सुष्टि चल्न थालेको छ अहिले । सासू नखतेम्मा त्यो देखेर  मनमन खुसी हुँदै सोच्न थालिन– नानी, अरू केही  नभए पनि हामी कोप्पा –कोकूलाई मिठो  वचनले तातो पानी र गिलो खोले दिनु होला भन्नु ल । धर्म गरे खेर जाँदैन । माथिबाट भगवानले हेरिरहन्छन् ।

प्रकाशित: २२ माघ २०७७ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App