७ वैशाख २०८१ शुक्रबार
कला

तीन कविता

समुद्रसँग

सधैँ सधैँ सुन्छु

उही समुद्री पक्षीहरूको कलरव

तिम्रो किनारामा बस्दा  

थियौ तिमी भने उता मेरो देशमा

सुनिन्थ्यो होला नि पर पर नेपथ्यमा

वसन्तमा कोइलीले गीत गाएको

काफल पाक्यो चरी बोलेको

अनि न्याउली रोएको !

 

देख्छु तिम्रो किनारबाट साँझ पर्नुअघि

पर छितिजमा सूर्यले तिम्रो छातीमा डुबुल्की लगाएको

थियौ तिमी भने उता मेरो देशमा

देखिने थियो नि तिम्रो किनारबाटै माथिमाथि हिमालका टाकुरामा

घामले सिन्दुर छरेको !

देख्छु त्यो लाइट हाउसको टुप्पोमा साँझ परेपछि

झिलिकमिलिक रातो–हरियो बत्ती बलेको

थियौ तिमी भने उता मेरो देशमा

देखिने थियो नि तिम्रो किनारबाटै

त्यो जूनकीरीले बत्ती बालेको !

 

कान चिर्दै आउँछन्  

तिम्रो किनाराका ती रेस्टुराँ, बार आदिबाट

डिस्को, अर्केस्ट्राका संगीतहरू

थियौ तिमी भने उता मेरो देशमा

सुन्न पाइन्थ्यो नि तिम्रो किनारबाटै कहिले झ्याउँकीरीको संगीत

अनि कहिले स्यालहरूको गीत

तिम्रो गहिराइमा

हजारौँको संख्यामा मार्दा रहेछन्

फिसिङ बोटबाट माछाहरू

सुनेको थिएँ

उता मेरो देशमा दुवाली छेकेर माछा मारेको

माझीदाइले खोलामा जाल हानेको !

दौडिरहन्छन् वारिबाट पारिसम्म

अनि पारिबाट वारिसम्म

हजारौँ सपनाहरू, लाखौँ योजनाहरू  

अनि, जीवन जिउने करोडौँ सामानहरू बोकेर

धँुवा छाड्दै ती स्टिमरहरू !

छैनौँ तिमी उता मेरो देशमा

त्यसैले त हेपिरहन्छ मेरो दक्षिणको छिमेकी

ब्ल्याकमेल गर्छ हामीलाई

नाकाबन्दी लगाउँछ

थियौ तिमी भने उता मेरो देशमा

सजिलो हुन्थ्यो होला नि हामीलाई पनि

ती सपनाहरू, ती योजनाहरू

अनि, जीवन जिउने सामानहरू  

आयात निर्यात गर्न

भर पर्नुपर्ने थिएन सायद

त्यो दक्षिणको छिमेकीसँग

हेपिनुपर्ने थिएन सायद उनीहरूबाट

अलि सरल हुन्थ्यो होला जीवन

अलि उच्च हुन्थ्यो होला देशको सान !

 

पुरानो

 

तिमी हिँड्ने त्यो बाटो पुरानो भयो

तिमीलाई हेर्दै म उभिने त्यो बार्दली पुरानो भयो

लुकीलुकी तिमीलाई चियाउने

त्यो आँखीझ्याल पुरानो भयो

सबै पुराना भए !  

एकान्तमा तिमीलाई सम्झँदै म बस्ने

त्यो सोफा पुरानो भयो  

कम्प्युटरअगाडिको त्यो घुम्ने मेच पुरानो भयो

सबै पुराना भए !

मैले लगाएको त्यो बिर्के टोपी पुरानो भयो

तिमीले ओढेको ढाकाको मजेत्रो पनि पुरानो भयो

सबै पुराना भए !

तिमीले मलाई दिएको माया पनि पुरानो भयो

तिम्रो त्यो जिद्धी, त्यो घुर्की पनि पुरानो भयो  

सँगै जिउने, सँगै मर्ने

त्यो वाचा–बन्धन पुरानो भयो

हामीले बगाएका ती आँसुका थोपा पुराना भए  

सबै पुराना भए  

फेसबुकमा राखेको  

तिम्रो त्यो प्रोफाइल पिक्चर पनि पुरानो भयो

म उभिएको यो धरातल पुरानो भयो

त्यो आकाश, त्यो बादल

अनि त्यो बतास  

सबै पुराना भए !

सोचिरहेछु

तर, तिमीप्रतिको मेरो चाहना किन पुरानो हुन सकेन ?

 

तिमी चन्द्रमा, म स्ट्रिट लाइट

धेरैले लेखे तिम्रा कविता

थुप्रै थुप्रै सायरी–गजलहरू

तिमीलाई विम्ब बनाएर  

तिम्रो सान उचालियो

सुनियो चन्द्रमा चखेवाका कथाहरू  

तिमी आकाशको जून  

म धर्तीको स्ट्रिट लाइट

कसैले लेखेनन् मेरो कविता !

के फरक छ भन त तिमी र ममा ?

मान्छु म पराधीन छु

तिमी पनि त कहाँ स्वाधीन छौ र ?

मलाई अरूले प्रज्ज्वलित गर्नुपर्छ

आफैँ बल्न सक्दिनँ

तिम्रो पनि जीवनदाता अर्कै छ

सूर्यको प्रदीपबिना तिम्रो के अस्तित्व छ र ?  

के फरक छ तिमी र ममा ?

कहिलेकाहीँ मौसमले अपराध गर्छ मसँग

आँधी तुफान मच्चाउँछ

चुँडाइदिन्छ बिजुलीका तारहरू

कहिले फ्युज उड्छ, ट्रान्समिटर पड्किन्छ

चिम्नी जल्छ  

अनि कहिले लोडसेडिङ हुन्छ

के लाग्छ र मेरो ?

अन्धकार छाइदिन्छु सडकभरि !  

जब बुर्का लगाइदिन्छ तिम्रो मुहारमा

त्यो औँसीको कालो रातले

कहिले घनघोर बादल छाउँछ  

छोपिदिन्छ तिमीलाई

जिउँदै भएर पनि मरेतुल्य हुन्छौ तिमी

हराउँछौ तिमी आकाशभित्रै

अनि छाउँछ धर्तीमा अन्धकार !

म ज्वाला बनेर उम्भिरहेको हुन्छु मूर्तिवत उही सडकमा ।

सुनेका कथा हुन्  

चन्द्रमा र चखेवाको प्रेमलीलाका कुरा

कतिले देख्या होलान् र चखेवा आएर तिमीसँग खेलेको  

तर, तिमीले देखेका छौ  

हरदम आइरहन्छन् मेरो नजिक ती रातका पुतलीहरू

नाचिरहन्छन् मेरो वरिपरि स–साना भुसुना

मेरो उल्यालोमा रमाउँछन्  

मलाई घेरिरहन्छन्

अनि होमिन्छन् मेरो सुन्दरतामा  

समाप्त पार्छन् आफ्नो जीवनलीला !

प्रकाशित: १७ माघ २०७७ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App