७ वैशाख २०८१ शुक्रबार
कला

२०२० सिनेमाका लागि झूर सावित

नेपाली फिल्म निर्माणको ५६ वर्ष नाघिसक्दा मौलिक पहिचानको लागि संघर्षरत छन्। हरेक वर्ष गुणात्मक फिल्मको संख्या बढ्ला भनेर आशा गरिन्छ। तर, वर्षको अन्तिमसम्म आइपुग्दा रचनात्मक र प्रयोगात्मकको तुलनामा कामचलाउ फिल्मको वर्चश्व हाबी हुँदा निरास हुने शैली नौलो विषय हुन छाडिसकेको छ।

वर्ष २०२० नेपाली फिल्म क्षेत्रको लागि मात्र नभएर मनोरञ्जन क्षेत्रको लागि निरास रह्यो। कोरोना भाइरस महामारीको प्रत्यक्ष मारमा परेको नेपाली मनोरञ्जन क्षेत्र आठ महिना ठप्प रहन बाध्य भयो। यस अवधिमा फिल्म, नाइट क्ल्ब, कला, संस्कृति र महोत्सवलगायतका गतिविधि ठप्प हुँदा झन्डै ६ अर्बको घाटा बेहोर्नुपरेको थियो।

नेपाली फिल्म क्षेत्र भने कोरोना भाइरस महामारीअघिदेखि थलिएको थियो। संख्यात्मक रूपमा फिल्म निर्माण घट्दो भइरहँदा कोरोना भाइरस महामारीले भइरहेको फिल्मसम्बन्धी गतिविधि डामाडोल भएको थियो। वार्षिक सयको हाराहारीमा प्रदर्शन हुने संख्या घटेर आर्थिक वर्ष २०७६/७७ मा ५५ फिल्महरू प्रदर्शन भएका थिए।

सरकारले ५ करोड रूपैयाँ खर्चेर लागु गरेको बक्सअफिस पारदर्शी हुन नसक्दा निर्माता, हल सञ्चालक र वितरकले दिएको तथ्थांकलाई पत्याउनुपर्ने बाध्यता छ। फिल्मले करोडौं कमाएको भनेर हल्ला गर्ने फिल्मकर्मीको ध्याउन्न राम्रा फिल्म बनाउनभन्दा सिनेमाबारे जानकारी भएका व्यक्ति नभई खर्च गर्न सक्ने ज्ञान नभएका व्यक्ति फसाउनमा केन्द्रित हुँदा त्यसको मार पछिल्ला वर्षमा फिल्म क्षेत्रले भोगिरहेको थियो। मल्टिप्लेक्समा दर्शकको भीड, वितरक, निर्माता र हलवालाको दाबीलाई आधार मान्दा ‘आमा’ लाई सफल फिल्म मान्न सकिन्छ।

अचम्मको विषय चाँहि सन् २०२० को सुरुआतमा नेपाली फिल्म हलमा रिलिज भएनन्। फेब्रुअरी ७ मा विपीन कार्कीको ‘सेल्फी किङ’ र विराज भट्टको ‘साङ्लो’ चल्यो। तर, दुवै फिल्मले दर्शकको ध्यान खिच्न असफल रहेका थिए। फेब्रेअरी २१ मा रामबाबु गुरुङको ‘सेन्टी भाइरस’ र दीपेन्द्र के। खनालको ‘आमा’ फिल्म प्रदर्शनमा आएका थिए। ‘सेन्टी भाइरस’ फिल्मले लगानी समेत उठाउन नसकेको अवस्थामा ‘आमा’ यस वर्षको उत्कृष्ट फिल्म सावित भएको थियो। फेब्रेअरी २८ मा रिलिज भएको ‘धुलो’ असफल फिल्मको सूचीमा परेको थियो। यस वर्ष अभिनेता विपीन कार्की र अभिनेत्री सुरक्षा पन्तको प्रभाव जमाउन सफल रहेका थिए।

कोरोना भाइरस महामारीले बन्द रहेको फिल्म हल नौ महिनापछि पुनः सञ्चालनमा आएका छन्। अझ पनि फिल्मकर्मीहरू फिल्मसम्बन्धी गतिविधिमा पुनः सुचारु गर्न सकिरहेका छैनन्। यस स्थितिमा पुरानो अवस्थामा नेपाली फिल्म क्षेत्र फर्किन दुईदेखि तीन वर्ष लाग्ने फिल्मकर्मी बताउँछन्। चलचित्र विकास बोर्डको तत्थांकअनुसार नौ महिनामा नेपाली फिल्म क्षेत्र चलायमान नहुँदा राज्यलाई झन्डै एक अर्ब हाराहारीको क्षति भएको थियो। देशभर दुई सय हाराहारीको फिल्म हलमा ७० हजार जति सिट छन्। विदेशी फिल्मको प्रदर्शनबाट वार्षिक १० करोड चलचित्र विकास शुल्क र यति नै मात्रामा राजस्व उठ्ने गरे पनि सन् २०२० मा सरकारले न कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्न सक्यो न राजस्व संकलन गर्न ध्यान दिनसक्यो।

नौ महिना ठप्प रहँदा फिल्म हलहरूले करिब दुई अर्बको नोक्सानी बेहोर्नुपरेको थियो। नेपाल चलचित्र संघको तत्थांकअनुसार बैंकको ऋण, फिल्म हलको भाडा, कर्मचारीको तलव र आधारभूत खर्चलगायत जोड्दा नौ महिनामा देशभरका हलहरूले दुई अर्बको नोक्सान सहनु बाध्य भए। विदेशी फिल्मबाट मासिक ९० लाख रूपैयाँ र नेपाली फिल्मको प्रदर्शनबाट न्यूनतम पाँच करोड रूपैयाँको व्यापार हुने गरेको थियो। नेपाली र विदेशी फिल्मबाट मासिक न्यूनतम अनुमानित २० करोड रूपैयाँ नोक्सान बेहोर्नु बाध्य भएका थिए।

त्यस्तै देशभर फिल्म व्यवसायमा आश्रित दुई लाखभन्दा बढीको रोजगारी प्रभावित भएको थियो। संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार फिल्मसम्बन्धी गतिविधिलाई चलायमान गराउन फिल्म हल पुनः सञ्चालनमा ल्याइएका छन्। ‘नौ महिनामा फिल्म हलको नोक्सान अत्याधिक छ,’ उनले भने, ‘फिल्मसम्बन्धी गतिविधिलाई चलायमान गराउन हल पुनः सञ्चालनमा ल्याएका हौं।’

त्यस्तै, कोरोना भाइरस महामारीले देशभर नियमित नाटक मञ्चन हुने रंगमञ्चको कालो पर्दा खुल्न नसकेको १० महिना भइसक्यो। देशभर नियमित नाटक हुने १० नाटकघरसँग आवद्ध रंगकर्मी पलायन हुनुपर्ने स्थिति छ। कीर्तिपुरस्थित थिएटर मलका कला निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘हामी रंगकर्मीलाई पहिले टिक्न समस्या थियो। कोरोना भाइरस महामारीले नाटकघर र रंगकर्मीलाई बचाइराख्नु मुख्य चुनौती हो।’

नाटक समूहमा मिलेर उत्पादन गर्नुपर्ने र समूहमा बसेर हेर्नुपर्ने कला भएपनि रंगमञ्चसम्बन्धी गतिविधि ठप्प भएसँगै थिएटर मलले राजधानीबाहिर रहेका ६० प्रतिशत रंगकर्मीलाई काठमाडौं फिर्ता बोलाउन नसकेको गुनासो उनले गरे। ‘नाटक खर्चिलो विधा हो,’ उनले भने, ‘औसतमा नाटकघरले मासिक खर्च एक लाख रूपैयाँ हाराहारीमा हुने गरेको छ। त्यसबाहेक एउटा नाटक उत्पादन हुन औसतमा दुई लाख रूपैयाँ खर्च हुन्छ। जसमा निर्देशक, कलाकार र प्राविधिकलगायतको पारिश्रमिक जोडिएको हुन्न। यो स्थितिमा नाटकघर र रंगकर्मी टिकाउन आवश्यक छ।’

ठमेलस्थित क्लब लर्ड अफ द ड्रिंक्स ९एलओडी०, क्लब प्लाटिनियम, क्लब रिलोड र क्लब कर्मालगायत नाइट क्लबहरू कोरोना भाइरस महामारीको प्रत्यक्ष मारमा परे। औसतमा मासिक डेढ करोड रूपैयाँको कारोबार गर्ने नाइट क्लबहरू आठ महिना बन्द हुँदा लगानीकर्ता पलायन हुनुपर्ने स्थितिमा पुगेका थिए। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गत चैतदेखि भीड हुने सम्पूर्ण मनोरन्जनात्मक गतिविधिहरूमा समेत सरकारले रोक लगाएसँगै होटल, रेस्टुरेन्ट, फिल्म हल र क्लबहरू बन्द भएका थिए।

संचालनको १३ महिना नपुग्दै कोरोना भाइरस महामारीले एलओडी बन्द गर्न बाध्य भएको सहसञ्चालक तथा सीइओ रवीन श्रेष्ठले बताए। ‘यो हाम्रा लागि बिल्कुलै अनपेक्षित थियो,’ उनले भने, ‘महिनौं बन्द भएपनि ठूलो लगानी गरिएकाले यो छोडेर अरू थाल्ने सोच त आएन। तर यसलाई कसरी टिकाउने भन्ने समस्या भयो।’आठ महिनासम्म क्लब बन्दा हुँदा बिजुलीमा खर्च नभएपनि जग्गा भाडा मासिक आठ लाख रूपैयाँ, डेढ सयभन्दा बढी स्टाफको पारिश्रमिक र बैंक कर्जाको ब्याज तिर्न आफ्नै खल्ती रित्याउन बाध्य भए।

सन् २०२० मा कला र महोत्सवका गतिविधि ठप्प हुँदा करोडौंको कारोबार रोकिए। यस वर्ष कलाकारहरूलाई युट्युबको भरमा टिक्न बाध्य भए। हरेक साता औसतमा चार वटा म्युजिक भिडियो निर्माण हुँदा कलाकारहरू टिक्न सके। औसतमा एक म्युजिक भिडियोको चार लाखमा निर्माण भएर युट्युबमार्फत प्रसारण हुने शैली मौलायो। त्यस्तै कोरोना भाइरस महामारीको अवस्थामा पुस्तक पढ्ने संस्कृति बढेको अनुमान गर्न सकिन्छ।

प्रकाशित: २० पुस २०७७ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App