coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साइनो

लघुनिबन्ध

 

साइनो लाउने जिन्दगी रमाइलो हुन्छ, जिउन जाने सजिलो पनि । सबै सँगसँगै रमाईरमाई खेल्दै खाँदै रमाउन सकिन्छ । हो, जिन्दगी रमाइलो छ । सजिलै जिउन सकिन्छ । समाजको काइदा कानुनको कदर गरी व्यवहारले नैतिक मूल्यको जतन गर्ने जिन्दगी रमाइलो हुन्छ र सजिलो पनि । यसरी  साइनो लाएको जिन्दगीको वरिपरि असजिलो आउन सक्दैन ।

मान्छे आफैं समाज बिथोल्छ, स्वार्थमा खुम्चिन्छ, अनैतिक आचरण गर्छ, ठगेर रमाउँछ र छलेर खान पल्कन्छ । जनविरोधी बन्दै जान्छ अनि जिन्दगी भड्खालोमा पर्छ, असजिलो सुरु हुन्छ । अरिँगालको गोलो नछोएसम्म सुरक्षित भइएझै अनुशासन नमिचे जिन्दगी सजिलो हुन्छ । तर, जब सत्ता शक्तिको उन्माद उम्लेर दुरूपयोग हुन थाल्छ जिन्दगीमा सन्त्रास सुरु हुन्छ । अगाडिपछाडि सुरक्षा घेरा आवश्यक पर्छ।

सरल,सरस, इमानदार जिन्दगी सधैं सुरक्षित हुन्छ । यसले सुरक्षाकर्मीको सहारामा बाँच्नु पर्दैन । मानवीय संवेदनासँग साङ्लिएर आत्मीय बन्न कन्जुस्याइँ नगर्ने जिन्दगी रमाइलो हुन्छ । कसैलाई होचीअर्घेली नगर्ने जिन्दगीमा खतराको घन्टी बज्दैन ।

समस्या त्यहाँ जन्मन्छ जहाँ एक्लै हाँस्ने स्वार्थ बस्छ । सधैं सबै सँगै खुसी हुने वातावरण बनाउने जिन्दगी सुखी ,सजिलो, रमाइलो र आनन्ददायी हुन्छ । महल र झोपडी बिचको खाडल पुरिएर व्यवहारले जबर्जस्ती तानिरहेको असमान शैलीको विभेद निर्मूल पार्ने जिन्दगी शालीन हुन्छ, सौम्य बन्छ र  डर – त्रास रहँदैन । यस्तो समभावले सहृदयी साइनो लाउने जिन्दगी बिउँझन सक्छ । बिउँझेको जिन्दगी मुस्कुराउँछ, मुस्कुराएको जिन्दगी रमाइलो हुन्छ , सुखी हुन्छ ।

हो, सुकिलो मन, फराकिलो मस्तिष्क, वैज्ञानिक विचारले निर्देशित जिन्दगी जिन्दगीजस्तै फुल्न र फक्रन पाउँछ ।

फुल्ने र फक्रने जिन्दगी सुखी, सुरक्षित र सजिलो हुन्छ । सजिलो जिन्दगीमा निर्बाध सबै अटाइन्छ । सधैं सबै अटाइने जिन्दगी सुरक्षित, सुखी, सजिलो र रमाइलो हुन्छ।  

प्रकाशित: २९ पुस २०७७ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App