४ वैशाख २०८१ मंगलबार
कला

भूल

कथा

असार महिना। बाहिर पानी झमझम परिरहेको थियो। म र आकाश त्यो पानीको आवाज सँगसँगै रमाएर बाहिर नियालिरहेका थियौँ, एकतमास। बोटबिरुवा पनि सफा अनि टलक्क टल्किरहेका थिए। हामी एक–अर्कासँग केही बोलिरहेका थिएनौँ, तर पूर्ण सुखी अनि आनन्दित मुद्रामा बगैँचा हेरिरहेका थियौँ। हुन पनि आफ्नो प्रेमीलाई नभेट्दा वा नदेख्दा अहो के के न भइसक्यो, जीवन नै सिद्धिसक्यो, अब बाँच्नुको अर्थ केही छैन भन्ने लाग्ने र भेटेपछि सबै कुरा पूर्ण भएजस्तो यो जीवन बाँच्न र अगाडि बढाउन आफ्नो मायालुको साथ चाहिने नै रहेछ। नत्र यतिका प्रेम कथा सुन्न/पढ्न अनि देख्न किन पाइन्थ्यो होला र ?  

पानीको आवाज संगीतमय थियो। लाग्थ्यो, प्रेमी गायक भइदिएको भए आफ्नी प्रेमिकाको मुडअनुसार गीत पनि गाइदिन्थ्यो। भनिन्छ नि, मायालुको साथ मीठो, न्यानो माया मीठो। दुवैजना आफ्नै कल्पनामा रमिरहेका थियौँ। आकाश मेरो हात समाई क्यापाचिनोको स्वाद लिइरहेको थियो। म भने आकाशसँगको त्यो पहिलो भेट सम्झी अतीतमा डुबुल्की मारिरहेकी थिएँ।

आकाश एउटा स्कुलमा शिक्षक थियो। म बैंकमा काम गर्थें। हामी दुवैजना काठमाडौंमा घरजम भएका होइनौँ। म मामाघरमा बस्थेँ। ऊ आफ्नो हजुरबुबासँग विशालनगरमा बस्थ्यो। आकाशका आमा–बाबा पोखराका, अनि मेरो घर भने विराटनगर। हाम्रो भेट भने सगरमाथा बेस क्याम्प ट्रेकिङ गर्दा भएको थियो। गोरकसेपबाट कालापत्थर चढ्दा खुट्टा एउटा पत्थरमा अल्झेर म लडेँ। गाइड अलि पर पुगिसकेको थियो। म उठ्न सकिरहेकी थिइनँ। त्यत्तिकैमा एक यात्रुले देखेर आफ्नो प्राथमिक उपचार गर्ने किट खोली मुभ अनि ब्यान्डेज लगाएर एकछिन मसाजसमेत गरेपछि म बिस्तारै उठ्न सकेकी थिएँ।

‘तपाईंको नाम के हो ? भेट भएको एक घन्टा भइसक्यो। मैले त सोध्नै बिर्सेको। तपाईंका साथीहरू कता छन् ? बाइ द वे मेरो नाम आकाश हो।’

‘सरी, म वर्षा हो आकाश। सबैभन्दा पहिले त तपाईंलाई धेरै धेरै धन्यवाद। यो अनकन्टार ठाउँ त्यो पनि ६०० मिटरको उचाइ। आफैँलाई सास लिन गाह्रो भएका बेला यसरी मलाई सहयोग गर्नुभएकामा मुरीमुरी धन्यवाद छ। म साथीहरूसँग आएको होइन। मसँग एकजना टुर गाइड हुनुहुन्छ, उहाँ अलि पर पुग्नुभयो होला। केही छैन, अब म आफैँ हिँड्छु’ भनेर के पाइला चाल्न खोजेकी थिएँ तर उभिनै सकिनँ।  

‘वर्षा पख्नुस्, मलाई समाउनुस्, हामी सँगै हिँडम्। पाँच मिनेट लाग्छ त्यो पिकमा पुग्न, फोटोसोटो खिचेर फर्किम् ल, आउनुस् मेरो हात समाउनुस्।’  

सँगै हिँड्यौँ। मेरो खुट्टा एकछिन त डरायो, केही छिनपछि फेरि सामान्य अवस्थामा आयो। पुराना साथीजस्तै हाँसी हाँसी कुरा गर्दै हिँडिरहेका थियौँ। त्यत्तिकैमा गाइड आयो। मेरो खुट्टामा ब्यान्डेज र कसैलाई समाएको देखेर जिब्रो टोक्यो एक्कासि।

‘म्याम हजुरलाई के भयो ? हजुर दृश्यहरूको फोटो खिच्दै हिँडिरहनुभएको थियो। हिँडाइ पनि राम्रो थियो। म पनि आफ्नै सुरमा हिँड्दा अलि परै पुगेछु। गाह्रो भएको त होइन तपाईंलाई ?’  

मैले गाइडको प्रश्नको उत्तर दिनुअघि नै आकाश बोल्यो, यसरी छाडेर हिँड्नुभएन नि, धन्न म आइहालेँ र उहाँलाई सम्हालेँ, नत्र उहाँ आत्तिनुहुन्थ्यो, होइन त वर्षा ?

आकाश कति छिटो नजिक भएको। ऊ तपाईंबाट सोझै तिमीमा आइसक्यो। यो मित्रता भनेको पनि कति छिटो नजिक हुँदोरहेछ। मलाई पनि आकाशको मित्रताले अक्सिजनकै काम गरेको त हो नि, सोचमग्न भएछु म पनि।

आकाशले ठीक भनेको हो राम दाइ, अब मलाई नछाड्नुस्, सँगै हिँड्नुस्– त्यसपछि मैले थपेँ।  

हामी दिउँसोको ३ बजेतिर होटल आइपुग्यौँ। म होटल समिटमा बसेकी थिएँ तर छुट्टिने बेलामा आकाश कता बसेको छ भन्ने सोध्नै बिर्सें। भोलिपल्ट बिहानै बेस क्याम्पका लागि हिँडे। १० बजेतिर पुगियो बेस क्याम्प। करिब एक घन्टा बिताएँ त्यहाँ। मनमोहक दृश्य जति सबै आफ्नो क्यामेरामा कैद गरेँ।  

जब म हाम्रो हिमाल, पहाड, झरना, ताल आदि देख्छु त्यसपछि पुलकित हुन्छु। आफू नेपाली भएकामा गर्व गर्छु। आफ्नो देशको यो प्राकृतिक खजाना संसारलाई कसरी देखाउने होला भनेर चिन्तन गर्छु। पर्यटनले नै मुलुकलाई समृद्ध तुल्याउन सक्ने कल्पनामा रमाउँदै त्यो दिनको प्रतीक्षा धेरै गर्नु नपरोस् भन्ने कामना गर्छु।  

आज एक हप्ता भयो एभरेस्ट बेस क्याम्पबाट फर्केको अनि आजै मेरो यात्रा संस्मरण नागरिक शनिबारमा छापिएको थियो। सबै कुरा फेरि एकपटक ताजा भएर आयो– आकाशले मलाई गरेको सहयोग, उसको हँसिलो बोली, मिजासिलो स्वभाव...। तर मसँग याद मात्र बाँकी थियो किनकि मैले न उसको सम्पर्क नम्बर लिएकी थिएँ, न त ठेगाना नै।  

समय बित्दै गइरहेको थियो। म पनि अफिसकै काममा व्यस्त थिएँ। मामाघरमा बस्थेँ। अलिकति अनुशासित भएर बस्नुपथ्र्यो। अफिस–घर, घर–अफिस– यही नै थियो मेरो दिनचर्या।  

एक दिन बहिनी (मामाको छोरी) ले वसन्तपुरमा एउटा ओपन कन्सर्ट हेर्न जाने प्रस्ताव राखी। दुवैजना गयौँ। फर्किने बेलामा हिमालयन जाभामा कफी र बनाना केक खाँदै थियौँ। त्यत्तिकैमा अनायास एउटा अनुरोध आयो आँखैअगाडि– वर्षा म यहाँ बस्न सक्छु ?  

यसो आँखा उठाएर हेरेको त– आकाश।

कम्ता खुसी लागेन। नलागोस् पनि किन ? हाम्रो भेट धेरै समयपछि भएको जो थियो।

आकाश... वर्षा..., हामी दुवैले एकअर्कालाई एकैचोटि सम्बोधन गर्‍यौँ। अनि धेरैबेर गफियौँ। लाग्थ्यो, हामी एकदमै गहिरो मित्रता भएकाहरू हौँ। जति खुसी म त्यो कन्सर्ट हेर्दा थिएँ त्योभन्दा कैयौँ गुणा आकाशसँग भेट हुँदा भयो। गफका क्रममा हामीले बेस क्याम्पको अनुभव, कालापत्थरको सम्झना सबै एक घन्टामै नवीकरण गर्न भ्यायौँ। यति बोल्यौँ, यति बोल्यौँ, एक अर्काको कुरा केही सुनेनौँ, खालि बोल्ने काम मात्र भयो।  

योपटक भने दुवैले एकैचोटि एक–अर्काको सम्पर्क नम्बर माग्यौँ। सायद यो अभाव दुवैलाई खड्केको रहेछ। अनि फेरि भेटौँला भनेर छुट्टियौँ। म यसरी खुसी भएको देखेर बहिनीले धेरैचोटि धेरै प्रश्न गरी– आकाश दा को हो दी ? कहिले भेट्यौ ? तिम्रो कस्तो साथी ? के तिमीसँग एकदमै नजिक छ ? दी तिमी कति खुसी देखिन्छौ, तिमीलाई आज यति धेरै खुसी देख्दा मलाई पनि एकदमै खुसी लागिरहेको छ। दी भन न प्लिज, आकाश दा कत्तिको नजिक हो ?

अहो ! बहिनीको एकैपटक यति धेरै प्रश्न सुनेर अप्ठेरो पनि लाग्यो। यति धेरै उत्ताउलो पनि हुनुहुन्न भनेर आफूलाई कन्ट्रोल पनि गरेँ। ल ल बहिनी, छिटो घर जाउँ पनि भनेँ। साँच्चै आज म एकदमै खुसी थिएँ। मानौँ, कुनै ठूलै परीक्षामा सफल भए जस्तो। आज केही हराएको थिएन। मेरो मन पूर्ण थियो। मसँग उसको कन्ट्याक नम्बर थियो। चाहेका बेला ऊसँग कुरा गर्न सक्थेँ। त्यसै त्यसै मेरो मन फुरुङ्ग भएको थियो। यस्तो अवस्थामा बहिनीका जिज्ञासा अस्वाभाविक पक्कै थिएन।

आकाश र मेरो हप्तामा दुई तीनचोटि जस्तो भेट हुन्थ्यो। हामी घन्टौँ गार्डेन अफ ड्रिम्समा क्यापाचिनो र मुस्ताङे आलु खाएर बिताउँथ्यौँ। साँच्चिकै यो ठाउँ सपनाको बगैँचा नै थियो, हाम्रा लागि जुन कुनामा बसे पनि मन झन् रोमाञ्चित हुने। छुट्टिनै नपरोस्, रात पनि नहोस् जस्तो लाग्थ्यो।  

‘वर्षा, वर्षा ! तिमीले त कफी पनि पिइनौ, कता टोलाएकी ? कि कुनै ह्यान्समको कल्पनामा डुब्यौ ? के हो यस्तो ? म तिम्रो छेउमा हुँदा पनि तिमी कता हरायौ ? भएन नि यस्तो।’

झल्याँस्स भएँ। लगत्तै जवाफ फर्काएँ– के भनेको आकाश, म हरेक पल हरेक क्षण तिमीलाई नै सम्झन्छु। यो जुनीमा मलाई तिमीबाहेक अरू कोही चाहिँदैन, तिमी मलाई यति धेरै माया गर्छाै, केयर गर्छौ, मलाई अरू केही चाहिँदैन। बस्, यति भए पुग्छ।  

त्यत्तिकैमा बिल आयो। मैले तिरेँ। प्रायः बिल म नै तिर्थें। कहिलेकाहीँ जिस्केर भन्थेँ– किन मलाई मात्र तिराउँछौ, कहिलेकाहीँ त तिमीले तिर्दा पनि हुन्छ नि। तर ऊ फिसिक्क हाँस्थ्यो मात्र। त्यति मात्र कहाँ हो र ? कहिलेकाहीँ यो चाहियो, त्यो पनि चाहियो भनेर फर्माइस समेत गथ्र्यो। म उसका सबै फर्माइस पूरा गरिदिन्थेँ। कहिलेकाहीँ प्रश्न पनि गर्थें– तिम्रो तलबले पुग्छ तिमीलाई ? ‘काठमाडौं बस्ने मान्छे, घरभाडा र खानामा ठीकै हुन्छ’– जवाफ हुने गथ्र्यो।

‘आकाश तिमी र म एकदमै नजिक भइसक्यौँ। केही यस्तो कुरा छ तिम्रो जीवनमा भएको जुनचाहिँ मलाई सेयर गरेका छैनौँ अहिलेसम्म ?’  

‘छ, एउटा कुरा जुन तिमीलाई भन्न मन छ तर त्यो कुरा भन्न आज म कफी होइन, बियर खान्छु।’

अनि ऊ बियर पिउन थाल्यो।

‘आजभन्दा १० वर्षअघि स्कुल भर्खरै सिद्धिएको थियो। साथीहरूको नराम्रो सङ्गतले गर्दा म ड्रग्स लिन थालेको थिएँ। अनि त्यही नशाले गर्दा साथीहरूसँग फाइट पनि प¥यो। एउटा साथी घाइते भयो। म जेल परेँ। बल्लबल्ल बाबाले छुटाइस्यो। अनि म यही कलेजमा भर्ना भएँ। मेरो जीवनको सङ्घर्ष सुरु भयो। काम गर्दै पढ्न थालेँ। अहिले पढाइ सकियो। फुल टाइम काम गर्दैछु।

‘ओ माइ गड, तिमी ड्रग लिन्थ्यौ ? अनि जेल पनि परिसक्यौ ? अहो ! सबै नराम्रो बानी तिमीमा ? उफ् कस्तो डर लाग्यो मलाई त। आकाश यो सबै झुटो हो भन न प्लिज, प्लिज...।’

‘अहिले त्यस्तो केही छैन। म एउटा ज्ञानी नाति भएर हजुरबुबालाई केयर गरिरहेको छु। कलेजमा प्लस टुलाई पढाउँछु पनि। प्लिज नडराऊ मसँग त्यसरी।’

आकाश त सामान्य भयो तर मेरो मनको एक कुनामा भने एकखाले डर रहिरह्यो। पहिला पहिला उसले सहयोग माग्दा खुसीसँग दिन्थेँ। उसलाई दुःख कहिले नहोस्, बरु सबै दुःख मलाई होस् भन्ने लाग्थ्यो। उसलाई यति चाहन्थेँ कि उसले जून–तारा मागे पनि टिपेर दिउँ जस्तो हुन्थ्यो।  

हामी जति जति खुसी हुँदै गइरहेका थियौँ हाम्रो माया पनि उति उति गहिरिँदै गइरहेको थियो। यसैबीच कोरोनाका कारण लकडाउन सुरु भयो। त्यसपछि स्कुल–कलेज पनि बन्द भयो। प्रायः सबैथोक बन्द भयो। जो जहाँ छन् त्यहीँ बाँधिए। सबैमाथि आर्थिक सङ्कट हाबी भयो। आकाशलाई पनि बेलाबेलामा आर्थिक सहयोग गर्नुपथ्र्याे। उसको माग पनि बढ्दै गइरहेको थियो। आकाशलाई गाह्रो भएको देखेर म उसलाई बढीभन्दा बढी खर्च दिन्थेँ बरु आफू कम खर्चले पु¥याउने प्रयास गर्थें। उसको आर्थिक स्थिति एकदमै कमजोर भइरहेको थियो। कहिले आमा बिरामी त कहिले बाबा। अनि कहिले हजुरबुबा। यसरी ऊ जति पछि भयो, उति उति दुःख देखाउन थाल्यो मसँग। भेट हुन नपाउँदै रुन थाल्थ्यो मसँग। फोनमा कुरा हुँदा पनि रोएको रोयै गथ्र्यो। उसको यो पाराले मलाई भने अचम्भित पनि तुल्याइरहेको थियो।  

कतै उसले फेरि ड्रग्स लिन त सुरु गरेन भन्ने लाग्न थाल्यो। अबचाहिँ घरभाडा र खाने खर्च अलि अलि दिन थालेँ। त्यत्तिकैमा, एक दिन एउटा मेसेज आयो– ‘माया यो संसारमा मेरो दुःख बुझ्ने तिमी मात्र छौ। मलाई साह्रै दुःख पर्‍यो। बाबामामु पोखराबाट काठमाडौं आउँदा बाइक दुर्घटना भयो। उहाँहरू इमर्जेन्सीमा हुनुुहुन्छ। जिउमा रगत छैन अनि धेरै ठाउँमा फ्याक्चर भएको छ रे। सिरियस होइसिन्छ। प्लिज पाँच लाख रूपैयाँ मेरो अकाउन्टमा हालिदेऊ। तिम्रो यो गुन म जीवनभर बिर्सन्नँ। तिमीले मलाई धेरै माया गरेकी छौ। सायद पूर्व जुनीमा मैले राम्रो काम गरेको हुँला, त्यसैले तिमीजस्तो सहयोगी साथी पाएँ...।

तिमीलाई सदा माया गर्ने आकाश !’

मेसेज पढेपछि लाग्यो– आकाश पक्कै बिग्रिसक्यो अब। ऊ नशाका लागि जे पनि गर्ने भयो। अनि निर्णय गरेँ कि ऊ मेरो मायालु भए पनि केही समय ऊसँग टाढा बस्छु।  

नभन्दै विराटनगर गएँ। छोरी आएकी देखेर मामुबाबा पनि खुसी हुनुभयो। १५ दिन यत्तिकै बित्यो। एक दिन बहिनीले भनी– दी, आकाश दाको मामुबाबा दुवै बितेछन् नि, मसँग अस्ति भेट भएको थियो। तिमीलाई सोध्दै थियो। मैले धेरै भयो विराटनगर जानुभएको छ भनेँ। ऊ भने हिक्कहिक्क रुँदै वर्षा भएको भए मेरा आमाबाबा मलाई छाडेर जानुहुन्नथ्यो भन्दै थियो।  

बहिनी एकोहोरो बोलिरहेकी थिई। मेरा भने हातखुट्टा सबै चिसो भइसकेको थियो। अगाडि सबै अन्धकार मात्र देखेँ। म केही बोल्न सकिरहेकी थिइनँ। त्यहीँ थचक्क बसेँ। अनि बिस्तारै आफूलाई सम्हालेँ। मनमा एकपछि अर्को गर्दै धेरै पीडा, ग्लानि र पश्चाताप घुमिरहेँ। यदि मैले उसलाई केही सहयोग गर्न पाएको भए आज आकाश टुहुरो हुने थिएन, मैले किन उसको भावना, रोदन, छटपटाहट बुझिनँ ? उसले १८–१९ वर्षको अल्लारे उमेरमा गरेको गल्ती उसको जीवनमा अझै छ भनेर किन पाप सोचेँ ? उसको मायाको गहिराई किन बुझिनँ ? पहिलो भेटमै कालापत्थरमा त्यसरी मलाई सम्हालेको किन बिर्सें ? जस्ता प्रश्नले घोँचिरहे लगातार।  

म कुनै कारणवश दुःखी हुँदा सधैँ ढाडस दिन्थ्यो र भन्थ्यो– वर्षा दुःखी नबन। म जीवनभर तिम्रो साथ हुनेछु। तिम्रो साथ कहिल्यै छाड्दिनँ।

उफ् ! मबाट आज कस्तो भूल भयो। म सहयोग गर्न सक्थेँ तर किन गरिनँ ? आकाश मलाई माफ गर। म अब तिम्रो भूल कहिल्यै सम्झने छैन। म भोलि नै काठमाडौं आउँछु। साथै तिमीलाई कहिल्यै छाड्दिनँ। परिवारप्रतिको तिम्रो कर्तव्यलाई कहिल्यै पैसामा तौलने छैन। यो मेरो ठूलो भूल भयो। मलाई माफ गर प्लिज...।

प्रकाशित: १७ माघ २०७७ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App