११ असार २०७८ शुक्रबार
कला

भैरवनाथको ‘बाँची नै रह्यो केवल चाह’

दृष्टिकोण

नेपाली साहित्य संगीत र कला जगत्मा पाँच भैरव छन्, भैरव अर्याल, भैरवबहादुर थापा ( पराजुली), भैरवनाथ रिमाल कदम, भैरवबहादुर थापा र भैरव रिसाल।  

त्यसमध्ये दुई भैरवले प्रस्थान गरिसेका थिए, तीन भैरव जीवित थिए। ती तीनमध्ये तेस्रो भैरव अर्थात् भैरवनाथ रिमाल कदम पनि यसपालि गए, शनिबार २.३० बजे।  

मलाई खबर उनकी छोरी रेखा ढकालले गरिन्। एउटा अप्रत्याशित खबर मेरा निम्ति, म स्तब्ध भएँ।  

रेखा भन्दै थिइन्, ‘हजुरलाई खबर गर्नु भनेर कसैले भन्नुभयो। हजुर स्रष्टा साधकलाई माया गर्ने मान्छे।’

म समाचार सुनेर अवाक् भएँ, यो मेरा निम्ति मात्र नभई नेपाली संगीतका निम्ति नै कति ठूलो शोकको कुरा थियो। मैले फोन काटेपछि धेरैबेर उहाँको बारेमा सोचेँ। उहाँसितको भेट, आवतजावत अनि गीत–संगीतको चर्चा र उहाँको बाल्यकालका केही अविस्मरणीय क्षण, जो उहाँ भन्ने गर्नुहुन्थ्यो।  

गीतकार भैरवनाथ रिमाल कदमसित मेरो भेट करिब ३०–३५ वर्षअघि भएको थियो, रेडियो नेपालको प्रांगणमा। त्यसपछि नियमित नभए पनि कहिलेकाहीँ भेट भइरहन्थ्यो, रेडियो नेपालबाहिर र रेडियो नेपालभित्र पनि।

त्यतिबेला उहाँका गीतहरू चर्चाको शिखरमा थिए– ‘जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ’, ‘उदास मेरो जीवनकथा कसैलाई भनिनँ’, ‘जिन्दगीका पानाभरि सुख भेटिँदैन’, यी सबै गीत त्यतिबेला रेडियो नेपालबाट बज्ने प्रायः गीतिकथामा प्रयोग हुने गर्थे। विशेषतः ट्रेजिडी कथामा। निरोधराज पाण्डे, सूर्यकुमारी पन्त, धना लामा, पाण्डव सुनुवारका स्वरमा उनको नाम धेरैपटक सुन्ने मौका मिल्यो।  

रेडियो नेपालमा नाटक खेल्ने र रेकर्डिङ गर्ने क्रममा जाँदा नाटकका गुरु हरिप्रसाद रिमाल, समाचारवाचक कल्याण रिमाल र गीतकार भैरवनाथ रिमाल मलाई एउटै परिवारका वा नातागोता हुन् कि जस्तो लाग्थ्यो।  

हरिप्रसाद रिमालले उहाँको विशेष किसिमले परिचय दिनु भएपछि मैले उहाँलाई एक सच्चा गीतकारका रूपमा चिनेँ, अथवा त्यो समय मेरा निम्ति त्यो परिचय नै पर्याप्त थियो।  

त्यतिबेला उहाँका गीतहरू चर्चाको शिखरमा थिए– ‘जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ’, ‘उदास मेरो जीवनकथा कसैलाई भनिनँ’, ‘जिन्दगीका पानाभरि सुख भेटिँदैन’, यी सबै गीत त्यतिबेला रेडियो नेपालबाट बज्ने प्रायः गीतिकथामा प्रयोग हुने गर्थे। विशेषतः ट्रेजिडी कथामा। निरोधराज पाण्डे, सूर्यकुमारी पन्त, धना लामा, पाण्डव सुनुवारका स्वरमा उनको नाम धेरैपटक सुन्ने मौका मिल्यो।  

भैरवनाथ रिमाल गीतकारितामा थिए, भैरवबहादुर थापा संगीतकारितामा र अर्का भैरबवहादुर थापा नृत्य गुरुका रूपमा चर्चित थिए। त्यसबाहेक रेडियो नेपालमा अर्का भैरव थिए– भैरवलाल जोशी, जो रेडियो उद्घोषक र कार्यक्रम उत्पादकका रूपमा चिनिन्थे। उनै भैरवलाल जोशीले एक दिन आफ्ना भाइ गायक संगीतकार द्वारिकालाल जोशीको स्वरमा रेडियोमा अर्को एउटा गीत बजाए, जुन गीतपछि मेरो दूर दृष्टिमा गीतकार भैरवनाथ रिमाल कदम दर्ता भए, शुद्ध रूपमा एक गीतकारका रूपमा।  

समय बदलिँदै गयो, रेडियो नेपालको चार्म घट्दै वा एफएमको नाम बढ्दै गएपछि एक दिन संयोगले म पनि एफएमसित आबद्ध हुन पुगेँ, अजम्बरी गीतसंगीतमार्फत। यस कार्यक्रमसित आबद्ध भएपछि फेरि हराइसकेका भैरवनाथ रिमालसित पुनः भेट भयो, नेपाल राष्ट्र बैंकको प्रेक्षालयमा।  

कार्यक्रम सकेपछि सबै छुटेर गए, उहाँ मलाई पर्खेर बस्नुभएको थियो चुपचाप।  

सुरुवाल, कमेज अनि बाहिर पोसाकमा स्वेटर। हातमा आफ्ना थुप्रै कृतिको संग्रह र नयाँ रचनाको कपी। हामीबीच धेरै बातचित् भए तर विशेषतः अजम्बरी गीत–संगीत र त्यसमा बज्ने गीतबारे कुरा भए। कार्यक्रमबारे उहाँका विचार अनि मलाई दिनुपर्ने सुझाव पनि उहाँले राख्नुभयो।  

उहाँले आफ्नो नामको पाश्र्वभूमिमा रहेको ‘कदम’को व्याख्या पनि गर्वका साथ गर्नुभयो। नातिकाजी, फत्तेमान, भैरवबहादुर थापा, कोइलीदेवी, तारादेवी, मधु क्षेत्री, नारायणगोपाल, प्रेमध्वज प्रधान सबैका कुरा उहाँले गर्नुभयो तर नारायणगोपालको कुरामा उहाँको प्रेम, स्नेह, सद्भाव र समर्पण व्यापक थिएँ।

भोलिपल्ट मलाई उहाँले आफ्नो घर बोलाउनुभयो। उहाँको घर चावहिलको बुलुबुलेमा म पुग्दा उहाँ आफ्ना गीत र गीतिकासहित उभिनुभएको थियो।  

भैरवनाथ रिमाललाई मैले चिनेको गीतबाट हो, तर उहाँलाई भेटेपछि मैले उहाँलाई दुई कारणले नजिकबाट चिनेँ– कतिपय गीतकार नारायणगोपालले आफ्नो गीत नगाइदिएकामा गुनासो गर्छन्। बाँकी केही गीतकार नारायणगोपाल आफ्नो गीतबाट नारायणगोपाल चिनिएकामा घमण्ड देखाउँछन्। ती दुवै सही हुन् वा गलत म जान्दिनँ, तर भैरवनाथ रिमाल ती दुवै कोटामा पर्नुहुन्न थियो, उहाँ त नारायणगोपालले आफ्नो गीत गाइदिएकामा गर्व गर्नुहुन्थ्यो। कहिलेकाहीँ नगाएकामा पनि गर्व गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, त्यो गीत महाराजलाई सुहाउँदैनथ्यो, ठीकै गर्नु भो।  

नारायणगोपाल बितेपछि भैरवनाथजी धेरै दुःखी र शोकित भएको मैले देखेँ तर नारायणगोपाल बितेपछि पनि नारायणगोपालको शून्य घरमा नारायणगोपालकी पत्नी पेमाला गुरुवाचार्यलाई भेट्न आइरहने बिरलै गीतकारमध्ये उहाँ एक हुनुहुन्थ्यो।  

नारायणगोपाल पत्नी पेमालाले उहाँको निधनपछि यो घरमा धेरै कवि लेखक र सञ्चारकर्मीले पाइलै हाल्न छाडे भन्ने गर्नुहुन्थ्यो।  

उहाँ नारायणगोपालको पुण्यतिथिमा मंसिर १९ गते बिहानै नारायणगोपाल चोक पुगेर श्रद्धाञ्जली अर्पण गरिसक्नुहुन्थ्यो र नारायणगोपाल निवासमा हुने सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा अघिल्लो दीर्घामा बसिसक्नुहुन्थ्यो।  

ती थिए, नारायणगोपालका मायालु भैरवनाथ। नारायणगोपालले उनलाई अरूसित चिनाउँदा गुरु भन्थे, उनी नारायणगोपाललाई महाराज भन्थे।  

पछिल्लोपटक उहाँलाई नारायणगोपाल संगीत कोशले अरू नौजना गीतकारका साथ स्वरसम्राट स्मृति सम्मान प्रदान गर्दा उहाँ आफ्नी छोरीका साथ ट्याक्सीमा आउनुभएको थियो, मैले उहाँलाई स्वागत गरेँ, अलिअलि कामिरहनुभएको थियो। उहाँले इसाराले बिरामी छु, कमजोर छु भन्नुभयो।  

धेरैले थाहा नहोला, उहाँ लामो समयदेखि कान सुन्नुहुन्नथ्यो। उहाँले भने अनुसार उहाँको कानमा धेरै पहिले साइकलको ह्यान्डिलको डन्डी पसेको थियो। यही पीडाले उहाँले कानको श्रवण शक्ति गुमाउनुभयो। आफ्ना गीतहरू पनि उहाँ एउटा हियरिङ फोन लगाएर सुन्नुहुन्थ्यो।  

नारायणगोपाल निवासको परिसरमा त्यो दिन गायिका मथुरा श्रेष्ठ प्रधान, प्रकाश श्रेष्ठ, कवि मुरारि सिग्देल हामीमाझ उहाँ हुनुहुन्थ्यो। पछि उहाँ आफूसँग समादृत हुने स्रष्टाका साथ मञ्चमा चढ्नुभयो। नेपथ्यमा उहाँले रच्नुभएको नारायणगोपालले गाएको गीत गुञ्जिँदै थियो– जुन फूल मैले चाहेको थिएँ...।

गीत सकिएपछि उहाँ उभिनुभयो र उहाँको सम्मान कार्यक्रम सम्पन्न भयो, उहाँका साथमा कवि माधव घिमिरे, चेतन कार्की, दुर्गालाल श्रेष्ठ, यादव खरेल, कालिप्रसाद रिजाल आदि पनि सम्मानित हुनुभएको थियो।  

सम्मान कार्यक्रम सकिनुअघि नै उहाँ सो स्थानबाट प्रस्थान गर्नुभयो, कारण उहाँको औषधि सेवन र आराम गर्नु पर्ने अवस्था रहेछ।  

नारायणगोपाललाई अत्यन्त माया गर्ने गीतकार भैरवनाथ रिमाल कदमको गीतमा रेकर्डिङका बेला नारायणगोपालले ‘केवल चाह’ गाउनुपर्नेमा ‘केवलचाहिँ’ गाएर रेकर्ड गर्नुभएछ।  

कदमजीले भोलिपल्ट घरमा सुन्दा अशुद्ध भएछ, उहाँले ‘चाह हुनुपर्ने अन्यथा भएछ महाराज’ भन्नुहुँदा नारायणगोपालले कन्फिडेन्सका साथ ‘गुरुजी, नआत्तिनुस्, त्यसले केही फरक पर्दैन। मैले गाएपछि चल्छ।’  

यो कुरा उहाँ रमाइरमाई सुनाउनु हुन्थ्यो।  

नारायणगोपाल बितेको कैँयौ समय उहाँले गीत लेख्नुभएन, उहाँका अनुसार। तर आफ्ना गीतमा उनी सदैव नारायणगोपाल गुञ्जेको सुन्थे।  

नारायणगोपालसितको उनको एसोसिएसन गज्जब छ, उनका बहुतायत गीतमा नारायणगोपालले संगीत गरेका छन्। एउटा अनौठो कुरा के छ भने, नारायणगोपालले आफूले संगीत गरेका कमै गीत अरूले गाएका छन् तर ती कमै गीतमध्ये भैरवनाथजीका रचना पर्छन्।  

नारायणगोपालको संगीतमा कन्हैयाकुमार, फत्तेमान राजभण्डारी, अरूणा लामाले मात्र स्वीकृतिका साथ गाएका छन्, त्यसमध्ये सबैजसो गीत भैरवनाथजीको रचना नै पर्दछ।  

नारायणगोपालको संगीतमा अरूणा लामाले गाएको गीत कदमकै रचना हो,  

‘उदास मेरो जीवन कथा कसैलाई भनिनँ...।’  

यो गीत आफ्नो पतिको निधनपछि अरूणा लामाको परिचायक गीत बन्न पुग्यो।  

अरूणा लामाले प्रायःजसो गीत अम्बर गुरुङ, शरण प्रधान, गोपाल योञ्जन, कर्म योञ्जन, दिव्य खालिङ आदिका संगीतमा धेरै गाएकी छिन्। तर नातिकाजी र नारायणगोपालको संगीतमा एउटै गीत गाएकी छिन्।  

कदमको रचनामा नारायणगोपालको संगीतमा धेरै गीत फत्तेमान राजभण्डारीले गाएका छन्–  

‘जिन्दगीका पानाभरि सुख भेटिँदैन,  

सधैँ भर विवशताको कथा मेटिँदैन।  

नचिनेझैँ गरुँ भनेँ मन यो मान्दैन,  

पराई यो ठानुँ भनेँ वाचा हारिँदैन।  

शान्तिको धारा सदैव कलकल बग्ने नेपाल

विश्वको महान् शिरताज विराजमान हिमाल...।

यी गीतमा नारायणगोपालको संगीतको ढप त छँदैछ, तर त्यसभन्दा बहुधाधिक्य रूपमा निजीपनको अस्तित्वबोध अनि कदमसितको सान्निध्यको नवीनीकरण झल्किन्छ।  

नारायणगोपालले आफ्नो जीवनकालमा धेरै कम राष्ट्रिय गीत गाएका छन्, त्यसमध्ये लक्ष्मण लोहनीको रचनामा एउटा र कदमको रचनामा गाएका छन्। संयोगले कदमको रचनाका गीत नारायणगोपालले चन्द्रराज शर्माको संगीतमा गाएका छन्–  

मुटुको हरेक नसा–नसामा तातो साहस उमाली  

प्रण गर्छौं सदा देशको निम्ति एक भई नेपाली...।

यो राष्ट्रिय गीतमा कदमले गर्वका साथ देशको गुण गाएका छन्,  

हिमाल मेरो विशाल चुली नदेख्ने को छ र ?  

यो कर्मभूमि, बुद्धको जन्म बिर्सने को छ र ?  

नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कणकण

पहरा गर्छौं धैर्यले हामी दिएर तनमन...।

कदम र नारायणगोपालको यात्रा गीतभित्र मात्र सीमित छैन। आर्थिक कारोबार, ऋण सहयोग अनि यात्राका विषयमा पनि केन्द्रित छन्। नारायणगोपालले आफ्नो महाराजगन्जको मिलिजुली टोलमा घर बनाउँदा कदमसँग आर्थिक सहयोग मागेर पत्र लेखेका छन्।  

कदमले पहिलो तलाको निम्ति छड र इँटाको व्यवस्था गरिदिएको कुरा स्विकारेका छन्।  

राजदरबारबाट ३९ हजार रूपैयाँ अफर गर्दा गीत नगाउने स्वाभिमानी नारायणगोपालले कदमसित साथ सहयोग मागेका छन्। नारायणगोपालको जीवनको बिरलै घटनामध्ये यो एउटा पनि हो, बिर्सनै नसकिने।  

नारायणगोपालबाहेक कदमका रचना उस्ताद भैरवबहादुर थापाले ‘पारिलो घाम छाडेर परदेश नजाऊ माइला दाइ’ जस्ता गीत रेकर्ड भएका छन् भने गायिका डेजी बराइलीले चन्दन लम्जेलको संगीतमा भिखारी हुँ म हिँड्छु, सधैँ जंगल चहारी गाएकी छिन्।  

रेडियो नेपालकी प्रथम महिला संगीतकार कोइलीदेवीको संगीतमा मधु क्षेत्री, रचना जिसी, संगीता शाक्य थापा आदिले गाएका छन्।  

सरल र सरस शब्दमा गीत लेख्ने कदमले आफ्नो उपनाम कदम (करुणा, दया र ममता) नेपाली साहित्यका त्रिदेव देवकोटा, लेखनाथ र समलाई आदर गरेर राखेको कुरा स्विकारेका छन्। उनी तीनैजना स्रष्टालाई देवतुल्य मान्थे।  

उदार हृदयका कदमले लामो समय श्री ५ को सरकारको रक्षा विभाग अनि मुद्रण शाखामा काम गर्नुभयो। त्यहाँ रहँदा उहाँले कलाकारलाई (विशेषतः गायक–संगीतकारलाई ) हरतरहले सहयोग गर्नुभयो।  

कदमकै रचनामा धेरै गीत गाउने गायिका संगीता शाक्य थापाले उहाँको स्मरण गर्दै भन्नुभयो, ‘उहाँले गीत गाएपछि बोलाएर खाममा हालेर पैसा दिनुहुन्थ्यो। त्यो म कहिले बिर्सन्नँ।’  

कदमको अन्तिम गीतको रेकर्डिङको तयारीमा रहेकी संगीता शाक्यले आफ्नो नोस्टाल्जिक एपिसोडमा बताइन्।  

१९९२ माघ २ गते काठमाडौंको गल्कोपाखामा जन्मनुभएका कदमले सुरुवातमा कविता, कथा, नाटक पनि लेख्नुभयो। ‘धने’ उहाँको एउटा लोकप्रिय नाटकमध्ये हो।  

कदमको ‘हुँ यात्री एउटा रुमलिई हिँड्ने जंगली पातमा’ बोलको गीतमा शुभबहादुरको संगीत र दीप श्रेष्ठ स्वर रहेको छ। दीप श्रेष्ठ र मधु क्षेत्री उनका प्रिय गायकमध्ये हुन्। दीप श्रेष्ठले आफ्नो संगीतमा ‘यो कथा जिन्दगीको’, ‘झस्किएछ मन मेरो झझल्कोमा तिम्रो’ गाएका छन्। गायक प्रकाश श्रेष्ठले दीप श्रेष्ठको संगीतमा कदमको रचनामा अर्को गीत गाएका छन्–  

मेरोजस्तो जिन्दगीमा केको मूल्य हुन्छ,  

बालुवाको थोपामा पसिनाको थोपाजस्तै हुन्छ।  

यो गीतमा प्रकाश श्रेष्ठ पूर्णतः दीप श्रेष्ठको शैलीमा भन्दा माणिकरत्न शैलीमा दृश्यमान भएका छन्, यो गीत सम्भवतः दीप श्रेष्ठ र प्रकाश श्रेष्ठको एसोसियनको एउटै मात्र निसानी हो।  

दीप, मधु क्षेत्रीपछि कदमले विशेष चिनाउने गायक हुन्– सदावहार गायक अरूण थापा। अरूणले आफ्नै संगीतमा शिव रञ्जिनी रागमा संगीत गरेको ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’ सर्वाधिक चर्चितमध्ये एउटा गीत हो।  

अरूण थापाको गायिकी अनि स्वरमा पीडा र पीडाको अनुभूति एकसाथ देखिन्छ। नेपाली गीतमा सुकोमल शब्दमा गीत लेख्ने मुलायम गीतकार कदमपछि पप गायक ओमविक्रम विष्टको स्वरमा यसरी गुञ्जिए– जीवन त्यसै उजाड छ...।

अनौपचारिक संगीतबाट आफ्नो गायन यात्रामा सफल भएका गायक विष्टले २०२८ सालमा शास्त्रीय शैलीको गीतबाट आफ्नो परिचय बनाइसकेका थिए, तर कदमको यो गीत त्यसैको माइलस्टोन हो भन्दा फरक पर्दैन। ओमविक्रमको पृथक् परिचयको यो गीत पनि कदमकै रचनामा थियो।  

कदमलाई गीतकारका रूपमा उजिल्याउनमा अहं भूमिका निर्वाह गर्ने गायिकामा तारादेवी, कोइलीदेवी, ज्ञानु राणा, रचना जिसी, संगीता शाक्य थापा, मथुरा श्रेष्ठ, डेजी बराइलीको नाम अग्रपंक्तिमा आउँछ।  

कदमले गीत लेख्न सुरु गर्दा रेडियो नेपालमा ठाकुरनाथ रिमाल, तारिणीप्रसाद कोइराला, माधवप्रसाद खनाल भावुक गुन्जिसकेका थिए। पछि उनीसँगै लस्करमा धेरै गीतकार आए, धेरैले उनलाई साथ छाडेर अघि बढे, तर उनी आफ्नो कित्तामा शान्त मुद्रामा टिकिरहे...।

बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी,  

त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी।

चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र।  

मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र ?  

सम्पूर्णतः एउटा मौन साधनामा रहेका एक मौन यात्रीलाई गीतकार संघले राष्ट्रिय गीतकार सम्मानले गरेको इतिहास गीतकार संघका पूर्व अध्यक्ष चूडामणी देवकोटाले व्यक्त गर्नुभयो सामाजिक सञ्जालमा।  

कदमको निधन भएको दिन उनका समवर्ती नृत्यकार भैरवबहादुर थापाले भन्नुभयो, अत्यन्त सज्जन मेरा एक मित्रको निधनप्रति मलाई दुःख लाग्यो। उनी हल्लाखल्ला, आत्मस्मृति अल्मलिने मान्छे होइनन्। उनमा हार्दिक श्रद्धाञ्जलि !

लामो समय विभिन्न रोगले ग्रस्त हुनुभएका कदमलाई पछि अल्जाइमरले सताएको कुरा उहाँका छोरा अभिषेक रिमालले बताउनुभयो।  

भैरवनाथ रिमाल कदमको लामो गीति यात्रामा उनको शरीरले दम तोडे पनि उनका गीतले दम छाड्ने छैन।

प्रकाशित: ३ माघ २०७७ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App