८ वैशाख २०८१ शनिबार
कला

आर्थिक संकटसँगै फिल्म क्षेत्रबाट पलायन हुँदै प्राविधिक

सम्झना २०२०

विगत ४१ वर्षदेखि विभिन्न नेपाली फिल्मको कला तथा भेषभूषामा काम गरिसकेका उद्धवराज भट्टराई (जुडे) बैतडीको पाटनस्थित पुर्खौली थलो फर्किएर युवा पुस्तालाई सीप सिकाउन लागि परेका छन्। कोरोना भाइरस महामारीसँग फिल्मसम्बन्धी गतिविधि ठप्प भएसँगै उनी पुर्खौली थलो फर्किएका हुन्। ‘कोरोना भाइरस महामारीसँग फिल्मसम्बन्धी काम ठप्प छन्,’ उनले भने, ‘काठमाडौंमा खर्च धेरै छ। आम्दानीको स्रोत भनिएको फिल्म क्षेत्रमा काम सुचारु भएको छैन्। फेरि दमपनि देखिएपछि घर फर्किएको हुँ।’

कोरोना भाइरस महामारीले फिल्म क्षेत्र ठप्प हुनुअघिसम्म ६४ वर्षीय जुडे विभिन्न फिल्ममा प्रयोग हुने नक्कली हातहतियार तयार गरिरहेका थिए। परिवारसहित राजधानीको ढल्खुमा बस्ने उनीले बीचमा चलचित्र प्राविधिक संघबाट राहत भएपनि त्यो पयाप्त भएको उनी बताउँछन्। ‘प्रेमगीत ३’, ‘राजमती’, ‘श्री स्वस्थानी’ र ‘मुनामदन’ लगायत फिल्ममा काम गरिसकेका उनी अहिले गाँउमा आफूले जानेको सीप सिकाएर विद्यार्थी उत्पादन गरिरहेका छन्।‘फिल्मको कामको निम्ति बोलाए भने राजधाी फर्किन्छु होला,’ उनले भने, ‘तत्काल यही मैले जानेको सीप सिकाएर विद्यार्थीहरू उत्पादन गर्न लागि परेको छु।’ कोरोना भाइरस महामारीले फिल्मसम्बन्धी गतिविधि ठप्प रहँदा जुडेजस्ता प्राविधिकहरू पेशाबाट पलायन हुने स्थितिमा पुगेका छन्।

लाइट तथा क्यामेराम्यान नवराज कार्की परिवारसहित रौतहटस्थित पुर्खौली थलो फर्किएको साढे ६ महिना भइसक्यो। कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउन गर्नुअघिसम्म उनी विभिन्न फिल्म खिच्न व्यस्त थिए भने उनी श्रीमती मध्य बानेश्वरस्थित एक स्कुलमा खाना पकाउने काम गरिरहेकी थिइन्। ‘फिल्मको काम भनेको आकाशे खेतीजस्तै हो,’ उनी भन्छन्, ‘कोरोना भाइरस महामारीसँग फिल्मसम्बन्धी गतिविधि ठप्प भयो। श्रीमतीपनि बेरोजगार भइन्। काठमाडौंमा उठाउन बाँकी पैसा पाँच लाखजति छ। तर परिवार पाल्न समस्या हुन थालेपछि साढे ६ महिनाअघि सबैलाई लिएर गाँउ फर्किए।’

‘दाल भात तरकारी’, ‘शत्रुगते’, ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’ लगायत फिल्ममा काम गरिसकेका उनी यत्तिखेर रौतहटमा खसी तथा बाख्रा पालनमा लागेका छन्। ‘गाँउ फर्किएर खसी तथा बाख्रा पालन गरिरहेको छु,’ उनले भने, ‘फिल्मको काम सुचारु भयो भने अहिले ममात्र काठमाडौं आउँछु होला।’ ६ वर्षदेखि विभिन्न म्युजिक भिडियोमा लाइट र व्यवस्थापन सम्हालिरहेका राममणि पराजुली वैदेशिक रोजगारमा जान लागि परेका छन्। ‘दशैंसँग म्युजिक भिडियोको काम ह्वात्तै बढेको छ,’ उनले भने, ‘अन्यौलग्रस्त भएर विभिन्न म्युजिक भिडियोको काम गर्नुभन्दा वैदेशिक रोजगारमा जाने तरखर गरिरहेको हुँ।’

६ वर्षदेखि नेपाली फिल्ममा भिएफएक्सको काम गरिरहेका श्रीकृष्ण श्रेष्ठले पेशा परिवर्तन गर्ने निर्णय गरिसकेका छन्। ‘फिल्मसम्बन्धी काम ठप्प हुँदा गोजीमा दाम छैन,’ उनले भने, ‘काम गरेको पारिश्रमिक नदिएर निर्माता समाज सेवा गर्दै हिँडेका छन्। यो स्थितिमा टिक्नै ग्राहो भएपछि अर्को पेशामा लाग्नु उत्तम हुन्छ।’

परिवारसहित पाल्पा फर्किएका उनी पशुपालन गर्ने सोचमा थिए। पाल्पामा उनी स्थानीयस्तरमा निर्माण हुने म्युजिक भिडियोको काम समेत गरिरहेका छन्। परिवारलाई गाउँमा छोडेर विभिन्न फिल्ममा काम गरेको पारिश्रमिक उठाउन एक महिनाअघि काठमाडौं फर्र्किएका उनी निर्माताहरू उल्टो गुनासो गर्ने बताउँछन्। ‘विभिन्न फिल्मबाट झन्डै १५ लाख रूपैयाँ उठाउन बाँकी छ,’ उनले थपे, ‘अहिले मलाई ६ महिनाको घर भाडा कसरी तिर्ने भन्ने तनाव छ।’

नेपाली फिल्म क्षेत्रमा समयमा पारिश्रमिक नपाउनु प्राविधिकको ठूलो समस्या हो। तोकिएको पारिश्रमिक किस्तामा पाउने चलन हाबी छ। कोरोना भाइरस महामारीसँग १५ सय हाराहारीका प्राविधिक बेरोजगार हुन पुगेको चलचित्र प्राविधिक संघले जनाएको छ। ‘कोरोना भाइरस महामारीका कारण ठप्प रहेको फिल्म क्षेत्र चलायमान नहुँदा यहाँ आश्रित १५ सय हाराहारीका प्राविधिक प्रत्यक्ष मारमा परेका थिए,’ चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने, ‘दशैंदेखि विभिन्न म्युजिक भिडियोको काम सुचारु भएकाले केहीले काम पाइरहेका छन्। चैतयता डेढ सयभन्दा बढी प्राविधिकहरू फिल्म क्षेत्र छाडेको जानकारी हामीलाई गराएका छन्।’  

संघले विभिन्न चरणमा प्राविधिकहरूलाई राहत वितरण गरेपनि त्यो पयाप्त नभएको उनले बताए। त्यसो त फिल्म क्षेत्रलाई चलायमान गराउन चलचित्र संघले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको लागि चैत ११ देखि बन्द रहेको फिल्म हलहरू सरकारको अनुमति बिना शुक्रबारदेखि खोल्दैछन्। लामो समयपछि बल्ल मनोरञ्जन क्षेत्र चलायमान हुन थालेका छन्। ‘फिल्म क्षेत्रलाई चलायमान गराउन शुक्रबारबाट फिल्म हल खुल्दैछन्,’ चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने, ‘तत्काल नयाँ फिल्महरू रिलिज गर्न कठिन होलान। माघदेखि नयाँ फिल्म रिलिज गर्ने र चलचित्र विकास बोर्डले डिजिटाइज गरेका पुराना फिल्म पनि लगाउने सल्लाह भइरहेको छ।’  

कोरोना भाइरस महामारीको अवस्थामा तत्काल दर्शक फिल्म हलसम्म फर्कने माहोल नरहेपनि फिल्म गतिविधिलाई चलायमान बनाउन एकतर्फी रूपमा फिल्म हल खोल्न लागिएको हो। सरकारले हल व्यवसायीहरूको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी रूपमा फिल्म हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको उनले जानकारी गराए। ‘फिल्म क्षेत्र कोरोना भाइरस महामारीको प्रत्यक्ष मारमा परेको छ,’ उनले भने, ‘कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको लागि नौ महिना फिल्म हल बन्द हुँदा हल व्यवसायीहरूलाई झन्डै दुई अर्बभन्दा बढी घाटा लागिसकेको छ। सावधानी अपनाएर ५० प्रतिशत दर्शक अकुपेन्सीमा फिल्म हल खोल्न बारबार सरकारलाई अनुरोध गर्दा समेत वेवास्ता भएपछि एकतर्फी निर्णय गर्न बाध्य भएका हौं।’

सरकारले आफ्ना विभिन्न मागहरूलाई वेवास्ता गरेपछि संघले यसलाई आन्दोलनको सुरुवाती चरणमा पुस १० देखि फिल्म हल खोल्ने भएको हो। यसअघि संघले फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, फिल्म हल सञ्चालन नभएको अवधिको विद्युत महसुलको डिमान्ड शुल्क मिनाहा हुनपर्ने, फिल्म क्षेत्रमा मौद्रिक नीति अनिवार्य रूपमा कार्यन्वयन हुनुपर्ने, फिल्म हल सञ्चालकले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई वर्षसम्म नेपाली फिल्ममा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, फिल्म विकास शुल्क खारेज हुनुपर्ने, बाँकी बक्यौता कर तथा शुल्कहरू आर्थिक वर्ष ७७/०७८ सम्म वुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने र फिल्म हलको लागि आवश्यक उपकरण तथा सामाग्रीहरूमा भन्सार महसुल छुट हुनुपर्ने लगायत माग राखेर सञ्चार मन्त्रालयमा बुझाएको थियो। देशभर रहेको दुई सय हाराहारीका फिल्म हलहरूमध्ये केही पर्दा ५० प्रतिशत दर्शकको अकुपेन्सीमा सुरुवाती अवस्थामा सञ्चालन हुनेछन्।

प्रकाशित: १७ पुस २०७७ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App