नन्दलाल आचार्य
पात्रहरू – करीब १२, १३ वर्षका बालबालिकाहरू —(१) विनोद, (२) कृष्ण, (३) लक्ष्मी, (४) रन्जु
(स्कुल चौरमा रहेकोे आँपको छहारीमा चार जना बालबालिका बसेका छन् । विनोद भने अँध्यारो मुख लगाएर बसेको छ । अरू भने हँसिलो छन् ।)
विनोद – (चारैतर्फ हेर्छ, शरीर बटार्छ र एक्लै भुतभुताउँछ ।) भनेजस्तो, खोजेजस्तो र चाहेजस्तो परिस्थिति दिन यो संसारले सकेन । किन मेरो मात्रै चाहनाको खिल्ली उडाइरहेछ ? के मैले यमपुरीकै महल बनाएको हुँ र ?
कृष्ण – (विनोदतिर हेर्दै) होइन, ए विनोद ! के एक्लै भुत्भुताएको ? सबैका सामु सबैले बुझ्ने पाराले भन न ।
लक्ष्मी – अनुहार पनि अँध्यारो छ । के हामीले त केही बिराएनौँ ?
रन्जु – नबिराउनु, नडराउनु भन्छन् । मैले त केही पनि बिराएकी छैन है ।
कृष्ण – सधैँ हँसिलो चेहरामा हुने मान्छे आज किन धुम्म फुल्नु परेको हो कुन्नि ! (विनोद नबोली घोत्लिरहन्छ ।)
लक्ष्मी – जो रिसाउँछ, उसैको मुहार कालो हुन्छ । रिसको कारण बुझाए पो निदान खोज्न हुन्थ्यो !
कृष्ण – रिसले त सत्यनाश हुन्छ नि । मनमा कुरा कुहाउन थालेपछि आफैलाई घाटा हुन्छ । यो त नाफाको जमाना हो ।
लक्ष्मी – रिस, अहङ्कार र छलकपटी भएकैले रावण, दुर्योधन र कंसहरूको सत्यनाश भो । कुरा बुझ, विनोद । चाँडै रहस्यको पोको फुकाऊ र हामीलाई बाँड ।
रन्जु – (हाँस्दै) नभए मसँग हँसाउने ओखती छ । एकै खुराकमा हाँस्नैपर्छ ।
कृष्ण – विनोदलाई हँसाउने ओखती त मसँग पनि छ तर मचाहिँ प्रयोग गर्दिनँ । कसैको रिसमा आफू अचानो बन्न पुगिएला कि भन्ने त्रास छ ।
लक्ष्मी – त्यही काउकुती लगाउने कुरा त गरेको होला नि । जति बेला पनि एकैखाले सोचले काम गर्नु हुन्न । विनोद कुनै गम्भीर समस्यासँग जुध्दै छन् क्यार ।
कृष्ण – मिल्ने साथीहरूसँग समस्या बाँडे पो हुन्थ्यो । चूपचाप रहँदा त समस्याले किनारै पाउँदैन नि ।
विनोद – खै, तिमीहरूसँग के कुरा लुकाउनु र ! घरायसी बेमेललाई चौरमा छर्दा आङ कन्याएर छारो उडाउनुझैँ होला र पो त ! म तिमीहरूसँग रिसाएकै छैन ।
रन्जु – उसो भए हाम्रा अगाडिचाहिँ हँसिलो चेहरा बनाऊ न त ।
विनोद – मनभरि बेचैनीका तम्तमाइला कुराहरू बोकेर हाँस्न कहाँ सकिँदो रहेछ र !
कृष्ण – हामीसँग त हाँस्नैपर्छ । हाँस्दा पनि पचास प्रतिशत चिन्ताले बाटो तताउँछ । बाँकीलाई हटाउन सजिलै सकिन्छ ।
लक्ष्मी – कुरा खोल, विनोद ! हाम्रो सामथ्र्य पुग्ने ठाउँमा सहयोग गर्छौँ । नत्र, सल्लाह त दिन सक्छौँ । अर्थोक नभए पनि पाठ त सिक्न सक्छौँ ।
विनोद – उसो भए सुन तर कसैलाई नभन ।
रन्जु – भन्दैनौँ – भन्दैनौँ । साथीका घरायसी कुराहरू झ्याली पिट्दै प्रचार गर्नेजस्तो बेवकुफ नसम्झ न ।
विनोद – (केही खुसी हुँदै) मेरा आफ्ना भन्ने अरू को नै छन् र ? तिमीहरू नै त हौ नि । मैले मनपेट तिमीहरूलाई नै दिएको छु । विश्वासघात देखियो भने सर्वनाश हुन्छ भनेर मात्रै डराएको हुँ ।
कृष्ण – कुरा के हो ? भन न पहिले । विश्वासका लागि छाती चिरेर देखाउन त सक्दैनौँ तर साथीको कुभलो पनि कहिल्यै चिताउँदैनौँ । साथी दुःखको धैर्य हो र सुखको खुसी हो । हामी तिम्रा सुखदुःखका हितैषी हौँ ।
लक्ष्मी – धुकचुक हुँदै भन्न पर्दैन, निर्धक्क भएर भन । भन्न सक्दैनौ भने म भन्दिन्छु ।
विनोद – लक्ष्मीे ! के तिमी अन्तर्यामी हौ ? मेरो जीवनका हरेक कुरा थाहा छ त ?
लक्ष्मी – (केही उत्साहित हुँदै) थाहा छ भनेर नाक घोक््रयाउँदिनँ तर आज तिम्रो अनुहारमा निराशाका बादल मडारिनुको कारण भने म पक्कै जान्दछु ।
रन्जु – जानेदेखि भनिहाल्नु क्या । के आइतबार पर्खेर बसेकी त !
कृष्ण – पक्कै पनि बुबाले तिम्रो चाहनाअनुसार काम गर्दिनु भएन होला । यस पालाको परीक्षामा कम अङ्क ल्याएकोमा रिसाउनुभयो होला कि कसो ? (स्विकारोक्ति स्वरूप विनोद मुन्टो हल्लाउँछ ।)
लक्ष्मी – त्यति मात्र कहाँ हो र ! विनोदको जिद्दीको अगाडि बुबा झुक्नु भएन । वाक्युद्ध चल्यो केहीबेर अनि हारेपछि विनोदको मन रोयो । मन रुँदा मुहारमा खुसी नाच्ने कुरै आएन ।
विनोद – (हैरान हुँदै) मैले हारिहाल्ने कारण थिएन । हरेक बाबुआमाले सन्तानका हरेक चाहनालाई उचित सम्बोधन गर्दै कार्यान्वयन गर्नुपर्छ । यस खाले गुनचाहिँ मेरा पिताश्रीमा मैले पाउँदै पाइनँ ।
कृष्ण – विनोद ! नचाहिँदो माग पूरा गर्ने ठेक्का बुबाआमाले लिएका हुँदैनन् ।
विनोद – खै, मैले त एउटा साइकलको माग गरेको थिएँ । मेरो कुरो भुइँमै खस्न पाएन । चर्का कुरा सुन्नुप¥यो ।
कृष्ण – उसो भए तिमीलाई साइकल चाहिएको रहेछ । स्कुल जान मुस्किलले तिनचार मिनेट लाग्छ । किन चाहियो साइकल ? यो त विलासिताको वस्तु हो तिम्रा लागि । आवश्यकता त लक्ष्मीलाई मात्रै छ । (लक्ष्मीतिर फर्केर) यिनको घर टाढा छ । पैदल यात्रामा स्कुल आउन ठ्याक्कै एक घण्टा लाग्छ ।
रन्जु – आज तिमीलाई विलासिताको वस्तु साइकल चाहियो । भोलि मोटरसाइकल चाहिएला । पर्सि मोटरकारकै माग गरौला । विनोद ! चाहिँदो र आवश्यक माग मात्र राख न ।
विनोद – तिमीहरू पनि भाषण गर्छौ । सुन्दासुन्दा वाक्क भइसकेँ । यो संसारमा अधिकांश मानिस दुःखी हुनुको खाँटी कारण आवश्यकता पूरा नभएर होइन इच्छा पूरा नभएर हो । जो महत्त्वाकाङ्क्षी इच्छाहरू पाल्छ ऊ निराशामा मर्छ । पिताश्री यसै भन्नुहुन्छ ।
लक्ष्मी – (विनोदतिर फर्केर) कुरा त राम्ररी बुझेका रहेछौ । आवश्यकता पुरा नहुने मानिसलाई मलेरिया, कुपोषण, क्षयरोग, हैजा जस्ता रोग लाग्न सक्छ तर महत्त्वाकाङ्क्षी इच्छा पूरा नहुनेलाई भने अनिद्रा, उच्च रक्तचाप, हृदयरोग आदिले समात्न सक्छ । धन नहुनेहरू शारीरिक रोगका सिकार हुन्छन् भने मन नहुनेहरू मानसिक रोगका सिकार हुन्छन् । यो संसार मानसिक रोगीहरूको अखडा हुन लाग्यो ।
कृष्ण – संसारको के कुरा गर्नु ? विलासितामा फसेको छ । मसँग एउटा तथ्याङ्क छ । (पाना हेर्दै) विश्वमा ११ सय अरब डलर त हातहतियारका लागि खर्च हुन्छ तर बालबालिकाको शिक्षामा ७ अरब खर्च हुन्छ । यो विलासी संसारको कुरै अर्कै छ । अमेरिकाले मात्र सौन्दर्य प्रसाधनमा बर्सेनि ८ अरब डलर खर्च गर्छ । युरोपमा मात्रै बर्सेनि आइसव्रिmम र अत्तरमा २३ अरब डलर, चुरोटमा ५० अरब र अल्कोहलमा १५० अरब डलर खर्च हुन्छ जब कि पूरै विश्वमा स्वास्थ्य र पोषणका लागि १३ अरब डलर मात्र खर्च हुन्छ । अब आफै मूल्याङ्कन गर ।
रन्जु – यसको मतलब विलासितामा कैयौँ गुना खर्च हुँदो रहेछ, होइन ? आवश्यकतामा एकदमै थोरै खर्च गरिँदो रहेछ ।
लक्ष्मी – महत्त्वाकाङ्क्षी इच्छामा हात्तीको जति र आवश्यकतामा कमिलाको टाउको जति खर्च हुँदो रहेछ ।
कृष्ण – हो त नि, यस संसारले सबैलाई खुसी पारेको छ । तर, विलासी इच्छाहरूलाई बेखुसी छाडेको छ । त्यसैले त कुपोषणका रोगीका तुलनामा कैयौँ गुना मनोरोगी छन् ।
रन्जु – यस्तै विलासी इच्छा पूरा नहुनाले नै मान्छे आत्महत्या गर्न तम्सन्छ । गरीबभन्दा धनी मुलुकमा आत्महत्या गर्ने बढ्नु यसकै प्रमाण हो ।
विनोद – (एकछिन गम खाएर) हो, म सहमत भएँ । मैले यमपुरीकै महल बनाएको रहेछु । मानिस विलासी जीवनमा रमाउन खोज्छ तर नरमाईकनै मर्छ । विवेक शून्य इच्छा पालेर मैले आफ्नो मनलाई आफैले चिमोटेछु । ल भइ गयो, मैले महत्त्वाकाङ्क्षी इच्छा त्यागेँ । बुद्धिको बिर्को खोल्दिएकोमा साथीहरूलाई धन्यवाद ।
सबै – (एकअर्कामा अङ्कमाल गर्दै एकैस्वरमा) महत्त्वाकाङ्क्षी इच्छालाई आर्यघाट पुर्याऔँ । महत्त्वपूर्ण आवश्यकतालाई अगाडि सारौँ । मनोरोग भगाऔँ । अग्रगामी पथ पव्रिmऔँ । (पर्दा खस्छ ।)
प्रकाशित: १३ पुस २०७७ ०७:१२ सोमबार