७ वैशाख २०८१ शुक्रबार
कला

स्वर्गद्वारीको स्वर्ग

यात्रा संस्मरण

यो लेखिरहेका बखत अमेरिकामा छु । यसरी बुझ्न मनासिव होला कि भौतिक कोलाहलभित्र रित्तो रित्तो छु । केही गुमाएको छु । केही पाएको छु । जीवन यस्तै गोल चक्करमा चलेको छ । अमेरिकाको व्यस्त एकान्तबाट दिग्दारिएका बेला सम्झनाका तरेलीमा स्वर्गद्वारी यात्राका रोमाञ्चक क्षणहरू आइरहेका छन् । त्यहाँ सात्विक जीवन बिताइरहेका माहात्मा तथा बटुकहरू, पाखाभरि चरिरहेका गाईहरू, हरियो वन, भुक्लुक्क उम्लेको सूर्य, हिमाल तथा सुन्दर शान्त र आत्मिक वातावरणको याद आइरहेको छ । त्यो स्वर्गीय आत्मिक आनन्दको कसीमा यो भौतिक जीवन उद्याइरहेको छु । र निष्कर्षविहीन छु ।  

यो कुरा २०६८ सालको हो । आमाबुवासँग तीर्थाटन जाने अवसरका ताकमा हुन्थेँ म । तर त्यो आफूले चाहे झैँ कहाँ प्राप्त हुन्थ्यो र ! यसै सन्दर्भमा आमाले एकदिन भन्नु भएथ्यो – स्वर्गद्वारी पुर्याउने काम जेठो छोरोको । 

यसरी मैले आमाबुवासँग स्वर्गद्वारी जाने र त्यसको तारतम्य मिलाउने अभिभारा पाएको थिएँ । म कति अलमस्त थिएँ कि त्यो बेलासम्म मैले स्वर्गद्वारीका बारेमा राम्रोसँग अध्ययन गरेकै थिइनँ । बुझेकै थिइनँ । म ठानिरहेको थिएँ कि यो कुनै हिमालको फेदमा होला । समय बित्दै गयो । २०६८ सालको दशैँमा स्वर्गद्वारी तीर्थाटन जाने योजना बन्यो । मैले बल्ल नक्सामा स्वर्गद्वारीको लोकेसन र पुगेका मान्छेसँगको भलाकुसारी अघि बढाएको थिएँ । वर्षायाम भर्खर सकिएर असोज लागेकाले बाटोको गुणस्तर नराम्रो हुनु पर्छ भन्ने लख काट्नु स्वाभाविक थियो । नक्साले बाटोको खास रूपरेखा बताउन सकेको थिएन । कसैले ‘भालुवाङबाट सोझै भिङ्ग्री गएर स्वर्गद्वारी जाने बाटो छोटो’ बताएका थिए । कसैले ‘त्यो बाटो ज्यादै खराव छ, ठाडो छ, डरमर्दो छ, दाङ घोराहीबाट जानू’ भनेका थिए । तीर्थयात्रा टोली तयार भइसकेको थियो । अनि मैले दाङको प्रहरी कार्यालयमा फोन गरेर स्वर्गद्वारी पुग्ने बाटोको कण्डिसनका बारेमा जानकारी लिएँ र ‘कुन बाटो जाऊँ’ भनी सुझाव मागेँ । फोनमा बसेका प्रहरी निकै सहयोगी लाग्यो मलाई । प्रहरीले दाङ घोराहीकै बाटो राम्रो भन्ने राय दिएर मलाई सहयोग गरेका थिए । 

२०६८ सालको असोज २२ गते दशैँपछिको त्रयोदशी तिथिमा हामी याने कि म मेरी श्रीमती सुशा, जेठी सासू शान्ता र साड्दाइ प्रेम बराल काठमाडौँबाट दाङ घोराही जाने रात्रिबस चढेका थियौँ । मेरो बुवा आमासहित बहिनी भुवन, सानीमा, र दुईजना पुण्यप्रसाद कोइराला र उहाँकी धर्मपत्नी (दिदी) गरी जम्मा ६ जनासप्तरीको रूपनगरबाट बस चढी दाङको घोराही झर्ने कार्यक्रम बनेको थियो ।  

२३ गते बिहानै हामी काठमाडौँबाट जाने टोली घोराहीमा पुग्यौँ । एउटा मिठाइ तथा चिया पसलको बेञ्चमा बस्यौँ । होटलवाला सहयोगी मिजासका रहेछन् । त्यहीँ नित्यकर्म गर्यौँ । चिया चमेना खायौँ । हाम्रो यात्रा टोली १० जनाको भएकोले स्वर्गद्वारी जान घोराहीमा एउटा टाटा सुमो भाडामा लिन खोज्यौँ । घोराहीमा सरकारी अफिसका जीपहरू भाडामा स्वर्गद्वारी जाने गर्दारहेछन् । होटलवालाले एउटा सरकारी गाडीसँग कुराकानी गरिदिए । गाडीका बारेमा कुरा हुँदै थियो, फेरि होटलवालाले मलाई भने – टाटा सुमोमा नजानू । सार्वजनिक बसमै जानू । बाटो एकदम खराब छ । सार्वजनिक यातायातको ड्राइभर हरेक दिन त्यही बाटोमा हाँक्ने भएकाले सिपालु हुन्छन् । तर अरू पटके ड्राइभरको भर पर्न हुन्न । 

अन्तिम बस बिहानको १० बजे जाँदो रहेछ । अनि हामीले बसमा टिकट काटेर सिट रोक्यौँ । तर सप्तरीबाट आइपुग्ने टोली आइपुगेकै थिएन । साढे नौ बजे बुवाआमासहितको टोली आइपुग्यो । नित्यकर्म र पाठपूजाको त कुरै छाडौँ, मुखसमेत धुन पाउनु भएन । हामीले घोराहीकै पसलमा जिलेबी किनेका थियौँ । टोकरीवालासँग मेवा पनि किनेका थियौँ । हामी हतार हतार रिक्सा चढेर बसपार्क पुग्यौँ । बसभित्र र छतमा टनाटन मान्छेहरू थिए । हामी सिट खोज्दै बसभित्र पसेका त हाम्रा सिटमा स्थानीय मान्छेहरू गजधम्म बसेका थिए । ती कुनै हालतमा उठ्न मानेनन् । खलासीले यसो भनेर आफ्नो कर्तव्य पूरा गर्यो । सिटमा बसेका मान्छे खलासीलाई भन्थे – यिनका पैसा पैसा, हाम्रा पैसा पात हो ?

आखिर जानु नै थियो । बुवाआमालाई कुनै मान्छेले यसो अलिकति ठाउँ छोडिदिए । हामी अरू भने उभिएरै त्यो बाटो बसमा यात्रा गर्न थाल्यौँ । अलि वादविवाद गर्न थाल्यो भने आमा भन्नुहुन्थ्यो – हामी तीर्थमा हिँडेका मान्छेले झगडा गर्न हुँदैन बाबु । भो छोड्देऊ ।  

घोराहीबाट मैघाहुँदै होटेलबजार पुग्यौँ । बस कतिबेला दाङ जिल्ला छोडेर रोल्पा पुग्यो थाहै भएन । यद्दपि माओवादी द्वन्द्व यो बेला थिएन, तर रोल्पा जिल्लाको नामै सुन्दा हंसले ठाउँ छोड्थ्यो । बाटोबाट देखिने सल्लाघारीमा माओवादीका लडाकाले परेड खेलेझैँ लाग्दथ्यो । होटल बजारमा पुग्नु पहिले नै हामीले किनेका जेरी र मेवा सकिएका थिए । होटलबजारमा गाडी रोकियो त्यहाँ हामीले निक्खर कुराउनी र च्यूरा बुक्यायौँ । त्यसको स्वाद अझै जिब्रोमा बसि नै रहेको छ । होटलबजारमा मैले माओवादीका बेलाको कुरा सोधेँ । उनीहरूले ‘त्यहीँ परतिर होलेरी हो’ भने । उनीहरूले सुनाएका कुराले मेरो मन सन्न भयो । माओवादी द्वन्द्वले सिर्जिएका सयौँ रुवाइका कथाहरू सुनाए । कसैलाई माओवादीले मारेको, कसैलाई सेनाले मारेको कहरपूर्ण कथा सुनाएका थिए । विचरा कसरी दोहोरो मारमा बसे होलान् ! होटलबजारबाट बाटो छुटिटएर मसिनाको बाटो हुँदै धर्मपानीमा बस पुगेर रोकियो । दाङबाट हिँडेको लगभग ८ घण्टा नाघिसकेको थियो ।

धर्मपानीबाट स्वर्गद्वारी पुग्न आधा घण्टाजति हिँड्नु पर्छ भनिएको थियो । खाना र बासको व्यवस्था गर्नु थियो । त्यसकारण मेरी श्रीमती सुशा, शान्ता दिदी र साड्दाइ प्रेम बराल हतार हतार उकालो चढ्न थाल्नु भयो । लगभग २० मिनेटमा उहाँहरू पुग्नुभयो । मेरी आमा त्यति हिँड्न नसक्ने भएकाले म आमाको ब्याग बोकेर, आमालाई एउटा लौरोको व्यवस्था गरेर सँगसँगै विस्तारै हिँडेको थिएँ । बहिनी भुवनलाई निकै गाह्रो भइरहेको थियो । अलिकति उकालो चढेपछि अघि पुगिसक्नु भएको बुवा पर्खेर बस्नु भएको रहेछ । आमा र म पुगेपछि बुवाले मलाई भन्नु भएथ्यो – कृष्ण, तँ जा अघि, खाना बस्नको व्यवस्था गर्नु पर्छ ।

अनि मैले आफू आमालाई छोडेर जान नसक्ने कुरा बताएपछि बुवाले ‘म लिएर आउँछु’ भन्नु भएको थियो । बाटो पहाडको हिसाबमा भन्ने हो भने निकै राम्रो थियो । फराकिलो थियो । ढुङ्गै ढुङ्गा भएको बाटो रमणीय थियो । वनजङ्गल, नागबेली बाटो तथा पारि पाखाको समेत दृश्य क्यामरामा सुन्दर देखिएर खाँदिएका थिए । म अलि माथितिर गएर आमा बुवालाई हेरिरहेको थिएँ । उकालोमा बुवाले आमाको हात समाउनु भएको थियो । सायद बुवाले सार्वजनिक ठाउँमा मायाले मेरी आमाको हात समाएको यो पहिलोपल्ट थियो होला । किनकि जुन युगमा उहाँहरू हुर्किनु भयो, त्यो युगले सार्वजनिक ठाउँमा, मान्छेले देख्ने गरी श्रीमतीको हात समाउन अनुमति दिँदैनथ्यो । अलिकति माथिबाट क्यामरालाई जुम गरेर मैले बुवाआमाको त्यो फोटो खिचेको थिएँ । आफन्तजनमा त्यो फोटो आश्चर्य र भाइरल भएको थियो । 

धर्मपानीबाट उकालो लाग्ने बित्तिकै स्वर्गद्वारीको गेटले स्वागत गरेको थियो । बाटोमा स्वास्थ्य चौकी, प्रहरी चौकी थिए । चुरोट तथा रक्सी खान नपाइने सूचनाका साइनबोर्ड देखिन्थे । त्यो ठाउँले सात्विक उर्जा फ्याकि रहेथ्यो । प्रकृतिमात्र होइन, थाकेको भौतिक शरीर पनि त्यो सात्विक उर्जाले वसिभूत हुन्थ्यो । स्वर्गद्वारीको परिसरमा पस्तापस्तै एउटा ‘स्वर्गद्वारी तपोभूमिमा स्वागत छ’ लेखिएको गेटले स्वागत गरेको थियो । लाग्दथ्यो, यो स्वर्गजाने द्वार हो । 

त्यो दिन हामीले केही हेर्ने दर्शन गर्ने सम्भावना थिएन । थाकेका थियौँ । ठूलो साँझ परिसकेको थियो । सुत्न र खान नै हतार भएको थियो । मान्छेहरू कुँडुलो परेर आइरहेका थिए । हतार हतार धर्मशालामा बास बसेका थियौँ । धर्मशालामै केही रकम तिरेर सुत्ने र खाने व्यवस्था रहेछ । 

पैसा तिरेर खानाको टोकन लिएका थियौँ । खाना खाने हाम्रो पालो आएको थियो । काठका पिरामा लहरै बसेर खण्डे थालमा बाफ आउँदै गरेको तात्तातो भात रायोको साग र लोकल सिमीको दालसँग खान थाल्यौँ । थाकेर आएको र बिहान खाना खान अनुकुल नपरेकोले होला, त्यो भात त यति खाइयो कि, भात को पनि के बयान गरूँ ! सायद जिन्दगीमा त्यति धेरै भात खाएको संझना छैन । त्यो रायोको सागको राग आउँदै गरेको स्वाद अहिले पनि जिब्रोमा बसेको छ । त्यो विधि भात थपेको देखेर छेउमा बसी भात खाँदै गरेका हाम्रा श्रीमतीले ‘लाजै पचाएर कत्ति खाएको’ भन्ने अर्थका लागि यसो चिमोट्न भ्याएका थिए । 

सुत्ने ओछ्यान ससाना खाट जोडेर बनाइएको रहेछ । लगभग ३ फिट चौडा खाटमा दुईजना सुत्नु पर्ने रहेछ । जाडो असाध्य थियो । चिसो स्याँठ आइरहेको थियो । सिरक र डस्ना सफा थिए । त्यसकारण हामी जस्ता सुकुमारीलाई पनि सिरकले मुख गम्लङ्ङ ओढ्न समस्या थिएन । खाटमा खाँदिएर सुत्यौँ । राति बिउँझिँदा कोठाभरिका सुतेका यात्रुमा घुराइको दोहोरी चलेको थियो । त्यो ठाउँमा त्यत्तिको व्यवस्थालाई निकै राम्रो मान्नु पर्छ ।

तर दिमागमा भने एउटा कुरा खट्किरहेको थियो । जोगी महन्त भेषमा आएका तीर्थयात्रुलाई अलग्गै स्पेसल बसोबास र खानपीनको व्यवस्था रहेछ । म भौतिक रूपमा स्वतन्त्रता तथा समानता मन पराउने र आध्यात्मिक रूपमा पनि ‘भगवानका द्वारमा सब समान’ भन्ने चेत राख्ने भएकाले धर्म तथा महन्तका नाममा नै भएको भए पनि यो विभेद मन परेन । मैले यसैबेला मेरा गाउँका एकजना भाइ दुरसञ्चारका हाकिमले भनेको सम्झेँ । उनले लामो जटा पालेका थिए । तर जोगी वा महन्त थिएनन् । माछामासु खान्थे । कार्यालय जाँदा वा अघिपछि उनी त्यो जटालाई बाँधेर माथिबाट टोपी लगाउँथे । एकदिन मैले ‘किन यसो गरेको भाइ’ भनेर सोधेको थिएँ । उनले जवाफ दिएका थिए – दाजु, मैले तीर्थ गइरहनु पर्छ । तीर्थस्थल पुग्ने बेलामा टोपी फुकाल्यो, यही जटा फिँजायो, अनि ‘जय भोले’ भन्दै करायो, हरेक मन्दिरमा उच्च तहको सम्मान र सुविधा पाइन्छ । अनि किन नगर्नु त दाइ ! 

ओछ्यानमा पल्टिनेबित्तिकै घोराहीदेखि धर्मपानी सम्मको बस यात्राको झलक आइरह्यो । कतै लालीगुराँसका बुटाहरू, कतै सल्लाका बुटाहरू र कतै फुस्रा र राता तर नाङ्गा डाँडाहरूले मनमोहकता थपिरहेका थिए । ती पाखाका घरका छानामा टिन टल्केको देखिन्थ्यो । कतै भिर थिए । कतै पहरा थिए । कच्चीबाटोको बिचबाट वर्षायाममा भल बगेर दन्द्री बनाएको थियो । त्यो दन्द्रीका दुई डिलबाट हामी चढेको गाडीले बाटो तय गर्दै थियो । मान्छेका हुल र भिडको त कुरै गर्न परेन । हाम्रा टोलीका तीर्थयात्रुहरू भने बाँचेर आइएकोमा ‘स्वर्गद्वारी बाबाको जय’ भन्दै थिए । तर मलाई भने त्यो बाटो एकदम विकट लागेको थिएन । किनभने योभन्दा जटिल बाटोको पहाडी यात्रा मैले गरिसकेको थिएँ । बाटोमा देखिएका पानीका एमानका घ्याम्पाहरूमा पानी सङ्कलन गरिन्थ्यो रे । पानीको खुवै दुःखको कुरा सुनाएका थिए ।

जाडो थियो, तर थकाइ र भाते निद्राले भुसुक्कै निदाएछौँ । भोलिपल्ट बिहान शौचालयको काम सकेपछि नुहाउने भन्ने कुरा भयो । धर्मशालाका नजिकै एउटा धाराको पाइप भुईँमै थियो । तुरतुर पानी आउँदै थियो । त्यही तुरतुरे तर अत्यन्त चिसो पानीमा धर्म भाक्दै सबैले नुहाएका थिए । म भने ननुहाउने विचारमा थिएँ । यो मेरो विचारलाई गाली खानु थियो । खायो । र बाध्य भएर नुहाउन निस्केँ । शान्ता दिदीहरू तीर्थ यात्रा गर्न खप्पीस भएकाले एउटा पातलो, हल्का तर गम्लङ्ङ ओढ्न मिल्ने बहुउपयोगी बर्को बोक्नु भएको रहेछ । त्यो बर्को बेरेर चिसो पानी बगाइरहेको धाराबाट एक डब्बा पानी टाउकाबाट खन्याएर म बेस्सरी कराएको थिएँ – आछुछुछुछु, हरहर गङ्गे । 

अन्य तीर्थयात्रुहरू पनि त्यसैगरी पानी कम आछुछुछुछु र हरहरगङ्गे ज्यादा गरिरहेका थिए । सबैले नुहाइधुवाइ गरिसकेपछि तयार भएर स्वर्गद्वारीको प्राङ्गणमा गएका थियौँ । 

यो पवित्र तीर्थस्थल प्यूठान जिल्लाको स्वर्गद्वारी खालमा अवस्थित रहेछ । समुद्री सतहबाट ६८९० फिटको उचाइमा अवस्थित रहेको यो स्वर्गद्वारीबाट अन्नपूर्ण हिमाल, धौलागिरी र मनास्लु आँखै अगाडि नाचिरहेका थिए । सूर्य भुक्लुक्क उदाएको दृश्य निकै रोमाञ्चक थियो । सूर्यको किरणले श्वेत हिमाललाई ताम्र बनाइदिएको थियो । हाम्रा क्यामराले सूर्यको जन्माइका प्रहरहरू खिचे । त्यो दृश्यले प्राकृतिक छटा पस्किरहेको थियो । यस्तो सुन्दर दृश्य विरलै देख्न पाइन्छ । लाग्दथ्यो कि स्वर्ग भनेको हिमाल हो र स्वर्गको द्वार यही विन्दुबाट सुरुहुन्छ । 

प्राङ्गणको एउटा कुनामा लहरै बसेर धेरै महिलाहरू लोकल दाल नाङ्लामा राखेर निफनिरहेका थिए । केलाइरहेका थिए । भक्तजन, पूजारी तथा त्यहाँ राता पहेँला लुगा लगाएर ब्राह्मणहरू ओहोर दोहोर गरिरहेका थिए । म उहाँहरूसँग नै  स्वर्गद्वारीका बारेमा सोध्न थालेको थिएँ । जानकारी लिन थालेको थिएँ । प्युठानको सदरमुकाम खलङ्गा बजारबाट २६ किमी टाढा स्वर्गद्वारी रहेछ । बैसाखे पूर्णिमा, माघेसक्रान्ति, उँभौली र वुद्ध जयन्तीमा मेला लाग्दोरहेछ । स्वर्गद्वारीलाई ऋषि तथा ब्रह्माले तपस्या गरेको ठाउँ भनिदो रहेछ । स्वर्गद्वारी मन्दिर परिसर २६०० रोपनीमा फैलिएको रहेछ । दाङ तथा देउखुरीमा स्वर्गद्वारीका नाममा १०५० बिघा जमिन पनि रहेछ । यसैको आम्दानीबाट स्वर्गद्वारीको खर्च चल्दोरहेछ । 

स्वर्गद्वारीसँगै जोडिएको हरियो वनले सुन्दरतामा सुन्दर थप गर्दै थियो । प्राङ्गणमा स्वर्गद्वारी वेदपाठशालाका बटुकहरूले  स्वर्गद्वारी परिसरलाई वेदध्वनिले गुञ्जायमान बनाइरहेका थिए । बटुकहरू हात हल्लाहल्लाइ वेद पाठ गरिरहेका थिए । यस्तो पाठ प्राङ्गणभरि यत्र तत्र सर्वत्र थियो । स्वर्गद्वारी वेदमय भएको थियो । सस्वर वाचन गरिएका वेदका ऋचाहरूले आध्यात्मिक शान्ति तथा आत्मिक शान्ति दिइरहेका थिए । मान्छेको जीवनको आध्यात्मिक सार सबै भेला भएर स्वर्गद्वारीमा खुम्चिएजस्तो लाग्दथ्यो । 

परिसरमा नेपाली र भारतीय तीर्थ यात्रुहरू असाध्य धेरै देखिन्थे । तीर्थयात्रुहरू गाईलाई नुन र पीठो दान दिइरहेका थिए । नुन पीठो चढाउन अलग्गै व्यवस्था गरिएको रहेछ । स्वर्गद्वारीका बारेमा केही जानकारी चाहिएमा सूचना केन्द्र पनि थियो । त्यहाँ अल्पमात्रामा स्वर्गद्वारीसँग सम्बन्धित पुस्तिकाहरू थिए । स्वर्गद्वारीको महिमा सर्वप्रथम कुवा वा कुण्डको महिमाबाट सुरुहुने रहेछ । महाप्रभुले बनाएको र महाप्रभुले नित्य स्नान गर्ने कुण्ड सानो भए पनि कहिल्यै नसुक्ने र पानी अति सङ्लो हुने सो कुवाको चिसो पानीले स्नान गरेर मात्र स्वर्गद्वारी पस्ता रहेछन् खास भक्तहरू । 

स्वर्गद्वारीको स्थापना महाप्रभु नारायण खत्री गिरीको प्रयासमा भएको रहेछ । महाप्रभुको खास नाम नारायण गौतम रहेछ । स्वर्गद्वारीमा उनी स्वामी हंसानन्द गिरीका नामले प्रख्यात भएछन् । रोल्पाको शशिलेख रुम्टीमा बिसं १९१६ को साउन महिनामा  जन्मिएका महाप्रभु सानैदेखि तपस्या गर्ने गर्दथे रे । लीलाहरू देखाउँथे रे । उनले सन्यास–शिक्षा शिवावतार अद्भुत सिद्ध योगी स्वामी सच्चीदानन्द गिरीजीबाट लिएका थिए रे । उनी आफ्नै जन्मस्थानमा सात वर्षसम्म योग–साधाना गरेर वेदान्त, योग, तपस्यामा सिद्धहस्त थिए रे । 

महाप्रभु यो स्वर्गद्वारी क्षेत्रमा आएर गुप्तीसागर नामको ओडारमा बसेर तपस्या गर्दथे रे । उनका गाईहरू हजारौँको सङ्ख्यामा थिए रे । बिसं १९५१ मा तपस्या गरिरहेका बखत महाप्रभुले हाल स्वर्गद्वारी रहेको स्थानको जग्गा जग्गाधनीसँग दान मागे । उनले सो जग्गामा उत्खनन् गराए । बाह्र हात उत्खनन् गर्दा यज्ञशाला फेलापर्यो । चरु फेलापर्यो । कोइला फेला पर्यो । विभूत फेला पर्यो । त्यसलाई उनले द्वापर युगमा पाण्डवहरूले स्वर्गजानु अघि यज्ञ गरेको स्थल भनी बताए । जग्गा धनी यो दृश्य देखेर वसिभूत भए फलस्वरूप उनलाई त्यो जग्गा दान दिए । त्यही ठाउँमा यज्ञकुण्ड बनाइ त्यो दिनदेखि लगातार आजसम्म अविच्छिन्न अखण्ड अग्नी प्रज्जलन र यज्ञ होमादि हुँदै आएको रहेछ । यज्ञको प्रयोजन विश्वकल्याणका लागि रहेछ । यज्ञ गर्ने पद्दति पनि अलग्गै रहेछ । दूधको धाराबाट वैदिक मन्त्रले हवन सुरु गरिने हुँदो रहेछ । दैनिक वेद, पुराण लगायत धेरै धर्मग्रन्थको पाठले स्वर्गद्वारीको आकाश गुञ्जायमान भइरहेको थियो । यज्ञशाला वा हवन कुण्ड गोलाकार तथा छानोभित्र रहेछ । 

हवन कुण्ड बाहिर ४२ हातको लिङ्गो कोजाग्रतका दिन ठड्याइने प्रचलन रहेछ । कीर्तन भजन भइरहने त्यो स्थान साँच्चीकै आध्यात्मिक र आत्मिक लाग्दथ्यो । पुष्पाञ्जलीका स्वरले वातावरण मुग्ध भएको थियो । प्राङ्गणमा हस्तलिखित वेदका पुस्तकहरू पल्टाएर वेद पाठ गरिएको देख्न पाइँदा मन नै आनन्द भएको थियो । त्यो होमादि गरिएको यज्ञकुण्ड वा हवनकुण्डबाट निकालिएको विभूत धार्मिक कार्यमा पवित्र मानिने मात्र होइन टाउको दृुखाइ तथा पेट दुखाइमा औषधी हुन्छ भन्ने जनविश्वास रहेछ । यो कुरा अन्धविश्वास मात्र होइन, बरु भक्तजनमा आएको विश्वासको मानसिक क्रिया–प्रतिकृयाले उत्पन्न गरेको उर्जा भने हो ।

स्वर्गद्वारीमा महाप्रभुको समाधिस्थलको पूजा अर्को महत्त्वपूर्ण पक्ष हो रहेछ । त्यहाँ महाप्रभुको रिप्लिका बनाएर राखिएको रहेछ । जसमा भक्तजनहरू श्रद्धाले पूजा गरिरहेका थिए । स्वर्गद्वारीको यज्ञस्थलभन्दा अलि पर गोवर्धन पर्वत थियो । यसै गरी शिव मन्दिर पनि ज्यादै सुन्दर देखिएको थियो । त्यहाँ पुगेर भक्तजनले रुद्रि, चाररुद्रि, महारुद्री लगाउने गर्दा रहेछन् । मेरी श्रीमतीले आवश्यक दक्षीणा तथा खर्च दिएर लघुरुद्री लगाउने मेसो मिलाएकी थिइन् । रुद्री सोही दिन लाग्ने कुरा थिएन । सो रुद्री लागेको दिन त्यहाँका गुरुले फोन गरेर रुद्रीका वचनहरू सुनाएका थिए । 

प्राङ्गणमा यताउति गरिरहँदा शंखघण्ट र गाईबाच्छाको आवाजले गुञ्जायमान थियो स्वर्गद्वारी । ३०० भन्दा बढी गाई छन् भनिन्थ्यो । प्राङ्गणमै भर्खर जन्मेका बाछाबाछी देखिन्थे । गाई गोठ त्यही तल थियो । त्यसबाट उत्पादित दूध दही मोहीले पाहुनाको स्वागत गरिने भन्थे । अलि परतिर  शिद्धबाबाको मन्दिर थियो । यो मंदिर पनि निकै महत्त्वपूर्ण थियो । गोठको मुन्तिर धेरै जग्गामा रायोको साग लगाइएको रहेछ । बेलुका खाएको रायोको साग त्यही बारीको रहेछ । कान्लाबाट उभिएर हेर्दा ठूल्ठूला लामपाते सूर्तीजस्तो देखिने बुट्यानहरू रायोको सागको रहेछ । रायोको सागको यत्रो बुटो मैले देखेकै थिएन । गाईको मलमा पन्पिएको त्यो रायोको साग अग्र्यानिकमाको अग्र्यानिक थियो । स्मृतिका तन्नामा स्वर्गद्वारीको सम्झना आउँदा त्यही रायोको सागको बुटो र बेलुका खाएको रायोको सागको स्वाद आइरहन्छ ।

अलि तलतिर साधुसन्तको लहरै समाधिस्थल थियो । यो समाधिस्थल देख्दा एकाएक मसाने वैराग्य उत्पन्न भएको थियो । घर–व्यवहार चटक्कै छोडेर वा ब्रह्मचर्य पालना गरेर वा गृहस्थ्य आश्रममै बसेर विश्वासले स्वर्गद्वारी क्षेत्रमा बस्ने साधुसन्त, योगी आदिको जीवन मानसिक रूपले सायद सन्तुष्ट हुन्छ कि भन्ने लख काटेको थिएँ मैले । फेरि पनि शाश्वत सत्य मृत्यु नै थियो । र त्यो मृत्यु व्यवस्थापन गर्न समाधिस्थल बनाइएको देखिन्थ्यो । 

त्यो दिन कोजाग्रत पूर्णिमाको दिन थियो । दशैँको टीको लगाउने हाम्रो कार्यक्रम थियो । नेपालको गण्डकी तथा धौलागिरी क्षेत्रमा दशैँ एक दिन दशमीका दिन मात्र मान्ने प्रचलन छ । तर यहाँ त दशै पाँचदिन नै मनाइने रहेछ । मेरो बुवाआमाले हाम्रा टोलीका तीर्थयात्री सबैलाई महाप्रभुको रिप्लिकाको अगाडि बसेर कोजाग्रत पूणिमाको टीका र घरैबाट लगेको जमरा लगाइदिनु भएको थियो । स्वर्गद्वारीमा महाप्रभुको समाधिस्थलका अगाडि उभिएर आफ्ना मातापिताबाट दशैँको टीको लगाउन पाउनुले आफूलाई धन्य ठानेँ । यो जीवनकै एउटा सुखद संयोग भएर रहेको छ । 

कोजाग्रत दशैँको टीको लगाएर हामी फेरि धर्मपानी फक्र्यौँ । बाटोमा मेरो मन एकदम उदाश भएको थियो । मलाई लागिरहेको थियो कि कम्तिमा दुई दिन मोबाइलबिहीन, व्यवहारविहीन र होचो अर्घेलो विहीन भएर त्यो स्वर्गको पाखामा बसेर हिमाललाई हेरिरहन पाएको भए हुन्थ्यो । तर जीवन मान्छेले सोचेजस्तो चाहेजस्तो कहाँ हुन्छ र ! हाम्रा घर–व्यवहार र तिनले बनाएका भड्खालाहरू हामीसँगै हिँडिरहेका थिए । बाचुञ्जेलसम्मको धुकधुकी जीवन फेरि पनि बाँच्नु नै थियो । बाँच्नका लागि गर्नु पर्ने उठापटक गर्नु नै थियो । त्यसैले बिहानको गाडीबाट सोही दिन घोराही फर्केका थियौँ । घोराही पुग्दा रात परिसकेको थियो । बसपार्ककै छेउछाउमा कुनै होटल खोज्न गयौँ । होटल पाइएन । बल्ल बल्ल एउटा होटलमा कोठा त पाइयो । तर होटलवालाले ‘यो होटलको कोठा तपाईँहरूका लागि होइन । यो त पहाडबाट झरेका पैसा तिर्न नसक्ने यात्रुका लागि हो’ भन्ने इमानी कुरा गरे । तर हामीमा त्यो रातमा अर्को राम्रो होटल खोज्न जाने तागत थिएन । ‘त्यस्तै भए पनि बस्ने’ भनेपछि होटलवालाले बस्न दिए । तर  होटल, कोठा, तन्ना तथा ओढ्ने गन्हाएको अझै नाकबाट गएको छैन । जे भए पनि हामीसँग होटलवालालाई केही भन्ने छुट पनि थिएन । घोराहीबाट पूर्व विराटनगरतिर जाने गाडी नै नपाउने रहेछ । अनि हामी २५ गते बिहानै लमहीतिर लाग्यौँ । लमहीमा नेपालगञ्जबाट विराटनगर जाने रात्री बसको टिकट पाइयो । दिनभर नै लमहीमा बस्नु पर्ने भयो । यसो भएकाले म, सुशा, शान्ता दिदी, र प्रेमदाइले नेपालगञ्ज पुगेर बागेश्वरीको दर्शन गर्ने विचार राख्यौ । तर बुवाआमालगायत अन्य तीर्थालुले थाकेको कारणले ‘नजाने बरु पर्खेर भए पनि घर जाने’ इच्छा राख्नु भयो । अनि उहाँहरूलाई रात्रीबसको टिकट काटी लमहीकै बसपार्कमा राखेर हामी ४ जना पश्चिमतिर लागेका थियौँ ।  

प्रकाशित: १० माघ २०७७ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App