८ वैशाख २०८१ शनिबार
कला

दौड

कविता

रमेश अधिकारी  

मैले दौडेर गाउँको चक्कर मारिसक्दा
मेरा दामली केटाहरू
आधा बाटो दौडिँदै थाकिसकेका हुन्थे
मेरो नाम बाइपंखी घोडा राखिसकेका हुन्थे ।

अनि म तिनीहरूलाई गिज्याउँदै भन्थेँ
म त दौडेरै पृथ्वी घुम्छु एक दिन
दौडेरै सफलता चुम्छु एक दिन
तिमीहरू यही थकाइ मार्दै बस्नू ।
म त जित्छु जित्छु तिमीहरू हार्दै बस्नू ।

मैले दौडेर टाढाको पसलबाट
नुन ल्याइपु-याउँदा
आमाले नजिकैको इनारबाट
एक बाल्टी पानी उबाउन भ्याउनुहुन्थेन ।

अनि आमाले कपाल सुमसुम्याउँदै
एक दिन मेरी छोरी
दौडेरै हामीलाई पाल्छे भन्नुहुन्थ्यो ।
बुढेसकालका दुःख फाल्छे भन्नुहुन्थ्यो ।

मैले दौडेर बुर्कुसी मार्दै भागेको बाख्राको पाठो समाउँदा
मेरा बाबा
उसलाई बाँध्ने दाम्लो लिएर
पर आउँदै गरेको देखिनुहुन्थ्यो ।

अनि बाबाले
मेरी छोरीलाई पाठोले थकायो भन्दै
घर फर्किंदा
मलाई काँधमा बोकेर फर्किनुहुन्थ्यो ।
यस्तो मुख्र्याइँ गर्न हुन्न भनेर झर्किनुहुन्थ्यो ।

त्यो दिन,
साथीको बाख्राको पाठो समाइदिन
दौडेर गएकी म
सात दिनपछि बेचाल
अस्पतालको बेडमा ब्युँझिएँ ।

के ब्यारेकको गेटदेखि अस्पताल पुग्न
मलाई सात दिन लाग्यो ?  
कि म सपनाबाट ब्युँझिएँ ?

तारबार फड्केर भित्र छिरेको
पाठो फक्र्यो कि फर्केन थाहा छैन ?
तर तारबार बाहिरै पड्केकी म
सग्लो भने फर्किन पाइनँ
सबैका आँखामा खुरर्र दौडने खुट्टेमान्छे म
आफ्नो सग्लो खुट्टो लिएर फर्किन पाइनँ ।

आज पनि सोच्छु
बारीमा छिरेर बाली खाइरहेका बाख्राका पाठा धपाउँ
दौडेर गाउँको चक्कर लगाउँ
तर कृत्रिम खुट्टाले डसेको दुखाइले
आफैँलाई चक्कर लगाउँछ ।

अब त
छोरीलाई थकाइ लाग्यो भनेर
चढाउने बाबाको काँध पनि छैन
कति दूरी पर कति दूरी नजिक
भनेर छुट्ट्याउने साँध पनि छैन ।

हिजो दौडेरै केटाहरूलाई जित्ने म
आज भाँचिएको कृत्रिम खुट्टा फेर्ने दौडमा छु
हिजो दौडेरै पृथ्वी फन्को मार्ने आँटकी म
आज त्यो सूचीमा मेरो पनि नाम अटाइदेऊ न भन्दै
सरकारी दफ्तरको फन्को मारिरहेछु ।

कोही पु-याइदेऊ मलाई
हिजोको म भएको समयमा
मलाई केही नभएको समयमा ।

म चाहन्छु
सियोमा धागो उन्न नसक्ने गरी
कुरुसले कपडा बुन्न नसक्ने गरी
मेरो कृत्रिम खुट्टाको
ट्याक–ट्याक आवाज सुन्न नसक्ने गरी
बूढी भएकी मेरी आमालाई दौडेरै पाल्न सकुँ

म चाहन्छु
मेरा खुट्टा बनाउनका लागि|
दौडँदादौडँदै
सदाका लागि विश्राम लिएका
मेरा बाबाको काँधमा
बेफिक्री भएर आफ्ना खुट्टा फाल्न सकूँ ।

म चाहन्छु,
यो धर्तीका गर्भभरी बेवारिसे छोडिएका
ती हरेक विस्फोटनका स्रोतहरू उखेल्न सकुँ

म चाहन्छु,
यातना होस् वा गोलीले
छियाछिया पारेका हरेक मनहरू  
टाल्न सकूँ

म चाहन्छु,
क्रान्तिका नाममा होस् वा आतंककारीका नाममा
बगाइएका ती तमाम रगतका टाटा पखाल्न सकुँ

आऊ कोही पु-याइदेऊ मलाई
हिजोको म भएको समयमा
मलाई केही नभएको समयमा ।

प्रकाशित: २० मंसिर २०७७ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App