७ वैशाख २०८१ शुक्रबार
कला

शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ। झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहेका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो।      

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो। निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिए। “कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उनले भने। दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उनको भनाइ छ। सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उनले सरकारलाई धन्यवादसमेत दिए।      

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सिङ्गो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताए। चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले सरकारलाई बुझाइसकेको उनको भनाइ छ। अध्यक्ष अधिकारीले लामो समय बन्द रहेको चलचित्र हल खुले पनि फिल्म उद्योगले बन्दाबन्दीको समयमा व्यहोर्नु परेको समस्याका बारेमा सरकारसँग निरन्तर छलफल भइरहेको उल्लेख गरे। हाल नेपालभर २५० भन्दा बढी चलचित्र हल सञ्चालन छन्।      

 

 

प्रकाशित: २८ पुस २०७७ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App