१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आमा

कविता

 

 

मायाको पोको तिमी  

फुकाउँदै जान्छौ  

परेको दुख भने  

लुकाउँदै जान्छौ  

धरतीजस्तै कष्ट सहेर  

आँसु मनभित्रै  

सुकाउँदै जान्छौ  

जस्तो परिस्थितिमा पनि  

ममाथि प्रेम बर्साउँछौं।

 

जिन्दगी निराशाको  

शिखर चढ्दै गर्दा  

वरपर मैले अँध्यारो मात्र देख्दा

हौसलाका कहानी भन्थ्यौ  

जब म पीडाले तड्पिन्थे  

तिमी आफै

ममताकी प्रतिमूर्ति बन्थ्यौ  

दुखैदुखको भीडमा पनि  

हाँस्न सिकाउने तिमी हौ  

संघर्ष गरेर जीवनमा  

बाँच्न सिकाउने तिमी नै हौ।

 

मलाई लाग्छ  

सन्तानका लागि तिमी  

कहिल्यै नसुक्ने  

पिरतीको मूल हौ  

जस्तो परिस्थितिमा पनि

सुवास छरिरहन सक्ने  

मखमली फूल हौ।

 

ढुकढुकी  

आफूभित्रै चलाएर  

मलाई जीवन दिएकी आमा  

मेरो खुशीका लागि

आफ्नै आँसु  

पिएकी आमा

टाउकोमा सदा तिम्रो हात रहे  

हरेक दुखसँग लड्न सक्छु  

समस्याको जस्तै हुरी चलोस्  

त्योसँगै अघि बढ्न सक्छु।

 

तिमीले खोलेका आशिषका ढोका  

खोल्दै अघि बढ्दा

कठिनाइका तिखा काँडा  

पोल्दै अघि बढ्दा

तिमीले देखेको सपना  

आज  

फूल बनी फुलेको छ  

कालो बादल हटेर  

जिन्दगीको निलो आकाश  

खुलेको छ ।

 

तिमीले सिकाएको संस्कार आज

वृक्ष छ सुन्दर हराभरा  

फुलेफलेका छन् खुशी  

मनको खेतका गरागरा  

तिम्रो म एउटा दियो हुँ आमा

बल्ने काम गरिरहन्छु  

आफूजस्तै हजारौं दीपहरूमा

उज्यालो म छरिरहन्छु  

त्यही उज्यालोभित्र आमा  

तिमीलाई म हेरिरहन्छु ।

प्रकाशित: ८ माघ २०७७ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App