coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अभियन्ता

लघुकथा

 

 

एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिस भेला भए । उनीहरूले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडिपछाडि दुवैतिर र टोपीमा सरसफाइ अभियान लेखिएको थियो।

“ आफ्नो टोल , नगर सफा राखौं ”  लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरूको उद्देश्य भनेको  धूमपान र मद्यपानलाई निरुत्साहित गर्नु , सरसफाइको महत्वलाइ जनस्तरमा पुरयाएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो।

उनीहरू पुरानो बसपार्क , रत्नपार्क , जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहरमैला टिप्दै, प्लेकार्ड देखाउंदै ,फोटो खिच्दै हिंडिरहेका थिए । टोली त्रिचन्द्र कलेजअगाडि पुगेर अडियो।

हातहातमा बोकेका प्लेकार्ड  भुइँमा  राखेर उनीहरूले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके ।  कसैले चाउचाउ निकाले अनि कसैले विदेशी मदिरा गिलासमा खन्याएर  र कसैले बोतलबाटै पिउन थाले ।  

हल्का विश्रामपछि उनीहरू अगाडि बढे । उनीहरूले खाएर फालेका बिस्कुट, चाउचाउका खोल,पानी र मदिराका खाली बोतलहरू भने सडकभरि जताततै छरिएका थिए ।

प्रकाशित: १० माघ २०७७ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App