इतिहास र संस्कृतिको अध्ययनमा मुद्राको विशिष्ट भूमिका हुन्छ। मुद्रा आफैँमा पुरातात्विक प्रमाण भएकाले इतिहासलाई प्रमाणित गर्ने यो एक प्रमुख आधार हो। नेपालमा मुद्राको प्रचलन र प्रसारणको लामो इतिहास भए पनि यसको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक भूमिकाको अत्यन्त कम अध्ययन भएको देखिन्छ।
वैदेशिक सम्बन्धलाई बाह्य व्यापारले मजबुत बनाएको हुन्छ। विनिमय प्रथा भएको प्राचीन युगमा पनि मुद्राको सुरुवात भएको साहित्यिक एवं पुरातात्विक प्रमाणले संकेत गरेका छन्। युनान र भारतीय सभ्यताबीचको व्यापारिक एवं राजनीतिक सम्बन्धका कारण युनानी सभ्यतामा प्रचलित मुद्रा भारतीय सभ्यतामा पनि अधिक मात्रामा प्रयोग भएको पाइन्छ। अर्थात् भारतीय प्राचीन मुद्राहरूमा युनानी शासकको प्रभाव देखिन्छ। यसकारण देशको अन्तर्राष्ट्रियसम्बन्धमा मुद्राले महत्वपूर्ण भूमिका निभाएको छ, (वासुदेव उपाध्याय, प्राचीन भारतीय मुद्रायँ, पृष्ठ ३५, १४५)।
उनले प्रसारण गरेका सिक्कामा सूर्य, चन्द्र, त्रिशूल, बिन्दु, खड्ग, चक्र, यन्त्र, आदि हिन्दूधर्मका प्रतिकात्मक चिह्न अंकित गरिएको पाइन्छ। श्री, श्रीश्री, श्री दुर्गा भवानी, दुर्गा आदि शब्दले विशेषतः शाक्त धर्म र दर्शनलाई मान्यता दिएको देखिन्छ। यस आधारबाट उनी शाक्त दर्शनको उपासक भएको देखिन्छ। बौद्ध धर्मलाई विशेष सम्मान गर्दै उनले लोकनाथ शब्द प्रयोग गरेका छन्। यसले उनको धार्मिक सहिष्णुतालाई कायम गरेको मान्न सकिन्छ।
पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार अभियानका क्रममा आर्थिक नीतिलाई विशेष जोड दिएका थिए। यद्यपि उनीअघि दोलखाका राजा जयइन्द्रसिंहदेवले तिब्बतसँग सर्वप्रथम व्यापारिक सम्बन्ध कायम गरेका थिए। उनले तिब्बतबाट चाँदी ल्याई त्यसबाट सिक्का बनाएर तिब्बतलाई नै निर्यात गरेको पाइन्छ, (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, दोलखाको ऐतिहासिक रूपरेखा, पृष्ठ ५७)। जयइन्द्रसिंहदेवपछि काठमाडौं उपत्यकाका राजाहरूले तिब्बतसँग व्यापारिक सम्बन्ध मजबुत बनाएका थिए। लक्ष्मीनरसिंह मल्ल, प्रताप मल्ल र सिद्धिनरसिंह मल्ल लगायत राजाले तिब्बतसँग व्यापार विस्तार गरे, (सूर्यविक्रम ज्ञवाली, नेपाल उपत्यकाको मल्लकालीन इतिहास, पृष्ठ १८२)। जसबाट नेपाललाई अधिक आर्थिक फाइदा हुन्थ्यो। यसरी चाँदी ल्याएर मुद्रा बनाई तिब्बतमै पठाउँदा चाँदीबाट १२ प्रतिशत, टक मार्दा चार प्रतिशत, रूपैयाँ बनाउँदा आठ प्रतिशत गरी जम्मा २४ प्रतिशत मल्लशासकहरूलाई नाफा हुन्थ्यो, (सत्यमोहन जोशी नेपाालका राष्ट्रिय मुद्रा)।
तिब्बतका लागि नेपालले सिक्का बनाउनुपर्ने (टकमारी) अवस्थाले तिब्बतमाथि नेपालको राजनीतिक वर्चस्व बढेको संकेत मिल्छ। उपत्यकाका मल्ल राजाहरूले तिब्बतसँगको व्यापारिक सम्बन्धबाट प्राप्त गरेको आर्थिक लाभदेखि पृथ्वीनारायण अन्जान थिएनन्। काठमाडौं–तिब्बतबीचको व्यापारिक सम्बन्ध तोड्न र उपत्यकालाई चारैतिरबाट नाकाबन्दी गर्ने उद्देश्यले पृथ्वीनारायणले वि.सं. १८०१ मा नुवाकोट आक्रमण गरी विजय प्राप्त गरे। यसपछि उनले भोट व्यापारको निकासी र पैठारीका लागि नुवाकोटलाई केन्द्रबिन्दु बनाई मल्ल राजाहरूको व्यापारलाई धक्का दिएको देखिन्छ, (ज्ञानमणि नेपाल, नेपाल निरूपण, पृष्ठ : २४६)।
यस रणनीतिलाई अझ मजबुत बनाउन पृथ्वीनारायणले कठोर नीति लिएको देखिन्छ। विशेषतः काठमाडौंबाट भोट जाने दुवै मार्ग कब्जामा लिएर भोट र भारतसँग व्यापार गर्न गोरखा राज्यले एकाधिकार कायम गरेको देखिन्छ, (मोहनप्रसाद खनाल, नेपाल–भोट युद्धको अन्तिम तयारी, पृष्ठ : १४)। तिब्बत सरकारले गोरखा राज्यसँग व्यापार सम्बन्ध कायम गर्ने संकेत पाएका पृथ्वीनारायणले तिब्बती सुन आयात गरी तराईका व्यापारीलाई बेचेर नाफा कमाउने योजना बनाए। तर, गोरखा राज्यको आफ्नै स्वतन्त्र सिक्का (टक) नभएको हुँदा पृथ्वीनारायणले पनि आफ्नो नामबाट सिक्का प्रसारण गरे। गोरखा राज्यसँग सम्बन्ध गाँसिसकेपछि मल्ल राजाहरूको मात्र मुद्रा स्वीकार गरेको तिब्बतले गोरखाली मुद्रालाई पनि स्वीकार गर्ने संकेत दिएपछि पृथ्वीनारायणले नुवाकोटमा टक्सार स्थापना गरी शक संवत १६७६ (वि.सं १८११) देखि आफ्नो राज्यको मुद्रा तिब्बतमा निर्यात गर्ने प्रबन्ध मिलाएका थिए, (देवीचन्द्र श्रेष्ठ, तिब्बतमा गोरखाली मुद्राको निर्यात र प्रचार : ऐतिहासिक अध्ययनको एकपाटो, अभिलेख अंक ३१, पृष्ठ ५९)।
तिब्बतको व्यापारिक केन्द्र कुतीमा व्यापार व्यवस्थापनका लागि हरिदेव उप्रेती तथा जमदग्नि उपाध्यायलाई विशेष अधिकार प्रदान गरी खटाइएको थियो। व्यापारिक दूतमा गएका यी व्यक्तिले तिब्बत–गोरखाबीच समन्वय गर्थे। मल्ल राजाहरूले तिब्बतका लागि मिसावटयुक्त चाँदीको सिक्का निर्माण गर्थे, जसका कारण तिब्बतलाई घाटा थियो। यता, पृथ्वीनारायणले शुद्ध चाँदीका सिक्का जारी गरेका थिए। तिब्बती शासक भने मल्ल राजाहरूको खोटा मोहर र पृथ्वीनारायणको शुद्ध मोहरलाई एउटै मूल्यमा साट्न चाहन्थे तर पृथ्वीनारायणले तिब्बतीको यस नीतिको एकातिर प्रतिरोध गर्थे भने अर्कातिर आफ्ना मोहर तिब्बतमा चलिरहोस् भन्ने चाहन्थे। मल्ल राजाहरूले पठाएका खोटा मोहर र पृथ्वीनारायणको शुद्ध चाँदीका टकसँग उचित मूल्य निर्धारण नहुँदा र खोटा मोहरभन्दा घटी भाउमा सटही गर्दा तिब्बतलाई घाटा हुने भएकाले पछि तिब्बतीहरू गोरखाराज्यसँग व्यापार गर्न अनिच्छुक देखिएका थिए। यसकारण गोरखाली सिक्का तिब्बतमा चल्न नसकी व्यापारमा पनि कमी भएको देखिन्छ, (ज्ञानमणि नेपाल, नेपाल र चीन–तिब्बत सम्बन्ध समीक्षात्मक इतिहास, पृष्ठ ११३)। यसबाट पृथ्वीनारायणको तिब्बतमाथि गरेको आर्थिक रणनीति असफल भएको चर्चा लुडविग फादर स्टेलरले गरेका छन्, (द राइज अफ द हाउस अफ गोरखा)।
कतिपय विद्वान्ले तिब्बतमा पृथ्वीनारायणको मुद्रा प्रचलनबारे फरक तर्क राखेका छन्। तिब्बतमा मल्ल राजाहरूको सिक्का अधिक मात्रामा प्राप्त भए पनि गोरखाली मुद्रा प्राप्त नभएको विदेशी अध्यताले बताएका छन्। तर तिब्बत सरकारले पृथ्वीनारायणका शुद्ध चाँदीका सिक्कालाई गालेर तिब्बती मुद्रा ‘ताङ्का कार्पो’ निकालेको हुन सक्ने इतिहासकार देवीचन्द्र श्रेष्ठको तर्क छ, (अभिलेख अंक– ३१, पृष्ठः ६१)।
खोटा मोहर र शुद्ध चाँदीका मोहरबीचको मूल्य नमिल्दा नेपाल र तिब्बतबीच मुद्रासम्बन्धी विषयमा विवाद उठ्न गयो, जुन वि.सं. १८४८ को नेपाल–तिब्बत युद्धको कारण बन्न पुग्यो। अर्कोतिर ब्रिटिस अंग्रेजहरू पनि तिब्बत–नेपालबीचको व्यापारिक सम्बन्धलाई फुटाउन चाहन्थे। अर्थात् नेपालको बाटो भएर हुने भोट–भारतबीचको व्यापारमा नेपालका तर्फबाट भएको अनावश्यक अवरोधका कारण पनि ब्रिटिस अंग्रेजहरू यो व्यापारिक मार्ग बन्द गर्न घातक चालबाजी खेलेका थिए, जुन पृथ्वीनारायणको इच्छाविपरीत थियो। यस परिस्थितिमा ब्रिटिस र तिब्बत दुवै देशले ब्रिटिस भारत र तिब्बतबीच हुने व्यापारिक मार्गको विकल्पमा सिक्किमको बाटो प्रयोग गरे, (सिल्भाँ लेभी, नेपाल, भाग १, पृष्ठः ११०)। बंगाललाई मध्यएसियाको समुद्री व्यापार केन्द्र बनाउने अंग्रेजको नीतिलाई मजबुत पार्न सिक्किम मार्गले प्रभावकारी भूमिका खेल्यो। यता, नेपाल–तिब्बतबीचको व्यापारिक सम्बन्ध भने कमजोर हुँदै गयो। मध्य राणाकाल अर्थात् ईश्वी १९०४ मा ब्रिटिस भारत र तिब्बतबीच युद्धपछिको व्यापारिक सन्धि अनुसार सिक्किम क्षेत्रको ग्याँची, याटुङ्गुर र चुम्बी भञ्ज्याङतर्फबाट नयाँ व्यापारिक मार्गको सुरुवात भयो, जसकारण तिब्बतमाथि नेपालको व्यापार पूर्ण रूपमा समाप्त भयो, (प्रेमरमण उप्रेती, नेपाल तिब्बत रिलेसन, पृष्ठः १६७–१६८)।
पृथ्वीनारायणका सिक्काहरू
नेपालको मौद्रिक इतिहासमा पृथ्वीनारायणको आर्थिक कूटनीतिले विशेष प्रभाव पारेको देखिन्छ। गोरखा राज्यको विस्तार अभियानसँगै उनलाई स्वाभाविक रूपमा अर्थ अभाव हुन गयो। व्यापार विस्तार र विनिमय सहजताका लागि सिक्का प्रकाशन गर्नु जरुरी थियो। यसकारण उनले मुद्रा प्रसारण गर्न थालेको देखिन्छ। उनी पूर्वका गोरखा राजाले सिक्का प्रसारण गरेको प्रमाण आजका दिनसम्म प्राप्त भएको छैन। यसकारण गोरखा राज्यमा सर्वप्रथम सिक्का प्रसारण गर्ने राजा पृथ्वीनारायण नै हुन्। यद्यपि काठमाडौं विजय गर्नुपूर्व उनका भाइ दलमर्दन शाह केही समय पाटनका राजा हुँदा आफ्ना नामबाट मुद्रा प्रसारण गरेका थिए।
पृथ्वीनारायणले प्रसारण गरेका सिक्काको आर्थिक साथसाथै धार्मिक तथा सांस्कृतिक योगदान छ। शक संवत् १६८५ मा जारी गरिएको सिक्काको अग्रभागमा नेत्राकार घेराहरूको शिरमा बायाँतिर चन्द्रमा र दायाँतिर सूर्यका चित्र अंकित छन्। तल्लो भागमा एकातिर १६ र अर्कोतिर ९२ अंकित छन्। बीचभागमा शंख र गदा चिह्न दायाँतर्फ चक्र र पद्म चिह्न अंकित छन्। त्यस्तै मुद्राको पृष्ठभागमा ‘श्रीश्री भवानी’ र श्रीश्री गो, र, ष, ना, थ अंकित छन्। उनले प्रसारण गरेका दोस्रो थरी सिक्काको अग्रभागमा ‘श्री श्री पृथ्वीनारायण शाहदेव १६८५’ र पृष्ठभागको चक्काभित्र फूलको मालासहितको खड्ग छ भने शिरको दायाँ भागमा सूर्यचन्द्र र बायाँ भागमा लोकनाथ अभिलेख अंकित गरिएको छ।
पृथ्वीनारायणले आफ्नी रानी नरेन्द्रदेवीको नामबाट पनि मुद्रा प्रसारण गरेका छन्। नरेन्द्रलक्ष्मीको नामबाट प्रसारण गरिएको चाँदीको सुकी प्राप्त भएको छ। यस मुद्राको अग्रभागमा चैत्याकार सिन्दुरदानी अंकित छ भने शिरमा रहेको छत्र चिह्नको वरिपरि तीनथोप्ले बुट्टाहरू चारैतिर छरिएका छन्, जहाँ छरिएका अक्षरमा श्रीश्री नरेन्द्रलक्ष्मी देवी लेखिएको छ। पृष्ठभागको मध्य भागमा त्रिशूल चिह्नसहित ‘श्री भवानी’ अंकित छ। यसै अभिलेखको तल्लो हरफमा १६९२ लेखिएको छ, (सत्यमोहन जोशी, नेपाली राष्ट्रिय मुद्रा, पृष्ठः १०३)।
पृथ्वीनारायणले विभिन्न एकाइका मुद्रा प्रसारण गरेका छन्। विशेषतः सुकी, मोहर मुद्रा, डबल मोहर, सुनको मोहर, सुनको आनि, दुईतोले असर्फी आदि प्रचलनमा ल्याएका थिए, जुन अप्राप्य र दुर्लभ छन्। उनले प्रसारण गरेका सिक्कामा सूर्य, चन्द्र, त्रिशूल, बिन्दु, खड्ग, चक्र, यन्त्र, आदि हिन्दूधर्मका प्रतिकात्मक चिह्न अंकित गरिएको पाइन्छ। श्री, श्रीश्री, श्री दुर्गा भवानी, दुर्गा आदि शब्दले विशेषतः शाक्त धर्म र दर्शनलाई मान्यता दिएको देखिन्छ। यस आधारबाट उनी शाक्त दर्शनको उपासक भएको देखिन्छ। बौद्ध धर्मलाई विशेष सम्मान गर्दै उनले लोकनाथ शब्द प्रयोग गरेका छन्। यसले उनको धार्मिक सहिष्णुतालाई कायम गरेको मान्न सकिन्छ (पिके द्विवेदी, कम्प्यारेटिभ स्टडी अफ द क्वाइन अफ द शाह डाइनास्टी, प्राचीन नेपाल अंक ३, वि.सं. २०२५)।
पृथ्वीनारायणले प्रसारण गरेका मुद्राको निर्माण विधि, ढाँचा र संरचनामा मल्लकालका सिक्काको प्रभाव परेको विदेशी विद्वान्ले चर्चा गरेका छन्। उनले प्रसारण गरेका डबल मोहर र सिक्कामा प्रयुक्त स्वस्तिक चिह्न मल्लकालीन सिक्काको प्रभाव हो भन्ने इएच वाल्सको तर्क छ, (इएच वाल्स, द क्वाइनेज अफ नेपाल, पृष्ठ ४५)। लिच्छविकालमा पण, पणपुराण आदि र मल्लकालमा गण्डा प्रणालीबाट मौद्रिक एकाइको मापन गरिन्थ्यो भने शाहकालमा विशेषगरी पृथ्वीनारायणको पालादेखि गण्डा प्रणालीमा केही परिवर्तन हुँदै पैसा, सुकी, मोहर, रूपैयाँ लगायत मौद्रिक एकाइहरूको प्रयोग भएको देखिन्छ।
मल्लकालका सिक्कामा नेपाल संवत र नेवारी लिपिको प्रयोग भएको पाइन्छ भने गोरखा राज्यले काठमाडौंमा विजय प्राप्त गर्नुअघि नै सिक्काहरूमा शक संवत र देवनागरी लिपिको प्रयोग गरेको देखिन्छ। समग्रमा पृथ्वीनारायणले प्रसारण गरेका सिक्काले नेपालको मौद्रिक इतिहासको निरन्तरतालाई बोधार्थ गरेका छन्। यिनले प्रसारण गरेका सिक्काको अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको विकासमा योगदान पु¥याएको देखिन्छ।
प्रकाशित: २५ पुस २०७७ ०३:२२ शनिबार