coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिउ

लघुकथा

– मैया एक्कासि भुतभुताउँदै थिइन् ।

उनको लोग्ने त्यो भुतभुताउँदै गरेको सुनिरहेको थियो । जति भुतभुताउनु छ भुतभुताऊ–  ऊ मनैले भन्दै थियो ।

ऊ करेसाबारीतिर पस्यो । माटो मलजल गर्दै  आलु लगाउने माटो तयार गर्दै थियो । फेरि उनी उतै पुगिन् । ऊ फेरि मनैले बोल्यो – जति भुतभुताएँ पनि लोग्ने नै चाहिदो रैछ  ।

मनको संवाद थाती राखेर यथार्थ संवाद गर्न थाल्यो– किन आएकी यहाँ ?

घरभित्र भुतभुताउने बानी थियो । बाहिर भुतभुताइन् भने समाजको डर छ उनलाई पनि । समाजले के भन्ला । सतर्क थिइन् ।

– माटो तयार भो ? उनले भनिन् ।

उनको लोग्नेले भन्यो– हुँदैछ, बरु जाऊँ एक कप चिया बनाएर ल्याऊँ । आज आलु लगाइहाल्छु ।

– आ बेला न कुबेला चिया ।  अफिसबाटै पिएर आउनुभएन चिया ।

– कहाँ पिउन  भियाउनु ? आज शुक्रबार आधा बेलापछि अफिस छुट्टी हुन्छ । आफुलाई चियाभन्दा पनि आलुकै पिर थियो ।

माटो तयार भो । उनी आलु लगाउन थालिन् । उनको लोग्नेले, कोदालोले आलु छोप्दै थिए । मंगले पनि टुप्लुक्क आइपुगेको थियो ।  पतिपत्नी अनि जिन्दगानीको मिहिनेत हेर्दै थियो ।

ऊ यसरी बोल्यो – ओहो साइँला  दाइ, आलु फलेपछि मलाई पनि हैं।

मैया भाउज्यू आँखा तर्केर हेर्दै थिइन् । प्याच्चै भनिन् – काम गर्ने कालु, मकै खाने भालु ।

मंगले अक्क न बक्क पर्यो । उसले जिस्किएर भनेको थियो । ऊ मनमनै भन्छ – हुन त म आलु खाँदिन थिएँ  किनकि म डाइबिटिजको  बिरामी हुँ।

साइँलालाई पनि थाहा थियो, यो मंगले डाइबिटिजको बिरामी हो, उसले आलु खाँदैन । ठट्टा मात्र गर्न खोज्छ । विचरो कहिले मेरोमा आउँछ, कहिले अरूकोमा जान्छ । अनुहार हेर्दा  डाइबिटिजको बिरामी जस्तो पनि लाग्दैन उसलाई ।

गाउँघरमा कतै हरियो सागपात होस् वा गुन्द्रीमा सुकाएको हरियो गुन्द्रुक योचाहिँ मागेर नै हैरान पार्थ्यो उसले ।

प्रकाशित: ९ माघ २०७७ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App