coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

इज्जतको रक्षा

कथा

 

झ्याम्म परेको बुढो वरपीपलको चौतारी छ । शीतलता प्रदान गर्नु उसको कर्तव्य हो । प्रचण्ड गर्मीमा आफ्नोपनको आभास गराउँछ । प्रेमले काखमा राख्छिन्– जीवनको मीठो अनुभूति हुन्छ । लाग्छ– वरपीपल हाम्रा वृद्ध बाआमा हुन् । समयको वेगलाई रोक्ने क्षमता यसमा छैन । माया प्रेम व्यक्त गर्ने भाषा वा स्वर छैन । मौन भएर केही भनिरहेको छ । आँखामा आशा छ । मनमा विश्वास छ । आमाको काखमा आरोग्यताको आशीर्वाद छ । यो वरपीपलको चौतारी नजिकै अप्सरा र उसको मायाको आवास छ । दीर्घायुको आशीर्वाद पाए पनि आयु एक दिन सकिएरै छाड्छ । अप्सराको तीन दाजु र दुई दिदीको सहारा छैन । एक विन्दु आशाको आमा छ । त्यो आशाको दीपक उज्यालो जीवन दिन नपाई निभ्छ । आमाको आयु सकिएछ । अप्सरालाई छाडेर जानुभएको छ । आफन्तको उपस्थिति छ । अप्सरालाई विपदको भेलले बगाएको छ । ओत लाग्ने छानो उडाएको छ । अविवाहित जीवन साथी को हुने हो अथाह छ।

पाँच जना सन्तानको बिहे गरी सकेपछि भुलचुकमा जन्मिएकी सन्तान अप्सरा हो । अप्सरा जन्मेको दुई वर्षपछि राजेन्द्रप्रसाद लक्ष्मीलाई एक्लो हुन नदिई गए । काखमा अप्सरा थिई । लक्ष्मी उज्याली थिइन् । छिमेकी गङ्गासँग निक्कै मेलजोल थियो । विवाहित छोराहरू लक्ष्मीसँथ टाढिदै गएपछि अप्सरा नजिक छे । अप्सराको जीवनसँग लक्ष्मी चिन्तित थिइन् । समय त कसैलाई पर्खिदैन । सत्र वर्षकी अप्सरासँग दाजुदिदीको  खासै सम्पर्क थिइन । छोराछोरी समान बहिनीमा खासै प्रेमभाव रहेन।

आशा गर्नु कि नगर्नु अप्सरा अन्योलमा परेकी थिइन् । आँखामा अविश्वासको भाव झलकन्छ । घरमा नातेदारको भीड छ । अप्सरा एक्लिएकी छ । गर्मी धेरै बढेको छ । बरन्डामा खचाखच मानिस छन् । आमाको तेर दिनको काम आज सकियो । आमाको मृत्युले दिएको पीडा अव्यक्त छ । बोलाएका मानिसहरू बिस्तारै जाँदै छन् । साँझ झमक्क परेको छ । अप्सराको संसार अँध्यारो छ । सबै सुत्ने तरखर गर्न थाले । अप्सरा कोठाबाट निस्केर छतमा आई । एक तमास विचलित मन थियो । एक्कासि विजुली चम्क्यो । पानी पर्ला जस्तो भयो । साउन महिनाका उखुमै गर्मीलाई आकाशको गर्जनले शीतलता प्रदान गर्न खोजेको छ । अप्सरा कोठामा आई । आँखामा निद्रा छैन।

रात बित्यो । दिन बित्यो । दिदीभिनाजु घर जाने तयारी गर्दै थिए । एक्कासि माइला दाइको चर्को आवाज सुनियो । हल्लाखल्ला भयो । सबै जम्मा भए । अंशको कुरा निस्केको रहेछ । तीन जना दाजुभाइ छलफल गर्दै थिए । सम्पत्ति बाँडफाँड गरे । आमाको गहना लगायत अप्सराको बिहेका लागि आमाले बनाएको झुमका कान्छी भाउजूको भागमा परयो । जेठी दिदी आमाको औठी र माइली दिदी मारवाडी मुन्द्रा पाएर चुप लागिन् । अप्सराको भागमा केही परेन । अप्सराको खर्च र बिहेको कुरा निस्क्यो । जहिले बिहे हुन्छ त्यही बेला बराबर खर्च गर्ने निर्णय भयो ।

दुईवटा कोठाका भाडा उठाएर अप्सराले आफ्नो जीवननिर्वाह गर्ने भनियो । अप्सराको शिक्षादीक्षाको कुरा कसैले निकालेनन् । अप्सरा कोसँग बस्छे ! यो प्रश्नको उत्तर आएन । आमाको मृत्युमा सबै खुशी देखिन्थे । सबैले जागिरमा जानुपर्ने समस्या देखाएर हिँडे । अन्त्यमा घरमा अप्सरा एक्लै भई । गङ्गा काकी आइरहन्थिन् । अप्सरालाई ट्यूसन पढ्ने केटाकेटी खोजिदिएकी थिइन् । अप्सराको मनमा धेरै विचार आए। अप्सरा बिहानबेलुका ट्यूसन पढाएर आएको रकमले सरकारी कलेजमा पढन थालिन्।

विएडको परीक्षाफल आयो । मेहनती अप्सरालाई अंक ल्याएर पास भई । गङ्गाकाकी खुशी भइन् । अप्सरा काकीसँग आफ्नो सबै कुरा भन्छे । गङ्गा काकीको भाइको बिहेको टुङ्गो लाग्यो । अप्सरालाई पनि लिएर गइन् । धूमधाम तयारी हुँदै थियो । रजत राजस्व कार्यालयमा अधिकृत छ । राम्रो घर परिवार छ । बिहेको तीन दिनअघि बेहुलाको घरमाा बाहिरबाट खासै कोही पाहुना आएका थिएनन् । गहना कपडा ल्याइसकेको थियो । रजत साथीसँग बाहिर गएको थियो । केटीका बुबाआमा आए । एक्कासि खबर नगरी आएकाले गङ्गा काकीले भित्र राखिन् । अप्सरालाई चियानास्ता ल्याउन अराइन् । दुवै जना मौन थिए । मुसहारमा पीडा झल्कन्थ्यो ।

ङ्गाले सशङ्कित हुँदै  सोधिन्– के कुरा भन्न लाग्नुभएको हो ? 

नानी तपाईलाई कसरी भनूँ – हाम्रो नाक भाँचेर छोरी हिँडी । तपाई के भन्दै हुनुहुन्छ । हामीलाई माफ गरिदिनुस् आँखामा आँसुको भेल बगेको थियो । दुवै जना बिस्तारै उठे । बाहिर निस्केर हराए । गङ्गा स्तम्भजस्तै खडा थिइन् । अप्सरा चिया लिएर आई । काकी के भयो भन्दै घच्घच्याई । गङ्गा छक्क परिन् । उनलाई सपना कि विपना के हो छुटयाउन मुस्किल भयो । रजतलाई फोन गरेर घरमा बोलाइन्। एक्लै राखेर रजतलाई बेहुली अरू कुनै केटासँग भोगेको खबर बुबाआमाले भन्न आएको भनिन् । रजत छक्क परयो । स्तब्ध थिए।

गङ्गाले सोधिन्  –अप्सरा तँलाई कस्ती लाग्छ ?

रजतले छक्क पर्दै भन्यो   तर दिदी अप्सरालाई कस्ले भन्छ ।  

गङ्गा बोलिन् – म अप्सरालाई लिएर आउँछु । अप्सरा भान्सारमा काम गर्दै थिई।  गङ्गाले बोलाइन् रजत भएको ठाउँमा ।  दुवै जना आए । गङ्गा छक्क परिन् ।

“काकी तपाई के भन्दै हुनुहुन्छ । यो सम्भव छैन । मसँग केही छैन । मेरो बिहेमा खर्च कसैले गर्दैनन् । फेरि रजत दाइको बिहे त ।”  

बिचैमा कुरा काटेर गङ्गा बोलिन् – त्यो केटी अर्को केटासँग भागी । अप्सरा तँ रजतसँग विहे गर्छेस् । आँखामा आँसु आयो बोल्दाबोल्दै गङ्गाको अनुहार रातो भयो । मेरो इज्जत बचाइदेऊ अप्सरा  भन्नासँग अप्सराले स्वीकृतिको टाउको हल्लाई। 

गङ्गाले अप्सराको दाजु र दिदीलाई खबर गरिन् ।  खबर पाए पनि खर्च पर्ने डरले कोही पनि आएनन् । मनभरि सँगालका खुसी र सपनाहरू व्यक्त गर्न नपाई अप्सरा बेहुली भएर रजतको घरमा भित्रिई ।  

प्रकाशित: ७ माघ २०७७ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App