७ वैशाख २०८१ शुक्रबार
कला

...तर माया एउटै हुन्छ

डबली

अबिचुरी

कलकत्तामा ५–६ वटा गीत रेकर्ड गराउँछु भनेर जाँदा उनले गोपाल योञ्जनको ‘मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ, बुझेर माया देऊ’ गाएका थिए। यो गीतको रेकर्ड सकेर बाहिर आउँदा गीतका संगीतकार र रचनाकार गोपाल योञ्जन धुरुधुरु रोइरहेको देखेर आफू पनि उनीसँगै रोएको पुरानो कुरा सम्झेर दुःखी भएका थिए।

त्यसपछि ध्रुव केसीसित भेट भएन।  

काठमाडौं सिनामंगल, कालिमाटी डोल, एयरपोर्टको बाटो कैयन्पटक हिँडियो, उनीसित भेट भएन।  

नेपाली सिनेमाका मुहूर्त, नेपाली गीतका अल्बम रिलिज, विभिन्न म्युजिक अवार्डका सभा–समारोह आदिका मञ्चमा गत बीस वर्षमा कुनै पनि दिन ध्रुव केसीलाई देख्न वा हेर्न पाइनँ।

  

उनको परिवारमा उनका भतिजा भुवन केसी नेपाली चलचित्रका नायकबाट चलचित्र निर्माता भए, उनका नाति पुस्ताका अनमोल केसी चलचित्र नायक भए तर यो परिवारको ग्रुप फोटोमा पनि मैले ध्रुव केसीलाई कहीँकतै देख्न पाइनँ।  

समय यति छिटो बदलिँदै गयो, ध्रुव केसी नेपालमा छन् वा विदेशमा, स्वस्थ छन् कि अस्वस्थ, यस कुराको समेत जानकारी मलाई कहीँकतैबाट भएन।  

एक दिन संयोगले तिलगंगा आँखा अस्पतालमा चेकअपको लाइनमा बसिरहेका ध्रुव केसीका दाजु पूर्वमेजर मदनमोहन केसीसित भेट हुँदा उनले आफ्ना छोरा भुवन केसी, नाति अनमोल केसी अन्य दुई छोरा उज्ज्वल र प्रज्ज्वल केसी अनि आफ्नी छोरी नीलम केसी सबैको कुरा गर्न भ्याए, तर आफ्ना भाइ ध्रुव केसीको कुरा नै हुन नपाई उनी बिदा भए।  

मदनमोहन केसी नेपाली चलचित्र ‘सपना’का निर्माता थिए, उनीसित सो चलचित्रको निर्देशन सहायकका रूपमा काम गरेको मेरो परिचय पुरानो थियो, तर त्योभन्दा पुरानो परिचय म उनलाई चर्चित गायक ध्रुव केसीका दाइका रूपमा चिन्थेँ।

मदन आफ्ना भाइ ध्रुव केसीको गायन र हिरो पर्सनालिटीका प्रशंसक थिए। ध्रुव केसीकै कारण उनका भतिजा भुवन केसी संगीतमा तानिएर गायक भएका हुन्, भुवनले आफ्ना काका ध्रुव केसीसित ‘अरू कालो रेलको धुँवाले हामी कालो छाता हजुर ओढ्दै नओढ्नाले’ बोलको गीत गाएका थिए। लोकगायक लालबहादुर खातीको संकलनमा यो गीत रेडियो नेपालमा रेकर्ड भएपछि चर्चामै थियो  

यो गीत चर्चामा हुँदा ध्रुव केसी नेपालबाट पलायन भएर भारतको कुनै सहरमा प्रवासित थिए।  

भारतको कुन सहरमा उनी थिए, त्यसबारे पनि यकिन थिएन सायद।  

कोही उनी बम्बई छन् भन्थे। कोही होइन अहिले दिल्ली छन् भन्थे।  

कोही उनी हिराको व्यापार गर्दैछन् भन्थे, कोही उनलाई बलिउडको सिनेमामा संघर्ष गर्दैछन् भन्थे, तर खास उनी के गर्दैछन् यकिन कसैलाई थाह थिएन।  

उनी नेपाल छाडेर भारत किन पलायन भए यसबारे पनि कसैले ठोकुवा गरेर भन्न सक्दैनथे।  

जतिबेला ध्रुव केसी नेपालबाहिर प्रवासित थिए, त्यतिवेला उनका एकसे एक गीत यहाँ हिट हुँदै थिए।

‘मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ, बुझेर माया देऊ दिनुपर्ने एउटै हुन्छ...।’ गोपाल योञ्जनको शब्द–संगीतमा यो गीत रेडियो नेपालबाट बज्दै गर्दा ध्रुव केसी नारायणगोपालपछिको अर्को सर्वाधिक चर्चित गायक भइसकेका थिए। धेरैले उनलाई नारायणगोपाल जत्तिकै सशक्त गायक भनेर उपाधि दिएको पनि मैले सुनेको थिएँ। तर, उनी दृश्यमा थिएनन्, आउट अफ सिन थिए।  

पञ्चायतकालमा ध्रुव केसीको भारत पलायनलाई धेरैले राजनीतिक अराजनीतिक कारणसित जोडेर चर्चा गर्ने गर्दथे। पञ्चायतको समय शाही शासनकाल, एक गायकको गीत चर्चाको शिखरमा हुँदा गायकको भने चर्चा नहुनु, आवाज भएर पनि बोलीमा नसुनिनु, गायनको ज्ञान भएर पनि गीतको कुनै नयाँ गणितमा नदेखिइनु अचम्म थियो, उनलाई माया गर्ने उनका श्रोता शुभेच्छुकका निम्ति।  

त्यतिवेला उनले गाएका एकेक गीत हिट थिए– प्रेमका होस् वा प्रेम वियोगका, राष्ट्रिय गीत होस्, लोक लयका गीत। उनका हरेक गीतमा उनको स्वरको विशिष्ट पहिचान थियो।  

प्रेमध्वज प्रधान, बच्चु कैलाश, माणिकरत्नपछि उनको स्वरको पहिचान गर्न रेडियोको ब्यान्ड घुमाइरहनुपर्दैनथ्यो। जब उनी गाउँथे, उनको स्वरमा नारायणगोपाल शैलीको घनत्व अनि माणिकरत्न शैलीको सरसतामा बग्थ्यो, त्यो कुराको दाबी कमबेसी रूपमा जसले पनि गर्न सक्छ। अथवा, गायकीको सन्दर्भमा हेर्ने हो भने उनले आफ्नो स्वरलाई ईश्वरको वरदान भने पनि हुने खालको थियो, हुन त सबैलाई वरदान त मिलेकै हुन्छ, तर धेरै वा थोरैको रूपमा मात्र फरक हो।  

उनको स्वरमा झंकार थियो, तरंगको पूरै आभास दिन सक्ने उनको स्वरमा अभ्यासी प्रभाव थियो भन्न सकिन्छ।  

शिवशंकर, गोपाल योञ्जन, हरिप्रसाद रिमाल, बिना राणा, चन्द्रराज शर्माको संगीतमा गाउनुभएका सबै गीतमा सार्थक र सफल देखिएका छन्।  

उनले हरिप्रसाद रिमाल र आफ्ना भतिजा भुवन केसी युगल गीतका गाएका छन् भने गायिका तारादेवीसित उत्तम श्रेष्ठको रचनामा ‘जिउँदै मर्ने मान्छेका लागि’ पनि चर्चित थियो। लामो समय दिल्ली बसाइँको समयमा उनले नेपाली आधुनिक गीतकी प्रथम गायिका उर्मिलाकुमारी श्रेष्ठसित अल इन्डिया रेडियोका निम्ति युगल गीत गाएका छन्।  

यज्ञबहादुर केसी र पद्मकुमारी केसीका ६ भाइ छोरामध्ये जेठा छोरा ध्रुव केसीको जन्म २००२ मंसिर १ गते काठमाडौंमै भएको थियो।  

रंगमञ्च र गायनमा रुचिका कारण तत्कालीन दरबारको आकर्षणको केन्द्र बनेका गायक केसी दरबारकै कोपभाजनका कारण भारत पलायन हुनुपरेको धेरै कमलाई थाह भएको कुरा हो। भारत निर्वासनमा बिताएका क्षण पनि उनी मुम्बईमा फिल्मकर्मी र संगीतजगतका साथभाइसित निकट रहे।

लामो समय भारतमा बिताएर संगीतमा सक्रिय जीवन जिउने उद्देश्य लिएर जब उनी नेपाल आए, त्यतिबेला काठमाडौं न्युरोडस्थित एक रेस्टुराँमा गीतकार उत्तम श्रेष्ठको ‘प्रेम के जानोस् प्रेमको बोली’ अल्बम विमोचनमा यस पंक्तिकारसित भेट भएको थियो।  

गीतकार उत्तम श्रेष्ठकै कारण उनीसित परिचित हुने मौका मिल्यो, २०५६ सालमा। गीतकार उत्तम श्रेष्ठका प्रिय कलाकारमध्ये एक थिए उनी।  

लामो समय शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धक रहेका उत्तम श्रेष्ठ केही वर्ष रत्न रेकर्डिङ संस्थानका महाप्रबन्धक पनि भए। उत्तम श्रेष्ठकै समयमा रेडियो नेपालमा विज्ञापन सेवा कार्यक्रम सुरु भयो। रेडियो नेपालले दिउँसो ३ देखि ४ बजेसम्म विज्ञापन सेवा सुरु गर्दा ध्रुव केसीका गीत नबज्ने कुरै थिएन, त्यही समय उनका धेरै गीत फेरि सुन्ने मौका मिल्यो र उनको स्वरको गहिराइलाई बुझ्ने मौका पनि मिल्यो।  

उत्तम श्रेष्ठको अल्बम विमोचनमा गीतकार सुवासचन्द्र ढुंगेल, साहित्यकार भीम खरेल, पत्रकार अरहन स्थापित लगायत हामी धेरै उपस्थित थियौँ। अल्बम साइन गर्ने क्रममा ध्रुव केसीसित छोटो भलाकुसारी सम्पन्न भयो।  

त्यो आत्मीयतापछि हाम्रो दोस्रो भेट रेडियो सगरमाथाको बखुण्डोलको आँगनमा भयो, जहाँ हामीले अजम्बरी गीत–संगीत कार्यक्रमका निम्ति रोचक कुराकानी रेकर्ड गर्‍यौँ, त्यो अन्तर्वार्ता करिब डेढ घन्टाको थियो, गीत ती नै थिए, जुन रेडियो नेपालमा बज्थ्यो तर कुराकानीको सन्दर्भ फरक थियो– १) गायक ध्रुव केसी र उनको गीत। २) गायक ध्रुव केसी र उनको प्रेम प्रसंग। ३) गायक ध्रुव केसी र उनको भारत पलायन।  

दोस्रो प्रसंगमा उनी त्यति खुल्न चाहेनन् र खुलेनन् पनि।  

(तर त्यसका बारे म कुनै दिन चर्चा गरौँला।) त्यो बन्द खाम नखुलोस् भन्ने उनको आसय बुझेर मैले धेरै कुरा गायनकै गरेँ।  

डेढ घन्टाको कुराकानीका बीच उनले गायक संगीतकार नारायणगोपालको चर्चा खुब गरे। चर्चामा उनले नारायणगोपालको एउटा दुर्लभ गीतको कुरा गर्वसाथ गरे, त्यो गीत यस्तो थियो–  

कतै उसको माया लाग्छ फेरि मलाई पनि  

लेखुँ लेखुँ गीत लाग्छ फेरि मलाई पनि  

जब जब सपना भिजिदिन्छ रातभरि  

देखुँ देखुँ रूप लाग्छ फेरि मलाई पनि...।

यो गीतको रचनागर्भ के थियो मलाई थाह भएन, तर गायक ध्रुव केसीले भने अनुसार यो गीत संगीत भइसकेपछि नारायणगोपाल उनलाई खोज्दै रेडियो नेपाल आइपुगे रे। आफ्ना अग्रज गायकले आफूलाई खोज्दै आएकामा उनी आश्चर्यमा पर्नु स्वाभाविक थियो, तर जब कुरा बुझे, उनी झनै चकित परेछन्।  

गीत लेखेका रहेछन्, ध्रुवनारायण मानन्धरले, जो नारायणगोपालका मित्र रहेछन्, संगीत गरेदेखि नारायणगोपालले आफू र ध्रुव केसीले गाउने तय गरेछन्।  

पुराना कुरा सम्झिँदै उनले २०५७ सालको पुसमा रेडियोको स्टुडियोमा भनेका थिए, ‘रेडियो नेपालमा भेट्नेबित्तिकै नारायणगोपालदाइले ‘ए ध्रुव, यता आऊ, तिमी ध्रुव र म नारायणगोपाल मिलेर ध्रुवनारायणको एउटा गीत गाउँ हिँड। त्यसपछि हामी दुईको पहिलो युगल गीत रेकर्ड भयो–  

कथाभित्र लेखिसकेँ सायद धेरै पात्र  

कागजमा कोरिसकेँ उसको पनि चित्र  

सकिएछ हिँडिएर बाटो मेरा सबै  

तैपनि त हिँडुँ लाग्छ फेरि मलाई पनि...।’

ध्रुव केसी र नारायणगोपालले गाएको यो युगल गीत पछि मैले नारायणगोपालको निवासमै फेला पारेँ। नारायणगोपालकी पत्नी पेमला गुरुवाचार्यसितको सहकार्यमा कालजयी स्वरहरू पुस्तकका गीत संकलन गर्ने क्रममा यो गीत फेला पर्‍यो, अनि त्यसपछि ध्रुव केसी फेला परे।  

२०५७ सालको त्यो रेकर्डेड अन्तर्वार्ता धेरैपछि प्रसारण भयो। त्यसपछि हाम्रो भेट फोनमा बाहेक अरू बेला भएन। २० वर्ष यसरी नै बित्यो, गायक संगीतकार ध्रुव केसीसित कहीँकतै फेरि भेट वा भेटको सन्दर्भ नै मिलेन।  

उज्यालो रेडियो नेटवर्कसित ६ वर्ष अघिदेखि ‘अजरअमर गीतहरू’ कार्यक्रममार्फत जोडिएपछि हरेक मंसिर १ गते ध्रुव केसीलाई जन्मदिनको शुभकामना दिँदै मैले गीत त बजाएँ, तर फोनमा पनि कुराकानी छुटिसकेको थियो।  

गत माघ ६ गते उनको पारिवारिक स्रोतबाट उनी मेरो निकटवर्ती गाउँ सैँबु भैँसेपाटीको अर्किड हेल्थ केयर सेन्टरमा जीवनमृत्युसित संघर्ष गरिरहेको खबर पाएपछि मैले सुस्वास्थ्यको कामना गर्दै फेसबुकमा साझा गरेँ, त्यसपछि अनलाइन र अन्य माध्यममा उनको सुस्वास्थको कामना गर्दै समाचार आउन थाले।  

भुलिसकेका गायकलाई एकपटक धेरैले सम्झे, त्यसपछि अन्य शुभेच्छुकले बिस्तारै कामना गर्न थालेको पेजहरू देखियो, उनका चर्चित गीतहरूको सन्दर्भ फेरि दोहोरिए।  

सुस्वास्थ्यको कामना गर्दै गीतकार राजेन्द्र थापाले ध्रुव केसीले गाएको उनको चर्चित गीत ‘सबले भन्छन् तिम्रो आँखा बिजुली झिल्का फ्याँक्छन्’का बारे नोस्टाल्जिक भएर लेखे– ‘यो गीत भुवन केसीले सात–आठ वर्ष कराएर मसित मागेर लगेका हुन्, तर गीत देखेपछि ध्रुवदाइले यो त बम्बईया स्टाइलको रहेछ म गाउँछु भनेर मागेर शिवशंकरको संगीतमा गाए। तीसको दशकको पहिलो चरणमा रेकर्ड भएको यो गीतको मुखडा मैले भुलेँ तर हुक लाइन यस्तो थियो, पछि फर्की हेर त कति लामो लस्कर छ, बौल्हाएका मान्छेहरूको...।’

गीतकार राजेन्द्र थापाले चर्चा गरेको यो गीत कवि पत्रकार श्याम रिमालको आग्रहमा मैले खोजेर रेडियो कार्यक्रममा बजाएँ पनि।  

गायक केसीका भान्जा प्रवीण निरौलाका अनुसार, उनी त गत दश वर्षदेखि पार्किन्सनका कारण थला परेका रहेछन् भन्ने गत माघ ६ गते मात्र बुझियो। गायक केसीले गाएका युधिर शमशेर थापाको ‘बगी जाने खोला यो निष्ठुरीको मायालाई सन्देश यो पुर्‍याइदेऊ’ रामविक्रम सिजापतिको ‘कर्के नजरले हेर्दा खेरी मन हुन्छ यस्तो पातलाई पन्छाएर कमल फुले जस्तो’, ‘नरोऊ नरोऊ साइँली मै जाने बेलैमा’, गोपाल योञ्जनको ‘ताराभरि मेरो कथा जूनभरि मेरो कथा’ पनि चर्चित छन्।  

गायक ध्रुव केसीले रेडियोमा दिएको अन्तर्वार्ता अनुसार कलकत्तामा ५–६ वटा गीत रेकर्ड गराउँछु भनेर जाँदा उनले गोपाल योञ्जनको ‘मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ, बुझेर माया देऊ’ गाएका थिए। यो गीतको रेकर्ड सकेर बाहिर आउँदा गीतका संगीतकार र रचनाकार गोपाल योञ्जन धुरुधुरु रोइरहेको देखेर आफू पनि उनीसँगै रोएको पुरानो कुरा सम्झेर दुःखी भएका थिए।  

ध्रुव केसीको यो चर्चित गीत पछि गोपाल योञ्जन आफैँले पनि गाए तर त्यति जम्न सकेन, जुन अझै पनि यदाकदा बज्ने गर्छ।  

गायक ध्रुव केसीका घनिष्ठ मित्र थिए, माणिकरत्न। माणिकरत्नले ३० को दशकदेखि गाउन छाडे भने ध्रुव केसीले ३५ सालपछि कुनै नयाँ गीत रेकर्ड गराएनन्। माणिकरत्नसित सहकार्य गर्ने उनको उत्कट अभिलाषा त्यहीँ रोकियो भने संगीतकार अम्बर गुरुङसित एउटा गीत गर्ने उनको महान् सपना पनि मृत्यु हुनुअघि नै टुंगियो।  

अम्बर गुरुङको रचनाको त्यो गीत धुनबद्ध भएर पनि उनको डायरीमा सुरक्षित छ–  

तिमी भुल म सपना हुँ  

सपना यदि होइन भने...।

सायद ध्रुव केसीको योबाहेक अरू केही सपना थिएन कि ? यस गीतका दुवै सहयात्री अब हाम्रा माझ छैनन्, डायरीमा गीत र शब्द सुरक्षित छ, धुन कतै ओझेल परेको छ।  

गायक ध्रुव केसीले २०७७ माघ ८ गते अपराह्न ४ बजे आफ्नो सास त्यागे।  

श्रद्धाञ्जली, सम्झनाहरू सर्वत्र देखिए उनको गीत नेपथ्यमा गुन्जिरह्यो। बगेको पानी फर्कियो तर उनी फर्केनन्।

प्रकाशित: १० माघ २०७७ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App