८ वैशाख २०८१ शनिबार
कला

एक्ली आमा

बालकथा

सुनित दुई वर्षको हुँदा उसका बा बेपत्ता भएका रे फेरि फर्किएर आएनन् । उसकी आमा निसा र सुनित भाडाको कोठामा बसेका थिए । एउटा खाट राख्दा कोठाको कुनामा अलिकति ठाउँ रहन्थ्यो । त्यँहा एउटा मट्टितेलले बल्ने स्टोभ थियो । दुईवटा सिल्भरे थाल, एउटा किटको कराई र एउटा सिल्भरे डेक्ची थिए । यी सबै खाना बनाउँदा बाहिर निस्कन्थे । नत्र खाटमुनि पसेर दराजमा राखेको किताबजस्तै भएर मिलेर बस्थे । प्लास्टिकको बोरामा अलिकति चामल थिए । प्लास्टिकको झोलामा चारपाँच दाना आलु र तीनवटा साना प्याजका दाना थिए । एउटा सानो कपडाको पोकामा मुसुरोको दाल थियो । बट्टामा अलिकति नून, बेसार,र जीराका दानाहरू थिए । सानो सिसीमा भुटुन खाने तेल राखेको थियो ।

सानो बच्चासँग डेरामा बस्नु ,त्यसमाथि आम्दानीको स्रोत नहुँदा मान्छे कसरी बाँच्दछ होला । फेरि सबै घरधनीहरू डेरावालको विवशता कहाँ बुझ्छन् र । साहूहरू र घरबेटीहरू भनेका राम्रो आम्दानी हुने मान्छे भए अलि बिस्तारै दिए पनि भैहाल्छ नि भन्छन् । आम्दानी नहुने थाहा पाए भने महिना मर्नुभन्दा दुईचार दिन अगाडि देखि नै ताकेता गर्न शुरू गर्छन् । निसाका घरभेटीले पनि सोही धर्म अवलम्मन गरेका थिए । महिना मर्नुभन्दा दुईचार दिन अगाडि नै भाडा माग्न ढोका ढकढक्याउँथे । सुनितकी आमाले घरघरमा गएर भाँडा माझ्ने  र लुगाधुने काम पाइन । स्कुल र कलेजका प्राध्यापकहरू, विद्यार्थीहरू र व्यापारीहरूको लुगाधुने र भाँडा माझ्ने काम गर्न थालिन् । यसै क्रममा बोर्डिङ स्कुलका प्रिन्सिपलका घरमा पनि भाँडा माझ्न  शुरू गरिन् । काम गर्न जाँदा सुनितलाई पनि सँगै लिएर जान्थिन् । छोरालाई एउटा खेलौनामा अल्मल्याएर उनी काममा व्यस्त हुन्थिन् । सुनित त्यही खेलौनासँग रमाउँथ्यो ।  

त्यो बोर्डिङ स्कुलमा काम गर्ने आयाको खोजी हुँदै थियो । प्रिन्सिपलले सुनितकी आमालाई सोधे । ढुंगा खोज्दा देउता भेट्टाएजस्तै भयो निसालाई । उनले छोराको चिन्ता व्यक्त गरिन्। तर छोरालाई स्कुलकै प्ले ग्रुपमा राखेर आयाको काम गर्न मिल्ने कुरा प्रिन्सिपलले बताए । 

सुनित अरू केटाकेटीभन्दा भिन्न स्वभावको थियो । एउटा खेलौना गाडी भेट्यो भने त्यसलाई ओल्टाईपल्टाई गरिरहन्थ्यो । त्यसैलाई घण्टौसम्म हेरिरहन्थ्यो । त्यसैसँग खेल्थ्यो । सुनित जति ठूलो हुँदै गयो। उसको यो क्रम पनि क्रमश बढ्दै गयो ।  ऊ शान्त स्वभाव र तीक्ष्ण दिमागको थियो । उसलाई एकपटक सुनेपछि पुन दोहोर्याउनु पर्दैन थियो । त्यसैले  उ शिक्षकशिक्षिकाको प्रिय विद्यार्थी थियो । स्कुल सकेपछि सबै बिधार्थीहरू घरघर जान्थे । उसकी आमाको काम नसकिएसम्म उसले आमालाई पर्खिनु पर्थ्यो । ऊ एक्लै आकाशतिर हेर्दै टोलाएर बस्थ्यो त कहिले दिउँसोे शिक्षकले दिएका गृहकार्य हेर्थ्यो ।  सुनित एकपटक बसेकै ठाउँमा भक्कानिएर रुँदै थियो । छोरा रोएको देखेर निसा चिन्तित भइन् । छोरालाई केहीले टोक्यो कि भन्ने डरले दौडिँदै गएर  फकाँउँदै सोधिन् ।

आमाका छातीमा टाँसिँएर टाउको लुकाउँदै  दुखी हुँदै भन्थ्यो । म सानै छु । बाबा नहुँदा तपाईले एक्लै धेरै काम गर्नुपर्यो । तपाईलाई कति दुख भयो भन्दै घुँक्कघुँक्क गरेर रुन थाल्यो । मेरा पनि बुबा भएको भए तपाईले यस्तो धेरै काम गर्नु पर्दैन थियो नि । बुबा र म खेल्न जान्थ्यौँ । बाहिरको काम गर्न जान्थ्यौँ । तपाईले घरमै खाना बनाएर बस्दा हुने थियो भन्दै बालसुलभ बोलीमा पीडा पोख्थ्यो ।

आमाले छातीमा टाँसेर सम्झाउँदै  भनिन् – मैले तिमीलाई केही कमी हुन दिएकी छैन त । तिमी राम्रो पढ म तिमीलाई सबै कुरा पुरयाउँछु । अलिअलि दुख त भैहाल्छ नि ।  केहीछिनमै निशाले सुनितलाई अंगालोमा बाँधिन् ।

सुनित कक्षा पाँचमा पुग्दा पुराना ब्याट्री र पुराना खेलौना गाडीहरू प्रयोग गरेर रिमोटले चल्ने गाडी बनायो । आवाजले स्टार्ट हुने र बन्द हुने गाडी बनायो । कक्षाकक्षामा माइक राखेर अफिसबाट सूचना सुनाउने माइक बनायो । शिक्षकहरूलाई प्रिन्सिपलले बोलाउनुपर्यो भने बोलाउन मिल्ने पेजर बनायो । उसको प्रतिभा देखेर सबै अचम्म मान्दथे । कक्षा आठमा पुग्दा हावा र सोलारबाट ब्याट्री चार्ज गरेर घरमा विजुली बाल्यो । एउटा रिमोटले स्कुलका सबै बत्तीहरू नियन्त्रण गर्ने, बाल्ने र निभाउन मिल्ने स्विच बनायो । 

उ नौ कक्षामा पुग्दा नेपालमा वैज्ञानिक सम्मेलन भयो । स्कुलले सम्मेलनमा सुनितलाई पठाउने भयो । वैज्ञानिक सम्मेलनमा जाँदा एउटा यन्त्रमानव बनाएर लगेको थियो । त्यो यन्त्रमानवको नाम उसले माइला राखेको थियो । माइलाले सन्सारका सबै प्रसिद्ध मान्छेहरू चिन्न सक्थ्यो । ती मानिसहरूका बारेमा बताउन सक्थ्यो । मानिससँग दोहोरो कुरा गर्न सक्थ्यो । हिँड्ने र अह्राएको काम गर्न सक्थ्यो । त्यस सम्मेलनमा सुनितको यन्त्रमानवले प्रथम भएर राष्ट्रिय पुरस्कार जित्न सफल भयो । एक लाख नगद पुरस्कार मेडल र प्रमाणपत्रले सुनित सम्मानित भयो । उसको पढाइमा लाग्ने सम्पुर्ण खर्च सरकारले दिने भयो । रेडियो टेलिभिजन सबैतिर सुनितको नाम आयो । उसँग फोटो खिचाउनेहरूको भिड लाग्यो । सुनितको फोटो र उसको यन्त्रमानवको बारेमा सबै पत्रपत्रिकामा हेडलाईन बनाएर छापियो । उसलाई राजधानीको प्रख्यात बोर्डिङ स्कुलले निशुल्क पढाउने घोषणा गर्यो । 

त्यो  शुक्रबारको दिन थियो । सुनितको विद्यालयका प्रिन्सिपलले सबै विद्यार्थीहरूलाई स्कुल प्राङगणमा लाइन लगाए । सुनितले बनाएको यन्त्रमानबले बैज्ञानिक सम्मेलनमा प्रथम भएको कुरा सुनाए । विद्यालयको नाम नेपालका कुनाकुनासम्म पुगेको कुरा सगर्व सुनाए । सबै शिक्षक विद्यार्थीले ताली बजाएर खुशी व्यक्त गरे  । भोलिपल्ट शनिबारको दिन स्कुल बिदा थियो । आइतबार सुनित स्कुल पुग्दा सबै शिक्षक  विद्यार्थीले फूलमालाले स्वागत गरे । स्कुलमा सबै विधार्थी र अभिभावकहरू उपस्थित भएर भव्य समारोह गरियो । मन्चमा सबै भेला भए । प्रिन्सिपल र सबै शिक्षक शिक्षिकाले फूलमाला अविर लगाई दिए। उसको बारेमा सबैले चर्चा गरे । सुनितलाई रथमा राखेर नारा जुलुसका साथ शहर परिक्रमा गराइयो । 

शहर परिक्रमापछि स्कुलमा फर्किएर जुलुस फेरि सभामा परिणत भयो । सुनितलाई आफ्नो अनुभव भन्नलाई उद्घोषकले  अनुरोध गरे । सुनित ड्यासमा उभियो । प्रिन्सिपल शिक्षकहरू अविभावकहरु कर्मचारीहरु र सबै बिधार्थिहरुलाई सम्बोधन गर्यो । यस्तो भव्यकार्यक्रम हुँदा मेरो मन हर्षले बिभोर भएको छ । म मेरी आमा निसा नेपालीलाई एकपटक यहाँ बोलाउन चाहन्छु । उसकी आमा निसा मन्चमा आइन । सुनितले आमालाई त्यहीँ मन्चको कुर्सीमा बस्न भन्यो । आमा कुर्सीमा  बसेपछि सुनितले गएर निसाका खुट्टामा टाउको राखेर ढोग्यो अनि भन्न थाल्यो –उहाँ यसविद्यालयमाा आया भएर काम गर्नुहुन्छ । तर वहाँ मेरी आमा मात्र हैन । भगवान् हो । सात्क्षात देवी हो । वहाँको तपस्या र मेहनतले यो सबै सम्भव भएको हो । उहाँले आफू नखाएर पनि मलाई खुवाउनुभयो । आफ्ना आँसु लुकाएर पनि मलाई खुशी दिनुभयो । मेरा दाजुदिदी बुबा सबै उहाँ नै हो । सुनितले शिक्षक र विद्यार्थीले  लगाइदिएको फूलको माला आफ्ना गलाबाट झिकेर आमालाई लगाइदियो । आमाबुवा भनेका भगवानका अवतारहरू हुन् । जहिलै पनि आफ्ना सन्तानका लागि आफू जलेर उज्यालो दिन्छन् । आफू मेटिएर सन्तानको मुहारमा खुसी ल्याउने सपना देख्दछन् । हामीले बुबाआमाको सम्मान र आदर गर्न सक्यौँ भने भगवान पनि खुसी हुन्छन् ।  

उसले अगाडि भन्यो – मलाई राजधानीको प्रख्यात स्कूलले निशुल्क पढाउने खबर रेडियोबाट सुने । यो मजस्ता अवसरविहीन विद्यार्थीका लागि गौरवको कुरा हो । धेरै उत्तम अवसरहरू जुट्लान् । तर, मलाई यो विद्यालय र यो शहरले जुन माया दिएको छ । यो माया सद्भभावलाई छोडेर म कतै पनि जान्न ।

उसको कुरा सुनेर सबैले ताली बजाए । अवसर पाएँ भन्दैमा वृद्ध आमा बालाई छोडेर टाढीने सन्तानझैँ हुनु पर्दा  मलाई कहिलै खुसी मिल्ने छैन । सबैले फेरि गड्गडाहट ताली बजाए । अर्को दिन उसलाई अमेरिकामा हुने वैज्ञानिक सम्मेलनमा जानका लागि चिठी आएको कुरा प्रिन्सिपलले सुनाए ।

प्रकाशित: १५ माघ २०७७ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App