१६ चैत्र २०८० शुक्रबार
कला

साथी

निबन्ध

साथी नहुने मान्छे संसारमा कोही हुँदैन । साथी जसको छैन, ऊ एक्लो हुन्छ, दुःखी हुन्छ । मान्छेले साथीहरूको माझमा दुःख पनि बिर्सिन्छ । विभिन्न स्थिति, परिस्थिति, समय र कार्यको दौरानमा साथीहरू बन्छन् । साथीहरू कोही अस्थायी हुन्छन् भने कोही स्थायी । साथीहरू जीवन यात्रामा बन्छन्, छुट्छन्। साथीहरू नभएको संसार बिरसिलो र रूखो हुन्छ । साथीसँग दुःख बाँड्दा आधा हुन्छ भने आनन्द दोब्बर हुन्छ । साथी अमूल्य र महत्वपूर्ण हुन्छ । तर साथी शत्रु बन्यो भने त्योभन्दा डरलाग्दो कोही हुँदैन । साथी भित्रभित्रै जरो काट्ने भयो भने त नेपोलियनले जस्तै भन्नुपर्ने हुन्छ— भगवान्, मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूसँग म आफै बच्न सक्छु ।

‘साथीहरू कस्ता छन् ?’ त्यसै कुरामा मान्छेको सफलता निर्भर रहन्छ । मानिस जन्मजात स्वार्र्थी हुन्छ तर मान्छे दयालु पनि हुन्छ । थाहै नपाई जोर लात्ती हान्ने साथीहरू पनि हुन्छन् साथै साथीका लागि ज्यान दिने साथीहरू पनि हुन्छन् । साथीहरू थरीथरीका हुनसक्छन् ।

साथी कार्यक्षेत्र, उमेर र ध्येयअनुसारको हुन्छ । राजनीतिक, सामाजिक, आर्थिक वा अन्य क्षेत्रका साथीहरूको विशेषता पनि बेग्लाबेग्लै हुन्छ । जीवनमा धेरै साथी चाहिन्छ । राजनैतिक क्षेत्रमा  धेरै साथी हुनेले राजनैतिक खेल जित्ने सम्भावना हुन्छ । जसले जति धेरै राजनैतिक साथीहरू बनाउन सक्यो त्यति बेस । राजनैतिक साथीहरू राजनैतिक मूल्य, मान्यता, सिद्धान्त र आस्थाको आधारमा बन्छन् भनिए तापनि राजनीति माकुरे संस्कृितमा हुर्केको हुन्छ । राजनीतिमा धेरै विश्वासघाती साथी पाइन्छ । आफैले जन्माएको बच्चाहरूले नै माउलाई खाई मार्ने गँगटो र माकुराको चलनलाई ‘माकुरे संस्कृति’ भनिएको हो । राजनैतिक साथीहरू आफैले जन्माउने, बढाउने र हुर्काउने अनि मौका पाउनासाथ माकुरे संस्कृतिको शिकार तिनै साथीहरूले बनाउन सक्ने भएकाले सधैं सतर्क भइरहनुपर्ने हुन्छ ।

‘पालेको चरीले आँखा ठुङ्छ’ भनेझैं राजनीतिमा त विश्वास गरेको साथीले आँखा मात्र होइन ज्यानै समेत लिएका उदाहरणहरू प्रशस्तै पाइन्छन् । साथीको कुर्र्र्सी खोस्नु, भाँच्नु त सामान्य जस्तो देखिन्छ । राजनीतिमा धेरै स्वार्र्थी साथी पाइन्छन्। सामाजिक, आर्थिक र साहित्यिक क्षेत्रमा पनि स्वार्थको चास्नीमा डुबेकाहरू गुलियोको लागि साथी भैटोपल्नेहरू थुप्रै पाइन्छन् । तापनि राजनीतिमा जति धेरै फोहोरी साथीहरू पाइन्छ, अन्य क्षेत्रमा कम मात्रामा पाइन्छन्।

साहित्यिक क्षेत्रमा साथीलाई चिया, कफी वा रक्सीमा भुल्याएर मात्र कविता सुनाउन सकिन्छ । झुक्काएर कविता सुनाइहालियो भने पनि साथीको चेहरा अमिलो खाँदा चाउरिएझैं प्रष्ट देख्न सकिन्छ । साहित्यिक क्षेत्रमा त्यति धेरै साथी पनि चाहिँदैन तर आर्थिक क्षेत्रमाचाहिँ किसिमकिसिमका साथीहरू चाहिन्छन् । लाटो, लठेब्रो, गठेरो, कोक्ल्याँटो गरिब, हरिप, धनी, मानी, लुते, लङ्गडो, अन्धो, बलवान्, पहलमानदेखि लिएर पाखण्डी, लबस्तरा, इमानी, जमानी सबै किसिमका साथीहरू व्यापार–व्यवसायमा काम लाग्छन् । व्यापारमा साथी लेनदेनकै साथी हुन्छ र त्यस्तै भेटिन्छ । चोट्टा र भुइँफुट्टा साथीहरूबाट धोका पाइन्छ कि भन्ने डर व्यापारिक क्षेत्रमा सधैं भइरहन्छ । उमेरअनुसारको साथीको कुरा गर्दा सानाको ‘बालसखा’ बिर्सिन नसकिने हुन्छ । बालसखाको मनभित्र माया, प्रेम लुकेर बसेको हुन्छ । विद्यार्र्र्थी साथीहरू पनि उत्तम हुन्छन् । ती साथीहरू निश्चित प्रयोजनका लागि बनाइएका हुँदैनन्।

व्यवसाय, व्यवहारमा फसिसकेपछि  बन्ने साथीहरू धेरैजसो निश्चित प्रयोजन र ध्येय पूरा गर्न बनिएका हुन्छन् । त्यो प्रयोजन, ध्येय समाप्त भएपछि ती साथीहरूको उपादेयता पनि समाप्त हुन्छ । पाको उमेरमा पक्का साथी पाउनु  त बालुवामा सुनका कणहरू पाउनु जत्तिकै दुर्लभ हुन्छ । उमेरअनुसार विविध रूपका साथीहरू पाइन्छन् । जन्मदेखि मृत्युसम्म साथीहरू चाहिन्छन्, पाइन्छन् । कुन खालको र कति जना साथी पाइन्छन् भन्नेचाहिँ आफ्नो भाग्यमाथि निर्भर हुन्छ । ‘भाग्यमानीको भुत कमारा’भनेझैं भाग्यमानीका धेरै असल साथीहरू हुन्छन् ।

‘संगत गुनाको फल’, ‘ठूलाको संगत गरे गुवापान, छोटाको संगत गरे नाककान’, ‘गाँस छोड्नु, साथ नछाड्नु’, ‘आफ्नो थैली बलियो बाँध्नु, साथीलाई चोर नलगाउनु’ आदि अनेकौं उखानले साथीहरूबारे विविध धारणा व्यक्त गर्दछ । ‘आफू भलो त  जगतै भलो’ भनेझैं आफूजस्तो छ त्यस्तै  साथीहरू पाइन्छन् । आफू असल भएमा असल साथी पाइन्छ । साथीहरूको डंगुरमा असल साथी छान्न सक्नु महत्वपूर्ण कला हो । धोका पाएर साथीलाई दोष दिनुभन्दा असल साथी छान्न नसकेकोमा आफैलाई दोष दिनु बेस हुन्छ । साथीहरू सबै एकैखाले हुँदैनन् । सुखमा मात्र साथ दिने शुभलाभ मित्र (फेयर वेडर फ्रेण्ड्स) धेरै हुन्छन् । तापनि साथीलाई संकुचित परिभाषामा बाँध्नु हुँदैन । आपद्–विपद् सुखदुःख जुनसुकै समयमा पनि साथ दिने साथी हो । त्यस्तो साथी पाउनु भनेको असली हीरा पाउनु सरह हो।

आफूले भनेजस्तो भएन भने साथी त्यागी हाल्नुपर्छ भन्ने सोच्नु हुँदैन । ‘दोषरहित मित्र’को खोजीमा रहँदा मित्रविहीन एक्लो भइने अवस्था बन्न सक्छ । संसारमा सबै असली हुँँदैनन् । असली हीरा थोरै छ, सबैलाई असली हीरा उपलब्ध हुँदैन । नक्कली हीराहरूले  पनि उपभोक्ताहरूलाई सन्तुष्टि दिएकै छ ।नक्कली साथीहरूले पनि असली साथीको प्यास मेटाउन सक्छन् । साथीहरू जस्तोसुकै होऊन्   बुद्धि र जुक्तिले उपयोग गर्ने हो भने मित्रताबाट नोक्सान हुन सक्दैन । 

सबै खाले साथी काम लाग्छ । आफ्नो अघिपछि वरिपरि चारैतिर सबै खाले साथी बटुलेर बाँच्न जान्ने मान्छे सफल हुन्छ । साथीहरूको माझमा मान्छे सुखी हुन्छ । साथीलाई घृणा नगर्ने र साथीहरूबाट घृणित नहुने मान्छे जसले साथीहरूबाट निरन्तर मित्रता पाइरहन्छ त्यो मान्छे सफल र सुखी हुन्छ । साथीको आँखाबाट जुन व्यक्ति गिरयो, त्यो विचरा हो । मित्रतामा मित्रताबाहेक अन्य दुषित विषाक्तभाव र व्यवहार आउन दिनु हुँदैन । ‘अर्ति सबैको मान्नु’ भनेझैँ जसले यो उपदेश मान्दछ, ऊ मित्रविहीन भएर एक्लो रहनुपर्दैन ।

 ‘साथी’बारे स्पष्ट निक्र्यौल निकाल्न सकिँदैन ।  जीवन, जगत र व्यवहारमा  गणितमा जस्तो कुनै सवालको ट्वाक्कै उत्तर आउन सक्दैन । दहमा नपसी, नडुबी, नभिजी पौडी सिक्न नसकेझैँ आफैले मित्रताबारे अनुभव गर्ने, थाहा पाउने र उपादेयताबारे मनन गर्नेभन्दा अर्को तरीकाबाट ‘साथी’बारे स्पष्ट  पार्न सकिदैन । तापनि यतिचाहिँ भन्न सकिन्छ – जसको जीवनमा  साथीहरू प्रचुर मात्रामा उपलब्ध छैनन्, उसको जीवन उजाड, निरस, शुष्क, खडेरी जस्तो निर्मम हुन्छ । तसर्थ जीवनमा थुप्रै साथीहरू बनाउनुस् । आफूचाहिँ पक्का साथी बनेर मित्रताको कसीमा खरो उत्रिनुस् । मित्रताको नाममा कोही कलंक बन्छ भने त्यो उसैको दोष हुन्छ ।

(साथी निबन्ध संग्रहबाट)

प्रकाशित: ७ माघ २०७७ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App