१४ माघ २०७८ शुक्रबार
कला

विष्णुपूजाको वैज्ञानिकता

चन्द्रमाले सूर्यको प्रकाश पृथ्वीमा फर्काएर पृथ्वीलाई उज्यालो बनाउँछ, त्यसलाई हामी शुक्ल पक्ष भन्ने गर्छौं । जुन रातमा परावर्तित प्रकाश हुँदैन, त्यो रात अँध्यारो हुने हुँदा त्यसलाई कृष्णपक्ष भन्ने गरिन्छ । कृष्णलाई प्रकाश विहीनता वा कालरात्रिको अर्थमा लिने गरिन्छ ।

हाम्रा गाउँ घरमा पण्डितहरू कार्तिक महिनाको शुक्ल नवमीबाट पूर्णिमासम्म भगवान् विष्णुको अमलाको रूखमा बास हुने बताउँछन् । यो शुल्क नवमीलाई कसैले कुष्माण्ड नवमी, वा अक्षय नवमी त कसैले अमला नवमी वा धात्री नवमी आदि नाम दिन्छन् । यो समयमा दैनिक गरिने नित्यकर्म र स्नानपछि अमलासहित विष्णुको पूजा गर्ने, तर्पण दिने तथा सकिन्छ भने गरिबहरूलाई खाना र दान दिन शास्त्रले सुझाउँछ ।

पण्डितहरू भने प्रायः सबै दानको हकदार पण्डित आफैँ रहेको आसय आउने बदनियत पूर्ण, कपोकल्पित कथा सुनाउँछन् । लौका दान भनेको छ भने सुनको टुक्रा र लौकी, खाना दान भनेको छ भने खाना र असर्फी, अनि पूजा गरेको ज्याला दिनु भन्ने आसय रहेछ भने पूजा गरेको ज्यालामा कम्तीमा सुन, चाँदी, तामा, गाई र असर्फी पण्डितलाई दान गर्दा भगवान् प्रशन्न हुने फुर्को जोडिदिन्छन् ।

हाम्रो परम्परागत मान्यतामा खाना आफैँ ब्रह्म हो । ब्रह्माण्डका हरेक वस्तु ब्रह्मबाट उत्पत्ति भएर ब्रह्माण्डमा आफ्नो निरन्तरता कायम राख्छ र अन्तमा ब्रह्ममै गएर मिल्छ वा विलीन हुन्छ । त्यस्तै गरी हरेक जीवित वस्तुको उत्पत्ति खानाबाट हुन्छ, खाना खाएरै आफ्नो जीवितताको निरन्तरता गर्छ र अन्तमा खानामै गएर मिल्छ । खानाको उत्पादन, पाचन र प्रयोगको नियन्त्रण गर्ने प्राकृतिक शक्तिलाई भगवान् विष्णु भनिन्छ । खाना र खानाको उपभोक्तालाई समेत भगवान् विष्णुकै एक भागको रूपमा चिनिन्छ ।

हाम्रो परम्परागत संस्कृतिमा मानिसले हरेक दिन दैनिक आफ्नो शरीरलाई बाहिर र भित्रबाट सफा गर्नु अनिवार्य मानिन्थ्यो ।

शास्त्रीय मान्यतामा विष्णु भन्ने शब्दले मानवको रक्षा गर्न जरुरी हुने शरीरको हरेक सुव्यवस्था पुनस्र्थापित गर्ने वातावरण बनाउन भूमिका खेल्ने शक्तिलाई जनाउँछ । वैज्ञानिक तथ्यबाट प्रमाणित भएको यथार्थचाहिँ के हो भने मानिसको शरीरमा ब्रह्माण्डमा रहेका हरेक तत्व भेटिन्छ । तसर्थ, विष्णु नामक प्राकृतिक शक्तिको ब्रह्माण्डको हरेक तत्व र त्यहाँ रहेका हरेक सृष्टिसँग जोडिएर रहेको फेला पर्र्छ ।

पाचन प्रणालीमा रहेको अम्लीय र क्षारीय रसको आन्तरिक आगोमा खाना पाक्ने र सोसिने क्रममा खाना पचेपछिको खरानी र उत्पन्न हुने विभिन्न फोहोर हामीले मल विसर्जनका क्रममा शरीर बाहिर फाल्ने गर्छौं । त्यस्तै मूत्र त्यागका बखत शरीरलाई हानि गर्ने वा काम नलाग्ने शरीरको सञ्चालन तथा पाचनका क्रममा पैदा हुने उप–उत्पादन र कचराहरूको विसर्जन हुने गर्छ ।

शरीरको दैनिक गतिविधिको सञ्चालनका क्रममा पसिनाका रूपमा छालाबाट, खपटा वा तेलीय पदार्थको रूपमा रौँ उम्रने प्वालबाट, अन्य तरल पदार्थ लिंग, योनि, गुदद्वार, कानलगायत प्वाँल भएका स्थानबाट बाहिर फालिन्छ । बिहानीको स्नानले तिनै कुरा शरीरबाट बाहिर फाल्न सहयोग गर्छ । बिहान सबेरै उठेर दिसा–पिसाब गर्ने, फोहोर कपडा धुने, दाँत माझ्ने र सफा सुग्घर हुने कार्य नित्य रूपमा शरीरमा उत्पन्न हुने विकारको विसर्जन गरिने कार्य हो ।

यो शुल्क नवमीलाई कसैले कुष्माण्ड नवमी, वा अक्षय नवमी त कसैले अमला नवमी वा धात्री नवमी आदि नाम दिन्छन् । यो समयमा दैनिक गरिने नित्यकर्म र स्नानपछि अमलासहित विष्णुको पूजा गर्ने, तर्पण दिने तथा सकिन्छ भने गरिबहरूलाई खाना र दान दिन शास्त्रले सुझाउँछ ।

शारीरिक विकार फाल्न श्वास प्रश्वास प्रणाली सुग्घर गर्न र मनोवैज्ञानिक कचरा फाल्न मनोवैज्ञानिक सुदृढता वृद्धि गर्ने गतिविधिको जरुरत पर्छ । जसमा मूलतः नाकका प्वाँल सफा गर्न प्राणायाम गर्ने, दिमाग एकाग्र गर्न ध्यान वा मेडिटेसन गर्ने कार्य पर्छन् ।  

बिहान केही समय व्यवस्थित रूपमा लामो तर अलि बल लगाएर कपालभाँती जस्ता श्वास फेर्ने प्राणायामका विभिन्न उपाय अनुसरण गरेर थुक, ¥याल, सिँगान आदि नाक, मुख, श्वास नलीहरूबाट हटाएर सफा गर्न सकिन्छ । त्यस्तै, कम्तीमा १० मिनेट दिमागलाई एकाग्र गराएर र मौन बसेर मेडिटेसन गर्दा दिमागको हिपोक्याम्पसमा ग्रे वा खैरो भाग बढाउन सहयोग मिल्छ ।  

दिमागको हिपोक्याम्पसको खैरो भागमा नकारात्मक सोच त्याग गरी सकारात्मक सोच विकास गर्न जिम्मेवार रहन्छ । हाम्रो परम्परामा सदा सत्कर्ममा रहने प्रण त्यसैको उपज हो । योग, प्राणायाम र मेडिटेसन एकापसमा श्वास–प्रश्वास प्रणाली सफा गर्न र शरीर भित्रका कचरा सफा गरी मनोवैज्ञानिक सबलता विकास गर्न जिम्मेवार रहन्छन् ।  

हाम्रो परम्परागत संस्कृतिमा मानिसले हरेक दिन दैनिक आफ्नो शरीरलाई बाहिर र भित्रबाट सफा गर्नु अनिवार्य मानिन्थ्यो । त्यो भनेको सबेरै उठेर शौचालयमा हुने त्याग क्रिया, सफा सुग्घर हुने कार्य, योगाभ्यास, प्राणायाम र मेडिटेसन वा ध्यान र स्नान नै हुन् । यिनमा स्नान बाहेकका गतिविधिलाई समग्रमा नित्य कर्म भनिन्छ । नित्यकर्म भनेको आफूलाई भित्र र बाहिरबाट शुद्ध राख्नु हो । तसर्थ हाम्रो परम्परामा दैनिक नित्य कर्म र स्नानपछि पूजापाठ गर्ने, तर्पण दिने र प्रसाद ग्रहण गर्ने गरिन्छ ।

मानिसमा पूर्ण विकसित रूपमा पाइने ‘लिम्बिक ब्रेन’का कारण मानिसले धेरै प्रकारका अनुभूति स्मरणमा लामो समयसम्म राख्न सक्छ । तपाईंलाई आफूले मन पराएको मानिसले जब ‘आहा तिमी त कस्ती राम्रो’ भनी दिन्छ, लिम्बिक ब्रेनमा डोपामिन उत्पन्न हुन्छ । उक्त डोपामिन दिमागको खैरो भाग हिप्पोक्याम्पससम्म पुगेको के हुँदैन, तपाईंले आनन्दको महसुस गर्नुहुन्छ ।  

तपाईंले आफ्नो मिहिनेतले आर्जेको कुनै कुरा छ, त्यो कुराको जरुरत अरू कसैलाई छ, तपाईंले त्यो चिज उसलाई दान गर्नुभयो भने दानको समय र सम्झनाको क्षणमा तपाईंमा न्यानो हार्दिकता पैदा हुन्छ । मस्तिष्कले अन्य व्यक्तिबाट आफूले सम्मान पाएको, ऊसँग आफ्नो विश्वास, हार्दिकता र दरिलो भावनात्मक सम्बन्ध विकास भएको अनुभूति एकै साथ गर्न पुग्छ ।

अधिक डोपामिन उत्पन्न हुने र अद्भुत आहा–क्षण विकास हुने यो अवस्थालाई अत्यन्त प्रभावकारी मनोवैज्ञानिक सबलताको चरण मानिन्छ । प्रभावकारी मनोवैज्ञानिक सबलताको बिन्दुमा त्यागको भावना हुने र बदलामा केही नचाहेको अवस्था रहने हुँदा यसलाई मानव मनोविज्ञानको अत्यन्त प्रभावकारी उपचारको अस्त्र ठानिन्छ ।

हाम्रा नित्य कर्मदेखि हरेक शुभ कार्यमा सम्भव रहेमा दान दिने कार्य संलग्न गर्नुको पछाडिको कारण मनोवैज्ञानिक शुद्धता नै हो । दानबाट मानिसले मनोवैज्ञानिक शुद्धता प्राप्ति गर्ने कुरा हाल विज्ञानले समेत प्रमाणित गरिदिएको छ ।  

हामीले परम्परागत रूपमा गर्ने विष्णुपूजामा सम्पूर्ण स्वास्थ्यको उत्थानमा अत्यन्त प्रभावकारी सहयोग पुग्ने गतिविधि समावेश रहन्थे । हाम्रा नित्यकर्म, स्नान, पूजाआजा, प्रसाद ग्रहण र दानले शारीरिक र मानसिक रूपमा बल दिने भएकैले ती आजसम्म अस्तित्वमा रहे ।  

हाम्रा कतिपय विधि–परम्परामा अत्यन्त ठूलो वैज्ञानिक मूल्य रहेकाले तिनको प्रयोग बिस्तारै बढ्दै छ । उल्लिखित वैज्ञानिक गतिविधिमार्फत जब हामी आफ्नो सम्पूर्ण आयुर्वेदिक सबलता प्राप्त गर्छौं, त्यो उपलब्धिलाई विष्णुपूजाको प्रतिफलमा प्राप्त आशीर्वादको संज्ञा दिन्छौँ । त्यसमा आपत्ति मान्नुपर्ने कुनै कुरा छैन ।

परम्परागत रूपमा विष्णुपूजा बिहानको नित्य कर्मपछि सकिन्छ । योसँगै अमलाको फेदमा बसेर सहभोज या प्रसाद बनाएर खाने, अमला र कुभिन्डो दान गर्ने, हवन, पूजाआजा गर्ने, भजनकीर्तन लगायत कार्यक्रम गर्ने, शरीर तंग्राउन र आत्मविभोरता पैदा गर्न विभिन्न मन्दिर जाने, आफ्नै परिवारका आफ्नो आम्दानी नभएको सदस्य तथा गरिब–दुःखीलाई दान दिने चलन छ ।  

यो अमला, कुभिन्डोको सिजन हो । अमला सेवन आफैँमा अमृत समान रहेको, कुभिन्डो मानव शरीरका लागि अत्यन्त हितकारी रहेकाले त्यसको मूल्य समाजलाई महसुस गराउन समेत यो चाड अत्यन्त महत्व पूर्ण छ । योबाहेक खानामा खीर, पुरी, तरकारी र मिठाई आदि यो मौसममा पाइने कन्दमूल र गेडागुडी समेत आफ्नो नित्य खानाका साथ खान विष्णुपूजाले जोड दिन्छ । त्यस्तै, जाडो मौसममा मानिसलाई जरुरी हुने ओजस्वी खानाको महत्वबारे झकझकाउन पनि सहयोग गर्छ ।
(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

प्रकाशित: १३ मंसिर २०७७ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App