६ वैशाख २०८१ बिहीबार
कला

डढेलो

लघुकथा

कृष्णजी शर्मा

 

अचानक आकाशै छुने गरी शहरको घरहरूमा डढेलो लागेको र आगोका लप्काहरू  मैले देखेँ । डढेलोले ठूलाठूला घरहरूलाई लपेट्दै तीव्र गतिमा अघि बढेर गाउँतर्फ आउँदै थियो । भित्रभित्रै मेरो मन भयग्रस्त भयो । मेरी श्रीमती र सानो छोरा साथमै थिए।

– त्यो लप्का हाम्रो गाउँ पस्यो भने अस्ट्रेलियाको जङ्गलमा लागेको डढेलोले लाखौँ लाख जङ्गली प्राणी खाक बनाएझैँ, मान्छेहरू खाक बनाउनेछ । श्रीमतीले पनि भय ओकलिन् ।

– मान्छेको क्षमता र नियन्त्रणभन्दा बाहिर ताण्डव नृत्य देखाइरहेको यो डढेलो हामीसम्म आउन के बेर । तर, म कामना गर्छु, त्यो डढेलोको लप्का हामी सम्म नआइपुगोस् । मैले श्रीमती र सानो छोरालाई ढाडस र सान्वना दिँदै भनेँ ।  

शहरमा जीवनहरू कस्तो अवस्थामा होलान् ?   के यो डढेलोले शहरका जीवनहरूलाई जिउँदै छोडेको होला । म चिन्तित भएर सोच्दै थिएँ।

मेरी श्रीमती चिच्याइन् –आम्मा हो, हेर्नुस् त, त्यो शहरको डढेलो कस्तो तुफान गतिमा हामीतिर आइरहेको ।  अब हाम्रा गाउँ–घरहरू पनि सुरक्षित छैनन् । हामीले हाम्रो अस्तित्व बचाउने हो भने मानव वस्ती छोडेर , मानवरहित एकान्त ओडारमा पस्नुपर्छ ।

म सानो छोरालाई काखी च्यापेर श्रीमतीसँगै मानवरहित पहाडको गुफातिर कुद्दै थिएँ । परबाट आफ्नो गाउँ र घरतर्फ फर्केर हेर्दा डढेलोले लपेटिसकेको थियो । हामी हतासहतास ओडारतर्फ दौडँदै थियौँ । म झल्याँस्स भएँ । डरले थरथर काँपिरहेको बेला श्रीमतीले सोधिन् –के भयो ? 

एक लामो सुस्केरासहित मैले श्रीमती र छेउमै सुतिरहेको छोरालाई अँगालो मारेँ । बोल्न सकिरहेको थिइनँ । श्रीमतीले फेरि सोधिन् –डरलाग्दो सपना देख्नुभयो ?

मैले मुख खोलेँ – हो , जुन सपना सपना मात्र रहने छैन । वास्तविक हुनेछ, छिट्टै मैले बिहान ब्युँझने बेलामा देखेको सपना नमिलेको मलाई कहिल्यै थाहा छैन।

भविष्यमा आइपर्ने संकट कल्पना गर्दै श्रीमतीले भयभित मुद्रामा मलाई अँगालेर अँठ्याइरहिन् । बिहानको ५ बजेको हुँदो हो । छोरा मस्त सुतिरहेको थियो । श्रीमतीले अँठ्याउँदा– अठ्याउँदै हामी दुवैको शरीरमा आगो लाग्यो । दुस्वप्न बिर्सिएर हामी एक अर्कामा समर्पित भयौँ । म थकित भएर फेरि निदाएछु । बिहान बिउँझिँदा उनी ओछ्यानमा थिइनन् । यसो मोबाइल उठाएर समय हेरेँ, बिहानको ८ बजिसकेछ । यसो फेसबुक खोलेँ । सुरुमै एउटा अनलाइन समाचारमा आँखा पर्यो – चाइनाको वुहानबाट कोरोना नामक खतरनाक डढेलो सल्किएर पूरै शहर जल्दैछ ।

प्रकाशित: २९ पुस २०७७ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App