७ वैशाख २०८१ शुक्रबार
कला

बहुरूपिया

लघुकथा

खेमराज पोखरेल 

 

 गणेशको गद्दी

पशुपतिले रौद्र मुद्रामा इमर्जेन्सी एलार्म बजाए । पार्वती, गणेश र कुमार हातमा मोबाइल लिँदै पशुपति हातामा उपस्थित भए ।

पार्वतीले पशुपतिको नजिकै पुगेर भनिन् – ‘हामी हाजिर भएका छौँ प्रभु ।’

पशुपतिले पशुबुद्धि झिके – ‘यी नाथे, गणेश र कुमार अचेल ‘हामी त वर्तमान’ भन्दै इन्टरनेटमा व्यस्त भएर मलाई गुदान्नै छोडे । म यिनलाई श्राप दिन्छु ।’

‘ख्वामित, गरिबउपर, यी मेरा लालाबालालाई श्राप नबक्सियोस् ।’ पार्वती गिड्गिडाइन् ।पशुपतिको पशुबुद्धि केही शान्त भयो  र भने – ‘ठिक छ, यी दुईले तीन त्रिलोक चौध भुवन परिक्रमा गरेर ज्ञान प्राप्त गरी रिपोर्ट लिएर आऊन् । जसले रिपोर्ट चाँडो लिएर आउँछ, उसलाई गद्दी दिनेछु ।’

कुमार वायुयान लिएर कुदे । गणेशे सुँढ र घ्याम्पे पेट बोकेर घर गए ।

कुमारले अक्सफोर्डमा गएर मास्टर गरे । पेरिसमा गएर पिएचडी गरे । हार्भडमा पोस्ट डक्टरेट गरे । ह्वीस्टन पुगेर अन्तरिक्षयान भाडामा लिएर तीन त्रिलोक चौध भुवन घुमे र नेपाल फर्कन एउटा यान चार्टर गरे । यसैबेला उनकी गर्ल फ्रेन्ड जेनिकाले भनिन् – ‘एकपल्ट हेर न, नेपालमा के भएको छ रु’

कुमारले मोबाइलमै हेरे । गणेश भुँडी हल्लाउँदै गद्दीमा बसेको फोटो थियो । अनि कुमारले मेसेन्जरमा सोधे – ‘गणेश भाइ, कत्ति छिट्टै पढेर ज्ञान प्राप्त गर्यौ हँ । गद्दी पो पाइसकेछौ त ।’

गणेशले अट्टहास गर्दै उत्तर दिए – ‘आठ पढ्दा पढ्दै फेल भएँ नि कुमार दाइ। तर मैले बाबुआमाको वरिपरि घुमेर फूलपाती चढाएर ‘मेरा लागि तिन त्रिलोक पनि हजुर, ज्ञान पनि हजुर’ भनेर चाकरी गरेको त बूढा खुसी भएर यो गद्दी मलाई सुम्पेर हिँडे ।’

कुमार बोले – ‘यो त अन्याय भयो नि भाइ ।’

गणेशले उत्तर दिए – ‘बेलामै नेपाल चिन्नु भएन त दाइ, म के गरुँ !’

 

बहुरूपिया

 

 

 

एउटा मेरो छिमेकी छ । मान्छे उसलाई बहुरूपिया भन्छन् । ऊ राति रक्सी भट्टी र यौनालयमा भेटिन्छ घरमा श्रीमतीलाई एकपति खुराक दिन्छ ।  बिहान पुराण श्रवण गर्न पुग्छ । टीका थाप्छ । चन्दा दिन्छ र धार्मिक कहलाउँछ ।  दिउँसो पार्टी कार्यालय धाउँछ र नजरमा पर्छ । चुनावमा टिकट पाउँछ र जित्छ । बेलुका गुण्डा नाइकेलाई निर्देशन दिन्छ र हप्ता असुली गर्छ । नैतिक आदर्शको कुरा टेलिभिजनमा गर्छ र बाबुआमालाई वृद्धाश्रम पुरयाउँछ । एन्टी धारको कुरा गर्छ र प्रखर बौद्धिक ठानिन्छ ।

र म यसैबेला वाल्यकाल सम्झन पुग्छु ।

तिनताक गाउँमा बहुरूपिया  आउँथ्यो । कहिले ऊ काली हुन्थ्यो । कहिले काल हुन्थ्यो । कहिले दस अवतार हुन्थ्यो । कहिले राम त कहिले रावण हुन्थ्यो । मान्छे एउटै थियो तर मुखुण्डो र कपडा फेरथ्यो । कैयौँ दिनसम्म ऊ अलग –अलग रूपधारण गर्दथ्यो । मान्छे उसलाई  बहुरूपिया भगवान् ठान्थे । उसको हरेक रुपलाई पूजा गर्थे । दान दिन्थे ।

ऊ फेरि अर्को गाउँ जान्थ्यो र बहुरूपिया  बन्थ्यो ।

एकदिन मैले उसलाई बिनामखुण्डो देखेँ र भनेको थिएँ – ‘दाइ, किन यो बहुरूप  धारण गर्नुहुन्छ ! त्यसै मागे हुँदैन !’

उसले जवाफ दिएको थियो – ‘बहुरूप नबनी तिमी दिन्छौ दान !’

मेरा दिमागमा उसले भनेको कुरा घुसेन । अनि मैले आमालाई सोधेँथेँ – ‘आमा, त्यो बहुरूपियाले बहुरूप बनाएन भने हजुरले दान दिनु हुन्न !’

आमाले भन्नु भएथ्यो – ‘बहुरूप बनाउने भनेको बहुरूपिया  भगवान् हो । बहु रूपै बनाएन भने कता दान दिनु त बाबु !’

छिमेकीले भर्खर चुनाव जितेको थियो  र मैले अहिले आमा वृद्ध भए पनि सोधेँथेँ – ‘हाम्रा छिमेकी पनि  हुन् आमा !’

आमाले उत्तर दिनुभएथ्यो – ‘र त उनले नै चुनाव जिते त ।’

 

 

  डेड इन्ड

 

 म बि.ए. पढ्थेँ । मलाई हाम्रै कलेजमा काम गर्ने खर्दार लेभेलको कर्मचारी खुव मन पथ्र्यो । ऊ शरीरमा, विचारमा, बोलीचाली र व्यवहारमा निकै असल र अब्बल थियो । मलाई ऊसँग किन किन बिहे गरूँ, गरुँलाग्थ्यो । अलिकति उसले पनि मनपेट दिएको थियो । तर मलाई हाकाहाकी भन्न सक्दैन थियो ।

मैले यो कुरा आमालाई सुनाएकी थिएँ । आमा त फायर हुनुभएको थियो । बेलुका आमा र बुवा दुवै भेला भएर मलाई खार्न थाल्नु भएको थियो ।

आमाले भन्नु भएथ्यो – ‘कस्ता डाक्टर इन्जिनियर आउँदा दिइनँ । छोरीले पढ्छे भनेँ । अहिले जाबो खर्दारसँग बिहे गर्छु पो भन्छे ।’

बुवाले सम्झाउन थाल्नु भयो – ‘हेर छोरी, जीवन पैसाबिना चल्दैन । बिहे अलि हैसियत भएकैसँग गर्नु पर्छ । गतिलो केटो खोजौँला र बिहे गर्लिस् । अहिले त्यस्तो कुरा नगर ।’

मेरो पनि लभै त थिएन । अलिअलि मन परेको न हो ।

समयक्रममा मेरोलागि केटा आयो । ऊ मभन्दा धेरै पढेको थियो । धनी थियो । प्रभावशाली थियो । खान्दानी थियो । व्यक्तित्ववाला थियो । डोमिनेटिङ थियो ।

बिहे धुमधामसँग भयो । मेरा बाउआमाले सिरिखुरी पारेर इज्जत राखे र दङ्ग परे । उसले मलाई हाउस वाइफ बनायो । म ऊसँग स्वाभाविकरुपमानिम्छरो थिएँ । दविएँ । विद्रोह सम्भव थिएन । म सुनको पिँजडामा कैद भएकी थिएँ । हेपिएकी थिएँ ।

म खुसी छैन भन्ने कुरा आमाले थाहा पाउनु भएछ र म माइत गएका बेला भन्नु भयो ः

‘नानी, ज्वाइँ र परिवारले तिमीलाई हेपेका छन् रे भनेको सुन्छु । हो ?’

मैले उदाश भएर भनेकी थिएँ – ‘उनले होइन, उनको सम्पत्तिले हेपेको हो, उनको व्यक्तित्वले हेपेको हो ।’ आमाले भन्नु भएथ्यो ः ‘यो त भएन नि, हाम्री पढेकी छोरी ।’

अनि मैले भनँेथेँ – ‘यो स्वाभाविक हो आमा । अब सडक ‘डेड इन्ड’मा टुङ्गिएको छ ।’

 

  झरेका ताराहरु

 

म एकदम केटाकेटी थिएँ । गर्मीको याम थियो । आँगनमा सुकुल ओछ्याएर सबै परिवार बसेका थियौँ । म हजुरआमाको काखमा टाउको सिरान लगाएर आकाशतिर हेरिरहेको थिएँ । एउटा तारा झरेको देखेँ । र मैले हजुरआमालाई सोधेको थिएँ – ‘यो तारा किन झरेको ह’मा ?’

हजुरआमाले जवाफ दिनु भएको थियो – ‘तारा भनेको हाम्रा पुर्खा हुन् । ताराले झरेर हाम्रो पृथ्वीमा आएर आफ्ना संतानलाई रक्षा गर्छन् । बुद्धि दिन्छन् । सुबाटो लगाउँछन् ।’

सायद म चुप लागेँ होला त्यसबेला ।

अहिले म आफ्नै चारतले घरको छतमा बसेको छु ।

नातिले टाउको मेरै काखमा राखेर सोध्यो – ‘हब्बा, यो तारा किन हिँडेको ? किन झरेको ?’

मैले मेरी हजुरआमाले दिएको उत्तर दिएँ ।

नातिले एकटकले मलाई हेरेर सोध्यो – ‘कान्छाको आमाबुवा पनि यस्तै झरिरहेको तारा हो हब्बा ?’

मैले सजिलो उत्तर दिएँ – ‘हो ।’

नातिको जिज्ञाशा कम भएन । उसले भन्यो – ‘उनीहरुले पनि कान्छोलाई रक्खे गर्छन् त हब्बा ?

अनि मैले भनेँ – ‘गर्छन् नि, आफ्नो छोरा हो नि ।’

नातिले मतिर हेरेर फेरि सोध्यो – ‘‘त्यसो भए उनीहरुले किन कान्छोलाई स्कुल नपठाएर हाम्रो घरमा काम गर्न पठाएका त हब्बा ?’

 

 

 जमिनमा भासिएको क्षण

 

 सर्वव्यापी आर्जन ट्रष्टको देउसी खेल्ने कार्यक्रम थियो । यो ट्रष्टमा गिनेचुनेका मान्छे थिए । ट्रष्टका अध्यक्ष यसपल्टको चुनावका  सांसद थिए । तर पार्टी र सरकारमा उनको पकड दह्रो थियो । गाउँमा पो घर बिरायो भने रिसाउँथे मान्छे । शहरमा त चुनीचुनी देउसी खेल्दै गयौँ । अध्यक्षले दौलतरामकोमा देउसी खेल्न समय लिएको कुरा जानकारी गराए । हाम्रो देउसेको लर्को उनको घरको गेट बाहिर पुग्यो । अध्यक्षले फोन लगाए । गेट खुल्यो । हामी भित्र छिर्यौँ । भट्याउन सुरु भयो – हे राम हे राम — देउसिरे ! भनभन भाइ हो — देउसिरे !

मलाई देउसिरे भन्दा उनको वैभव हेर्न स्वाद लागिरहेको थियो । तगझग । बङ्गला, गाडी, बगैँचा आदिआदि । मेरो मनमा एउटा कुरा दिमागमा आयो त्यो बेला कि नेपालमा पनि यति धनी मान्छेहरू छन् । कसरी भए होलान् धनी ! अध्यक्ष दौलतरामसँग कुरा गरिरहेका थिए । दौलतरामले  पचास हजारकोे चेक दिए । म भने उनीहरू दुईको कुरा सुनिरहेको थिएँ । बरु हाम्रा अध्यक्ष सोद्धै थिए – ‘नानी बाबु कति हो यहाँको !’

– ‘एक छोरा, एक छोरी !

– ‘के गर्छन्!

– छोरो बेलायतमा डाक्टर छ । छोरी अमेरिकामा साइन्टिस्ट छे ।’ उनले गर्वका साथ भने ।

‘यतै पनि भगवानका कृपाले हजुरको सम्पत्ति छ । किन पो विदेशमा बस्नु पर्यो र नानी बाबुले !’

‘यहाँ के पो छ र त्यस्तो माननीयजी । पोलिटिकल अनरेस्टले गर्दा यहाँ अपरचुनिटी नै छैन । उतै सेटल्ड गर्छन् नि अब ।’

आफैँलाई सम्झँदै थिएँ कि एमए गरेको म प्राविको परीक्षामा पास भएकोलाई अपरचुनिटी ठान्दै थिएँ । तर ध्यानचाहिँ उनीहरूको कुरैमा थियो ।

हाम्रा अध्यक्षले सोधे – ‘अनि बुवाआमा हुनुहुन्छ कि !’

‘हुनुहुन्छ ।’ छोटो उत्तर थियो ।

अध्यक्षले फेरि सोधे – ‘कहाँ हुनुहुन्छ ’

उनले पनि छोटो नै उत्तर दिए  ‘वृद्धाश्रममा ।’

             (‘ईश्वरको मृत्यु’ लघुकथा संग्रहबाट ।)

प्रकाशित: १३ मंसिर २०७७ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App