coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भोटे दाइ

बालकविता

रमेशचन्द्र घिमिरे

 

अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन,

चामलसँग साट्नलाई जिम्बु बोकी ल्याउँदैन।

 

हिउँ पर्ने डाँडामा गर्मी चढिसक्यो कि,

आगो ताप्न भनेर हिटर उतै लग्यो कि ।

डम्फु मादल बजाई भोटेसेलो गाउँदैन

जाडो लाग्यो भनेर कम्मल बोकी ल्याउँदैन

अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन।

 

सधैँ बस्नु हुँदैन पार्वतीको माइत

जाडो लाग्नेबित्तिकै गर्नुपर्छ साइत

भोटे दाइ नआए मनमा खुसी छाउँदैन

ओखती हो भनेर जटामसी ल्याउँदैन

अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन ।

 

बाक्लो दोचा लाएर बक्खु – सक्खु ओढेर

यतै आए हुन्थ्यो नि चिसो उतै छोडेर

पैले जस्तो अहिले फुर्सद किन पाउँदैन  

खोकिलामा घुसारी वीरेनुन नि ल्याउँदैन

अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन ।

प्रकाशित: १९ पुस २०७७ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App