११ माघ २०७७ आइतबार
कला

धनको झोला

लघुकथा

गंगा दाहाल न्यौपाने 

 

शहर गएर स्नातकसम्म पढेर जागिर खोज्दाखोज्दै आफ्नो सपना हराएपछि गाउँमै फर्केको रविनलाई बाले हौसला दिँदै भने – बाबू, छोड्दे चिन्ता गर्न । पुर्खाले छोडेको जमिन बाँझिएर गएको छ । बरु यही माटोलाई सिंचित गरे न कामको खाँचो हुन्छ न खानको खाँचो ।

बाको कुरा  नसुनेर पनि सुन्नेझैँ झोक्राइरहेको  रविनले एक्कासि भन्यो – बा बरु म विदेश जान पर्यो। केही वर्ष कमाएर ल्याउँछु अनि त्यही पैसा लगानी गरेर बिजनेस गर्छु ।

निराश हुँदै बाबुले भने – विदेश जान पनि ठूलै बिटो चाहियो नि ।  हामीजस्ता गरीबले त्यत्रो पैसा कहाँबाट ल्याउने । तेरो पढाइमा खर्च भएको विस हजार रुपैयाँ तिर्न नसकेकाले तेरै काका भनाउँदाले कति वचन लाइसक्यो ।

रविनले निर्धक्क भन्यो – बा खेत नै बन्धकी राख्नुपर्यो । विदेश गएर कमाएपछि सबै ऋण तिरिहाल्छु नि ।

कटक्क मन दुखाउँदै बूढाले आफ्ना ठेला उठेका खस्रा हात हेर्दै भने – बाबू, मेरा जस्ता खस्रा हात तेरा देख्न नपरोस् भनेर यत्ति ठूलो कक्षासम्म पढाएँ ।

आँखाबाट तरर्र आँसु खसाल्दै भित्र पसेर लालपुर्जा ल्याए र छोरालाई दिए । चाँजोपाँजो छोराले नै मिलायो । उनले ल्याप्चे मात्र लाए ।  

छोरा उडेको तीन महिना बित्यो । चिठीखबर केही आएन ।

एकदिन खबरै नगरी टुप्लुक्क आँगनमा आइपुगेको छोरालाइ बाजेले झ्यालबाट देखे र सोचे – विदेशाँ त पैसा बोटैमा फल्छ कि के हो कति छिट्टै झोला भरेर ल्यायो ।

हत्तपत्त आँगनमा आएर बूढा केही बोल्न नपाउँदै रविनले भन्यो – बा हजुरको कुरालाई इन्कार गरेर मैले विदेशमा पाउनुसम्म ठोकर पाएँ । त्यति लगानी यहीँ गर्न पाएको भए मेरो समय खेर जाने थिएन । न मैले ठोक्कर खानुपर्थ्यो । अब म यही माटो पसीनाले सिन्चित गर्न चाहन्छु ।

बन्धकी राखेको खेत बिर्सेर बूढाले आँखाभरि आँसु झार्दै छोरालाई गर्ल्याम्म अँगालो हाले ।

प्रकाशित: १ माघ २०७७ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App