coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महिलामाथि किन भेदभाव ?

अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस)को अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिको संयुक्त आयोजनामा आइतबार महिला सशक्तिकरणसम्बन्धी विश्व सम्मेलन भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै इजरायलका लागि नेपाली राजदुत डा. अंजान शाक्यले भनिन्, “महिलाहरू समाजका ज्योति हुन्। यदि देशलाई सर्वांगीण विकास आवश्यकता छ भने देशका सबै क्षेत्रमा महिला सहभागिता आवश्यक छ।’ 

त्यसैगरी प्राडा. मीरा मिश्राले “नेपाली महिलाको अवस्था, महिला सशक्तिकरणका लागि गरिएका प्रयास र अग्रगामी मार्गहरू’ बारे आफ्ना धारणा राखेकी थिइन्। 

‘लैङ्गिक सन्तुलन र लैङ्गिक समानताका लागि महिलाले भान्छाको जिम्मेवारी र कानूनभन्दा पर जानैपर्छ, राम्रोसँग बुझ्नु र कार्यान्वयन गर्नुपर्दछ’, उनले भनिन्।

प्राडा. विन्दु पोखरेलले ‘महिला, समाज र राजनीतिः नेपालमा महिला सशक्तिकरणको सन्दर्भमा विश्वमा महिलाको स्थिति’  विषयमा कार्यपत्र प्रस्तुत गर्दै भनिन्, ‘हाम्रो समाजमा उच्चस्तरमा लैंगिक विभेद छ। यदि नेपाली महिलाले मानसिकता परिवर्तन गरेनन् आफ्नो वृत्तिविकास गर्नु भनेको राम्रो श्रीमान प्राप्त गर्नु हो भन्ने सोच मात्र राखे भने कहिल्यै सशक्त हुन सक्दिैनन्।’

अर्की महिला अधिकारकर्मी पत्रकार नम्रता शर्माले ‘कानून, ऐन, संविधान, र महिला सशक्तिकरण’ लाई प्रकाश पार्दै भनिन्, ‘संयुक्त राष्ट्र सङ्घले मानवअधिकारको सुनिश्चितता गरिसकेको छ र विश्वका धेरै देशले पहिले नै एउटा समूह बनाइसकेका भए पनि महिला अझै विश्वव्यापी विभेदमा परेका छन्।’ 

उनले थपिन्, ‘हामी सबैले प्रश्न सोध्नुपर्दछ कि मानव अधिकारको घोषणा गरेको झन्डै एक शताब्दीपछि पनि महिलालाई भेदभाव किन गरिएको छ?’ 

महिला, बालाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकि चिन्तक शान्तालक्ष्मी श्रेष्ठले, ‘महिलावादी आन्दोलनको ऐतिहासिकता र यसको प्रभाव’ विषयमा भनिन्, ‘महिलाले अझै पनि चाहेको उपलब्धि हासिल गर्न अझ धेरै लामो यात्रा गर्न बाँकी छ। त्यसैले निरन्तर क्रान्ति हुनुपर्दछ।’

शिक्षा अभियन्ता डा. जानुका पौडेलले, ‘साहित्य, महिला र महिला सशक्तिकरण’ विषयमाथि प्रकाश पारिन्। उनले आफ्नो कार्यपत्रमा नेपाली साहित्यका सबै प्रख्यात र सम्मानित योगदानकर्ताहरूलाई सम्बोधन गरिन्।

मानवशाश्त्री तथा पत्रकार डा. बार्बरा निम्री अजीज (युएसए) ले “नेपालमा महिलासँग काम गर्दाका प्रतिबिम्ब ( बौद्ध भिक्षुणिदेखि लिएर कट्टरपन्थी राजनीतिक असन्तुष्टहरू ( १९६९देखि अहिलेसम्म’ शीर्षकमा अनुभव सुनाइन्।

त्यस्तै शरीर कलाकारिताविज्ञ र महिला इतिहासकार डा. लरिसा डोमिन (जर्मनी) ले ‘विश्वमा महिला सशक्तिकरणको इतिहास, संस्कृति, चुनौती, विरोधाभास र मार्गचित्र’ शीर्षकमा अभिव्यक्ति दिइन्। 

‘विश्वभर नै महिला सशक्तिकरणमा धेरै काम खड्किरहेको छ’, उनले भनिन्।

महिलाविद्वतविज्ञ सुसाना क्रिमर (अस्ट्रिया)ले ‘ज्ञान् , दृष्टिकोण, पद्धति र संसारमा महिला ज्ञानको संकट’ शीर्षकमा ज्ञान बाँडिन्।  

उक्त सम्मेलनले महिलाको अवस्थालाई पुरुष बराबरीमा ल्याउन प्रस्तावहरू कार्यान्वयन गर्न प्रत्येक देशको सरकारलाई दबाब दिने गरी १० बुँदे प्रस्ताव पारित गरेको छ।

कार्यक्रमलाई सुचारु गर्न उपाध्यक्ष डा. स्वामीकृश्न, महासचिव अर्जुनश्री राउत र  प्रवक्ता चन्द्रकुमार फुयाललगायत वरिष्ठ उपाध्यक्ष श्याम सुवेदी तथा उपाध्यक्ष ईश्वर राईले भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा चर्चित कविहरू दिक्षा भण्डारी तथा दिप शाह (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), उर्मिला निर्दोषी (अमेरिका) लगायतले कविता बाचन गरेका थिए।

आईएनएसका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रका मुख्य कार्यकारी निर्देशक अर्जुन घिमिरेको अध्यक्षतामा संचालित सम्मेलनमा मुख्य अतिथि प्राडा टंकनाथ शर्मा (पूर्वडीन, केयू) थिए भने अन्य अतिथिहरूमा इजरायलका लागि नेपाली राजदूत डा. अंजन शाक्य, प्राडा रामप्रसाद उपाध्याय, प्राडा वासुदेव काफ्ले, प्राडा सुशन आचार्य, सहप्राडा भगवती उपाध्याय, प्राडा लक्ष्मण ज्ञवाली, सह प्राडा प्रकाशचन्द्र भट्टराई, सह प्राडा सुरेशचन्द्र गौतम, प्राडा मोतीलाल घिमिरे, समालोचक तथा विश्लेषक प्राडा रेणु थापा, प्राडा विष्णु कार्की, प्राडा पुष्पलाल दमाई, महेश पौडेल, सह प्राडा नारायण गैरे, डा तारामणि राई, डा भूपाल पाण्डे, सह प्राडा पुष्पा घिमिरेलगायत थिए।  

प्रकाशित: ७ माघ २०७७ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App