coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

प्रतिस्पर्धाबाटै नाम चम्काउँदै

नेपाली सेफ सन्तोष साह बिबिसीको ‘मास्टर सेफ प्रोफेसनल्स् २०२० युके’ को टप ३ मा पुग्न सफल भएका छन्। बुधबार बिबिसी वानमा प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२० युके’ प्रतिस्पर्धामा नेपाली ढाका र भादगाउँले टोपीमा देखिएका उनले आमा सुमारीदेवी साहप्रति समर्पित रहेर खाना तयार गर्दै टप ३ मा छनोट भएका थिए।

बाल्यकालमा बुवाको निधन भएपछि पाउरोटी र पोलिथिन बेचेर घर र स्कुल खर्च जुटाएको र आमा खाजा बोकेर पुग्ने गरेको क्षण उनलाई ताजै छ। त्यसैले ‘मास्टर सेफ प्रोफेसनल्स् २०२० युके’ प्रतिस्पर्धामा उनले आमाका लागि पुरी, गंगटाको तरकारी, खीर, भुटेको चिउरा र खुर्सानीलगायत परिकार तयार गर्दै टप ३ मा निर्णायक टोलीलाई बाल्यकालको याद दिलाउँदै टिफिन बक्समा पस्किएका थिए। ‘बाल्यकाल अभाव र गरिबी बित्यो,’ उनले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु।’

प्रतिस्पर्धाअन्तर्गतको महत्वपूर्ण ‘सेफ्स टेबल’ राउन्डमा उनले खसीको मासु, रायोको साग, पुदिना परौठा र भटमास साँधेको लगायत परिकार तयार गरेका थिए। टप ३ मा पुगेलगत्तै ३५ वर्षे सेफ साहले विश्वसामु नेपाली खाना परिचित गराउन सो प्रतिस्पर्धा महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए। ‘नेपाली परिकारहरू विश्वसामु चिनाउनको लागि यो प्रतिस्पर्धा महत्वपूर्ण छ,’ उनले भनेका थिए।

यसअघि प्रतिस्पर्धाको फाइनल राउन्डको पहिलो चरणअन्तर्गत ‘इन्भेन्सन् राउन्ड’ मा उनले कोदोको खीर, आँपको कुल्फी र तराई क्षेत्रमा पाइने अमोट तयार गरेका थिए। त्यस्तै निर्णायकको अनुरोधमा खरायोलाई नेपाली भुटन शैलीमा पस्किएका थिए।

उत्कृष्ट प्रस्तुतिको आधारमा सेमिफाइनल राउन्डमा सिधैं प्रवेश पाएका उनले सो राउन्डमा भने नेपालको हिमाली भेगमा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार र स्याउको अचार लगायत परिकार तयार गरेका थिए। विभिन्न चरणमा उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको अचार, मकैको रोटी र तामाको अचारलगायत नेपाली खाना पस्किएका थिए।

एसएलसी अनुत्तीर्ण भएपछि पैसा कमाउन १५ वर्षमा गाउँका दाजुभाइसँग होटलमा काम गर्न भारतको गुजराततर्फ हानिएका उनी सन् २०१० मा लन्डन पुगेका थिए। त्यहाँ उनले विभिन्न ६ रेष्टुरेन्ट र एक तारे होटलमा काम गरिसकेका छन् भने थुप्रै सेलिब्रेटी सेफहरूसँग काम गरिसकेका छन्।प्रतिस्पर्धाको हरेक राउन्ड चुनौतीपूर्ण हुने अनुभव उनले गरेका छन्। ‘प्रतिस्पर्धाको दौराना मानसिक रूपमा धेरै दबाव हुन्छ,’ प्रतिस्पर्धाको फाइनल राउन्डमा केन्द्रित रहेका उनले भने, ‘समयको ख्याल गर्नुपर्छ। हरेक पटक प्रस्तुत हुँदा म अभ्यास गरेर आउँछु। क्यामरा र निर्णायकहरू दबावले तनाव धेरै महसुस हुन्छ। तैपनि नेपाली खाना पस्किएर निर्णायकहरूलाई प्रभावित पार्न म सक्दो कोशिस गर्नेछु।’

सन्तोष मात्र होइन संसारभर आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तथा रियालिटी सोहरूमा सहभागी नेपालीहरूले ख्यातिसँगै राम्रो प्रस्तुति दिइरहेका छन्। रियालिटी सो ‘अमेरिकन आइडल’ मा नेपाली गायक दिवेश पोखरेल ‘आर्थर गन’ उपविजेता बन्न सफल भएका थिए। हरेक प्रस्तुतिपछि तारिफ पाएका उनको गायकीलाई निर्णायक लियोनल रिचीले गायक ‘बब मार्ली’ सँग दाँजिदिएका थिए।

२२ वर्षअघि काठमाडौंमा जन्मिएका आर्थर गन बाल्यकालदेखि गीत सुन्न सोखिन थिए। सन् २००८ मा उनको परिवार अमेरिका बसाइँ सरेपनि उनी भने सन् २०१४ मात्र त्यहाँ पुगेका थिए। राजधानीको विभिन्न पब र कफी सपमा गीत गाउँदै हिड्ने उनले सन् २०१८ मा ‘ग्रहण’ नामक पहिलो एल्बम सार्वजनिक गरेका थिए। त्यसपछि ‘खोज’ एल्बम ल्याएका थिए। युट्युब च्यानलमार्फत एल्बमका गीतहरू अपलोड गरेका थिए। ‘सन्डे मर्निङ लभ यु’ गीतबाट भाइरल भएका भीम निरौला बेलायतको रियालिटी सो ‘ब्रिटिन्स गट ट्यालेन्ट’ मार्फत चर्चा कमाइरहेका थिए। ‘ब्रिटिन्स गट ट्यालेन्ट’ को मञ्चमा समेत ५४ वर्षीय गायक निरौलाले सो गीत प्रस्तुत गरेर धमाका मचाउँदै दोस्रो राउन्डसम्म पुगेका थिए।

नेपाली मूलका प्रशान्त तामाङले तेस्रो ‘इन्डियन आइडल’ को उपाधि जितेसँगै विभिन्न देशका डान्स र गायन विधाका रियालिटी सोमा नेपाली प्रतिभाहरूले कमाल देखाइरहेका छन्। रूपन्देहीकी तेरिया मगरले भारतीय च्यानल जी टिभीमा प्रसारित हुने ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ को उपाधि जितेकी थिइन्। गत वर्ष जी टिभीबाट प्रसारित ‘सारेगमप लिटिल च्याम्प’ मा इटहरीका प्रितम आचार्य तेस्रो र भक्तपुरका आयुष केसी चौथो भएका थिए। स्टार प्लसबाट प्रसारित हुने ‘डान्स प्लस सिजन–२’ को टप ४ मा नेपाली डान्स टिम वाइल्ड रिपर्ज र सुशान्त खत्री पुगेका थिए। यसअघि विदेशमा हुने रियालिटी सोमा नेपालीले खासै उपलब्धि हाँसिल गरेका थिएनन्।

सन् १९९७ देखि मिस वल्र्डमा सहभागिता जनाइरहेको नेपालले गत वर्ष भने ठूलो सफलता हाँसिल गरेको थियो। गत वर्ष बेलायतमा आयोजित मिस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले मिस वल्र्डको मुटु मानिने ‘ब्युटी विथ अ पर्पस’ र मल्टिमिडिया अवार्ड जित्न सफल भएकी थिइन्। एक सय ११ सुन्दरी सम्मिलित मिस वल्र्डको फाइनलमा उनी उत्कृष्ट १२ मा छानिएकी थिइन्। यसअघि इशानी श्रेष्ठ मिस वल्र्डको उत्कृष्ट १० मा छानिएकी थिइन् भने मनिता देवकोटा मिस युनिभर्सको उत्कृष्ट १० मा छानिएकी थिइन्।

प्रकाशित: ३ पुस २०७७ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App