७ वैशाख २०८१ शुक्रबार
कला

जन्मदिनको चकलेट

शिखा श्रेष्ठ

 

कोपिला शहरमा पढ्छिन् । ऊ कक्षा ७ मा पढ्दै थिइन् । उनी जिद्धी थिइन् । उत्तिकै   ईर्ष्यालु पनि थिइन् । अरूले जे गरयो त्यही गर्न मन पराउँथिन् उनी । विद्यालय जाँदा र फर्कदा बाटोमा ऊजस्तै केटीहरूले राम्राराम्रा र महँगा लुगा लगाएको देख्थिन् । त्यसैले उनी पनि बाबुआमासँग झगडा गरेर भए पनि आफूलाई मन परेको कुरा किनेरै छाड्थिन् । उसको परिवार त्यति धनी परिवार थिएन । उसको बाबाआमा श्रम गरेर जीविकोपार्जन गर्दथिन् । छोरीको पढाइ राम्रो होस् भनेर कोपिलालाई उसको आमाबाबुले राम्रो विद्यालय भर्ना गरिदिएकी थिइन् ।

आज पनि ऊ सधैंझै विद्यालयको पोसाक लगाएर विद्यालय गइन् । विद्यालय कोठामा पुग्नासाथ उसले रमाइलो दृश्य देख्यो । उसको साथी आयुष्माले सबै साथीलाई चकलेट बाँडिरहेकी थिइन् । कोपिलालाई पनि चकलेट दिइन् । आयुष्माको जन्मदिन भएकाले चकलेट बाँडेको थाहा पाइन् कोपिलाले । चकलेट सामान्य चकलेटभन्दा निकै मिठो थियो । कोपिलाले साथीलाई धन्यवाद भन्दै चकलेट मिठो मानी अर्को पनि एउटा थपेर लिइन् ।

कक्षा सुरु हुनेबेला भयो । क्लास टिचर कक्षाकोठामा प्रवेश गरयो । आयुष्माले क्लास टिचरलाई भन्यो, ‘एक्सक्युज मी सर, आज मेरो जन्म दिन, हजुर यो चकलेट लिनुस् । अनि मलाई केक काट्ने अनुमति पनि दिनुस ।’

क्लास टिचरले आयुष्मालाई जन्मदिनको शुभकामना दिइन् । केक काट्न पनि अनुमति दिइन् । टिचरले केक काट्न पनि सघाइन् । केक कक्षाकोठाका सबै विद्यार्थीलाई पुग्ने गरी ठूलो केक ल्याइएको थियो । आयुष्मालाई सबैजनाले एकैपटक वर्थ डे विस गरे । आयुष्माले केक काटिन् । क्लास टिचरले उनलाई केक खुवाइन् । उनले पनि क्लास टिचरलाई केक खुवाइन् । आयुष्माले सबै साथीलाई केक काटेर बाँडिदिइन् ।

पहिलो घन्टी सकियो । दोस्रो, तेस्रो र चौथो घन्टी पनि लगातार सकियो । टिफिन टाइममा आयुष्माले कक्षाकोठाका सबै साथीलाई खाजा खुवाइन् । विद्यालय छुट्टी भएपछि आयुष्माले सबै साथीलाई उसको घरमा बोलायो । घरमा पार्टी थियो । सबै साथी  आआफ्नो घर गए । लुगा फेरेर उपहार किनेर आयुष्माको घरमा गए । कोपिला भने आयुष्माको घरमा साथीहरूले कोपिलालाई देखेनन् । उता कोपिला आयुष्मालाई के उपहार दिऊँ भइरहेको थियो । किनकि ऊसँग धेरै पैसा थिएन । उसले सानो पुतली किनेर आयुष्माको पार्टीमा गइन् । आयुष्माले हरेक जन्मदिनमा एउटा रूख रोप्दथिन् । आज पनि उनी सबै साथीलाई लिएर घर नजिकैको खुला जमीनमा रूख रोप्न गइन् । रूख रोपेर सबै रमाइलो कुराकानी गर्दै फर्किन् । घरमा मिठामिठा परिकारहरू पाक्दै थियो । आयुष्माका आफन्तहरू पनि भेला भइसकेका थिए । घरमा जन्मदिनको ठूलै उत्सव थियो । घरको बरण्डामा ठूलो केक सजाएको थियो । जन्मदिनका धुन बज्न थाल्यो । सबैले आयुष्मालाई ह्याप्पी वर्थ डे विस गरे । आयुष्माले केक काटिन् । बाबाआमा र उपस्थित सबैलाई केक खुवाइन् । संगीतका मीठा धुनहरू बज्न थालेको थियो । सबैले आयुष्मालाई उपहार दिए । तर, कोपिला भने आफूले ल्याइएको उपहार दिन हिचकिचायो । अन्तमा उसले मुख अँध्यारो पार्दै आयुष्मालाई आफूले ल्याएको उपहार दिइन् । महँगो र राम्रो उपहार दिन नसकेकोमा उसलाई खिन्न भयो । सबैले मिठो खानेकुरा खान थाले । वातावरण निकै रमाइलो हुँदै गएको थियो । खानेकुरा खाइसकेपछि नाचगान हुन थाल्यो । सबै खुला आकाशमा उडिरहेको पंक्षीजस्तै देखिन्थे । सबै नाचेर गाएर निकै रमाइलो गरे । रात छिप्पिदै गयो । सबै रमाइलो गरिसकेपछि आयुष्मासँग बिदा हुँदै साथीहरू आआफ्नो घरमा जान थाले ।  

भोलिपल्ट विद्यालयमा आयुष्माको कक्षाकोठामा साथीहरूले आयुष्माको निकै तारिफ गरे । कोपिलालाई पनि आयुष्माको जसरी जन्मदिन मनाउने रहर लाग्यो । उनको जन्मदिन पनि नजिकिँदै थियो । उसले आफ्नो जन्मदिनका लागि पैसा जम्मा गरेको थिएन । जन्मदिन नजिक आएपछि कोपिलाले बाआमालाई भन्यो– बाबा मेरो जन्मदिन पनि आयुष्माको जसरी मनाइदिनुपर्छ है ! उनले आयुष्माले विद्यालय र घरमा मनाएको जन्मदिनबारे सबै बाआमालाई भनिन् । उनले पनि कक्षामा ठूला र मिठा चकलेट बाँड्ने, साथीहरूलाई खाजा खुवाउने र घरमा सबैलाई बोलाएर पार्टी गर्ने प्रस्ताव बाआमासामु राखिन् ।

तर, उसको बाआमासँग धेरै पैसा थिएन । उनलाई पढाउन पनि दिनहुँ श्रम गरेर पैसा जम्मा गरेर विद्यालयलाई बुझाउँथ्यो  

‘छोरी तिमीलाई थाहै छ, हामीसँग धेरै पैसा छैन । चकलेट किनिदिन्छु । साथीहरूलाई चकलेट बाँडिदेऊ । पार्टी नै किन गर्नुपरयो ? जिद्धी नगर छोरी ।’

आमाको कुरा सुनेर कोपिला रिसाइन् र घरबाट फुत्त बाहिर निस्किइन् । कोपिला सधैं जाने पसलमा एकजना दयालु दिदी थिइन् । उनी सरासर त्यहीँ गइन् । उनले पसले दिदीसँग ५ हजार रुपैयाँ मागिन् । घरमा खानेकुरा सकिँदा दिदीकै पसलबाट  उधारो दिनुहुन्थ्यो ।

‘तिमीलाई यति धेरै पैसा किन चाहियो ?’ पसले दिदीले कोपिलालाई सोधिन् ।

‘दिदी, घरमा आमा विरामी हुनुहुन्छ । उपचारका लागि अस्पताल लिएर जानुपर्ने भयो त्यसैले ।’ कोपिलाले पसले दिदीलाई ढाँटिन् ।

‘ए के भो त तिम्री आमालाई ल लैजाऊ’ भन्दै दिदीले ५ हजार रुपैयाँ दिइन् ।

आयुष्मा पनि त्यही पसलमा आएकी थिइन् । कोपिलाले पसले दिदीसँग ५ हजार रुपैयाँ लिएको देखिन् । आयुष्माले कोपिलालाई सोधिन्, ‘तिमीलाई यति धेरै पैसा किन चाहियो ?’

‘मलाई चाहिएको होइन । मेरो आमा बिरामी हुनुहुन्छ । त्यसैले उपचारका लागि हो’ कोपिलाले आयुष्मालाई पनि ढाँटिन् । 

कोपिलाको कुरा सुनेर आयुष्माले अचम्म मान्दै भनिन्,‘म भर्खर तिम्रो घरमा गएर आएकी हुँ  । तिम्रो आमालाई भेटेर आएकी । आमालाई त केही भएको छैन । तिमीलाई बोलाउन म तिम्रो घर गएको थिएँ । आमाले तिमी घरबाट बाहिर निस्केको भन्नुभएकीले म फर्कदै थिएँ । तिमीलाई यहाँ देखेर आएकी । तिमी मसँग झूट बोलिरहेकी छौ । भन, किन लिएकी यति धेरै पैसा ?

कोपिलाको अनुहार रातो भयो । उनले झूट बोलेको आयुष्माले थाहा पाइन् । कोपिलाले आयुष्मालाई भनिन्, ‘आयुष्मा भोलि मेरो जन्म दिन । म पनि तिमीले जस्तै विद्यालयका साथीहरूलाई चकलेट बाँड्न चाहन्छु । उनीहरूलाई खाजा खुवाउन चाहन्छु । बाआमासँग पनि पैसा छैन । मसँग पनि छैन । त्यसैले पसले दिदीसँग झूट बोलेर पैसा लिएकी ।’ कोपिलाले आयुष्मालाई भनिन् ।  

आयुष्माले कोपिलालाई भनिन्, ‘तिमीले यो गल्ती गर्नु नपर्ने थियो । तिम्रो आमा बिरामी छैन र तिमीले झूट बोलेर पैसा लिएको पसले दिदीले थाहा पायो भने तिमीलाई उहाँले कहिल्यै पनि विश्वास गर्नुहुने छैन । बरु साँचो कुरा भनेर यो पैसा उहाँलाई नै दिऔं । इमानदार नै सबैभन्दा ठूलो धर्म हो । इमानदार मान्छेले कहिल्यै दुःख भोग्नु पर्दैन ।’ 

कोपिला र आयुष्मा दुवै पसले दिदीकहाँ गइन् । कोपिला दिदी नजिकै गएर भनिन्, ‘दिदी यो पैसा तपाईं आफै राख्नुस् ।’

‘पसले दिदीले छक्क पर्दै सोधिन्, अनि आमा बिरामी छ भनेकी हैनौ ? लैजाऊ आमाको उपचार गर । उपचारपछि तिम्रो बाबाआमाले तिरिहाल्छन् । इमानदार छ तिम्रो बाआमा ।’

कोपिलाले अनुहार मलीन गर्दै भनिन् । ‘दिदी मलाई माफ गरिदिनु होला । मैले हजुरजस्तो इमानदार व्यक्तिसँग झूट बोलें । आज मेरो जन्मदिन । बाआमासँग पनि पैसा थिएन । मसँग पनि थिएन । हजुरले पैसा दिनुहुन्न कि भनेर मैले आमा बिरामी छ भनेर झूट बोलेर गल्ती गरें । मलाई माफ गरिदिनुस् दिदी । म विद्यालयका साथीहरूलाई वर्थडे पार्टी दिन चाहन्थें । त्यसैले यो सबै गरें । अब यस्तो गल्ती गर्दिन ।

‘ल ठिक छ । तिमीले आफ्नो गल्तीको पश्चाताप गरयौ । यही नै सबैभन्दा असल मान्छेको गुण हो । अब कहिल्यै कसैसँग झूट नबोल । अघि नै वर्थ डे भनेको भए म तिमीलाई मद्दत गरिहाल्थें । ठिक छ यो ५ सय रुपैयाँ तिमी आफै राख । तिमीलाई जन्मदिनको धेरै शुभकामना । दिदीले उसलाई ५ सय रुपैयाँ दिइन् ।

कोपिलाले दिदीलाई धन्यवाद दिएर आयुष्मासँगै गइन् । आयुष्माले कोपिलालाई भनिन्,‘मैले भनेको होइन ? गल्ती गरेपछि समयमै माफी माग्नुपर्छ । माफी पाइन्छ । दिदीले तिमीलाई माफी दिनुभयो । तिमीलाई ५ सय रुपैयाँ पनि दिनुभयो । असल मान्छेले कहिल्यै देखासिकी गर्दैनन् । आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ । ऋण गरेर देखासिकी गर्नु हुँदैन । थोरै पैसाले तिमीले खुसीका साथ वर्थ डे मनाउन सक्छौं । मनखुसी भएर दियो भने एउटा चकलेट पनि असल साथीहरूका लागि अमृत समान हुन्छ । यदि तिमी मैले जस्तै वर्थडे मनाउन चाहन्छौ भने म तिमीलाई सहयोग गर्छु ।’ आयुष्माले भनिन् । 

पर्दैन । तिमीले मेरो आँखा खोलिदियौ आयुष्मा । यो पैसाले म चकलेट मात्र बाँड्छु । मायाले बाँड्छु । प्रेमले बाँड्छ्ु । हृदयदेखि खुसी भएर सफा मनले बाँड्छु ।’

दुवै आआफ्नो घरमा पुगे । छोरी घर आएको देखेर आमाले भन्नुभयो, ‘छोरी चकलेट र केक काट्नचाहिँ पैसा पुग्छ होला । बा र मसँग भएको पैसाले । तर, पार्टी नै दिनचाहिँ पुग्दैन । साथीहरूलाई चकलेट बाँडेर केक मात्र काट ल ।’

‘आमा, म केक पनि नकाट्ने । पार्टी पनि नगर्ने । मेरो आँखा खुलिसक्यो । साथीहरूलाई म सामान्य चकलेट बाँडिदिन्छु । कुनै पनि सामाग्री सानो होस् वा ठूला सफा मनले बाँड्नुपर्छ । मनले दिनुपर्छ । माया र खुसीले दिनुपर्छ ।  त्यसरी दिएको चीजको ठूलो महत्व हुन्छ ।’ उनले पसले दिदी र आयुष्मासँग भएका सबै कुरा सुनाइन् ।

कोपिलाको कुरा सुनेर आमा धेरै खुसी हुनुभयो । ‘मेरी छोरी बुझ्ने भएछ’ भन्दै गालामा चुम्बन दिनुभयो ।

भोलिपल्ट बिहान चाँडै उठेर कोपिला नुहाइन् । मन्दिर गइन् । घरमा आएर बाआमासँग आशीर्वाद लिइन् । बाआमाले उनलाई टीका लगाएर सगुन र उपहार दिनुभयो । घरमा जन्मदिन मनाएर ऊ विद्यालय जान तयार भइन् । उसले हिजो किनेर ल्याएको चकलेटको प्याकेट व्यागमा राखिन् । बाटामा जाँदै गर्दा पसले दिदीलाई चकलेट दिइन् । पसले दिदीले पनि उनलाई उपहार दिइन् । विद्यालयमा शिक्षक र सबै साथीलाई चकलेट बाँडिदिइन् । साथीहरूले आफूले सकेको उपहार दिए । आयुष्माले पनि कोपिलालाई उपहार दिइन् र भनिन्, ‘हामीले जन्म दिनमा केही राम्रो काम गर्न सके अरू दिनमा पनि राम्रो काममा मन जान्छ । मैले त जन्मदिनमा रूख रोप्न गरेको छु । बरु रूखचाहिँ तिमीले पनि रोप ।’

कोपिलाले टिफिन टाइममा नजिकै नर्सरीमा गएर रूखको बिरुवा किनेर ल्याइन् । आयुष्मा र केही साथीसँग विद्यालय प्राङ्गनमा उनले रूख रोपिन् । कोपिलाको कार्य देखेर विद्यालयका शिक्षकहरूले उनलाई जन्मदिनको शुभकामनासँगै रूख रोपेकोमा धेरै धन्यवाद दिए । त्यही वर्ष जन्मदिन परेका सबै विद्यार्थीले विद्यालयमा एउटाएउटा रूख रोप्न थाले । स्कुलको आया दिदीहरूले विद्यार्थीले रोपेका थरीथरीको रूखको स्याहार गरे । रूख हुँर्कदै गयो । कोपिलाको विद्यालय वरपर हरियाली छाउन थाल्यो । 

प्रकाशित: १३ पुस २०७७ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App